विनोद अश्रुमालीका दुई कविता कृति एक अँजुली जुनकिरी (२०३६) र दार्जिलिङको दश अवतार तथा अन्य कविताहरू (२०७०) प्रकाशित छन् । त्यस बाहेक उनका कविताहरू पत्रपत्रिकाहरूमा यत्रतत्र छरिएका छन् । शारदा मासिकले २०७५ सालमा विनोद अश्रुमालीका नयाँ कविता नाउँबाट अश्रुमालीका कविताहरूको विशेषाङ्क समेत निकालेको छ । उनका केही कवितासङ्ग्रहहरू अप्रकाशित पनि छन् ।
यस आलेखमा प्रकाशित कृतिका प्रतिनिधि कविताहरू मा आधारित भई उनको काव्यिक दृष्टिकोणमाथि चर्चा गरिएको छ ।
कविको जीवन समाजको आरोह, अवरोह, विग्रह र विडम्बनासँग आबद्ध हुन्छ । समाजमा उसले अनुभूत गरेका विभिन्न आरोह, अवरोहहरूलाई कलात्मक ढङ्गले अर्थपूर्ण रूपमा प्रस्तुत गर्नु नै कविता हो । केही प्रयोगवादी कविहरूको अपवादलाई छोडी कविता भन्नु नै जीवनको एउटा सुन्दर लय वा सौन्दर्य हो ।
यी कविताहरूमा अश्रुमालीका भोगाइका अथाह अनुभवहरू कवितात्मक भाषा र लयमा अभिव्यक्त गरिएका छन् । उनले भोगेका विभिन्न समय सन्दर्भमा कतै स्वादिला चुट्किला, कतै भावुकतापूर्ण काव्यिक अनुभूति, कतै मनोविनोदपूर्ण घोचपेच र कतै काव्य चेतनाका लयात्मक आवेग अनि कतै विद्रोह र मनोविनोद एबं व्यङ्ग्यका आवाजहरू घन्केका छन् । उनका कवितामा समसामयिक सामाजिक अवस्थामाथि चोटिलो व्यङ्ग्य प्रहार गर्नुका साथै जीवनको भोगाइमा उनले अनुभूत गरेका माया, प्रेम, वियोग, दायित्वबोध आदिबारे सूक्ष्म काव्यिक दृष्टिकोण प्रस्तुत भएको समेत पाइन्छ ।
झापा, बाहुनडाँगीका जङ्गवीर काफ्ले र खरसाङकी धनमायाको जेठो छोरोको रूपमा जन्मेका विनोद अश्रुमालीको असली नाउँ विनोद कुमार काफ्ले क्षेत्री हो । २०१८ सालमा झापामा नेपाल राष्ट्र बैंकको जागीरमा प्रवेश हुँदाको उनको नाउँ चाहिँ विनोद कुमार क्षेत्री हो । २०२९ सालदेखिनै विनोद दाइसँग विराटनगर र पछि काठमाडौंमा मेरो चिनजान र भेटघाट भएको हो ।
बा, आमाको निधनपछि दुईजना भाइ र सात बहिनीहरूका संरक्षक बनेका विनोद अश्रुमालीले लामो समय नेपालमा नै बिताउनु भएपनि प्रायः सधै उनको एउटा गोडा नेपालमा र अर्को गोडा खरसाङमा हुने गरेको छ । उनको जन्मस्थान खरसाङ भएता पनि कर्मस्थान भने नेपाल थियो । काम नेपालमा गर्नुपथ्र्यो, तर परिवारका धेरैजसो सदस्यहरू खरसाङ, अम्बोटे चिया बगानतिरै बस्थे । उनी आफै पनि जन्मस्थानको मायाले घरिघरि नेपाल छोड्छन् र मेची पुल तरेर उकालो लाग्ने गर्छन् ।
यसरी उनको जीवनमा बसाइको स्थिरता देखिँदैन । नेपाल आउँछन् खरसाङको पीरले छट्पटिन्छन् भने खरसाङ जान्छन् फेरि कर्मस्थल कहिले फर्कनु भनी हतारिन्छन् । यस ओहोर दोहोरले कतैपनि उनी जमेर बस्न सकेको देखिँदैन । उनका आफ्ना पाँच बहिनी छोरी र दुई भाइ छोरा छन् । छोराहरू खरसाङतिरै बस्छन्, छोरीहरू कोही काठमाडौंतिर छन् भने कोही चाहिँ उतै छन् । बा, आमा, पत्नी र कान्छो भाइले पनि उनलाई छोडेर गइसकेपछि आठ दसक पार गर्न लागेका अश्रुमाली आफू एक्लो भएको महसुस गर्छन् । उनी आफ्ना कुनै कवितामा यस्तो एक्लोपन भोगाइको अनुभूति पनि उतार्छन् ।
