पाँच दिनको छुट्टी मेरो लागि ‘माइत’ अर्थात् बेल्जियम जानलाई बम्पर उपहार भयो ।
काम-घर, घर-काम दिनहुँ दोहो¥याई रहनु पर्ने दैनिकीले जुनी उसै खेर गए झैँ लाग्छ । छुट्टी भन्दैमा कहाँ त्यति सहज छ र ? हिँड्ने अघिल्लो दिनसम्म ड्युटी, घुम्न जानलाई पुग्दो तयारी गर्नै नभ्याइने । साँझ हतार—हतार केही लुगाफाटा सुटकेसमा हाल्न पाउनु मेरो लागि ठूलो कुरा भयो । धन्न रात्री ड्युटी परेकोले विजयजी मलाई गाडीमा पु¥याउन भ्याउने हुनुभयो । नत्र तलङ्कामा सुन छ कान मेरो बुच्चै भने जस्तै हुन्थ्यो । आँगनमा कार हुनु तर कुदाउने नहुनु !हर्षले बिहान ५.३० मै निद्राले छाडिहाल्यो । हर्ष पनि यस्तो कि घरको त चिया पनि खान मन नहुने । हामीले घर छाड्दा ६ .३० भएको थियो । एक घण्टा फाल्तु समय राखेर हिँडेकै हो तर नर्थहोल्ड लन्डन आइपुग्दा बाटो पूरै जाम भयो ।
नर्थहोल्ड अक्सफोर्डतिरबाट आउँदा एम- ४० मोटर वे छाडेर ए- ४० सहायक वेतिर जाँदा पर्ने एउटा शहर हो । बाटो खुल्ला कि भनेर एकछिन पर्खिंयौँ तर पनि केही सिप लागेन । रेल छुट्ने चिन्ताले असिनपसिन बनाई त हाल्यो ।
अन्ततः कारले बाटो मोड्नै पर्ने भयो । हाइवे छाडेर स्वात्त ट्युब (भूमिगत रेल) स्टेसनतिर पस्यौँ । कार त्यही छाड्ने निधोमा पार्किङ खोज्न थाल्यौँ । तर, कतै पार्किङ भेटिएन । सुटकेस तान्दै म ट्युब स्टेसनतिर हान्निएँ । बिहानको समय स्कुल र अफिस जानेको भिड थियो । ट्युब स्टेसन त पुगेँ तर टिकट काट्ने अफिस बन्द रहेछ । पहिल्यै अत्तालिएको म झन् बिचलित भएँ ।
लन्डनबाहिर बस्ने मसँग लन्डनको लागि चल्ने ट्राभल कार्ड (ओस्टार) पनि थिएन । सोचेँ, अब प¥यो फसाद ! कार पार्क खोज्दाखोज्दा विजयजी उतै अड्किनु भयो । सुटकेस गुडाउँदै यता—उता गरेकी मलाई देखेर त्यहाँकी चौकीदार महिला बाहिर निस्की । मैले आफ्नो समस्या सुनाएपछि उसले मेसिनमा पैसा छिराएर एकतर्फी टिकट किनी दिइन् ।
हस्याङफस्याङ विजयजी पनि यतिखेरै आइपुग्नु भयो ।
‘ला ! तिम्ले टिकट लिई हालेको ? सिधै बैंक कार्डले पनि ढोका खोलिने सिस्टम छ आजभोलि । सस्तो नि पर्थ्यो !’ विजयजीले भन्नु भयो । म परेँ, बस भाडा छुट माग्दै खलासीसँग झगडा गर्ने नेपाली । यस्तो यान्त्रिक सिस्टमसँग हैरान भएको मैले विजयजीलाई भनेँ, ‘खोइ, मलाई भन्नु भएन के थाहा त ?’
