राज्यसत्ताले बागी आवाज मन पराउँदैन । चाहे त्यो प्रजातान्त्रिक होस् अथवा समाजवादी, दुबैले बागी विचारमाथि अङ्कुश लगाउँछन् । इतिहास केलाउने हो भने जुनसुकै युग र समाजमा लेखककलाकार सत्ताको वक्रदृष्टिमा परेको पाइन्छ । लेखक हुनु भनेको फरक दृष्टि हो । प्रतिपक्षी सोच पनि हो । हुन त हरेक सभ्यतामा लेखककलाकारले सत्ताको ताबेदारी नगरेका हैनन्, गरेका छन् । तुच्छ स्वार्थका निम्ति कलासाहित्यलाई निर्घिनी सात्ताधारीको पाउमा चढाएका छन् । राज्यसत्ताको स्थिरताका लागि आफूलाई समर्पित गरेका छन् ।
सत्तासँग जोडिनु भनेको सत्ताधारी विचार र दृष्टिकोणलाई आत्मसात् गर्नु हो । आफ्नो विचारलाई राज्यसत्ताको छहारीमा विकसित गर्न खाेज्नु हो । यस्तो प्रवृत्ति हिजो थियो, आज छ र भोलि पनि रहने छ । यसकाे अर्थ याे हैन कि सबै कविकलाकार सत्ताकाे भक्तिरागमा रमाउँछन् । सबैले सत्ताकाे गीत गाउँछन् । यहीँनेरि लेखक र लेखन्दासबिचमा फरक देखिन्छ । सत्ताकाे हण्डी खाएर काेही पनि बागी हुन सक्दैन । खास लेखक न सत्ताकाे छायामा रमाउँछ न सत्तादेखि तर्सिएर बाटो माेड्छ । यही कारण हो प्रत्येक युगमा बागी लेखक सत्ताकाे काेपभाजनमा परेका ।
अहिले मात्र हैन पौराणिक कालमा पनि सत्ताले कवि र कविले सत्तालाई आफ्नो स्वार्थसिद्धिमा प्रयोग गरेको पाइन्छ । त्यतिखेर पनि फरक मत नहुने हैन, थियो । अहिलेजस्तो मुखर थिएन हाेला तरपनि धर्माधिकारीहरूले सधै एकछत्र राइँदाइँ गर्न पाउन्नथे । कहीँ न कहीँ विरोधका स्वर जागृत हुन्थे । तर त्यस्ता स्वरलाई स्वयम् साहित्यकार, धार्मिक पीठाधीस र राज्यसत्ता मिलेर निमोठनामठ गर्थे । धार्मिक सोच र दार्शनिक तथा विज्ञानका क्षेत्रमा फरक मत राख्नेहरु त्यतिखेर पनि सत्ताबाट प्रताडित थिए । राजदरबारमा शास्त्रास्त्रको माध्यमले विरोधी मतलाई खुइल्याउने र विरोधी कवि लेखकलाई जलसमाधी लिन बाध्य गर्ने चलन त्यतिखेर पनि थियो ।
सत्ताले विरोधी मतलाई कसरी सिध्याउँछ भन्ने उदाहरण हुन् ऋषि चार्वाक । उनलाई जिउँदै जलाउने मात्र हैन उनको साहित्य र विचारलाइसुद्ध उठ्नै नसक्ने गरी सिध्याइएको थियो । चार्वाक लोकायत दर्शनका प्रणेता र सशक्त भौतिकवादी अभियन्ता थिए । उनले धार्मिक अन्धता र हिन्दु कट्टरताको खुलेर विरोध गर्थे ।
सोह्रौ शताब्दीमा क्राइष्ट, चर्च र पादरीको विरुद्ध विचार राखेको अभियोगमा गियोर्दानो ब्रुनोले जिउँदै जल्नु परेकाे तीताे यथार्थ हाम्रा सामु छ । उनले ग्यालिलियोको सूर्यकेन्द्रित सिद्धान्तप्रति आस्था र क्राइष्टको दैवी शक्तिमाथिको अविश्वास अन्तिम समयसम्म पनि छोडेनन् । यो सत्तामाथि गरिएको प्रश्न थियो, आलोचना थियो । कपर्निकस सत्ता र धर्माधिकारीबाट जीवनभरि अपहेलित र बहिस्कृत भएर बाँच्नुप¥यो । उनको खगोलसम्बन्धी पुस्तक ‘अन द रिवोल्यूसन अफ द हेवन्ली स्फीयर्स’ लामो समयसम्म प्रतिबन्धित भयो ।
