आमा हाटकेशरीको कोखबाट वि. सं. १९८७ (सन् १९३०) असोजमा विराटनगरमा जन्मेका भवानी घिमिरेको प्राथमिक शिक्षा विराटनगरमै प्रारम्भ भएको हो । बुवा हिरण्यनाथ उपाध्याय कड़ा मिजासका कट्टर जमिन्दार थिए । खेतालाहरू प्रतिको बुवाको कठोर र क्रूर व्यवहारले ठिटो भवानी बेलाबखत उद्दण्ड हुन्थे । विरोध गर्थे बुवाको । बुवा हिरण्यनाथ पनि काँचो काठले डढ़्ने खालका व्यक्तै थिँदै थिएनन् । छोरो भवानीको ढिट अनि जिद्दी स्वाभाव, विरोधाभावलाई अट्टेरी गरी बुवा हिरण्यनाथले ठिटो भवानीलाई कतिचोटि हप्काए, त्यसले पनि नटेर्दा चढ़्कन समेत लगाए त्यसको हिसाब-किताब छैन । बुवाको हप्क्याइँ, चढ़्कन, खेतालाहरूो प्रतिको अभद्र व्यवहारको इन्साफ होस् भनी आफ्नै बुवाको विरुद्धमा ब़ड़ाहाकिमकहाँ उजूर समेत गरी आफ्नो विद्रोही भावना ओकेलेका थिए न्यायका पक्षधर ठिटो भवानीले । उनको विद्रोही स्वाभावप्रति उनका मामा डा. रामरत्न उपाध्यायको निम्न स्पष्टिकरण ठुङमा्र्दो देखिन्छ –
“भानिज भवानी बाबु र मेराबीच आधारभूत सैद्धान्तिक मतभेद भए पनि उहाँले बनाउनु भएको व्यक्तित्व मेरो लागि अत्यन्त प्रेरणादायक छ । किशोरावस्थादेखि नै आफ्ना बुवा तथा सामाजिक परिवेशप्रति उहाँले गरेको असन्तुष्टि, विद्रोह तथा त्यही अवस्थामा इष्टमित्र तथा साथीभाइलाई सङ्गठित गरी आफ्नै बुवाविरुद्ध असन्तोषको अभिव्यक्ति स्वरुप गरेको नाराबाजी र जुलूस प्रदर्शन पनि म झल्झली सम्झन्छु ।” (मेरा भानिजः भवानी घिमिरे, ज्ञानगुनका कुरा, भाग ६६, पृ ३१)
बुवा हिरण्यनाथसित अन्य सबै कुरामा श्रद्धाशील भए पनि गरीब-गुर्बामाथि बुवाको यातनाप्रति ठिटो भवानी असन्तुष्ट थिए । बुवाको क्रुर व्यवहारप्रति रुष्ट भएर भवाना घिमिरेके आफ्नो जन्मथलो त्यागी बनारस पुगे । बनारसमा पुगेर तर न ता उनी भौंतारिए न बिग्रिए न मासिएन न ता नासिएन नै । नयाँ ठाउँमा तर चूपो लागि बसेनन् ठ्याम्मै । हुने बिरुवाका चिल्ला पातका’ लक्षण भएर ठिटो भवानी काशी हिन्दू विश्वविद्यालयको एउटै मात्र हाई स्कूलको रुपमा रहेको गरजर पाठशाला पढ्न थाले । सातौं श्रेणीका विद्यार्थी छँदै ‘दो मित्र’ शीर्षकमा हिन्दी कथा लेखी पुरस्कारसमेत हत्याए । ठिटौले उमेरमै हिन्दी कथा लेखी पुरस्कार हत्याएपछि ठिटो भवानीको हृदयमा साहित्य लेखनको विजारोपण हुँदै गयो । पछि त्यो झाङिएर नेपाली साहित्यको वट-वृक्ष रुपमा परिणत भएको निर्विवाद सत्य कतै लुकेको छैन ।
