( नेपाली प्रगतिशील कथा लेखनको क्षेत्रमा स्थापित नाम हो – इस्माली । तीसको दशकदेखि प्रगतिवादी लेखकीय आन्दोलनमा क्रियाशील इस्माली आजसम्म पनि त्यहीँ नै क्रियाशील छन् । केही समय अघि गठन भएको ‘मार्क्सवादी सांस्कृतिक मोर्चा’ को संयोजक समेत रहेका इस्मालीका ‘सेतो आतंक’ र ‘जिरो माइल’ गरी दुई उपन्यास प्रकाशित छन् । त्यस्तै उनका ‘माछो माछो भ्यागुतो’, ‘घाम घामजस्तो छैन’, ‘काट जर्किन डी’, ‘इस्मालीका प्रतिनिधि कथाहरु’, ‘श्रीको खोजी’ र ‘कामरेडको कोट’ प्रकाशित कथाकृति हुन् । ‘अक्लान्त कौरव’ उनको अनूदित उपन्यास हो भने ‘युरेसियाका कथा’ अनूदित कथाहरुको सङ्ग्रह हो । नेपाली आख्यान क्षेत्रका यिनै अथक साधक इस्मालीसँग समसामयिक साहित्यिक विषयमाथि साहित्यकार विष्णु भण्डारीले गरेको काव्यिक संवाद प्रस्तुत गरेका छौँ )
देशमा कोभिड १९ को आतङ्क फैलिएको छ, २०३९ सालमै सेतो आतङ्क लेख्ने इस्मालीले कोरोना आतङ्कमा के लेख्दै होलान् भन्ने पाठकको जिज्ञासा हुनसक्छ । बताइदिनोस् न यो महामारीमा के लेख्दै हुनुहुन्छ ?
विगत वर्षदेखि नै, खासगरी २०१९ को डिसेम्बर अर्थात् २०७६ पुसदेखि चीनको ऊहानबाट सुरु भई विश्वभरि महामारीका रूपमा फैलिएको कोरोना जीवाणुजन्य रोगले २०७६ चैतदेखि हाम्रोमा पनि ख्यालख्याल गर्दागर्दै आतङ्क होइन, महाआतङ्क नै मचाइरहेको तितो यथार्थ हो । साँच्चै भन्ने हो भने त्यसबेलादेखि अहिलेसम्म पनि कोरोनाको भन्दा चर्को आतङ्क सरकारले मच्चाइरहेको छ । यो अर्को तितो यथार्थ हो ।
कोरोना दीनदुनियाँलाई महाकहर भयो तर दुनियाँलाई थाङनामा सुताएर ‘पशुपति’, ‘राम’ र ‘ईश्वर’मुखी सर्खार जनताको दुःखआँसुलाई कमाऊ भाँडो बनाएर आफ्नो धन्धामा लोकलाज पचाएरै पनि निर्लज्ज भएर लागिरह्यो । बिना पूर्वतयारी लादिएको घरबन्दीले तमाम श्रमजीवीको पेटमा बुटले कुल्च्यो । नाम्लो बोकेर कामको खोजीमा निस्केको भोको ज्यामीले हिँड्दाहिँड्दै बाटैमा ढलेर सडकपेटीमा बेहोर्नपरेको समाजवादी समृद्ध(!)मृत्यु होस् वा काठमाडौँबाट बेखर्ची भई पैदलै राजमार्ग हुँदै कैलाली वा काकरभिट्टाको कटेरोमा पुग्नु पर्दा बेहोर्न परेको कष्टकहर र वरण गर्न परेको मृत्युकथाजस्ता घटना अवर्णनीय त छन् नै, उत्तिकै कहालिलाग्दा पनि ।
रोगले च्यापेर मान्छे अस्पताल पुगेको छ, तर अस्पतालले आफ्नो ढोका बन्द गरिदिएको छ, अस्पताल चहार्दाचहार्दै मान्छे एम्बुलेन्समै मृत्युवरण गर्न वाध्य पारिएको छ । सास फेर्ने प्राणवायु पाउन सकेको छैन मान्छेले र मर्न अभिशप्त भएको छ । यो कोरोना आतङ्क मात्र होइन, सत्ताले आमजनउपर थोपरिदिएको अभिशप्त आतङ्कका प्रतिनिधि घटनाहरू हुन् । साहित्यमा यी सबको अभिलेखन नभएको होइन, भएको छ र पछिसम्म पनि भइरहने छ ।