‘भन्नु भनेर कति कल गरें, उठाएनौ । आफू कार पार्क नपाएर बिजोग !’ विजयजीले येसो भन्दा मात्र मलाई मोबाइलको सम्झना भयो । मोबाइल हेर्दा साँच्चै नै तीन ‘मिसकल’ आएका रहेछन् । सोचेँ, अब विजयजीलाई बोलाउनु हुँदैन ।
टिकट छिराएर चुपचाप म बाटो मात्र लाग्दै थिएँ, छिर्ने ठाउँमै मेरो सुटकेस अड्कियो । हतारको बेला सुटकेस हुनेले अर्को ढोका प्रयोग गर्नुपर्ने कुरा ख्यालै गरिनछु । उफ् ! हतारको बेला झन्झन् ढिलो ? म कराएँ । उता अफिसमा बसिरहेकी अघिकै चौकिदार महिलाले आएर ढोका खोलि दिइन् । उसलाई साधुवाद दिएर सुटकेस तान्दै प्लाटफमतिर लागेँ ।
ठिक्क रेल आइरा’को रहेछ, हामी दुवै स्वाट्ट पस्यौँ । हामीलाई मात्र पर्खिरहेजस्तो पस्ने बित्तिक्कै रेलको ढोका गर्लम्म बन्द भैहाल्यो । रेल कुन दिसा जाँदैछ ? हेर्न, सोध्न र याद गर्नसम्म भ्याएका थिएनौँ । विजयजी ट्युबको ढोकामाथि टाँगिएका लन्डन ट्युबका नक्सा यता र उति दौडँदै हेर्न लाग्नु भयो । जे कुरो पनि आफै हेरेर पढेर खोज्ने बानी छ उहाँको । तर, म ठिक उल्टो, हेरिरहनु र खोजिरहनु भन्दा कसैलाई सोध्नु जाती लाग्छ ।
मेरो छेउको सिटमा कालो बुर्का लगाएकी एक जना मुस्लिम महिला स्कुले नानीसँग बसेकी थिई । सायद, नानीलाई स्कुल पु¥याउन हिँडेकी थिई । अहिले मुस्लिम महिलाले अनुहार छोप्न नपाउने बेलायतमा नियम लागु भएकाले अनुहार खुल्लै राखेकी थिई । अतालिएको बेला केही नसोची सोधिहालेछु, ‘एक्सक्युज मि ! के म थाहा पाउन सक्छु, कसरी गइन्छ किङ्क्रस स्टेसन ? के यो ट्युब त्यतै जाँदै छ ?’ धेरै नै अत्तालिएर होला, मेरो निधारमा पसिना चिटचिट आएको थियो ।
‘येस्, तर मलाई थाहा छैन, कहाँ पुगेर चेन्ज गर्नुपर्छ ?’ उसले यसो भनेको सुनेर अर्कोपट्टि बसेको अफ्रिकन मूलको एक जना बूढो मान्छेले भन्यो, ‘तिमी सही रेलमा छौ । यो रेल उतै जाँदैछ, लण्डनको अक्सफोर्ड सर्कसमा पुगेर पिकाडेली लाइन चढ्नू । त्यसपछिको दुई स्टप नै सेन्ट पान्क्रास या किङ्क्रस स्टेसन हो ।’ बल्ल ढुक्क लाग्यो । यसरी मेरो समस्याको निदान गरेकोमा त्यो दयालु बूढोलाई हृदयबाटै धन्यवाद टक्राएँ ।
किङ्क्रस स्टेसन लन्डनको इन्टरनेसनल स्टेसन हो जहाँबाट बेल्जियम, फ्रान्स, स्विट्जरल्याण्ड, स्कटल्याण्ड जाने रेलहरू पाइन्छन । हरेक स्टपमा मान्छे चढ्ने र ओर्लने काम भैरहेको थियो ।
अझै विजयजी स-साना अक्षरमा लेखिएका रेल-म्यापको रेसा चस्मा खोलेर केलाइकुलाई गर्दै हुनुहुन्थ्यो । उहाँप्रति जागेको दया र रिसलाई एकै ठाउँ मुछ्दै भनेँ, ‘भयो हौ नहेर्नुस्, हामीले अक्सफोर्ड सर्कस पुगेर पिकाडेली लाइन चढ्नुपर्ने रहेछ !’ अब मात्र उहाँ चुपचाप मेरो छेउमा भलाद्मी भएर बस्नु भयो । भन्नुपर्ने थुप्रै कुरा छालझैँ मेरो दिमागमा छछल्किँदै थिए । तर, जबर्जस्ती नै सही, मनमा लालीगुराँस र मुहारमा सयपत्री फूलाउँदै बसिरहेँ । ढिलो हुनुको छटपटीसँगै माइत जाने खुसीको रन्को जो थियो मनमा ।
