धुलाम्मे र जीर्ण यी बाटाघाटाहरुजस्तै अति जीर्ण गुड्ने साधनहरुबाट धुवाँको मुस्लोले वातावरण कुहिरीमण्डल बनाउने यी अस्तव्यस्त सहरहरु सहरजस्तै कोलाहल र हाहाकारपूर्ण जीवन जीर्ण शरीर लिएर जिउन बाध्य छौँ हजुरले भनेजस्तै शान्त र स्वच्छ छैन आमा आजको यो सहर । सुनजस्तै सुनौला धानका बाला झुल्ने ती फाँटहरु काँक्रोका चिराझैँ चिरा चिरामा विभाजित गरिँदै बसालिएको छ बस्ती लटरम्म फलफूलले ढाक्ने डाँडाकाँडाहरु सिस्नो र वनमाराले ढाकेको छ परिश्रमी हात र भाइचाराको साथ नपाएर छट्पट्याइरहेको छ हजुरले भनेजस्तै आत्मीयता र सुन्दरता छैन आमा आजको यो गाउँ । मस्त जवानीमा मन्द मुस्कान दिएर मन नै लोभ्याउने गरी खिसिक्क हाँस्दा देखिने सेता दन्तलहरजस्तै त्यो हिमाल सेताम्मे हिउँले पनि ढाक्न छाडेर कहीँ नाङ्गा उजाड लाग्दा डाँडा त कहीँ फोहोरको डुङ्गुर अनि कालो बादलले ढाकेर रुन्चे अनुहारमा हाँस्नै बिर्सेजस्तै देखिँदैछ हजुरले भनेजस्तै कञ्चन सफा र मनमोहक दृष्य छैन आमा आजको यो हिमाल । छ त यहाँ केबल स्वार्थै स्वार्थ रीस, राग, छलकपट एकले अर्काको खुट्टा तान्ने प्रवृत्ति चेतनलाई अर्धचेतन बनाइदिने अर्धचेतनलाई मृत घोषणा आफन्तलाई पराइ पराइलाई क्षणिक आफन्त बनाउनेको यो भिडभाडको दुनियाँ हजुरले भनेजस्तै इमानदार, बफादार र स्वावलम्बी छैन आमा आजको यो स्वप्निल दुनियाँ । (चितवन हाल स्पेन)