२०३९ सालमा लेखिएको सेतो आतङ्क उपन्यासको सम्झना गराउँदै आसन्न त्रासदीको भूमरीभित्र आमजनको दुर्दान्त भोगन्तको सम्बोधनको अपेक्षा राख्नु अन्यथा होवोइन । तर साहित्यसृजन रातारात सम्पन्न हुने कुरो होइन । हुन त आसन्न समयमै कोरोनाकहरजन्य रचनाहरू नलेखिएका होइनन् तर अझ गम्भीर रचना भने आइसकेका छैनन कि भन्ने लाग्दछ । स्रष्टाहरूले यो त्रासदीको अभिलेखन गर्ने नै छन, पछिसम्म पनि गरिरहने छन् ।
लेखनकर्म निरन्तर साधना र सक्रियताको परिणाम हो । लेखकको ऊर्जाशीलता, लेखन सक्रियता सधै एकैनास रहँदैन । शरीररूपी यन्त्रको तत्परता बढ्दो वयसँगै बढ्दैन बरु शिथिल नै नभएपनि उत्पादकतामा केही घटोत्तरी देखिनुलाई अस्वभाविक भने मानिहाल्नु मनासिब नहोला । कोरोना कहरकैबीच मेरा दुई कृतिहरू बजारमा आएका छन् – कथासङ्ग्रहहरू माछो माछो भ्यागुतो र कामरेडको कोट । अघिल्लो कृति पूनप्र्रकाशित कृति हो भने पछिल्लो चाहिँ नयाँ सङ्ग्रह हो । पछिल्लो समयको समकालीन चित्र अङ्कित उपन्यास दुर्धर्ष प्रेसमा छ । २०३९ को सेतो आतङ्क उपन्यास, खासमा कथान्यासको माग पनि भइरहेको छ, त्यसैले त्यसको पूनप्र्रकाशनतिर पनि प्रयास भइरहेको छ ।
तपाईंहरूले केही समय पहिले ‘माक्र्सवादी सांस्कृतिक मोर्चा’ गठन गर्नुभएको थियो । यो संस्था कहाँ पुग्यो ?
हो, साझा अग्रगामी माक्र्सवादी सोच भएका सांस्कृतिक अभियन्ताहरूका बीच झण्डै दुई वर्षसम्मको निरन्तर विमर्शबाट आकार दिने प्रयास स्वरूप माक्र्सवादी सांस्कृतिक मोर्चाको गर्भाधान भएको हो । मोर्चा गठनको तयारीमा जुट्ने प्रयास गरिएको हो र त्यो प्रयास अझ पनि जारी नै छ । मोर्चा गठनको तयारीको सिलसिलामा अवधारणापत्र तयार पारी त्यसउपर छलफल विमर्शको कार्यक्रम लगायत केही समसामयिक कार्यक्रमहरू पनि गरियो ।
सरकारले मुलुकलाई अमेरिकी साम्राज्यवादको घोडादौडको भूमि बनाउने सोचस्वरुप एम सि सि कार्यक्रम भित्र्याउन कम्मर कसेर लागेको थियो, त्यसका विरुद्ध आआफ्नो किसिमले विभिन्न दल, सङ्घसंगठनहरूले विरोध गरे, हाम्रो मोर्चाले पनि सांस्कृतिककर्मीहरूको सहभागितामा पटकपटक विरोध प्रदर्शनको आयोजना ग¥यो । कालापानी लगायतका अतिक्रमित भूमिको फिर्तिको माग गर्दै राष्ट्रिय सार्वभौमिकताको रक्षा, दलितउपर विभेदजन्य व्यवहार, आदि लगायत संसदीय व्यवस्थाको असफलता तथा प्रतिगमनका विरुद्ध पनि मोर्चाको अग्रसरतामा कोरोना कहरकै बीचपनि सांस्कृतिककर्मीहरूबाट विरोध प्रदर्शन गर्ने काम भयो ।
मोर्चा गठनको तयारीको काम चलिरहेकै छ । मोर्चाको विधान अभिलेखन भएको छ, काठमाडौंबाहिर पनि त्यस्तै प्रकृतिको समिति बनाउने प्रयास भइरहेको छ, कतै बनेको पनि छ । तर यसले अपेक्षित गति भने लिन नसकिरहेको यथार्थ हो ।
किन गठन गर्नुपरेको यस्तो राजनीतिक प्रकृतिको मोर्चा ?
