पुरानो समय ।
याने मेरो बालापनको ।
घरमा एउटा चुलेसी थियो । म त्यो चुलेसीलाई खुबै मन पराउँथे । सुलुत्त परेको पातलो जिउ । धारिलो मेरुडण्ड । सरमले निउरिएको टाउको । नाकमा सानो नत्थी ।
म सम्झन्छु, त्यो चुलेसीले कहिले भान्छा वरिपरी बसेर काम गरिरहेको हुन्थ्यो । कहिले मझेरीमा बसेर तरकारी काटिरहेको हुन्थ्यो । पिडी, आँगन वा कहिले चोटा र कोठा पनि पुगिरहेको हुन्थ्यो । जहाँ पुगे पनि चुलेसी केही न केही सुधारी रहेको हुन्थ्यो ।
बेला बेला हजुरआमा “चुलेसी भद्दा भएको” भनेर फतफलाइरहनु हुन्थ्यो । हजुरआमा फतफताएपछि मेरो बाबाले चुपचाप चुलेसीलाई ढुङ्गाको सहयोगमा साँध लगाउनु हुन्थ्यो, स्वाँई ! स्वाँई !!
साँध लगाउँदा चुलेसी र ढुङ्गाबीच घर्षण चल्थ्यो र कुनै बेला झिलिक्क झिल्का पनि निस्कन्थ्यो ।
साँध लगाएपछि चुलेसी पुन: भान्छा, मझेरी, पिंडी, आँगन वा चोटा, कोठामा पुगिहाल्थ्यो ।
ठुलो जहान भएर होला, चुलेलीलाई खासमा फुर्सदै थिएन ।
म चुलेसीले प्राय: तरकारी हैन, सपनाहरू काटिरहेको देख्थें । फलफूल हैन, रहरहरू तासिरहेको भेट्थें ।
आज पैँतालिस वर्षपछि म त्यो नत्थी लगाएको चुलेसी सम्झिरहेको छु । मलाई चुलेसी र मेरी आमा उस्तैउस्तै लाग्छ । तर दु:खको कुरो न मसँग त्यो चुलेसी छ न मेरी आमा ।
(@कुरिलो घर, काठमाडौ)