त्यसबेला कर्जा काढेर कमाउन लिएको खेतबारीमा बाँझो फुटाउन तल्लिन थिएँ म जुनबेला करोडौंको लागत खर्चिएर झिकाइएका अत्याधुनिक राफेल-जेटहरू देशको धरतीमा अवतरण हुँदै थिए । त्यसदिन टारीखेतमा कुलो फर्काएँ आलीहरू मिलाएँ देशका जनताझैँ गह्रागह्रामा उभिएका धानका बालाहरू जोगाउनलाई कीटनाशक छर्किएँ र युद्धस्थलबाट फर्किएको सिपाहीजस्तै लखतरान परेर घर पसेँ । देशको सामरिक शक्ति र सुरक्षाबारे केही भन्नुहुँदैथ्यो रेडियोमा, तर म निदाइहालेँ । सपनामा फाटेको वर्तमानलाई दर्जीले जसरी सिउन जिन्दगीलाई धागो बनाएर उन्दैथिएँ म तपाईँ पासोजस्तो सरकारी अक्षरहरूको कालो बोकेर मेरो घरभित्र छिर्नु भो । अहङ्कारी कुस्तिबाज जस्तो तपाईंका अक्षरहरूको हुँकार सुनेर तर्सिएको मेरो लुते फुच्चेलाई उसको आमाले फाटेको बर्कोभित्र समेट्ने असफल चेष्टा गर्दै थियो म प्रतिकार शुन्य असहाय उभिएको थिएँ । मैले देखेँ तपाईंका अक्षरहरूमा देशको जमिन थियो, माटो थिएन जमिनको दाग-नम्बरको टिपोट थियो माटोको सम्बन्धको आदिम कथा थिएन मैले चाल पाएँ तपाईंका अक्षरहरूले बनाएको देशको निर्जीव नक्शा थियो नक्शामा म कहीँकतै थिइनँ । अक्षरहरू यत्ति अन्धा कसरी हुनसक्छन् ? बिकासको निजी योजनाहरूको सडक गुडाएर बत्तिनुभएको तपाईंले हामीलाई कीटाणु सरह देख्नुभएको त्यो दिन मैले कीटनाशकको सिसी घुटक्याइदिएको थिएँ । जिजीविषाको लडाइँमा लाचार मलाई तर आफ्नै मृत्युको अधिकार समेत नसिबमा छाडिदिनु भएन तपाईंले त्यो दिन । म अहिले जीर्ण भइसकेको सरकारी अस्पतालको जीर्ण वार्डमा छु जसका भित्ताका प्लास्टर उप्किएर देशको जीर्ण मानसिकताको रोगी मानचित्र बनेको टुलुटुलु हेरिरहेछु । (विजनबारी, पश्चिम बंगाल, भारत)