यो जिन्दगी अचेल रातो हटाएको अवीरजस्तो भएको छ कलम हराएको कविरजस्तो भएको छ हो यो जिन्दगी अचेल, गजुर चोरिएको मन्दिरजस्तो भएको छ मृत्युपछिको तस्बिरजस्तो भएको छ । जिन्दगी अचेल, रहर सकिएको सहरजस्तो, बालुवाले छोडेको बगरजस्तो चिठ्ठीबिनाको खामजस्तो, ज्योतिबिनाको घामजस्तो फित्ता नभएको झोलाजस्तो, ढुंगा नभएको खोलाजस्तो भएको छ । जिन्दगी अचेल, नुनिलो सकिएको नुनजस्तो, पहेँलो झिकिएको सुनजस्तो पानि नभएको इनारजस्तो,नदीबिनाको किनारजस्तो कस्तोहो कस्तो भएको छ, निकै सस्तो भएको छ । जिन्दगी अचेल, राजाबिनाको दरबारजस्तो, स्त्रीबिनाको घरबारजस्तो बल्न बिर्सिएको आगोजस्तो, बग्न बिर्सिएको पानीजस्तो जुन-ताराले छोडेको आकाशजस्तो, चल्न छोडेको बतासजस्तो भएको छ । जिन्दगी अचेल, हिउँ नपर्ने हिमालजस्तो, भुवा नउड्ने सिमलजस्तो पंख नभएको चराजस्तो, आली नभएको खेतको गराजस्तो जमराबिनाको दशैंजस्तो, भमरा नउडेको बैंशजस्तो भएको छ । जिन्दगी अचेल, चामलबिनाको भातजस्तो, पाउजु नबजेको सुहाग रातजस्तो बत्ती निभेको तिहारजस्तो, विश्वास मरेको पियारजस्तो सुगन्ध सकिएको पारिजातजस्तो, सुर्य उदाउन छोडेको प्रभातजस्तो भएको छ । जिन्दगी अचेल, आफ्नै देशमा शरणार्थी भएको देशीजस्तो, एयरपोर्टमा पासपोर्ट हराएको पर्देशीजस्तो रुँदारुँदा सधै, हाँस्नै भुलेको ओठजस्तो, दुख्दादुख्दा थाकेर दुख्नै भुलेको चोटजस्तो इमान बेचेको शसस्त्रजस्तो, स्वाभिमान सकिएको देशभक्तजस्तो भएको छ । जिन्दगी अचेल, भाग्य लेख्न छुटेको निधारजस्तो, बाघले कुरेको शिकारजस्तो अन्धी दिदीको ऐनाजस्तो, कोमामा गएकी मेरी सैनाजस्तो आफ्नै चौतारी र पिपल चिन्न छोडेको बरजस्तो, गन्दागन्दै गन्ति भुलेको गणित सरजस्तो भएको छ । फूलैफूल होस् भनेर कसले भनेको थियो र ! फूलसँगै काँडा पनि हुन्छन र स्विकार्नु पर्छ भनेर जान्दा-जान्दै, मान्दा-मान्दै पनि यो जिन्दगी अचेल सधै काँडाले मात्र निरन्तर घोचिरहदा मर्नु न बाँच्नु भएको छ । इमान र स्वाभिमानलाई भगवान मानेर निरन्तर कर्म गरिरहँदा पनि कैले रोगब्याधी बाढीपैरो भूकम्प महामारी के के हो के केको तनाब डर र त्रासले निरन्तर पोलिरहँदा यो जिन्दगी अचेल मर्नु न बाँच्नुभएको छ । योजिन्दगी अचेल…! (नर्वे)