मलाई हेर्दै विजयजी बेलाबेला मुसुमुसु हाँस्नुहुन्थ्यो । त्यो हाँसोले मलाई व्यङ्ग्य गरेझैँ लाग्थ्यो । पारो तात्तिएर आउँथ्यो । कञ्चनजङ्घाको हिउँझैँ पग्लिन खोज्थ्यो मन । साइत बिग्रेला भनेर सेलिन त खोजेकै हो । ‘लाटो’ रिस न हो, थाम्दाथाम्दै आँखाबाट दुई तुर्का आँसु बगी त गयो ।
दुई वर्षअघि यसैगरी भाइलाई भेट्न पहिलोपल्ट बेल्जियम जाँदा लन्डन हिथ्रो एयरपोर्टमा प्लेन छुटेर एक रात त्यहीँ बास बस्नु परेको थियो । त्यो तितो विगतले मेरो रिसको आगोलाई झनै हावा दिइरहेको थियो । ‘जिन्दगीमा कतै पनि समयमा नपुगिने भयो ।’ मेरो मुखबाट सुस्केरा छुट्दा पुलुक्क हेरेर विजयजी अर्कोतिर फर्किनु भयो ।
मलाई अचानक गीता रेग्मीजीको नियात्रा ‘पश्चिमाहरूको देशमा’ को सम्झना भयो । गीताजी जस्तै म पनि एक्लै जाँदै थिएँ युरोप । फरक यति थियो, उहाँलाई फ्रान्समा रिसिभ गर्ने भतिजो बुहारी र भान्जीहरू थिए, मलाई ब्रसेल्सको मिडीमा रिसिभ गर्ने भाइ र बुहारी थिए ।
हतारमा तेर्सो गोरेटो पनि उकालो र लामो लाग्ने गर्छ मलाई । झनै जुलेबीझैँ खुईंखुईं घुमेको लन्डनभित्रको ट्युबको बाटो त कति लामो लाग्यो-लाग्यो ! किङ्क्रस पुग्न पनि झन्डै एक घण्टा लाग्यो ।
स्टेसनमा ओर्लेर म्याराथन धावकझैँ दौडिएँ । मेरो सुटकेस तानिरहनु भएको विजयजी कहिले मेरो अघि कहिले पछि पर्नुहुन्थ्यो । यसरी उछिनपाछिन गर्दै बल्ल हामी गेटमा पुग्यौँ । रेल छुट्नु जम्मा २० मिनेट मात्र थियो ।
बेल्जियम यात्रा मेरो लागि यो चौथो थियो तर युरो स्टार रेलबाट भने पहिलो । त्यसैले पनि होला म एकदम उत्साहित थिएँ । अतालिएकी थिएँ । धन्न घरबाटै इन्टरनेट चेकिङ गरेर बोडिङ्ग पास लिइसकेकी थिएँ र छिर्न पाएँ । नत्र त रेल हिँड्न २५ मिनेटअघि चेकिङ काउन्टर बन्द भइसक्ने रैछ । हतार—हतार सुटकेस, ज्याकेट, घडी, बुटजुत्ता, पासपोर्ट र मोबाइललाई दुई भिन्दाभिन्दै ट्रेमा राखेर मेसिनमा छिराई आफू पनि भित्र छिरेँ । ज्याकेट, जुत्ता खोल्दा र लाउँदै १० मिनेट गयो, बाँकी १० मिनट थियो त्यसपछि कतै केही नहेरी तुफान दौडिएँ । माथि लम्पसार परेर रेल मलाई नै पर्खिरहेको थियो । देख्नसाथ एउटी स्टाफले सुटकेससँगै तानेर मलाई रेलको पुच्छरमा हुली त हालिन् । उता नेपालमा खलाँसीले यात्रुलाई भारी खोसाखोस गर्दै गाडीमा हुलाएको सम्झना आयो ।
सायद छुट्नै लागेकी थिएँ । म पस्ने बित्तिक्कै ढोका बन्द भयो र धुँवा उडाउन थालिहाल्यो रेलले । मेरो डिब्बा खोज्न थालें ०१४ अनि सिट नम्बर ५६ । पुच्छरबाट चढें म, मेरो सिट र डिब्बाचाहिँ त्यसको टाउकोमा परेछ । रेल कम्ता मात्र लामो होइन, काठमाडौंको बालकुमारी पुलदेखि कोटेश्वर चोकजतिको त पक्कै थियो । त्यो अजिङ्गरको गोलो भुँडीभित्र हिँड्दाहिँड्दा थाकेँ म । जमिनमाथि र तल गर्दै चिप्लिँदै त्यो एकैछिनमा आशफोर्ड केन्टको अन्तर्राष्ट्रिय स्टेसन पुगेर रोकियो । म भने अझै आफ्नो डिब्बा र सिटमा पुगेकी थिइनँ । रोकिएपछि मात्र सहज भयो मेरो डिब्बामा पुगेर सिटमा बस्न ।