विचारको श्रोत दर्शन र राजनीति हो ।
देशमा माक्र्सवाद अवलम्बन गरेका विभिन्न राजनीतिक दलहरू छन्, तिनका साहित्यिक सांस्कृतिक संगठनहरू पनि छन् । राजनीतिक रूपमा तीबीच केही भिन्नता पनि छन् । त्यस्तो भिन्नताको प्रभाव साहित्यिक सांस्कृतिक सङ्घ संगठनहरूमा पनि रहने नै भयो । त्यसैले यो मोर्चाको प्रकृति पनि त्यस्तो हुन गएको हो । तर त्यसो भनेर यसमा राजनीतिक दलसम्बद्ध साहित्यकर्मी संस्कृतिकर्मी मात्र समेटिएका÷समेटिने छन् भन्नेचाहिँ कदापि होइन । माक्र्सवादी विचार चिन्तनले अभिप्रेरित तर कुनै दलमा आबद्ध नभएका र मोर्चाको अवधारणा र विधानसँग सहमत हुने लेखक सांस्कृतिककमीहरू पनि यस तयारी समितिमा आबद्ध छन् र निर्माण हुने मोर्चामा पनि आबद्ध हुन पाउने छन् । तर पथबाट विचलित भएका व्यक्ति, दलका हुन् वा स्वतन्त्र , त्यहाँ रहने छैनन् । मोर्चाको गठन समान वा समतुल्य सोच राख्ने साहित्यकर्मी, सांस्कृतिककर्मीहरू साझा मुद्दामा सँगै हिँड्नका लागि गरिएको एउटा अभ्यास हो ।
तपाईंहरूले सार्वजनिक गरेको घोषणापत्रमा क्रान्तिकारी सांस्कृतिक आन्दोलनका फरक–फरक वैचारिक समूहसँग सम्बद्ध प्रतिनिधिहरू र स्वतन्त्र माक्र्सवादी लेखकहरूको साझा मोर्चा भन्नुभएको रहेछ । के सांस्कृतिक/साहित्यिक मोर्चाहरू पार्टीको छाया नपर्नेगरी गठन र काम गर्न सकिन्न ?
यो मोर्चाले पार्टीको छाया संगठन बनेर काम गर्ने होइन, कुनै अमुक पार्टीको कार्यक्रम बोकेर हिँडने पनि होइन । यसमा आबद्ध रहेकाहरूले साझा सहमतिका आधारमा आवश्यकता अनुसारको बेग्लै कार्यक्रम बनाएर काम गर्ने हो । मोर्चाको विधान र अवधारणाले निर्धारण गरिदिए अनुसारको अनुशासनमा रहेर काम गर्ने हो ।
माथि नै भनियो, विचारको श्रोत दर्शन र राजनीति हो । र, त्यो राजनीति पार्टीका माध्यमबाट नै जनतासम्म प्रवाहित हुन्छ । पार्टीले नै जनतामा चेतनाको प्रवाह गराउँदछ । लेखक पार्टीमा आबद्ध नहुन सक्छ, पार्टीको आलोचक हुन सक्छ । पार्टीको महत्वबारे फ्रान्सेली कवि लुई अराँगोको कविता पार्टीप्रति तथा जर्मनेली साहित्यकार बर्तोल्त ब्रेख्तको कविता व्यक्ति र पार्टी हाम्रो स्मरणमा रहनु वाञ्छनीय छ । परिवर्तनको वाहक शक्ति त पार्टी नै हो नि, त्यसैले पार्टीप्रति आलोचक हुन सकिन्छ तर अनाबश्यक दुराग्रह राख्नु मनासिब पनि न होला । पार्टीले पनि जनभावनाको कदर गर्नु अपेक्षित छ ।
तर हाम्रोमा प्रगतिशीलता वा माक्र्सवाद फेसनजस्तो बन्न गएकोले त्यस्ता फेसनीहरूले पार्टीको महत्व बुझ्न नसकेका पनि हुन सक्दछन् । कतिपय बौद्धिक भनाउँदा त आफू उभिएको जमीनको समेत हेक्का नराखी आफ्नो बौद्धिकता प्रदर्शन गर्नमा निर्लज्ज गर्व गर्दछन् । आपूmले गर्ने गरेको कामले आफूले बोक्ने गरेको भनेको बिचारसँग सङ्गति कायम गर्न सकेको नसकेको हेक्का राख्न सकिएन भने बिचार बोक्नुको के अर्थ रह्यो र ! बिचार त बैठक कोठामा सजाएर राख्ने कुरो होइन होला । आपूmलाई बौद्धिक ठान्नेहरूले स्वयम्लाई स्व आचारसंहितामा पनि राख्नु पर्दछ, अन्यथा त्यस्तो बौद्धिकताले आफैँलाई खति गर्दछ ।
यो मोर्चा प्रगतिशील लेखक सङ्घको समानान्तर संगठन हो कि ? हैन भने, पुरानो र स्थापित संगठन हुँदाहुँदै किन गठन गर्नु पर्यो अर्को मोर्चा ?