काठमाडौं, धापासीको रोयल कोलोनीमा उनकी माइली छोरीको र टोखामा कान्छी छोरीको घर छ । काठमाडौंमा रहँदा कहिलेकाहीँ अश्रुमाली छोरीहरू कहाँ पनि बस्छन् । अघिल्लो वर्ष शमी साहित्य प्रतिष्ठानले उनलाई एकलाख एकसय एक रूपैयाँको शमी साहित्य साधना सम्मान पुरस्कारबाट सम्मान गरेको छ । यस अघि २०३७ सालमा उनले तात्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट कविता महोत्सवमा प्रथम पुरस्कार प्राप्त गरेका थिए । उनले २०५७ सालमा वासु शशी परिषदबाट वासु शशी स्मृति पुस्कार तथा सन् २००० मा नेपाली साहित्य सम्मेलन, दार्जीलिङबाट दियालो पुरस्कार पनि प्राप्त गरेका थिए ।
उनको काव्यशिल्पलाई नजिकबाट हेर्दा उनी वस्तुत सामाजिक यथार्थलाई आधार बनाएर कविता मार्फत मनोविनोदपूर्ण व्यङ्ग्य पस्कन सफल कवि हुन् । जिवनभरिको कमाइ कवितामा उनी भन्छन्,
काठमाडौंबाट जब म दार्जीलिङतिर जान्छु मेचीपुलमाथि एकछिन अडिन्छु । – – – – – – आज दश रूपैयाँ तिरेर जब मेची पुल तर्छु म खुशीले गदगद पर्छु । मेरो गोजीको कागजी मुद्रा देशान्तरमा मूल्य घटेर तल झर्दा हातको घडीको सियो पन्द्र मिनेट घटाइसकेको हुन्छु छिनभरमै पन्द्र मिनेट कमाइसकेको हुन्छु ।
यही कविता धनदौलतभन्दा पनि बहुमूल्य शीर्षकमा सामान्य संशोधनसाथ अर्को ठाउँमा पनि परेको छ ।
उनले बिसको दसकदेखि चालिसको दसक अनि साठीको दसक समेत भोगिसकेका छन् । यी दसकहरू मा सामाजिक र आर्थिक परिवर्तनको निम्ति नेपालमा अनेकौँ आन्दोलन र क्रान्तिहरू भए । तर मानिसहरू ले अहिलेसम्म कुनै सकारात्मक परिवर्तन र सुधारको अनुभूति गर्न पाएका छैनन् । कविले एकातिर आफ्ना निजत्वका विरह, वेदना, माया, प्रेम र सुखानुभूतिका कविताहरू सिर्जना गरेका छन् भने अर्कातिर सामाजिक विकृति एबं इमान र पारदर्शिताबिनाको राजनीतिमाथि व्यङ्ग्य तथा स्खलन हुँदै गएको सामाजिक सद्भाव, अराजक परिस्थिति माथि आक्रोश पोखेका छन् ।
कविले खोजी कवितामा आफुले चाहेको जस्तो स्वदेशको गीत कहिल्यै भेटन नसकेकोे गुनासो गरेका छन् । यति लामो अवधिमा पनि कविको समृद्ध मुलुकको चाहना मनभित्रै लुकेर बसेको र कहिल्यै पुरा हुन नसकेको गुनासो प्रतिकात्मक रूपमा यसरी व्यक्त गरेका छन्,
एउटा सुन्दर मुहार कुनबेला मनमा लुकेछ आकाश पाताल खोजें भेट्दै भेटिन ।
कविले स्वदेशको सुन्दर अनुहार नभेटेकोे कुरा विम्बको प्रयोग गरी अत्यन्त मार्मिक ढङ्गले प्रस्तुत गरेका छन् । वास्तवमा उनका प्रायः सबै कविता मार्मिक र हृदयस्पर्शी छन् ।
हिमालचुली मुन्तिर, खोई त ?, जुत्ता र मन्त्री, मान्छे खाने देशको कथा, घर, शहर र देश, दश मनको एकमन ः देशका लागि, सभ्यताका गुफाभित्र, एउटा मान्छेको खोजी, भरियाको नालेबेली, यो पहाड, मैले टेकेको ठाउँ, धरतीमाथिको पनि धरती जस्ता कविताहरू यस श्रेणीमा पर्छन् । उनको तेश्रो मान्छेको संकट वर्गीय चेतनामा आधारित कविता हो .