त्यहाँबाट केही थप यात्रु टिपेर फेरि गुड्यो रेल, फ़ोक्स्टोनमाथिका सुन्दर डाँडा देखिन थाले । ठिक तल फ़ोक्स्टोनक्यान्ट शहर देखिन्थ्यो जहाँ हजारौंहजार गोर्खा आर्मी बस्ने सोंक्लिफ क्याम्प छ । सोही क्याम्पभित्रै संसारलाई मनोरञ्जन दिलाउने एक मात्र चर्चित बिएफबिएस गोर्खा रेडियोको स्टेसन पनि त्यहीँ छ । त्यहाँबाट पनि तल पुछारमा विशाल समुद्र, किनारामा पौडी खेल्ने, घुम्ने ठाऊँ । ठिक पारिपट्टि फ्रान्स । अहा, कति सुन्दर ! कसैले सोधे भन्छु म स्वर्ग यही त हो !
जब रेल चेनल टनेल छिर्न लाग्यो, हामी बेलायत छाडेर युरोप लाग्दै थियौँ । डिब्बाको ढोकामै सूचना बजिरहेको थियो, ‘दुई घण्टा १५ मिनेटको हुनेछ हाम्रो यात्रा । ४९५ किलो मिटर, ३०७ माइल्स रहेको छ पेरिस र बेलायतको दुरी ।
फ्रान्सबाट बेल्जियमको ब्रसेल्स पुग्न एक घण्टा ५५ मिनट लाग्नेछ । त्यसको दूरी ३७३ किलोमिटर र २३२ माइल्स रहेको छ ।’ त्यो जानकारीलाई म नोटबुकमा टिप्दै छु । मेरो छेउमा एक जना न काली न गोरी केटी बसेकी छे । अङ्ग्रेजी किताब बोकेकी ऊ मलाई अनौठो मान्दै हेरिरहन्छे । आधा गोरो आधा कालो बीउ मिसाएर छर्दा उम्रिएकी ठेक्पा बिरुवा जस्ती उसलाई के थाहा ? मेरो पहिलो यात्रा हो यो युरो स्टारमा भनेर ।
मैले पनि हातमा गणेश रसिकको संस्मरण ‘दस गजामा उभिएर’ च्यापेकी छु तर प्रायः आँखा कि फेसबुकमा टाँसिन्थ्यो कि त्यै ठेक्पा केटीसँग साटिन्थ्यो ।
जब बेलायत र फ्रान्स जोड्ने समुद्रमुनिको सुरुङभित्र पस्यो रेल, मनमा पहाडी खोलामाथि झुन्ड्याइका अप्ठेरा तुइन सम्झिएँ । माथि पानी, मुनिको भू–सतहमा यत्रो सुरुङमार्ग । तल र माथि मिलेर रेल र गाडी कुद्ने यस्तो सुरुङ कसरी खने होलान् । यसरी दुई देशलाई जोड्ने इन्जिनियरिङ कसको दिमागमा जन्म्यो होला ?
आशफोर्डदेखि हाम्रो रेल एकैचोटि सुरुङ्ग मार्ग तरेर फ्रान्स छेउको एउटा सहरमा मात्र एकछिन रोकियो । गणेश रसिक दाइको निबन्ध संग्रह ‘दस गजामा उभिएर’ पढ्दापढ्दै म त निदाएछु । भरियाले भारी बोक्दा ढाकर क¥याककुरुक कराएझैँ रेल हिँड्नलाई हल्लिदा पो ब्यूँझिएँ । त्यहाँ केही यात्रु ओर्लिएछन् केही चढेछन् । छेउकी केटी पनि ओर्लिछे ।
त्यसको ठिक उतापट्टि नयाँ जोडी आएर बसेका थिए । उसको केटीलाई कसैले फुत्काएर भगाइलैजालाझैँ केटाले अँगालो हालेको थियो । घरिघरि उनीहरू यस्तरी पप्पी खान्थे कि ! मानौँ, सदीयौँदेखि भोकै छन् । एक अर्कालाई चुमेर प्रेमले अघाउन खोज्दैछन् । । धक लागेर येसो नजर डुलाउँछु, डिब्बाभरि यस्तो जोडी त कति हो कति ! धन्न एक्लै थिएँ । कोही साथमा भए सरमले गर्ल्यामगुर्लुम ढल्थें कि !
