विमल निभा
कवि हो ऊ ।
जसको नामसँग सिंहदरबारलाई
कुनै रुचि छैन ।
विमल निभा
कविता लेखिरहन्छन्
जुलुसको
आन्दोलनको
क्रान्तिको
विद्रोहको ।
विमल निभा
कविता लेखिरहन्छन्
भोकको
अनिद्राको
पीडाको
छटपटीको ।
विमल निभा
कविता लेखिरहन्छन्
रिक्सा मजदुरको
ट्याक्सी चालकको
खेतका किसानको ।
सधैं लेखिरहन्छन्
अमलेख ।
सत्ताका विसङ्गतिहरुसँग
उनका कविताहरुको
विमति छ ।
विमल निभा
प्रेम गर्छन् यो मुलुकलाई
र यो मुलुकका नागरिकहरुलाई
र उत्तिकै घृणा गर्छन्
यो मुलुकका व्यभिचारी
शासकलाई ।
विमल निभा
जब सडकमा उभिन्छन्
हातमा बोकेर आन्दोलनको
एउटा प्लेकार्ड
सत्तालाई लाग्छ–
विमल निभा एउटा द्रोह हो
यो राज्यका लागि ।
सिंहदरबारलाई सधैं
अप्रिय लाग्छ विमल निभाको नाम ।
आजकल
म यतिबिध्न प्रेमले
विमल निभाका कविताहरु पढ्न
किन थालिरहेको छु हँ ?
(आँबुखैरेनी, तनहुँ)