यो मोर्चालाई प्रगतिशील लेखक सङ्घको समानान्तर सङ्गठनका रुपमा बुझ्नु जरुरी छैन । समानान्तर संगठन भनेको उही दिशामा तर केही अन्तरमा रहेर चल्ने संगठन भन्ने बुझिन्छ । प्रलेसले प्रगतिशीलता गुमाउँदै गएको अवस्था बोध भएर विभिन्न लेखक संगठनका लेखकहरूले त्यो संगठन परित्याग गर्नुभएको हो । त्यसरी अलग्गिनु भएका लेखकहरू सम्बद्ध सङ्गठनहरू तथा स्वतन्त्र माक्र्सवादी लेखकहरू समेतको साझा प्रयासमा यो मोर्चा गठन भएको हो ।
प्रगतिशील लेखक सङ्घ नेपालका प्रगतिशील लेखकहरूको पुरानो संगठन त हो तर बदलिँदो कालक्रममा त्यसले अग्रगामी साहित्यिक सांस्कृतिक आन्दोलनलाई गतिदिने अपेक्षित र आवश्यक भूमिका निर्वाह गर्न सकेन । बरु त्यो खास दलको जनवर्गीय संगठनजस्तो बन्न पुग्यो । अग्रगामी साहित्यिक सांस्कृतिक आन्दोलनको उठान र विस्तार गर्दै त्यसलाई जनमुखी बाटोमा अघि बढाउनु आवश्यक छ, नत्र त सात दशकको आन्दोलनको उपलब्धि बिस्तारै हराएर जान्छ । पश्चगामी र पूँजीवादी, साम्राज्यवादी साहित्य संस्कृतिको दबदबा बढ्छ । हो, त्यस दिशामा साहित्यिक सांस्कृतिक आन्दोलनलाई अघि बढाउनका लागि समयक्रममा यो मोर्चा गठन भयो ।
यसमा प्रलेसबाट विद्रोह गरेर बाहिर आएका लेखकहरू पनि सामेल भएको हुनाले यो प्रलेसको समानान्तर संगठन हो कि भन्ने लागेको हुन सक्छ तर यो प्रलेसको समानान्तर संगठन नभएर फरकधारको अग्रगामी विचारयुक्त संगठन भनी बुझ्नु मनासिब होला ।
प्रसङ्ग बदलौँ । नेपालमा पठन संस्कृति कस्तो देख्नुहुन्छ ?
पठन संस्कृति नेपालमा पहिल्यैदेखि निम्छरो रहिआएको हो । पढ्ने किन त भन्दा स्कुलकलेजमा भए जाँच उत्तिर्ण गर्न, सक्नेले राम्रो अङ्क ल्याएर, नसक्नेले येनकेन । स्कुलकलेजको पढाइ सकिएको भए जागिर खान । सामान्यतः हाम्रो चेतना त्यो हो । पठन संस्कृतिबारे कुरा गर्दा हाम्रो चेतनास्तर, साक्षरता, शिक्षामा जनसाधारणको पहँुच, सहरगाउँमा पुस्तकालयको उपलब्धता लगायत पुस्तकप्रति अनुराग बढाउने सरकारी नीतिनियम, आदिको सापेक्षतामा हेर्नु बुझ्नु आवश्यक हुँदो हो । पाठकको क्रयक्षमता पनि महत्वपूर्ण कुरो हो । सुलभ मूल्यमा पुस्तकको उपलब्धताको नीतिको अभाव पनि एउटा कारक हो ।
हुन त हाम्रो साक्षरता दर ६८ प्रतिशत छ तर हाम्रो शिक्षा प्रणालीले हामीलाई गाइड गेसपेपरमुखी र घोकन्ती बनाएको छ, सन्दर्भ वा सहायक सामग्री पढ्ने बानी हामीले बसाल्ने प्रयास नै गरेनौँ । सरकार आयातित पुस्तकमा कर थोपर्न उद्यत हुन्छ तथापि पुस्तकहरू प्रकाशित भइरहेको छन्, लेख्नेहरू लेखिरहेका छन्, अझ छायालेखन पनि फस्टाएको छ भनिन्छ । प्रकाशकहरू पनि थपिँदा छन् । त्यतिमात्र होइन, सेकेण्डह्याण्ड पुस्तक व्यवसाय पनि चलिरहेको छ । त्यसैले पठन संस्कृतिको लेखाचित्र निराशाजनक नै छैनहोला भन्ने अनुमानलाई बल पुग्दछ ।
नेपालमा पठन संस्कृति फस्टाउन नसक्नुका कारण के होलान् ? अलि प्रष्ट पारिदिनोस् न ।