युरोप मलाई बेलायतभन्दा खुल्ला र असाध्यै राम्रो लाग्यो । थोरै घर, धेरै खाली ठाउँ । हरियो चौरमा चरिरहेका भेडाबाख्राका बथान । आधुनिक शैलीमा बनाइएका ठूल्ठूला कृषि फार्म । गोठमा टाटेपाङ्ग्रे गाईहरू । आहा, कति मनमोहक दृश्य ! मलाई उहिल्यैको हाम्रो ताप्लेजुङ्ग ईखाबुको मूलघर सम्झना भयो ।
हाम्रा विभिन्न नामका ती गाई, गोरु र भेडाबाख्रा मनको गोठमा तँछाडमछाड गर्दै आउँन थाले । लाल्दारे र तारे सारै मिलेका हल गोरू थिए । ठूलोबाले बिहान जोतेपछि दिउँसो चराउन लैजान्थेँ, दुवै ज्ञानी भएर चर्थे, म बाजेको रेडियोमा सुनेका गीतका टुकडा गाउँथेँ ।
मेरो गीत सुनेर ढेंडुहरू छक्क पर्थे। हाम्रो गाउँमा कालो अनुहार खैरो भुत्लाधारी ढेंडुहरू प्रशस्तै हुन्थे। हामी केटा-केटीहरूलाई नटेर्ने ताल परे गाला रंकाउने खालका अटेरी थिए तिनीहरू । मेरो गीत सुनेर रुखै भाँचिएलाझैँ ‘हिपहप डान्स्’ गरिरहेका हुन्थे । माघे मेला हिँडेका कमिला बाटो अल्मलिएर पुसे मेला पुग्थे । रेल कीरा दौडँदादौडँदै स्टेसन नपुगी दुर्घटनाग्रस्त हुन्थे । ऐंसेलु खान रुख चढेका झुसिलकीराले रुखमै झुण्डिएर पुतलीको चोला फेर्थे । थुइक्क ! म गिताङ्गे चाहिँ अझै मान्छे नै छु । म पनि पुतली हुन पाए कहाँकहाँ पुग्थेँ । बाल्यकाल साँच्चि कति प्यारो हुँदो रहेछ । सम्झिदा मात्र पनि आनन्द आउने । विगतको सम्झनामा कुनै भक्त्तले हल्लाएको मन्दिरको घन्टीझैँ हल्लिरहेको छु म ।
एक्लै थिएँ डबल सिटमा, खालीपन महसूस हुने नै भयो । मेरो मृत्युपर्यन्त जोडी विजयजीसँग अघिमात्र किङ्क्रस रेल स्टेसनमा छुटेको हो, तर त्यो समयावधि जुगौं जस्तो लाग्न थाल्यो । यसरी एक्लै हिंड्नु पर्दा मेरो अँगालो, मेरो वैंश व्यर्थै खेर गइरहे जस्तो लाग्यो । बिहे भएपछि एकाध ठाऊँ होलान् हामी सँगै घुमेको । नत्र ता एक्लाएक्लै नै हो । यस्तै दिक्कलाग्दो दिनचर्या छाडेर केही दिन नै सही, आफैलाई बिर्सिएर टाढा बेल्जियम जाँदै थिएँ । ठाउँ त युरोप सबै उस्तै हो तर बेल्जियम प्यारा भाइबुहारी बस्ने भएकाले माइतझैँ उसै प्यारो लाग्छ ।
युरोप न डाँडापाखा, न ठूल्ठूला रुख पात, न खोल्साखोल्सी, न बाढीपहिरो, जम्मै समथर मैदान । कहिलेकहीं सम्झिन्छु, मेरो देशको जग्गादलालहरूले भेटे युरोपका यी खाली चौरलाई कति प्लटिङ गरेर बेच्थे । जताततै हरियोपरियो देख्दा उता नेपालमा पूर्वबाट काठमाडौं आउँदा सिरहाको चोहर्बा चोकतिरका सुक्खा ठाउँमा सिमेन्टको बोरा र पसनी बोकी खेतको आलीमा भैंसीका लागि दुबो खौरिने दोरोको माईको पनि सम्झना हुन्छ ।
