रतनबहादुर गाउँमा खुबै चर्चाको नाम थियो । दुखी ,गरिब तथा वेसहाराका साथी पनि थिए । उनी भन्थे, “कोही पनि मसँग दकस मान्नु पर्दैन ।” आफ्ना पीडा, ब्यथा छ भने भन म मलम बनिदिउँला भनेर सानत्वना दिन्थे । यिनका कुरा सुनेर गाँउलेहरू पनि खुसीको अनुभूति गर्थे र भन्थे, “हामी कति भाग्यमानी छौँ ।”
गाउँमा बिबाह, भोजभतेर भइनै रहन्थे। गाउँलेहरूलाई जातभातको आधारमा छुवाछुत गर्नु हुँदैन भनी सल्लाह दिन्थे । सबै मानव समान हौँ भन्दै बेलाबेलामा भाषण पनि छाटेकै थिए । गाउँमा एकपटक छुवाछूतको बिषयमा झगडा हुँदा छुवाछुत गर्ने ब्याक्तिलाई डण्डसजाय पनि गरे । समाजमा आफूलाई क्रान्तिकारीका रूपमा चिनाए । उनको यस्तो कार्यबाट समाजमा परिवर्तन आएको आभाष हुन्थ्यो ।
यसरी धेरै बर्ष बित्यो । रतनबहादुरका एक एक छोरा र छोरी थिए । छोरीको बिबाहको उमेर पनि भएको थियो । उनले कुलघरान र उच्चजातको वर खोजे । बिबाहमा सबै गाउँलेलाई बोलाए । गाउँलेरू हर्षविभर हुँदै बिबाहमा भतेर खान गए । तर भतेरका लागि बारीका पाटामा तीन ठाउँमा छुट्टाछुट्टै भान्सा बनाएको देखेर गाउँलेहरु आपसमा मुखामुख गर्न थाले ।
(तनहुँ)