हिन्दु अतिवादका विरुद्ध लेखेकै कारण केही वर्ष पहिले भारतीय लेखक एमएम कलबुर्गी, नरेन्द्र दाभोल्कर र गोविन्द पान्सरेको हत्या भयो । पत्रकार गौरी लंकेश पनि त्यही जुर्ममा मारिइन् ।
बंगलादेशको अवस्था झनै डरलाग्दो छ । धार्मिक कट्टरवाद र रुढीवादको विरोध गरेर लेखेकै कारण ब्लगर बसिकुर रहमान, अभिजित राय, निलाँय नील र अनन्त विजाँय दास गरी चारजनाको निर्ममतापूर्वक हत्या गरियो । उनीहरूको गल्ती भनेकै इस्लामी कट्टरपन्थको विरोध र धर्मनिरपेक्षताको पक्षमा कलम चलाउनु थियो । उनीहरूमाथि धार्मिक विद्वेष फैलाएको र इस्लाम विरोधी लेख लेखेको आरोप लगाए पनि खासमा उनीहरू सत्ताविरोधी विचार बाेकेकै कारण मारिनु पर्याे ।
कविता लेखेकै र सत्ताको विरोध गरेकै कारण दाँते जिन्दगीभर भाग्दै र लुक्दै हिँड्नु पर्याे। भारतीय लेखक अवतार सिंह पास मारिनुको मुख्य कारण कविता नै थियो । युगोस्लोभाकियाका लेखक जुलियस फ्युचिक जेलमै मारिए ।
भारतीय मुलका ब्रिटिस लेखक सलमान रुस्दीको सन् १९८८ मा प्रकाशित उपन्यास ‘सटानिक भर्सेज’माथि भारतलगायत कैयौँ देशमा प्रतिबन्ध लगाइयो । कृतिमाथि प्रतिबन्ध मात्र लगाइएन इरानी सर्वोच्च नेता आयोतल्लाह खोमेनीले फतवा (मृत्युदण्ड) समेत जारी गरे ।
यस्तै बंगलादेशी लेखिका तसलिमा नसरिनको उपन्यास ‘लज्जा’ माथि प्रतिबन्ध लगाउनुका साथै उनीमाथि मृत्युदण्ड जारी भएपछि उनी आफ्नो देशबाट पलायन हुन बाध्य भइन् ।
दक्षिण एसियामा मात्र हैन यस्ता उदाहरण विश्वभरि पढ्न र देख्न पाइन्छ । अमेरिकाजस्तो लोकतान्त्रिक मुलुकमा पनि लेखकहरूका कृति प्रतिबन्धित भएको पाइन्छ । अफ्रिकी मुलकी अमेरिकी लेखक टोनी मोरिसनको ‘द ब्लुएस्ट आई’ उपन्यास त्यहाँ प्रतिबन्धित भयो । विषयवस्तु र भाषा अश्लील भएको कारण देखाउँदै उनका अन्य कृतिहरू ‘बिलभेड’ र ‘सङ अफ सोलोमन’लाई पनि प्रति विद्यालयमा पढ्न पढाउन दिइएन ।
विश्वमा भएका विद्राेह, गृहयुद्ध र आन्दोलन सफल हुनुकाे पछाडि कविलेखकको ठूलो भूमिका रहेको छ । विचार प्रवाह र सांस्कृतिक रूपान्तरण मात्र हैन राजनीतिक परिवर्तनमा समेत लेखक साहित्यकारको महत्वपूर्ण भूमिका हुन्छ । राज्यसत्ताजस्तै गरी लेखकहरू पुरानै गोहोमा हिँड्नु भनेको विचार र दृष्टिकोणलाई कि त बन्धक बनाउनु हो कि यथास्थितिको गीत गाउनु हो । यदि यस्तै हुन्थ्यो भने यो समाज र सभ्यता अहिले कहाँ हुन्थ्यो होला अनुमान लगाउन मात्र सकिन्छ । यसको अर्थ परिवर्तनका मसिहा लेखक मात्र हुन् भन्न खोजको हैन तरपनि विचार निर्माण, प्रवाह र सामािजक परिवर्तनमा उनीहरूको ठूलो हात हुन्छ ।