साहित्य लेखन सँग-सँगै उनले आफ्नो अध्ययन जारी राखे । काशी हिन्दू विश्वविद्याल अन्तर्गतकै डीएभी कलेजबाट उनले वाणिज्यशास्त्रमा बी. कम. परीक्षा उत्तीर्ण गरे । क्षयरोगको शिकारले थलिएर एम. कम. सिद्ध्याउन सकेनन् । यद्यपि उऩको अध्ययन जारी थियो ।
राजनीतिमा पनि भवानी घिमिरे उतिनै सक्रिय भए जतिको साहित्य र साहित्यिक पत्रकारितामा । बनारसमा छँदा उनले मनग्गे अध्ययन गर्ने मौका पाए । तीमद्ये राहूल सांकृत्यायनको पुसतकले ता उनलाई भक्कुचूर प्रभावित पार्ये । यसैकारण उनले महापण्डित राहुल सांकृत्यायनलाई ‘मानसिक गुरु’ मान्दथे ! यसै पनि बनारसमा छँदा उनलाई राजनीति र चिन्तनले आकर्षित पार्नुका साथै राजनीतिमा पोख्त समेत पारेको थियो । राजनीति जीवनमा उनी धेरपल्ट पक्रा परे । जेलमा उनलाई यातना दिइयो भने कतिपल्ट नजरबन्दसमेत राखियो ।
ठिटौले उमेरमै हिन्दीमा ‘दो मित्र’ कथा लेखी पुरस्कार समेत हत्याउने भवानी घिमिरेले कविता, कथा, निबन्ध, जीवनी आदिका कृतिहरू नेपाली साहित्यदेवीको चरणमा चढ़ाएको पाइन्छ । उनका अहिलेसम्म पुस्तकाकार रुपमा प्रकाशित कृतिहरू यस प्रकार छन् –
१. आत्मज्वाला (वि.सं. २००९ – सन् १९५२) कथा सङ्ग्रह
२. नानी ( (वि.सं. २०१४ – सन् १९५७) कथा सङ्ग्रह
३. स्मृतिका रेखाहरू (वि.सं. २०२४ – सन् १९९७) कविता सङ्ग्रह
४. मेरा अभिव्यक्ति विविध ( (वि.सं. २०५८ – सन् २००१ गद्य कृति ।
यसबाहेक लेनिनका मार्क्सवाद अऩि खलिल जिब्रानको ‘द ओल्डरर’ शीर्षकका कृतिलाई नेपालीमा ‘घुमन्ते’ शीर्षकमा अऩुवाद गरी अनुवाद कलामा पनि आफ्नो निपुणताको परिचय दिएका छन् अनुवादक भवानी घिमिरेले । नाट लेखन र मञ्चनमा पनि भवानी घिमिरेको योगदान लरतरा थिएन । यसबाहेक पनि उऩका गद्य र पद्य रचनाहरू नेपाल तथा भारतबाट प्रकाशित हुने विभिन्न पत्र-पत्रिकामा प्रकाशित भएको पाइऩ्छ । विभिन्न पुस्तक तथा कृतिहरूमा भूमिका लेखेर भवानी घिमिरेले साहित्यका विविध विधामा अनवरत् कलम चलाएका पाइन्छ भने कविका रुपमा नै उनी झेर प्रख्यात देखिन्छन् । ठुङमार्दो कुरा ता के छ भने, उऩको कविता वाचनकला अच्चाकाली सुन्दर, रसिलो र टेसिलो हुन्थ्यो ।
उनीसित नेपालका धेरै ठाउँमा सँगै जाने सौभाग्य मेरो पनि जुरेकै हो । मञ्चमा चढ़ेर कविता कण्ठस्थ वाचन गर्न थालेपछि दर्शकदीर्घामा बसेका कवि लगायत अऩ्य दर्शक-श्रोताहरू उनका कविता सुनेर छक्क र मक्ख पर्थे ; हुरुक्कै र भुतुक्कै हुन्थे । साह्रै मिठाइलो वाचन, साह्रै बान्किला प्रस्तुती । उनले आफ्नो कविता वाचन गर्दाको समयमा वातावरण नै अर्कै हुन्थ्यो । जति सुने पनि ठ्याम्मै धित नमर्ने । उनको कविता वाचन कला साह्रै टेसिला ।
