प्रिय पुरुष !
तिम्रो वौद्धिकताको उच्च खण्डबाट
तिमीले यो प्रकृति हेर्यौ र भन्यौ-
“अनुहारमा पूर्णिमाको आभा पोतेर
जब पोखरीबाट झुल्किन्छ जून
प्रकृतिको सबैभन्दा सुन्दर कविता
योभन्दा अरू के हुनसक्छ ?“
लट्ठिएर फूलको परागमा
भवरा भएर उड्यौ र फूलका कविता लेख्यौ
उही बगैचामा पुतली देख्यौ
र पुतलीको सुन्दरता लेख्यौ
कलकल बगेको खोला
चाँदी खुलेको हिमाल
चराका चिरबिर, गुराँसको बैँस
छहरा, पहरा, नदी सबैलाई कोमल बनाएर लेख्यौ
झरीले रुझेको पहाडको अङ्ग अङ्ग
सिँगारेर लेख्यौ र भन्यौ
प्रकृतिजस्तो सुन्दर कविता
अर्काे कुनै छैन ।
प्रिय पुरुष !
ठिकै भन्यौ
प्रकृतिजत्तिको सुन्दर
अर्काे कविता छैन ।
सम्झ त
युगौँदेखि जमेको पत्थर फुटाएर
पिपल उम्रिनु
रातको गर्भ छिचोलेर घाम झुल्किनु
हरेक दिन हरेक महिना
ऋतुहरु जन्मिनु र फेरि जन्मिनु
योभन्दा सुन्दर कविता के हुनसक्छ ?
पिएर आफ्नै रगतको समुद्र
रगतै भएर बग्नु
आगो थापेर अँजुलीमा
आगोले युग नुहाउनु
पिएर सग्लो ब्रम्हाण्ड
गर्भधारण गर्नु र
नयाँ ब्रम्हाण्ड जन्माउनु
मुटुमा ज्वाला लुकाएर
आँखामा सागर थन्क्याउनु
स्तनबाट प्राण पिलाएर
अर्काे युग हुर्काउनु
कोमल हृदयले
चट्टानहरूलाई परास्त गर्नु
र सभ्यता हुर्काउनु
योभन्दा सुन्दर कुन कविता हुन्छ ?
राखेर हत्केलामा मृत्युको सिरानी
ज्वालामुखीको लाभा जङ्घार तर्नु
र सृष्टिको पर्दा उघार्नु
अङ्ग अङ्गमा मूल फुट्नु
र सृष्टि सिँचाउनु
अनुहारले रोकेर आँधीको झोक्का
पृथ्वीको प्रलय जोगाउनु
यो जत्तिको सुन्दर कविता
अर्काे के हुनसक्छ ?
ठिकै भन्यौ प्रिय पुरुष !
प्रकृतिभन्दा सुन्दर कविता
अर्काे के हुनसक्छ ?
(सुनसरी)