यसरी सम्झनामा हराउँदैहराउँदै हाम्रो रेल ब्रसेल्सको मिडी स्टेसन पुगेछ– दिनको १२ बजे । मौसम एकदम सफा । लुडो खेलमा सर्पले गोटी निलेको ठीक उल्टो मलाई अघि पुच्छरबाट निलेको रेलले अहिले टाउकोबाट फुत्त ओकल्यो । चढ्ने बेला हतारोमा रेलको रुप कस्तो छ भनी हेर्नसम्म पाएको थिइनँ । अब पो बल्ल पल्टाइपल्टाई हेरें, ठ्याक्कै अजिङ्गरजस्तो । यसलाई सुटुक्कै फोटोमा कैद गरें । अनि ‘बाई’ गरेर सुटकेस तान्न लागें ।
कुन बाटो निस्कने थाहा छैन । एयरपोर्टमा जस्तो चेकिङपछि हुरुरु निस्कने बाटो नहुँदो रहेछ । रेलबाट ओर्लेका अरु मान्छे जहाँ—जहाँ गए त्यही—त्यही पछ्याउँदै जान्छु । निस्कने गेटमा पुगेर हेर्छु, भाइलाई देख्दै देख्दिनँ । एकछिन उभिएर पर्खिन्छु । भोकले पेटमा मुसा ओहोरदोहोर गरिरहेका थिए । मेरै अघि एउटा ठूलो रेस्टुरेन्टमा मान्छेहरू तात्तातो खाना लाइन लागेर खाइरहेका छन् । भाइ अझै आइपुगेको हैन । सँगै ओर्लिएका मान्छे पनि एक—एक गर्दै चोइटिसके । निकैबेर उभिएपछि शङ्का लाग्यो, कतै गलत बाटो त पछ्याइनँ ?
आफू हराएको शङ्का लगेपछि लिफ्ट तानेर मुनि भुईंमा झरें । त्यो ‘डिपार्चर हल’ रहेछ । अवतरण हल त माथि नै रहेछ । तै निस्कने मूल गेट त्यै तलै पो हो कि ! वरपर गर्न थालेँ । अहँ, कतै देख्दिनँ भाइलाई । पक्कै बाहिर होला ! आँगनसम्म निस्केँ । त्यहाँ त ठूल्ठूला सरकारी गाडी पार्क गरेर बन्दुक र कुकुरसँग अग्लाअग्ला बेल्जिक गोरे आर्मीहरू पो जोडी जोडी डुलिरहेका थिए । उनीहरूलाई देखेर डरडर लाग्यो । कारण, भाइले तोङ्बा मन पराउने, लगेजमा छिप्पेको कोदोको जाँडको पोको पनि बोकेकी थिएँ । सायद, बमको गन्ध मात्र सुँघ्न सिकाइएर हो कि ती कुकुरले जाँडको हरक चाल पाएनन् ।
ब्रसेल्स शहर सुन्दर छ । आलिसान भवनले आधुनिक सभ्यताको उचाइ छोएझैं लाग्छ । फराकिला रोड अनि उत्तिकै सफासुग्घर बजार । लाखौं यात्रु ओहोरदोहोर गरिरहने मिडी स्टेसन कुनै अन्तर्राष्ट्रिय विमानस्थलभन्दा कम छैन । अविकसित देशको नागरिक हुनुमा पनि बडो पीडा हुँदो रहेछ । मिडीजस्ता अत्याधुनिक स्टेसन देख्दा आफ्नै देशको अव्यवस्थित बसपार्क र विमान स्थलको सम्झना हुने । जे भए पनि फेरि माया त आफ्नै देशको लाग्ने ।
अनेक थरि सामान सजाइएका दोकान र खानेकुराका परिकारले मगमग होटल छिचोल्दै भाइलाई खोजिरहेँ । तर, कतै भेटिनँ । छटपटी लाग्न थाल्यो । अब कता जाऊँ ? एक ठाउँ एक छिन उभियो, आँखा डुलायो । त्यो ठाउँ छाडेर कतै जाऊँ त भाइ फेरि त्यही पो आइपुग्ला कि ! भाइको नम्बरमा फोन गरुँ भन्यो, फोनमा हाल्ने चानचुने पैसा पनि छैन ।
