वैशाख सोह्रको जवानी ह्वात्तै माछापुच्छ्रेमा ठोकिएको थियो । गण्डकीका प्राकृतिक छटाहरू सन्त्रासमा लुगलुग कापिरहेका थिए । उन्मत्त भएकी पृथ्वी तिलिचोलाई स्वागत गर्नमै व्यस्त थिइन् ।
“फेवा भन्दै थियो, विन्ध्यावासिनी किन टुलुटुलु मात्र हेरेकी ?” तर उनी मौन नै थिइन् ।
सेती झनझन पातालतर्फ भासिँदै थिइन् । रूपाले भन्दै थिइन्, “धवलागिरी किन तिमी नतमस्तक बनेको ?” तर पनि धवलागिरीको वाक्य फुटेन ।
हाला भएर माछापुच्छ्रे फेवामा रमाउन छाडेको थियो । पाताले झरना हर्ष हराएको जस्तो देखिन्थ्यो भने चमेरे गुफा र बेगनास पर्यटकलाई स्वागत गर्ने नगर्ने द्विविधामा थिए ।
काठमाडौँमा बजेको नगडाको स्वर पोखरामा प्रष्ट सुनिन्थ्यो । धरहराबाट चियाएको दृश्यले पोखरा हाँसूँ कि रोऊँ भन्ने अवस्थामा थियो ।
अठहत्तरको वैशाख सोह्रको चट्याङ यस धर्तीमा पर्नसम्म प¥यो । यहाँ मानिसहरूको भागाभाग चल्यो । निर्बलिया भाग्न नसकेर किचिए । बलिया झन हृष्टपुष्ट बनेर मोलमोलाइमा व्यस्त रहे ।
एक वृद्ध भन्दै थिए, “बलियाको रजाईँ चल्नु नौलो कुरा होइन । बलियाले दलबलका साथ बिरामी उपचार गराउन अस्पत्तालमा पु¥याउनु पनि ठिकै होला तर मेरो वृद्धपनको अपमान गर्नु उचित होइन ।”
यस सङ्ग्राममा कोही कोहोलो हाल्दै रोइकराइ गर्दै थिए त कोही मौन व्रतमा आसिन थिए । हावाहुरीको झट्का थामिदै थामिएन । यसै समय कोही लुक्न त कोही ढुक्न पुगे । विचरा ! पोखरा अवाक थियो ।
चट्याङ र हावाहुरीको जुहारी चल्दै थियो । कालो बादल हटाउन हावाहुरी व्यस्त थियो । यो कुरा पृथ्वीलाई मन परेको थिएन । पृथ्वी वर्षा गराउन चाहन्थिन् तर धर्तीमा चट्याङ पारेर मात्र ।
पानी पर्ने छाँटकाँट नदेखेपछि पृथ्वीले चट्याङमास्टरलाई आमन्त्रण गरिन् । उनले मास्टरलाई नानाथरिका चौरासी व्यञ्जन खुवाइन् । उता बढीगाढसँगै मितेरी गाँसेर आएका मनुलाई आफ्नो सौन्दर्यले लठ्याउँदै अस्पत्ताल पु¥याइन् ।
हावाहुरी बिस्तारै साम्य हुँदै थियो । अकस्मात आकाश गज्र्यो । पृथ्वीले आत्मरक्षाका लागि चट्याङमास्टर बोलाइन् । सयौँ मुना सखाप पार्ने चट्याङले एकाएक वज्रका सहायताले जोत्यो ।
साँझपख चट्याङमास्टरको जय जयकार गरियो । उनको शपथमा नानाथरिका नन्दीभृङ्गी नचाई वरमाला पहिराइयो । उता बिरामी अस्पत्तालमा लीन थिए ।
पृथ्वी मुस्कुराउँदै थिइन् । यस दृश्यले प्रकृतिलाई नतमस्तक बनायो । मुनाहरू निमोठिएकोमा पीडित थिए भने काठमाडौँबाट धरहराले उल्लासमय तस्बिर खिचिरहेको थियो, खिचिरहेको थियो ।
(गुल्मी)