प्रथमतः राज्य नै यस मामिलामा कमजोर देखिएको छ । यसबारे माथि पनि चर्चा गरियो । तथापि पठन संस्कृति कमजोर नै छ भन्नुपर्ने स्थितिचाहिँ छैन नै भन्ने लाग्दछ । हुन त यस मामिलामा मेरो ज्ञान कमजोर नै छ । तर पनि लेखकहरू बढेको बढ्यै छन्, पुस्तकहरू छापिएको छापियै छन्, प्रकाशकहरू थपिएको थपियै छन् । पुस्तकहरू बिकेको हुनाले अर्थात् पढिने भएको हुनाले न प्रकाशकहरू थपिएका होलान् भन्ने लागेको हो ।
तपाईंले त्यसो भन्नुहुन्छ तर नेपालीहरूमा पुस्तक पढ्नुपर्छ भन्ने चेतना नै छैन, पढेपनि साह्रै कमले मात्र पढ्छन् भनिन्छ । अध्ययनले आम जनसमुदायले मात्र हैन स्वयम् साहित्यकारले पनि पुस्तक किनेर पढ्दैनन् भनेर देखाउँछ । यसमा तपाईंको धारणा बताइदिनोस् न ।
अध्ययनले देखाएको कुरोलाई मैले टिप्पणी गरिरहनु परोइन । पुस्तक पढ्ने पढाउने बानी बिकास गर्ने हामीले प्रयास नै गरेनौँ भन्छु म त । विद्यालय तहदेखि नै त्यस्तो बानी बिकास गर्नेगराउने परिपाटी बसाल्नु पर्छ ।
तर पठनसंस्कृति र पुस्तक किनेर पढ्नु बेगल कुरा हुन् । कोट बेचेर पुस्तक किनौँ वा पुरानै कोट लगाऊँ तर पुस्तकचाहिँ पढौँ भन्ने हेनरी डेविड थोरोहरू पनि देखा परेनन हाम्रोतिर । अनि अचेल प्रविधिको बिकासले देशमा मात्र होइन, विश्वभरिनै पुस्तकहरू, पुस्तकालयहरू छायामा पर्न थालेका छन् । पुस्तक बिक्रीलाई त्यसले मज्जाले प्रभाव पारेको छ ।
कसले पुस्तक किन्यो, कसले किनेन भन्ने द्वेषी कुरो गरिरहनु आवश्यक होवोइन । पुस्तकले तानेर पनि कतिपय अवस्थामा किनीहाल्न सकिने स्थिति नहुँन सक्छ । अनि पुस्तकको मूल्य पनि आम पाठकमैत्री छैन । एउटा सानो उदाहरण हेर्नुस् – नीजी विद्यालयमा प्राथमिक कक्षामा पढ्ने एक जना विद्यार्थीको एक सेट पुस्तकको मूल्य रु पन्ध्र सय जति पर्दो रहेछ तर त्यही कक्षाको जनक शिक्षा सामग्री केन्द्रको पुस्तक सेटको मूल्य तीन सय पनि नपर्दो रहेछ । यो नाफामुखी दलाल पूँजीवादको लुट हो । अर्को कुरो, मानिसको मासिक बजेटको उल्लेखनीय अंश अचेल इसामग्रीले कब्जा गरिरहेकोछ । पुस्तकलाई मान्छेले त्यो हदको आवश्यक सामग्रीमा दर्ता नै गरेको छैन । बरु इपुस्तकको ब्यापार फस्टाइरहेको होला भन्ने लाग्दछ ।
नेपालमा सयौँ हैन हजारौँ कविसाहित्यकार छन् । तर बजारमा आएको राम्रै कृति पनि केही हजार बिक्न गाह्रो छ भन्छन् प्रकाशक । यसले पनि कविसाहित्यकारले पुस्तक किन्दैनन् भन्ने प्रमाणित हुन्न र ?
कविसाहित्यकारले पुस्तक किन्दैनन्, पढ्दैनन् भनी प्रमाणित गरिनुपर्ने आवश्यक कुरो हो र ? अनि पुस्तक बिकेन भनेर साहित्यकारहरूले पुस्तक पढ्दैनन् भनी आरोपित गरिहाल्नु कत्तिको मनासिब होला कुन्नि !? के पढ्ने, कसको पुस्तक पढ्ने, किनेर पढ्ने कि मागेर पढ्नेजस्ता कुरा मानिसका वैयक्तिक कुरा हुन् । अनि बिक्री मात्र राम्रो पुस्तकको मापदण्ड होइन होला । पुस्तकै नकिनीकन, नपढीकन कोही स्थापित साहित्यकार बन्दछभने त्यो त झन महान कुरो भएन र !?
