मैले बायोडाटा बनाएपछि हो
मेरो परिचय गुमाएको
म बायोडाटा बनाइपछि गुमाएको
परिचय खोज्न कहाँ जाऊँ ?
तेह्र वर्ष स्कुल
दुई वर्ष दश जोड दुई
चार वर्ष बी.ई.
उन्नाइस वर्षको औपचारिक शिक्षा
पूरा गरेकी मलाई
माँले बायोडाटा बनाउन
काकीको मद्दत लिन अह्राउनुभयो
मैले आफ्नो ज्ञान र त्यसमाथिको दाबी नछोडेपछि
माँले मायालु हुँदै भन्नुभयो,
“छोरी ! तिमी यस्तो–उस्तो बायोडाटा बनाउँदै छैनौ,
तिमी बनाउँदै छौ, बिहेको लागि बायोडाटा ।”
हात परेपछि
काकीले बनाइदिनुभएको बायोडाटा
मैले गुमाएको हुँ आफ्नो नाम
र धारण गरेकी हुँ
घर, परिवार, समाज र सिङ्गो जातिको
छोरीको विधानको पूर्ण पाठ
जसमा बिलाउँदै बिलाउँदै गएर एउटा बिन्दुमा
छोरी बन्नुपर्ने रहेछ – मासुको थुप्रो
कलपूर्जाको बाक्सा, आँटाको बोरी वा रहरको पुतली ।
मेरो बिहेको बायोडाटामा
मेरो बापुको ब्यवसाय खोजियो
खोजिएन मेरो शैक्षिक सङ्घर्ष
मेरो भाइको कम्पनीको ब्राण्ड खोजियो
खोजिएन मेरो सामाजिक लगावको लगानी
मेरो काकाको शेयरको फेहरिस्त खोजियो
मामोको घराना खोजियो, दादोजीको इतिहास
सबै – सबै खोजियो
फगत खोजिएन
मैले आजसम्म बगाएको पसिनाको लागत ।
मेरो बायोडाटामा
के हुनुपर्ने हैन विद्यालय तहको काँचा सपना ?
के देखिनुपर्ने हैन दस जोड दुईको रस्साकस्सी,
अनिँदो रातको बी.ई.को त्यो मेहनत ?
अनि मात्र पूर्ण हुनुपर्ने हो शिक्षाको कोलम
साना निर्धा अक्षरमा
शिक्षा – बी.ई. लेखेर
कहाँ बाँच्दछ शिक्षा ?
माँ
मलाई हेर्नुहोस्
हरेकपल्ट बायोडाटा बनाउँदा वा थप्दा केही
जुन तेज आफ्नी छोरीमा देख्नुहुन्थ्यो
किन छैन त्यो तेज अनुहारमा आज
निरन्तर अद्यावधिक गर्नुपर्ने बायोडाटामा
किन छन् गायब अस्तित्वका अद्यावधिक गर्नुपर्ने कोलमहरू
म किन कण्ठको सुरिलोपनामा रेटिएकी छु
गोरोपनाको रोगनमा घोटिएकी छु
पाककलाको सिलौटोमा पिसिएकी छु
किन देखिन्छन् त्यसमा
मेरो मगजभन्दा ठूलो नितम्बको मोल
मेरो सोचभन्दा भरिलो छातीको महत्त्व
शैक्षिक उपलब्धिभन्दा उँचो, मेरो कदको अस्तित्व
शारीरिक – व्यवसायिक तालिका बनाई
एउटा हाड मासुको मूर्तिमा परिणत गर्दा
के मर्दिन तपाईँकी छोरी त्यसमा च्यापिएर ?
रे सखी !
बनिसकेपछि आफ्नो बायोडाटा
शिरदेखि पैतालासम्म मैले छामेँ आफूलाई
अहँ, चिनिनँ आफ्नो बायोडाटा हेरेपछि आफैँलाई
मेरो यत्रो वर्षको लगन, शिप, जाँगर गुमाएर
एउटा बस्तुमा मेरो कायाकल्प
श्री गणेशजी महाराज, श्री लक्ष्मीजी महारानी,
श्री हनुमानजी महाराज, श्री सरस्वतीजी महारानी
सदा सहाय रहून्, श्री रोकड बही चालु करिसी
छोरी हुनु,
आट म घाट पड्यो !
(काठमाडौं)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।