राजनीति राज्यसत्तासँग जोडिएको विषय हो । त्यसले जहिले पनि आफूलाई विद्रोही विचार र अग्रगामी सोचबाट बचाउन खोज्छ । तर खास लेखक जहिले पनि जनताको पक्षमा र अग्रगामी सोचको पक्षमा हुन्छ, भलै उसको आवाज धीमा किन नहोस् । समाज परिवर्तनमा राजनीतिको जति ठूलो भूमिका हुन्छ त्यति कलासाहित्यको नहोला तर त्यसका लागि वातावरण बनाउने काम कलासाहित्यको हाे । सपना र कल्पनाका माध्यमले हाेस् कि समकालीन विद्रूप यथार्थकाे चित्रण गरेर हाेस् जनमानसमा विद्राेही भावना जागृत गर्ने काम साहित्यले नै गर्छ ।
विश्वका धेरै देशमा परिवर्तनका लागि लेखक साहित्यकारले बलिदान दिएको पाइन्छ । रसियन साहित्यका महाकवि पुस्किन र कवि मिखाइल लेम्रोतोभले राज्यसत्ताविरोधी विचार प्रवाह गरेकै कारण मारिनु पर्याे । क्रान्तिकारी विचार प्रवाह गरेको र साहित्य लेखेकै कारण निकोलाई चेर्नेब्स्कीले वर्षौं जेल यातना र निर्वासनमा कठोर शारीरिक श्रम गर्नुपर्याे ।
उनीहरुमाथि निरङ्कुश राजतन्त्रले अतिचार गरेकाे थियाे । तर समाजवादी रुसमा पनि यो क्रम राेकिएन । त्यहाँ पनि फरक विचार र दृष्टि राखेर साहित्य लेखेबापत बाेरिस पास्तरनाकले सत्ताकाे प्रताडना सहनु पर्याे । उनले नाेबेल पुरस्कार सम्म लिन पाएनन् । समाजवादी सत्ता र विचारको विपक्षमा लेखेकै कारण सोल्जेनित्से विदेशिनु पर्यो । सत्ताको आलोचना गरेकै कारण उनलाई शोभियत सरकारले देश निकाला गर्याे । सोल्जेनित्से मात्र हैन समाजवादी विचारसँग असहमति राखेकै र लेखेकै कारण युगोस्लाभियाका लेखक मिलोभान दिलासाले चौध वर्ष जेलमा बस्नु पर्याे ।
कहीँ पनि र कुनै पनि राज्यसत्तामा लेखक साहित्यकारले स्वतन्त्रतापूर्वका आफ्ना विचार प्रवाह गर्न पाउँदैनन् । किन यस्तो हुन्छ ? के लेखक साहित्यकारको नियति भनेकै बलिदान हो ? राज्यसत्ता किन सुन्न चाहँदैन विरोधी विचार ? किन ऊ यथास्थितिमै रमाउन खोज्छ ?
स्पेनिस गृहयुद्धमा लोकतान्त्रिक विचार र शक्तिको पक्षमा लड्दालड्दै कैयौँ लेखक साहित्यकारले मारिनु पर्याे । गृहयुद्धको अन्तिम दिनमा गिरफ्तारीमा परेका प्रसिद्ध कवि एन्टोनियो मचाडो मारिए । उनी भोक र रोगले जेलमै मारिन बाध्य हुनुपर्याे । अहिले पनि उनको ‘त्यहीँ हिँड्नु जहाँ बाटो छैन’ भन्ने कविता पढ्दा यस्तो लाग्छ कि उनका नसानसामा विद्रोह थियो ।
स्वयंसेवकको अन्तर्राट्रिय ब्रिगेडमा सहभागी भएर स्पेनिश गृहयुद्धमा सहभागी बनेका राल्फ फक्स र क्रिस्टोफर कडबेल पनि युद्धमा मारिए । यी दुबै लेखक त्यो समयका उम्दा युवा बुद्धिजीवी र लेखक थिए । गृहयुद्धको सुरुकै समय सन् १९३६ मा कवि गार्सिया लोर्कालाई गोली हानेर मारियाे । उनलाई गाेली मात्र दागिएन, अर्धचेत अवस्थामा ग्रानादा सहरको सडकमा घिसारियो । यी विश्वविख्यात कवि ३७ वर्षको अल्पायुमै मारिए । उनको हत्यापछि उनका कृतिहरू सहरको मुख्य चोकमा जम्मा गरेर आगो लगाइयो ।