एउटा सम्भाव्य अनर्थमा उनी विद्रोही बन्छन्, तर आफ्नो विवशताको अगाडि एकान्तमा एउटा संभाव्य अनर्थको सम्भावना देख्छन् । त्यस्तै आजको मान्छे शीर्षक कवितामा उनले देखेको भड्किलो समाजमा विवेक हराएको र मानिसको सास ह्वास्स गन्हाएको देख्छन् कवि । मान्छेहरू को बस्तीमा त्यस्तै उनको अर्को कविता हो । उनका धेरै कविताहरू मा युगबोध, मानवीय मूल्यको विघटनको तीव्र चेतना, व्यङ्ग्यात्मक उपमा र प्रतीकहरू जोडिएका छन् ।
कतिपय कविताहरू मा काव्यिक सौन्दर्यताभन्दा आफ्नो मनोवेग र स्वपीडाहरूलाई प्रस्तुत गरिएको हुँदा अश्रुमालीको काव्यिक प्रवृत्तिमा निजत्वको प्रभाव बढी परेको देखिन्छ । देश, काल र परिस्थितिमाथि कविता लेख्दै गर्दा कविभित्रको कुनै अभाव, पीडा, निराशा अभिव्यक्त भैरहेको हुन्छ र आफ्नो एक्लो जिन्दगीदेखि पनि कहिलेकाहीँ कवि निराश हुन्छन् । जिजीविषा कवितामा उनी भन्छन्,
हुँदैन जस्तो लाग्छ अब कुनै बिहान हाँस्छ चिहान यसरी पर्खेको धेरै भयो ।
नयाँ ओखती, सुनौलो अवसर, सञ्चो बिसञ्चो, चार मुक्तक, मेरो घर मेरो बाटो, बर्नार्ड शाका कुरा, छैन…, धूलो र धुँवा, भुलै भुलमा जस्ता कविताहरू यस श्रेणीमा पर्छन् ।
एक सगरमाथा ः चार कविता शीर्षक कवितामा कविले सगरमाथालाई सभ्यता, संस्कृति र संस्कारको जन्मदाताको प्रतिविम्बको रूपमा प्रस्तुत गरेका छन् भने नहारेको सगरमाथा कवितामा जसरी भगवान एकलै भए पनि सर्वव्यापी छन् त्यसरी नै मानिसहरू ले सगरमाथा आरोहण गरेर विजय प्राप्त गरे भन्दैमा सगरमाथा हारेको भन्ने होइन भनी कवि गौरव गर्छन् ।
हिमालचुली मुन्तिर कवितामा कविको वर्गीय चेतना जागृत हुन्छ । उनी भन्छन्, यो यस्तो देश हो जहाँ एकातिर बाटोमा पजेरो गाडी गुड्छन् अनि सहरभरि झिलिमिली उज्यालो देखिन्छ भने अर्कातिर गाउँ घरमा खानेपानीको पधेँरो र अँध्यारो भगाउने बत्ती सम्म छैन । देशमा प्रजातन्त्र आएको छ भनिन्छ, तर गरिबको अवस्थामा कुनै सुधार आएको देखिँदैन । सरकारले अरबौँ डलर खर्च गरेको देखिएता पनि देशमा केही ठुलाठालु र नेताहरू मात्र सम्पन्न छन् , तर जनताको शिरबाट डोको हटेको छैन । यो कविको अत्यन्त सुन्दर सिर्जना हो ।
युद्धको निरन्तरताले गर्दा मान्छेले मान्छेलाई नै मार्ने र आफू पनि मर्ने क्रम विश्वभर रोकिएन । मानिस कतिसम्म विवेकशून्य भयो भने, एक ठाउँका मानिसहरू प्राकृतिक प्रकोपमा पर्दा अर्को ठाउँका मानिसले भन्न बाध्य भए– आउनुहोस् मनोरञ्जन गर्नुहोस् भूकम्प–पीडितहरू को आर्थिक सहायताको लागि टिकट किनेर सभागृहमा साँस्कृतिक कार्यक्रम हेर्नुुहोस् ! ....................................... विवेकशील प्राणी हो मान्छे विवेकहीन भएपछि पशुभन्दा तल झर्छ मान्छे ।
यसरी मान्छेखाने देशको कथा शीर्षक कवितामा मानविय प्रवृत्तिमाथि कवि व्यङ्य कस्छन् ।
कुनै कुनै कविता यस्ता छन् जस्मा अघिल्लो पङ्क्तिसँग पछिल्लो पङ्क्तिको कुनै तादात्म्य भेटिँदैन, तर कविले त्यसमा चुड्किला हाली चट्ट परेको अचारजस्तो स्वादिलो बनाएको हुन्छ, कविताले काव्यिक झटारो हान्छ र कता कता रमाइलो गरी च्वास्स छुन्छ हामीलाई । उदाहरणको रूपमा वासन्ती दुर्घटना कवितामा,
चैतको हावा जब शहर पस्यो नौ तल्ले भवनमा बजारियो अनि पीचरोडमा पछारियो
कविले तारतम्यको भाव सिर्जना गरेर कवितालाई पढिरहुँजस्तो बनाएका छन् । अर्को जनता र सरकार कवितामा,
सरकारको सय दाउ जनताको एक दाउ बजार भाउ अर्को तिन तुरूप कवितामा, नाम भन्छ, “बस् गाडी” भित्र पस्यो ठाडै बस्यो !