प्रकाशकले के भन्छ भन्ने कुरोलाई आधार बनाएर छलफल गर्दा गलत निष्कर्षमा पुगिएला । प्रकाशक भनेको, हाम्रो सन्दर्भमा धेरैजसो प्रकाशकहरू, त्यस्ता प्राणी हुन जो लेखकको अक्षर बेचेर आपूm पोसिन्छन् बिक्रेतालाई पोस्दछन् र लेखकलाई बेठबेगारीसरह व्यवहार गरिरहन्छन् । धेरैजसो प्रकाशकले त पुस्तकको पारिश्रमिकमा मुठ्ठी कस्दछन्, संख्यामा ढाँटछन् अनि पुस्तकै गएको छैन भनी लेखकलाई निराश पारिदिइरहन्छन् ।
तपाईं झन्डै पाँच दशकदेखि लेखन कर्ममा क्रियाशील हुनुहुन्छ, आफ्नो लेखन र पाठक प्रतिक्रिया (रेस्पोन्स)बाट सन्तुष्ट हुनुहुन्छ ?
हो, मेरो लेखन पाँचौँ दशकमा यात्रारत छ । आरम्भदेखि नै मेरो लेखनयात्रा जानीनजानी अहिले जुन मार्गमा यात्रारत छ त्यही मार्गतिरै उन्मुख भयो । लेखनको असन्तुष्टि लेखकमा सधै रहिरहने कुरो पनि हो जस्तो लाग्छ, त्यसैले ऊ निरन्तर लेखिरहन्छ अघिल्लोभन्दा अझ राम्रो, अझ उम्दा लेखौँ भनेर प्रयत्न गर्छ । लेखन पनि अध्ययन र अनुभूतिले खारिँदै र विकसित हुँदै जाने कुरो हो । लेख्दालेख्दै उमेरक्रममा ऊ विस्तारै शिथिलतातिर पनि जान्छ । उमेरको एउटा वयबाट ऊ अतीतमुखी बन्दछ जस्तो लाग्छ ।
जहाँसम्म पाठकको प्रतिक्रियाको कुरो छ, मलाई लाग्दछ लेखकसम्म प्रायः पुग्दैन पनि । पुस्तकको बिक्रीलाई पाठकको प्रतिक्रिया सम्झने हो भने त्यस्तोमा थोरै लेखकमात्र पर्दछन् होला । तर के भ्रम रहनु हुन्न भने धेरै बिक्री मात्र लेखकको गुणवत्ता होइन । फ्रान्सेली साहित्यकार तथा दार्शनिक भोल्तेयरको विचारले अठारौँ शताब्दी र अझपछिसम्मको युरोपलाई आन्दोलित ग¥यो तर आफ्नो लेखनको आरम्भिक चरणमा आफ्नो पुस्तक बिक्री नभएको र बढी आलोचना खेप्नुपरेको पिरले उनले झण्डै आत्महत्या नगरेका । त्यसैले पाठक जे भन्दछन्, भनून, त्यो पाठकको अधिकारको कुरो हो, लेखकको लेखनको आफ्नो उद्देश्य छ, त्यसैले ऊ सकुन्जेल पाठकलाई समुचित सम्बोधन गर्दै त्यो उद्देश्यमा लागिरहन्छ ।
इस्मालीलाई नेपाली आख्यानमा कसरी चिन्ने ? प्रगतिशील लेखक भनेर चिन्ने कि अरू कुनै उपमा/उपाधि दिन सकिन्छ ?
पाठक, समीक्षकले मलाई पढदा जे बोध गर्दछन्, मेरो चिनारी त्यही नै हो । यसमा थप केही भनिरहनु पर्दछ भन्ने मलाई लाग्दैन । तथापि समाजवादी यथार्थवादलाई मार्गदर्शन मानेर मेरो लेखन आफ्नो जमिनमा उभिने बल गरिरहेकै छ भन्ने लाग्दछ । आगे पाठक, समीक्षकहरूको आआफ्नो मूल्याङ्कन यथास्थान त्यसको गुरुत्तासँगै रहन्छ नै ।
नेपाली कथा लेखनमा इनोभेसन /नयाँ खोज केही गर्नुभएको छ कि ?
कथालेखनमा भनौँ वा साहित्यलेखनमा नयाँ खोज भन्नु त्यति आवश्यक कुरो होइन कि, बरु नयाँ दिने वा नयाँ प्रस्तुतिको कुरो भनौँ , नयाँ कथ्य, नयाँ परिवेश, खास समाज, आदि होला । त्यो त हरेक लेखकले हरेक रचनामा फरकफरक कुरा दिइरहेका हुन्छन् नै । यस्तो नयाँपन उपन्यासमा बढी अपेक्षित हुन्छ । मेरा उपन्यासहरू सेतो आतङ्क, जिरोमाइलले पनि एक हदसम्म खास वर्ग समुदायको चित्र उतारेका छन् ।
समाजवादी यथार्थवादी साहित्य समाजमा नयाँ मान्छेको खोजीमै प्रवृत्त रहने गरेको धारा हो । र,त्यो खोजको छनक मेरा कतिपय कथामा देख्न सकिन्छ भन्ने लाग्दछ ।
अहिले पनि नेपाली साहित्य बीस र तीसको दशककै वरिपरि घुमिरहेको छ भन्ने सुनिन्छ । के यो सत्य हो ?