अर्का दुई कवि मिगुएर हर्नान्डेज र मिगेल एरननदेशलाई पनि गिरफ्तार गरी जेलमै सडाएर मारियो । यी दुबै कविलाई मृत्युदण्डको सजाय दिइएको भएता पनि भोक र रोगका कारण मृत्युवरण गर्न बाध्य भए ।
यी केही उदाहरण हुन् परिवर्तन र सुन्दर समाज निर्माणका लागि बलिदान दिने कवि लेखकहरूका । खोज्दै जाने हो भने यस्ता कविलेखक सयौँको संख्यामा भेटिन्छन् विश्व साहित्यमा, जसले राज्यसत्तासँग आँखा जुधाएका थिए । कतिले लेखेर, कतिले बोलेर र कतिले बन्दुक उठाएर निरङ्कुशता र तानाशाही व्यवस्थाका विरुद्ध आवाज बुलन्द गरेका थिए ।
नेपाली इतिहासमा पनि कविकलाकारको ठूलो पङ्क्ति छ बलिदानको कोटा चुक्ता गर्नेमा ।
मकैको खेती लेखेबापत सत्ताको कोपभाजनमा परी मृत्युवरण गर्ने प्रथम सांस्कृतिक सहिद हुन् सुब्बा कृष्णलाल अधिकारी । उनीबाट सुरु भएको बलिदानको कोटा जनयुद्धको उत्कर्षमा आइपुग्दा धेरै नै माथि पुग्यो । त्यस्ता प्रतिभाहरू जसको सपना समानता र स्वतन्त्रतासहितकाे सुन्दर समाज बनाउने थियो, गाउँदागाउँदै मारिए । लेख्दालेख्दै मारिए । स्वतन्त्रता, समानता र सुन्दर समाजका लागि बोलेकै र लेखेकै कारण कविकलाकारको हत्या गर्नु त्यतिखेर सामान्यजस्तै थियो । कृष्णसेन इच्छुक यही आरोपमा गिरफ्तारीमा परे । विद्रोहीलाई सघाएकै आरोपमा नृशंसतापूर्वक मारिए ।
सामन्तवादी राज्यसत्ताको ठाउँमा जनगणतन्त्र निर्माणहेतुले माओवादीले सुरु गरेको जनयुद्धमा झन्डै एकसय पचत्तर जना कविकलाकारको सहादत भयो । उनीहरूको दोष भनेकै जनताका कविता लेख्नु र गीत गाउनु थियो । सत्ताको विरोधमा विद्रोही आवाज बोल्नु थियो । यसरी मारिनेमा कवि तथा पत्रकार कृष्ण सेन इच्छुक, मस्त विष्ट, अन्जान विरही, पुष्पराज चौधरी, चुनु गुरुङ, शारदा श्रेष्ठ, रोहित कोइराला, हर्षबाहादुर मल्ल र डि कौडिन्यहरू थिए ।
त्यतिखेर देशैभरि यति धेरै हत्याकाण्डहरू भए कि अहिले सम्झियो भने पनि आङका काँडा उठ्छन् । २०५५ साल चैत ५ गते अनेकोटमा घरभित्र आगो लगाएर च्याङ्गा लामा र गुम्बासिंह तामाङसहित सात जना कलाकारको हत्या गरियो । यस्तै २०५६ साल पुस २९ गते अछामको डुङ्गलामा नौजना, २०५६ सालमै कालिकोटको घोडेकोटमा चार जना र २०५६ साल असार ८ गते रोल्पाको भाबाङमा एघारजनाको सामुहिक हत्या गरियो ।
यो क्रम रोकिएन । कविकलाकारलाई सामुहिक रूपमा हत्या गर्ने क्रममा २०५८ साल चैत ४ गते रोल्पाको गुमचालमा ४ जना, २०५९ साल भदौ ९ गते डोल्पाको माझफालमा आठ जना र २०६० साल मङ्सिर १८ गते अछामकाे विनायकमा चार जनाको हत्या गरियो ।