बुवाको कुटाइ खाएपछि घर छोड़ी बनारस आएका बेला भवानी घिमिरेले महाकवि लक्ष्मीप्रसाद देवकोटाको सान्निध्य पाउनु मात्र होइन महाकवि देवकोटाले ‘युगवाणी’ सम्पादन गर्दाको ताका भवानी घिमिरे पनि ‘युगवाणी’- सम्पादकमण्डली सदस्यरुपमा रहेर ‘युगवाणी’ प्रकाश र सम्पादनमा महाकविलाई सघाएका थिए । भन्नुपर्छ, उनको साहित्यिक पत्रकारिताप्रति रुछि बनारसबाटै आरम्भ भएको हो ।
यसबाहेक बनारसबाटै प्रकाशित हुने ‘जनयुग’, देहरादुनबाट प्रकाशित हुने ‘सेवा’ र ‘बिहान’, हाम्रो नेपाल आदि साहित्यिक पत्रिकामा पनि उऩले सघाउ पुऱ्याउनु मात्र होइन साहित्यिक पत्रकारिताको संरक्षण संवर्द्धन गर्न आफूलाई पूर्णरुपले समर्पित गरेको पाइऩ्छ । यसै परिणामस्वरुप वि. सं. २०२० (सन् १९९३) मा ‘भानु नेपाली मासिक’ साहित्यिक पत्रिका सम्पादन आरम्भ गरेर नेपाली साहित्यिक पत्रकारिता जगतमा हुँड़ीबिड़ी मच्चाएको विरलाकोटिला मात्र थाहा नहोला । ‘भानु नेपाली मासिक’-को लोकप्रियता दिन दुइगुणा र रात चौगुणा बढ़्दै गयो । ‘भानु नेपाली मासिक’ को चर्चा सिङ्गो नेपालमा मात्र होइन देश-विदेशमा समेत व्यापक रुपमा अद्यावधि छँदैछ । यसका लोभलाग्दा विशेषाङ्कहरूले सबैलाई मात पारेकै हो । यसका अन्यान्य चार विशेषाङ्कहरूको जति माग छ त्यसो दोबर-तेबर माग यसका ‘भानु विशेषाङ्क’, ‘लेखनाथ विशेषाङ्क’, ‘देवकोटा विशेषाङ्क’ र ‘महानन्द विशेषाङ्क’-हरुको । अहिलेसम्म पनि उपर्युक्त विशेषाङ्कहरू खोज्न स्नातोकोत्तर तहका विद्यार्थीहरू तथा साहित्यकारहरू भारतका बिभिन्न पुस्तकालय तथा पुस्तक पसलहरूतिर आएर ती विशेषाङ्कहरू सोध्ने र खोज्ने गर्छन् ।
नेपाली साहित्यिक पत्रकारिताको प्रकाशन र सम्पादनमा साहित्यिक पत्रकार भवानी घिमिरेको योगदान अभूतपूर्व र अविसमरणीय छ । यसैले ता उनलाई प्राज्ञ रोचक घिमिरेले ‘”साहित्यिक पत्रकारिताका विलक्षण कमाण्डर” (ज्ञानगुनका कुरा, भाग ६६ पृं.सं.१८-३०)को पगरी गुँथाएर साहित्यिक पत्रकारको सिरानमै विराजमान गराएका पाइन्छ ।
आफू अब्बल र जण्डा साहित्यिक पत्रकार भएका नाताले साहित्यिक पत्रकारले भोग्नु परेको पीर-मर्काबारे उनी सचेत र सजग थिए । साहित्यिक पत्रकारहरूको हक र अधिकारको निम्ति उनी सदैव सजग थिए । यसैले उनले विं.सं. २०२९ (सन् १९७२) मा ‘साहित्यिक पत्रकार सह्घ’ प्रतिष्ठा गरे । यस पत्रकार सङ्घले साहित्यिक पत्रकारहरूो योगदानको कदर गर्दै उनीहरूको सम्मान तथा अभिनन्दन गर्ने परम्परा आरम्भ गर्यो । य़सरी ‘साहित्यिक पत्रकार सङ्घ’ले साहित्यिक पत्रकारहरूलाई जुन कदर गर्ने जुन परम्परा बसालेको थियो यसमा यस सङ्घकै संस्थापक अध्यक्ष भवानी घिमिरेको सोह्रै आना हात लगायत रगत-पसिना फुर्मास भएको पाइन्छ ।