थाहा भएन यस्तो भनाइ कुन कोणबाट आएको हो ? हुन त साहित्यको इतिहास, समीक्षा आदिबारेको ज्ञानमा म आफूलाई अज्ञानी नै ठान्दछु । बीस तीसको दशकको नेपाली साहित्यमा आधुनिकता, अस्तित्ववाद, यथार्थबाद, आदर्शवाद, मनोविज्ञानवाद जस्ता प्रवृत्तिहरू बढी मुखर थिएभने अहिले नेपाली साहित्य त्यहाँबाट अगाडि उक्लिसकेको छ, बीस तीसको दशकमा प्रगतिवाद बामे सर्दो मात्र थियो भने अहिले एउटा उचाइमा छ । छ दशकको यो यात्रामा नेपाली साहित्य विचार दर्शनको यात्रामा धेरै अगाडि बढिसकेको छ होला भन्ने लाग्दछ ।
तिनताका साहित्य राजनीतिबाट पृथक रहनु पर्दछ, साहित्य साहित्यका लागि लेखिनु पर्दछ भन्ने भनाइ बलशाली थियो भने आज राजनीति विचारको मियो हो, साहित्य समाजका लागि जनताका लागि लेखिनु पर्दछ भन्ने विचार बलशाली भएको छ । समाजको चेतना पनि सामन्ती र पूँजीवादी संस्कृतिबाट जनवादी संस्कृतितर्फ रूपान्तरित हुने चेष्टा गरिरहेको छ, हिजोको राजावादी केन्द्रवादी र एकल सांस्कृतिक चेतनावादी धरातलबाट माथि उठेर साहित्य गणतान्त्रिक चेतयुक्त भएर बहुलवादी, विभेदविरोधी, पहिचानवादी, वर्गवादी र जनवादी यात्रामा अघि लम्किरहेको देख्दादेख्दै बीस तीसकै दशकको वरिपरि घुमिरहेको छ भन्नु समाजमा देखापरेको नयाँ चेतनालाई निषेध गर्ने भ्रमात्मक प्रयास हो कि भन्नुपर्दछ । कतै क पहिलेजस्तो थियो, अहिले पनि त्यस्तै पो छ भनेजस्तो कुरो त नहोला यो !
अनि समाजवादी यथार्थवाद गतिमान यथार्थवाद हो, जुन आरम्भिक चरणमा दासवर्गमा प्रतिरोधी चेतनाको खेतिमा लाग्यो भने पछि क्रमशः सामन्तवादविरोधी, पूँजीवाद विरोधी हुँदै जनवादी बन्दै समाजवादी मार्गमा प्रवृत्त हुँदैरह्यो र त्यहाँ पनि समीक्षात्मक भूमिका निर्वाह गरिरहेको देखिन्छ । त्यसैले पनि बीसतीसकै दशकमा घुमिरहेको छ भन्ने निष्कर्ष त्यति संगतिपूर्ण होइन कि ।
नेपाली साहित्यले गुणात्मक प्रगति गर्न किन नसकेको होला ? कतै सर्जकहरू साहित्यकार कम राजनीतिक कार्यकर्ता बढी भएर त यस्तो भएको हैन ? कि तपाईंले माथि व्यङ्ग्य गरेजस्तै पुस्तकै नकिनीकन, नपढीकन स्थापित साहित्यकार बन्ने ध्याउन्नले त कमजोर भएको हैन ?
नेपाली साहित्यले गुणात्मक प्रगति गरेको छैन भन्ने निष्कर्षलाई अहिले लेखिइरहेको साहित्यले नै बदर गरिरहेको छ भन्ने लाग्दछ मलाई । जहाँसम्म सर्जकहरू ‘साहित्यकार कम राजनीतिक कार्यकर्ता बढी’ भएर गुणात्मकता नआएको हो कि भन्ने आशंका छ, त्यसमा छलफल गर्दा हुन्छ । परिमाण र गुण फरक कुरा हुन् । परिमाणबाटै गुणको बिकास पनि हुन्छ । विश्वेश्वर प्रसाद कोइराला राजनीतिज्ञ नै हुन् नि, उनको साहित्य कमजोर भएको हो त ? साहित्यमा उनी केको पक्षधर रहे त्यो अर्को पाटो हो ।
मोहनबिक्रम, मोहन वैद्य, मोदनाथ प्रश्रित, आदिको नाम लिन सकिन्छ । भूपि शेरचनकै कुरा गरौँ न कम्युनिष्ट हुन्जेल उनले उम्दा कविता लेखे, त्यो पथबाट विचलित भएपछि उनको साहित्यिक अवसान नै भयोभन्दा पनि हुन्छ । त्यसैले श्रष्टा राजनीतिमा छ र विवेक मारेको छैन भने गुणस्तरीय नै लेखिरहेको हुन्छ । तर एउटा समुदाय यस्तो पनि देखिन्छ जो २–४ वटा कविता, गीत, गजल वा कथा लेखेर ठूलै साहित्यकार भएँ भनी गमक्क पर्दै साहित्यकार हुनुको गुमान पालेर बस्छ । आपूm र आफ्नो मण्डलीबाहेक अरुलाई गन्दै गन्दैन । बरा, तिनले साहित्यको गुण र स्तरको के हेक्का पाऊन !