एकजना मान्छे फोनमा मस्की–मस्की कुरो गरिरहेको देखें । एक कलका लागि फोन माग्न मन गरेर त्यो मान्छेको छेउमा गएँ तर त्यो त एकोहोरो बोलेको बोल्यै छ । एकछिन कुर्दा पनि सिप नलागेर अर्कोतिर मोडिनै प¥यो ।
स्टेसनभित्रको हल निकै लामो थियो । बिचबिचका बेन्चीमा भरी मान्छे । देब्रेदाहिने साइडमा ठूल्ठूला कपडा दोकान, चिया चमेनागृह मानौं एक विशाल बजार थियो । वारिपारि र तलमाथि जान विद्युतीय इस्क्यालेटर र सिंढीहरू । म झनै हराएँ ।
भाइ पनि मलाई नभेटेर अत्तालिँदै दौडिँदै रहेछ । एउटा दोकानमा नजर जोतेर उभिरहेकी थिएँ पछाडिबाट ‘दिदी’ भन्ने आवाज सुनेँ । फर्केर हेरेको पेट ढल्काएर उभिरहेको छ भाइ । वास्तवमा म उल्टो साइडमा निस्किएको रहेछु । पूर्वतिर कुर्दै थिएछ भाइ; म पश्चिम द्वारबाट निस्केछु । खोजाखोज र कुराकुर गर्दै दुई घण्टा बितिसकेको थियो । पारिपट्टिको ठूलो बिल्डिङको ‘अन्डरग्राउण्ड’मा भाइले कार पार्क गरेको रहेछ । आनन्दको सास तान्दै त्यतै लाग्छौं दिदीभाइ ।
अब मेरो अन्तिम गन्तव्य अर्थात् माइत भाइको घर लुभेन जाँदै छौं । कोसेली त के हुनु माइतीराजालाई मनै त हो । माया त हो । उहिल्यै आमाहरुले जस्तो चोयाको पेरुङ्गोमा फिलिङ्गे अचार र काठको चौंथुमा तीनपाने रक्सी बोकेकी थिइनँ । तै तोङ्बाको जाँड र नेपालबाट बीउ ल्याएर बेलायतमा फलाएको रायोको साग कागजमा पोको पारेकी छु । हरियो साग कागजले बेरेर राखे हप्ता दिनसम्म नबिग्रिने ब्रह्मज्ञान हङकङ बस्दा चाइनिजहरूसँग सिकेकी हुँ ।
बाटामा पनि आर्मी तैनाथ थिए । किन होला ? भाइलाई सोध्छु । ‘आतड्ढवादी आक्रमणले हो ।’ भाइले भन्दा झस्किन्छु । केही महिना अगाडि मात्र ब्रसेल्स एयरपोर्टमा आतङ्कवादी आक्रमण भएको मैले त माइत आएको खुसीमा भुलिरहेको रै’छु । त्यै भएर सुरक्षा जाँच कडा गरिएको रहेछ ।
मनभरि दर्दनाक युद्धकथा कालो बादल झैं मडारिन थाल्छ । उफ् ! आखिर किन हुन्छ युद्ध ? टाउको रन्केर आयो ।
समाचारमा सुनिन्छ, फ्रान्सको ग्यालेमा बेलायत आउन खोज्ने आप्रवासी कम्ती छैनन् रे ! स्वार्थी भएर सोच्न थालें, साँच्चि तिनीहरु सबै बेलायत छिरे राख्ने ठाउँ पनि नहोला ! मान्छे धेरै भएर काम पनि नपाइएला ! अनि फेरि सोच्छु, हामी पनि त आप्रवासी हौं । म आफू बस्ने बेलायतलाई घर अनि भाइबुहारी बस्ने बेल्जियमलाई माइत मानिरहेको छु ।
(तप्लेजुङ हाल बेलायत)