आफ्नो समयमा पोख्त साहित्यिक पत्रकार भएका नाताले अन्य साहित्यिक पत्रकारहरूलाई सम्मान र कदर गर्नमा उनले कहिल्यै कञ्जुसी र कपट्याइँ गरेको अद्यावधि थाह पाइएको छैन । बरु उनी ता साहित्यिक पत्रकारहरूका पथप्रदर्शक, प्रेरणा रुपमा आजसम्मै विराजमान छन् । चाहे ती साहित्यिक पत्रकार नेपालका हुन् वा भारतका हुन । उनले सबै पत्रकारहरूलाई एकै दृष्टिले हेर्ने गरेका हामी साक्षी छौं ।
जापान, सोभियत सङ्घ, जर्मन, थाइल्याण्ड पुगी साहित्यको प्रतिनिधित्व गरिसकेका भवानी घिमिरे ‘भानु नेपाली मासिक’-को प्रचार-प्रसार तथा वार्षिक ग्राहक बटुल्न भारतका विभिन्न ठाउँ (दिल्ली, दार्जिलिङ, डुवर्स, सिक्किम, असम, मेघालय, मणिपुर, देहरादुन, मिजोराम) हरूमा पुगे पनि दार्जिलिङ जिल्ला भने उऩको निम्ति पानी पँधेरो जत्तिकै थियो ।
सन् १९६९ (विं.सं २०२५/२०२६) तिरको कुरो हुनुपर्छ । त्यसताका म यस्तै नवौं श्रेणीको ठिटौले विद्यार्थी थिएँ । साहित्यमा विस्तारै अभिरुचि बढ़्दै गएको थियो । ‘झिल्का प्रकाशन, सिलीगुड़ी’-ले स्थानीय कृष्णमाया मेमोरियल नेपाली हाई स्कूलको प्रेक्षागृहमा विराट रुपमा महाकवि देवकोटा जयन्ती आयोजन गरेको थियो । ‘झिल्का मासिक’-का सम्पादक समीरण ‘प्रियदर्शी’ले उक्त कार्यक्रममा भद्रपुरबाट यिनै भवानी घिमिरे दाइलाई प्रमुख अतिथिका रुपमा निम्त्याएका थिए ।
उक्त स्कूलकै तत्कालीन प्रधान अध्यापक रामलाल अधिकारी सरले भवानी दाइसित मेरो परिचय गराए । परिचयको आदनाप्रदानपछि मैले उनलाई सविनय प्रणाम गरेँ । उनले मेरो शीरमा हात राखिदिँदा आचार्य चाणक्यले उनका शिष्य चन्द्रगुप्त मौर्यलाई आशीर्वाद प्रदान गरेजस्तो अनुभव गरेँ मैले । देवकोटा जयन्ती साँझमा आयोजन गरिएको थियो ।
कार्यक्रम सिद्धिएपछि रामलाल सरले भवानी दाइलाई गुरुङ बस्तीस्थित उनको डेरामा लगे । भोलिपल्ट दाइलाई भेट्न म सखारै सरको घर पुगेँ । भवानी दाइले मलाई एकजना असल र पोख्त साहित्यकार वा पत्रकार बन्नु हो भने अन्यान्य साहित्यका बग्रेल्तै कितापहरू अध्ययन गर्नुपर्छ, लेख्ने अभ्यास जारी राख्नुपर्छ, बसे लेउ लाग्छ ; सरे छेउ लाग्छ भनेका कुरा अद्यावधि मेरो कर्णकुँवरमा गुञ्जिरहन्छ ।
