जेठ १२, काठमाडौं ।
आज प्रकृति र पितृको पूजा गरी किरात समुदायले उभौली पर्व मनाउँदै छन् । बैशाख शुक्ल पूर्णिमादेखि सुरु हुने यो पर्व पन्ध्र दिनसम्म मनाइन्छ ।
किरात समुदायले उभौली पर्वलाई बालीनाली लगाउने अवसरका रुपमा मनाउँछन् । प्रकृतीका पुजारी किरात समुदायमा बैशाख पूर्णिमाका दिन अन्न वाली सप्रियोस, राम्रो वाली लागोस, पृथ्वीमा कहीँ कतै खाधान्नको कमी नहोस भन्दै परापूर्वकालदेखि नै यो पर्व मनाउँदै आएको पाइन्छ ।
उभौलीमा सुम्निमा र पारुहाङले सम्पूर्ण श्रृष्टि जगतको रक्षा गर्ने विश्वास गरिन्छ । बालीनालीका रक्षक तत्वहरु जस्तै प्रकृति, हावा, देवीदेवता र पृथ्वीको आज पूजा गरिन्छ । चण्डी नाच नाचेर मनाइने भएकाले यस पर्वलाई चण्डी पूर्णिमा पनि भनिन्छ । चण्डी पूर्णिमा भन्नाले सुम्निमा अर्थात पार्वतीको सृष्टि भएको दिन हो ।
उभौली पर्वमा पारम्परीक भेषभुषामा सजिएका किराती समुदायका पुरुष महिला गोलबन्द भएर साकेला चण्डी नाच्ने गर्छन् । पुरुषहरुले कालो कोट, दौरासुरूवाल लगाउने, बुकीफूल सिउरिने र नेपाली टोपी लगाएर खुकुरी भिरेर नाच्छन् भने महिलाहरू कम्मरमा पटुकी बाँधेर चौबन्दी चोली र छिटको फरिया लगाउने र पहेंला गरगहना सहित सजिएर नाच्ने चलन छ ।
साकेला हातमा चौरीको पुच्छर, चम्मर, सिल्लिमो, पोमी र सिम्कौली सेउली हल्लाउँदै ‘सोइ ढोले सोइ अर्को ढोले खोई’ भन्दै नच्ने गरिन्छ। यस नाचमा स्याउला, ढोल, झ्याम्टा,बिनायो तथा हारी ेजस्ता बाजाहरु बजाउनुका साथै विभिन्न कृषीकार्य गरेको नक्कल गरिन्छ ।
उभौली पर्व पूर्वी नेपालका ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, खोटाङ, भोजपुर, धनकुटा, उदयपुर, ओखलढुंगा, सोलुखुम्बु, संखुवासभा, लगायत किरात समुदायको बसोबास रहेको ठाउँमा धुमधामसँग मनाइन्छ ।
उभौलीलाई राई, लिम्बू, याक्खा र सुनुवार समुदायले मुख्य पर्व मान्ने गरेका छन् । पछिल्लो समय जातीय सद्भाव तथा सांस्कृतिक सहअस्तित्व कायम राख्दै सबै जातजाति उभौली चाडको खुसियाली साट्दै शुभकामना आदानप्रदान गर्न थालेका छन् । आफन्त, साथीभाइ, नातागोता, छरछिमेकबिच शुभकामना आदानप्रदान गर्ने क्रम बढेको छ ।
प्रत्येक वर्ष विश्वभर रमाइलो गरी मनाउने यो पर्व यसपल्ट भने कोरोना महामारीका कारण सामान्य रुपमा मनाइँदै छ ।