गुफाबाट सिकारमा निस्किएको सिंह जङ्गलमा दिनभर दौडधुप गर्दापनि कुनै जनावर फेलापार्न नसकेपछि लखतरान भएर साँझ गुफामा फर्कियो । सिंहिनी बिरामी भएकीले सिकारमा जान सकेकी थिइन ।
” यस्तै ताल हो भने त खान नपाएर अकालमै मरिने भो, मेरी प्यारी । पहिलेपहिले त गुफा वरिपरि नै मनग्ये जनावरहरु मिल्थे । सब कहाँ गए ।” सिंहले सिंहिनीलाई सिकार जाँदाको दु:खको सबै कथा सुनायो।
एकछिन गमेर सिंहिनीले भनी ।
“तिमी जङ्गलको राजा सबै जीवजन्तूको भोलि नै बैठक बोलाउ । दोषी पत्तो लगाउनुपर्छ ।”
भोलिपल्ट सबै जनावर डरले काँप्दै सिंहका गुफा ओरिपरि हाजिर भए।
सिंहले गर्जदै भन्यो, ” हेर साथी हो ! सिंहले घास खाँदैन । खाने मासु नै हो । मैले पनि बाँच्नुपर्छ। हिजोदेखि सिंहिनी र म भोकै छौँ । जङ्गलका त्यत्रा जनावर कहाँ गाएब भए । यतिमात्र आयौ त । यसको दोषी को हो ? ”
हात्तीले भन्यो, “जङ्गलको राजा सिंह हाम्रा सन्ततीलाई तिमीहरुजस्ता हिंस्रक जनावरहरुले चबाइसक्यौँ । अब हामी पनि मासिन्छौं तिमीहरू पनि पृथ्वीबाट लोप हुन्छौ।”
सभा मौन भयो ।
फुत्त उफ्रदै हरिनको पाठोले सभाको अगाडि गएर भन्यो, “यसको दोषी छट्टु स्याल हो । यसले हाम्रा दाजुभाइ दिदीबहिनी खाइसक्न लाग्यो । अनि बाघ भालु र चितुवा जस्ता मांसहारी जनावर पनि दोषी हुन् ।”
स्याल लगायत हिंस्रक जन्तुका कान ठाडाठाडा भए ।
कतै सिंहले मलाई नै दोषी नठानोस् भन्ने सेचेर जुरुक्क उठेर स्यालले हतारिदै भन्यो, “यसको दोषी हामी होइनौ महाराज । तिनीहरू दुष्ट हुन् जस्ले हामी बस्ने बनजङ्गल खोलानाला चौर केही राखेनन् । हाम्रो बासस्थान हडपे । उसको पृथ्वीमाथि एक्लो रजाइँ छ । हाम्रो जनसंख्या घटेकोघटै छ, उनीहरू बढेकाबढै छन् । कहाँबाट सजिलै सिकार मिल्छ त ।
अनि म कसरी दोषी भएँ ? यसको दोषी म होइन सिंह महाराज ! यसको सम्पूर्ण दोषी त मान्छे हो , मान्छे !”
(दमक, झापा)