लाउँलाउँ खाउँखाउँ भन्ने उमेरमा सर्वदाले यो लोक चटक्कै छोडेर गईन् । दुस्खी हुने र श्रद्धाञ्जली अर्पण गर्नेहरू कति हुन् कति १ यस घटनाले नरनाथ साँच्चिकै विक्षिप्त बनेका थिए ।
छोराछोरी हुर्किसकेका थिए र पनि उनीहरूबीच रसरङ्गको कुनै कमी भएको थिएन । फुर्सद भयो कि हाँसिमजाक र रामरमाइलो गरिहाल्थे । सँगसँगै काम गर्दा पनि जिस्कदैं, मस्किदैं गर्ने हुनाले काम गरेजस्तै लाग्दैनथ्यो ।
त्यो पीडादायी घटनापछि नरनाथ दिनरात, साँझबिहान सधैंभरि उनकै सम्झनामा तड्पिरहन्थे । एक्लै पनि बोलिरहने भएका थिए, ‘मलाई एक्लो बनाएर तिमी मात्रै कहाँ गयौ नि हे निष्ठुरी !’
एक साँझ उनीहरू खाना खाइओरि बरण्डामा बसेका थिए । नरनाथले सर्वदालाई आकाशतिर देखाउँदै भनेका थिए, ‘त्यहाँ हेर त सर्वदा, तारा खसेको ! देख्यौ !’
‘अँ देखेंदेखें ।’ अनि खुइया गर्दै उनले भनेकी थिइन्, ‘माथि ठाउँ खालि हुन आकाशबाट तारा झर्नुपर्छ । अनि त्यो खालि ठाउँ भर्न भगवानले यहाँबाट छानिछानि असल मान्छे लान्छन् रे !’
नरनाथले सोचे, ‘मेरी सर्वदा साँच्चै असल थिइन् र त छिट्टै भगवानकी प्यारी भइन् । नत्र मलाई लानुपर्ने कोरोनाले किन उनलाई लग्यो त रु उनलाई भन्दा पहिला कोरोना त मलाई लागेको थियो । टाढै बस, छेउमा नआऊ भन्दा पनि मेरो सेवा गर्न छोडिनन् ।’
यस्तैयस्तै सोच्दै उनी एक तमासका भइसकेका थिए । उनका नजर आकाशतिरै थिए, हेर्दाहेर्दै उनलाई एउटा चम्किलो वस्तु आकाशबाट आफू भएतिरै आइरहेजस्तो लाग्यो । उनले दुवै हात जोडेर त्यसलाई अञ्जुलिमा थापे र च्याप्प दुवै हातले बन्द गरे । हात खोल्दा दुवै हात ओभाना थिएनन्, आँखाबाट झरेका आँशुका थोपा गाला हुँदै चिउँडोबाट तप्किरहेका थिए ।
उनले मनमनै भने, ‘हे भगवान्, कसैकी श्रीमती पनि सर्वदाजस्ती असल र सहयोगी नहोउन् ।’
त्यसपछि नरनाथ आकाशतिर हेर्दै चिच्याए, ‘हे सर्वदा, तिमी यो संसारकी सबैभन्दा खराब मान्छे भइदिएको भए !’
(ओखलढुङ्गा)