निरुद्देश्य मेरा पाइलाहरू च्लिरहेछन्
आफ्नै तालमा यो कठ्याङग्रिएको
ठिराउँदो जाडो मौसममा पनि
पट्…पट्..पटाक…पटाक…
चप्पल पडकाउँदै
हिँडिरहेछन् पाइलाहरू ।
तर मन अतीतलाई
सम्झिरहेछ
अन्तर मनको कुना कुनामा
घाउ बनेर बसेका
थुप्रै कहरहरू व्यथाहरुले
तर्साइरहेछन् मलाई ।
मेरो पाइलाको आवाजको
अगाडि पछाडि
हिँडिरहेछन् सँगसँगै थुप्रै नकावपोशहरू
म माथि कत्ति पनि दया नगरी
निमोठ्न खोज्छन् मलाई
अनि मेरा सपनाहरुलाई पनि ।
साँच्चै म त, समयको वेग सँगसँगै
कावा खाँदै खाँदै
समयले दिएका
चोटका दागहरुलाई
काखी च्याप्दै
आज डुब्न लागेको घामसँग
मितेरी गाँस्दैछु
जीवन अभैm बाँच्ने लालसामा ।
उफ ! सम्झदा र कल्पदा
रसाएर आउँछन् आँखा पनि मेरा
अनि यो धरतीमा खस्छन्
टप्प…टप्प…टप्प…
मोतीको दाना खसेजस्तै
निरिह बनेर आँशुका थोपाहरू ।
वर्तमान कहालिँदो छ मेरो लागि
तैपनि मैले समयको नासो सम्झेर
छातीभित्र लुकाएकी छु
सुस्तरी सुस्तरी हावासँगसँगै हिँडालेकी छु
मेरो आफ्नै जीवनको पानासँग जोडेकी छु ।
(कौशलटार)