आफ्नी आमा, बाबु, पत्नी र भाइको वियोगान्तपछिको एक्लोपनलाई मनको बूढो रुख ः न पात न फूल कवितामा कवि यसरी प्रस्तुत हुन्छन् ः
मनको बूढो रुख छ एउटा न पात न फूल ठिंग उभिइरहेछु एक्लो जिन्दगी चुपचाप ।
प्रस्तुत कवितामा कारुणिक भावमा व्यक्त मानसिक संवेग कविको आफ्नै विम्ब हो । भित्ताको ऐना, बन्धकी जिन्दगी, जिन्दगी जह ँ पुग्छ पुगोस् , बर्नाड शाका कुरा, यस्तै लाग्यो … , छैन … यस्तै भावका कविताहरू हुन् । दुबै उस्तै उस्तो कवितामा कविले नगरपालिकाको बार भत्काउने (उपद्रव गर्ने) मानिसहरू लाई व्यङ्ग्य गर्न बाँदरको बिम्व प्रयोग गरेका छन् । कवि भन्छन् ,
नगरपालिकाको बार भत्काउने मान्छे जस्तो मेरो देशको मान्छे अनि बाँदर दुबै उस्तै उस्तो
नयाँ पिँढीको फाटेको बुद्धि व्यङ्ग्यात्मक कविता हो । सुझ न बुझको नयाँ वर्ष मनाउने तथा पेन्टका दुबै घुँडा च्यातेर हिँड्ने युवा पिढीलाई कविले फाटेको बुद्धि भनी यसरी व्यङ्ग्यात्मक झटारो हानेका छन् ,
राम्रा कहिल्यै नआउने भत्केको–बिग्रेको नासपार्ने सत्यानाश होस् नयाँ सालका पक्षपातीहरू को । च्यातेर दुबै घुँडा जानीजानी आउँदै छन् युवायुवतीहरू परबाट कस्तो फाटेको बुद्धि नयाँ पिँढीकाहरू को ?
कवि हुनुको सुख दुःख, खुम्चिएको रुमाल, दिन काट्ने चिन्ता, तिन पुरुष, नारी वर्षका समस्या अनि फर्सी र फर्सीको जरा यस्तै कविताहरू हुन् ।
दार्जिलिङको दश अवतार भित्र उनले त्यहाँको रेल, चिया बगान, मान्छे, पानी, हावा, माटो, देउता, राक्षस, भूगोल र फिरन्ताको सविस्तार कवितात्मक स्मरण गरेका छन् । उनले त्यहाँको ह्रासोन्मुख समाज, स्खलन हुँदै गएको संस्कृति, हराउँदै गएको अपनत्व, भूगोल र इतिहासप्रति चिन्ता व्यक्त गरेका छन् । उनका कविताहरू मा पुर्खाले आर्जेको आफ्नो भूमिप्रति त्यहाँका मानिसहरू को जिजीविषा र गोरखाली स्वाभिमान बोलेको छ ।
अन्तमा, कवि अश्रुमाली शाब्दिक चमत्कारबाट मनोविनोदपूर्ण व्यङ्ग्य पस्कने र संघर्षशील जीवनको व्याख्या गर्ने स्वच्छन्दतावादी कवि हुन् । कहिलेकाहीँ उनका कवितामा कवि भूपि र हरिभक्तको प्रभावको छनक देखिएता पनि उनको काव्यिक प्रवृत्ति निजात्मक हो । उनले मानविय प्रवृत्तिका शृङ्गारिक तथा चेतनशील अभिव्यक्तिहरू प्रस्तुत गरेका छन् । उनका कवितामा पाइने शाब्दिक चमत्कारबाट एउटा छुट्टै काव्यिक आनन्दको अनुभूति हुन्छ । उनका कविता अमूर्त छैनन्, ती सरल र सुन्दर छन् । तिनमा युगबोध, सामाजिक मूल्य विघटनको चेतना, मानविय समवेदना, व्यङ्ग्य, कारुणिक उच्छ्वास, स्वपीडा र चिन्ताको उच्चस्तरको प्रस्तुती पाइन्छ । उनले आफ्ना कवितामा सुन्दर प्रतीक र विम्बहरू को प्रयोग उत्कृष्ट ढङ्गले गरेका छन् ।
(काठमाडौं)