यसरी जनयुद्धकालमा बागी आवाज बोलेकै कारण ठूलो संख्यामा कविकलाकारको हत्या भयो । उनीहरूको हत्या गर्नुको भरपर्दो कारण सरकारले दिएन । मारिनेहरुले बन्दुक बाेकेका थिएनन् । सेना र प्रहरीमाथि बम फ्याकेका थिएनन् । गाएकै कारण, कविता लेखेकै र सुनाएकै कारण उनीहरू मारिए ।
माथिका तथ्य र उदाहरणबाट थाहा हुन्छ एक दशक चलेको जनयुद्धमा सत्ताले कतिधेरै हत्याकाण्ड चलाएको थियो । त्यो बर्बरता उनीहरूको आवाज बन्द गर्नका लागि थियो । गीतसङ्गीत र कविताबाट समाजमा फैलिने जागृति रोक्नका लागि थियो । जतिपनि कविकलाकार मारिए सबै परिवर्तनका लागि भएको न्यायपूर्ण युद्धमा भाग लिएवापत मारिए । जनतालाई बिउझाउँदै गाउँगाउँ हिँडेको अपराधमा मारिए ।
हामी त्यस्तो भयाबह अवस्थाबाट गुज्रिएर यहाँसम्म आइपुगेका छौँ ।
कृष्णसेन इच्छुकको सहादत भएको दिन जेठ १३ गतेलाई जनयुद्ध पक्षधर पार्टीहरू बलिदान दिवसको रूपमा मनाउँछन् । सेनको स्मृतिदिवसलाई सांस्कृतिक बलिदान दिवसको रूपमा मनाउनु निश्चय पनि प्रशंसायोग्य कुरो हो । यसले नयाँ पिँडीलाई हिजोको बलिदानी महासमरको इतिहास पढ्न प्रेरित गर्छ । उनीहरूले समानता, स्वतन्त्रताका र जनगणतन्त्रका लागि कसरी हाँसीहाँसी बलिदान दिएका थिए ? कसरी तानाशाही नृशंसताविरुद्ध प्रतिरोधमा उत्रिएका थिए ? याे कुरा पढ्न र बुझ्नका लागि पनि थप सहयोग पु¥याउँछ ।
उनीहरूले बुझ्ने छन् कि त्याग, समर्पण र निष्ठाका लागि अग्रज कविकलाकारहरू कसरी लडेका थिए ? महान् आदर्शका लागि सत्ताविरुद्ध कसरी उभिएका थिए ? कसैले पनि सामान्य कामका लागि ज्यानको आहुति दिँदैन । जनयुद्ध सामान्य घटना थिएन । कसैको सनक र लहडमा चालिएको हत्याहिंसा थिएन । प्रतिध्रुवका स्वघोषित लेखक साहित्यकार, बुद्धिजीवी र अभियन्ताहरूले जनयुद्धको जति नै विद्रूपीकरण गरे पनि यो युद्ध महान् युद्ध नै थियो । यही महानताका कारण नै त्यतिधेरै कविकलाकारले बलिदान दिन तत्पर भए । हाँसीहाँसी आफूलाई दुश्मनको अघिल्तिर उभ्याए तर शिर झुकाएनन् ।
कृष्णसेन इच्छुक त्यही महान् आदर्श, त्याग र नयाँ यथार्थका प्रतिनिधि पात्र हुन् । उनको स्मृति र बलिदान दिवसले यही सत्यलाई सम्झाइरहने छ ।
तर पनि प्रश्नहरू प्रशस्तै छन् । बलिदान दिवसको अससरमा यस्ता प्रश्नमाथि बहस गर्ने कि नगर्ने ? हामीले जुन अभिप्रायले बलिदान दिवस मनााउन सुरु गरेका थियौँ के त्यो काम प्रभावाकारी भएको छ ? के हामीले इच्छुक लगायत एकसय साठी जना कविकलाकारले दिएको बलिदानको उच्च मूल्याङ्कन गरेका छौँ ? र, के हामीले इच्छुकका पदचापलाई सही ढंगले पछ्याएका छाैँ ?