मैले माथि नयाँ खोजको कुरा गरेको थिएँ । नेपाली साहित्यकारहरूले नयाँ गर्न किन नसकेको ? कतै साधनाको कमीले त हैन ? भनिन्छ पचासको दशकपछिको पुस्ता अध्ययन र साधना हैन प्रचारमुखी हुँदै गएको छ ।
नयाँ खोज वैज्ञानिकले गर्छन्, साहित्यकारले त समाजमा जे देख्छन् र देख्न चाहेका छन्, त्यही पस्किने न हुन् । हो, यही पस्काइमा नयाँपन (त्यो कथ्यमा हुनसक्छ, परिवेशमा हुन सक्छ वा अन्यमा) को कुरो हो भने त्यो परिश्रमी साहित्यकारले मात्र गर्नसक्ने कुरो हो, सबैको बुताले भ्याउने कुरो होवोइन पनि । सघन अध्ययन, अन्तरङ्ग अनुभुति, आद्य संवेद्यता, न्यायपूर्ण पक्षधरता, सकृय सहभागिता, सतत् साधना आदिले मात्र नयाँ र जीवन्त सृजना बन्न सक्दछ । कोही जगतको ध्यान आपूmतिर आकृष्ट गर्न चाँडै चर्चामा आउन चाहन्छन्, त्यो मानवीय स्वभाव पनि होला । मानिस कोही नामको भोको छ, कोही सम्मानको भोको छ, कोही पैसाको भोको छ । यस्तो विविधता लेखकसाहित्यकारमा पनि हुनै नै भयो । सबै एउटै कोटीका त्यागी, निस्वार्थी, इमान्दार, न्यायी हुनेभए त संसार बेग्लै भइहाल्थ्यो नि, हैन र ? बगैँचामा थरिथरिका पूmल र विरुवा त भइहाल्छन् नि !
अन्तिममा बताइदिनोस् न पाठकलाई नयाँ के दिँदै हुनुहुन्छ ?
मैले माथि नै भनेँ अहिले एउटा उपन्यास दुर्धर्ष प्रकाशनोन्मुख छ, अहिलेको पाठकलाई सेतो आतङ्क र जिरोमाइल पनि नयाँ नै हुन्छ, ती उपन्यास कहाँ पाइन्छन् भन्ने सोधनी जिज्ञासा सुनिरहन्छु म, त्यसैले ती दुईको प्रकाशनको चाँजोपाँजो पनि मिलाउने जमर्को पनि गर्दैछु । म्याक्सिम गोर्कीको लोकप्रिय कथाहरूको नेपाली अनुवाद पनि तयार छ । अरु दुईवटा उपन्यासमा पनि काम गर्दैछु । हेरौँ ।
तपाईंको तर्फबाट भन्न छुटेको तर भन्नै पर्छजस्तो लागेको केही छ कि !
अहिले हामी सामाजिक, सांस्कृतिक र राजनीतिक रुपले गम्भीर संक्रमणमा छौँ । आर्थिक, शैक्षिक पाटो अझ बेग्लै छ । समाजमा पारिवारिक विघटन बढदो छ, संस्कृतिमा सांस्कृतिक अतिक्रमण बढ्दो छ, भाषामा छिमेकी भाषा र अङ्ग्रेजी भाषाको हस्तक्षेप बलशाली छ, राजनीतिमा विचारबाट विचलन झाङ्गिदो छ । सही विचार बोकेकाहरूको खडेरी पनि बढ्दो छ सही भन्ने बुझाइ नै संकटग्रस्त बन्दो छ । यस्तो संकटापन्न घडीमा हामीमा मानवप्रति, खासगरी विभेदमा पारिएकाप्रतिको प्रेम र न्याय पल्लवित भइरहोस् र मानवीय प्रेमले ओतप्रोत सुन्दर समाजको निर्माणमा जुट्ने सदीक्षा हामीमा जागृत भइरहोस, मान्छेभित्र रहेको यो राम्रो विचार मर्न नपाओस भन्ने लागेको छ ।