मैले लेखेका कविताहरू उनलाई देखाएँ । ती कविताहरूमाथि उनको टिप्पणी वा सुझावले मभित्रको कवि मनमा उर्जा उत्पन्न भएको कुरा यहाँ सार्वजनिक गर्न चाहन्छु । मैले दाइलाई मेरो कविताको खातामा केही आशीर्वचन लेखिदिने आग्रह गरेँ । मेरो कविताको खातामा सुन्दर अक्षरमा निम्न कुराहरू लेखेर ठूलो अक्षरमा भवानी दाइले सही गरे । उनले लेखेका थिए-
“अहिले महानदीलाई हेर्दै छु झ्यालबाट, यो अविराम बग्दै छ, सँधै बगी रहने छ । यसको भेलले तर्साउँछ । यसको गति रोकिँदैन गतिशीलता यसको धर्म हो । यही धर्मलाई यसले धारण गरेको छ र त यसको गति कहिले रोकिएन । जीवनको अर्थ भनेको यही हो । जीवन गतिशीलता हो भन्ने बुझ्न महानदीले प्रेरणा दिन्छ, प्रत्येक नदीले प्रेरणा दिन्छ । आफूलाई बिर्सिएर बाँच्न खोजेका दिन हाम्रो गतिशीलता समाप्त हुन्छ, हामी समाप्त हुन्छौं । आफू भन्नु नै आफ्नो जाति हो । प्रत्येक महान् व्यक्ति आफ्नो जातिबाट उठेको छ, प्रत्येक महान् जाति आफूलाई चिन्हेर मात्र महान् बन्न सकेको हो ।
‘हामी पानी हौं
थोपा-थोपा भएर झर्नुपर्छ
हामी पानी हौं
झुल्का-झुल्का भएर उठ्नु पर्छ
हामी पानी हौँ
पानी जस्तै बाँच्नु पर्छ ।”
यसरी भवानी दाइसित घनिष्टता बढ़्दै गयो । सिलीगुड़ी आउँदा जहिले पनि उनी मसित भेट नगरी नेपाल फर्कँदैनन् थिए । ‘भानु नेपाली मासिक’-को ‘हरिभक्त कटुवाल विशेषाङ्क’ लिएर उनी मकहाँ आएका थिए । हामी सँगै डुलेर साहित्यप्रति रुचि राख्ने सिलीगुड़ीका केही गणमान्य साहित्यकारलाई ‘भानु नेपाली मासिक’-को वार्षिक ग्राहक समेत बनाएका थियौं । उनले मेरो एउटा हास्यव्यङ्ग्य रचना लगी ‘भानु नेपाली मासिक’-मा प्रकाशित गरी काठमाण्डौबाट डाक मार्फत पठाइदिएका अहिल्यै जस्तो लाग्छ ।
भवानी दाइसित कविगोषठीमा सहभागी हुन हामी वि.सं. २०४८ (सन् १९९१) मा पाँचथर, फिदिमसम्म पुगेका थियौं । पाँचथर फिदिमको ‘नौलो साहित्यिक बिहान’-को साहित्यिक कार्यक्रम र कवि गोष्ठीमा । एक रात बिर्तीमोड़ो होटलमा बिताएपछि नेपालका अन्यान्य साहित्यकार साथीहरूसि एक झुण्ड भई बुधबारे भएर हामी पाँचथर फिदिम लाग्यौं ।
भारतीय नेपाली साहित्यकारहरूलाई नेपालका कुना-काप्चामा आयोजन हुने साहित्यिक कार्यक्रमहरूतिर परिचित गराउने, नेपाल-भारतका साहित्यकार एवम् साहित्यिक पत्रकारहरूलाई भेटघाट गराई मित्रता प्रगा़ढ़ पार्न हरदम आतुरिरहने भवानी दाइ नेपाल र भारतीय साहित्यकारहरूमाझ सेतु निर्माण गर्ने एकजना निस्वार्थ अभियन्ता हुन् ।
आज भवानी दाइ छैनन् तर उनले मलाई गरेका स्नेह अद्यावधि मेरो मानसपटबाट लिपिएको छैन । आदरणीय भवानी दाइकन शेष प्रणाम ।
(सिलीगुड़ी, उत्तर बङ्गाल, भारत)