कृष्णसेनलाई सम्झिनु वा बलिदान दिवस मनाउनुको अर्थ श्राद्ध गर्नु हैन । उनको विचार र आदर्शलाई पछ्याउनु हो । उनले दिएका योगदान र बलिदानलाई जनताको पक्षमा लगाउनु हो । जुन उद्देश्यका लागि उनीहरूले ज्यानको आहुति दिए ती उद्देश्य पूरा भएका छैनन् । अझ धेरै बाँकी छ लड्न । उनीहरूलाई सम्झिनुको अर्थ हो नयाँ युद्धको, सङ्घर्षको र आन्दोलनको विकास गर्नु ।
प्रश्न गर्न पाइने कि नपाइने ? हिजो राज्यसत्तासँग प्रश्न गर्न पाइन्नथ्यो । सत्तासाँग आँखा जुधाउनु भनेको घोर आपत्तिको विषय हुन्थ्यो । के आज त्यसमा परिवर्तन भएको छ ? के गणतान्त्रिक सत्ताले हिजो बलिदान गर्ने सहिदका सपना र आदर्शलाई बोकेको छ ? र, के क्रान्तिकारी भनिनेहरूले त्यसको विकल्पमा नयाँ खाेज गरेका छन् ?
सबैले आफ्नो अनुहार मात्र सुन्दर देख्छ । द्वन्द्ववादले त्यसो भन्दैन । विद्रोह र क्रान्तिचेत हुनेहरूले अरूका प्रश्नहरू पनि सुन्न सक्नुपर्छ । सुन्दर छ भने अरूको अनुहारलाई पनि सुन्दर छ भन्न सक्नुपर्छ । अरूले गरेका सबै खराब भन्न थालियो भने हामी नयाँ हुन सक्दैनौँ । अरूले गरेका प्रश्नलाई सौहार्दपूर्वक उत्तर दिन नसक्नु भनेको अधिनायकवादी सोच हो । म नै सर्वेसर्वा हुँ भन्ने सोच इच्छुकका पथगामीमा हुनु निश्चय पनि दुःखलाग्दो कुरो हो ।
इच्छुक अरूका कुरा सुन्थे । उनले फरक मतलाई पनि सम्मान गर्थे । र, कलासाहित्यमा मिलेर काम गर्न प्रेरित गर्थे । मलाई याद छ जनयुद्ध सुरु भैसक्दा पनि उनी साहित्य सन्ध्यामा गएर कविता सुनाउँथे । ‘सेतु जैसीको घर’ कविता मैले त्यहीँ सुनेको हुँ । उनको आदर्श पछ्याउनु भनेको गुट र कोटरीमा रमाउनु हैन । फराकिलो छाती बनाएर बहस र अन्तक्र्रियामा उत्रिनु हो ।
इच्छुक प्रतिष्ठान संस्था मात्र हैन आन्दोलन हो । क्रान्तिकारी कलासाहित्यको केन्द्र हो । किनभने त्यो कृष्णसेनसँग जोडिएको छ । इच्छुकका आदर्शमा खडा भएकाे छ । कृष्णसेनसँग त्यही विचार र पात्र जोडिनसक्छ जसले उनका आदर्श पछ्याउँछ । उनको आदर्श भनेको क्रान्ति र परिवर्तनप्रति अगाध विश्वास, निष्ठा र समर्पण हाे । सत्ताको अघिल्तिर नझुक्ने र सत्यका लागि हाँसीहाँसी मृत्युलाई स्वीकार्ने बलिदानको नयाँ यथार्थ हो । के हामीले त्यो आदर्शलाई आत्मसातिकरण गरेका छौँ ?
कृष्णसेन इच्छुक कुण्ठा, आवेग र गुटगत मानसिकताभन्दा धेरै माथि थिए । उनी शब्द र कर्म दुबैमा क्रान्तिकारी थिए । उनका पदचाप पछयाउनु भनेको उनका शब्द र कर्ममा हुने एकरूपतालाई पछ्याउनु हो । जीवन र व्यवहारमा सङ्गति खोज्नु हाे ।
के त्यो महान् आदर्शलाई इच्छुक प्रतिष्ठान र त्यहाँ बसेकाहरूले पछ्याउन सकेका छन् ? कतै हामीले त्यो महान् बलिदान र निष्ठाको सतिसाललाई साँघुरो चौघेरामा सीमित त गर्दै छैनौँ ? इच्छुकका पदचाप पछ्याउनु भनेको म नै सत्ता हुँ भन्ने अभिमानलाई भत्काउनु हो । उनी लगायत सयौँ कविकलाकारले छोडेर गएको महान् आदर्श र त्यागको उदात्त भावनालाई बोक्नु हो ।
(गुल्मी)