लकडाउनले घरमा बसेको धेरै दिन भएकाले ग्याल्जेलाई लिएर घरै अघि रहेको पार्कमा टहलिँदै थिएँ । पार्कमा पुगेको केही क्षणमै ग्याल्जे कुनै संकेत नै नदिई अचानक हरायो मेरा अघिबाट ।
मनमा खुल्दुली पैदा भयो । कहाँ गयो होला भनेर र डर पनि लाग्यो । पार्कका झाडीमा कहिलेकाहीँ त चितुवा देखिन्छ भन्ने सुनेको थिएँ । ग्याल्जे पनि कतै चितुवाको फेला त परेन भनेर चिन्ता लाग्ये ।
करिब चारवर्ष अघि स्मृति ताजा भएर आयो ।
यसै पार्कको कुनामा मृत आमाको दूध चुसिरहेका थिए चारपाँचवटा छाउराहरु तर अरुको सट्टामा एउटा छाउरोचैं साह्रै मक्लक्क परेको र देख्तैमा खेलाउँ- खेलाउँ परेको थियो ।
तिनैमध्येको एउटा थियो मेरो ग्याल्जे । जसलाई मैले घरमा ल्याएर नातिनातिनाको तिर्सना मेटिने गरि हेरचाह तथा मेरो आवश्यकता अनुसारको शिक्षा अर्थात ट्रेनिङ पनि दिएर मेरा लागि योग्य र आज्ञाकारी समेत बनाएको थिएँ ।
पर-परसम्म उसलाई नदेखेपछी उसलाई खोज्दै पार्कको पल्लो कुनामा पुगेकोमात्र के थिएँ नजिकैको झाडीबाट उ फुत्त निस्कियो ग्याल्जे; सुकेका पत्कर सोत्र्याङ्ग पार्दै; अझ साथमा एउटी छाउरी समेत लिएर ।
चितुवाको कल्पनाले एकपटक त मन चिसो भयो । तर ग्याल्जेलाई देख्नासाथ मन खुशीले फुरुङ्ग पनि भयो आफ्ना सन्तानले अमेरिकाको भिसा पाउँनासाथ छोडेर हिँडेपछिको मेरो एकमात्र साथी जिउँदै पाएर ।
अनि मैले उसलाई हकार्दै सोधेँ, “कहाँ मुण्टिएको थिस् ए ! पाजी ?”
“पार्कको ऊ त्यो कुनाबाट कस्तो हरहर बासना आयो कि अनि मन थाम्न नसकेर के र’छ भनेर हेर्न ग’को त मान्छेको दिसा पो र’छ” उसले पुलकित हुँदै भन्यो र थप्यो, “अनि उसले र मैले मिलेर ….।”
शिक्षा त सुनको बाहिरी जलपमात्र रहेछ र मान्छेको अन्तस्करण चैँ ?
अनि मैले “जात्या च सदृशा: सर्वे कुलेन सदृशास्तथा” भन्ने महाभारतको वाक्य सम्झिएँ ।
(मैतिदेवी, काठमाडौं)