काठमाडौं ।
‘जुनुको जुत्ता (द सुज अफ अ लिटल गर्ल)ले रुसमा अवार्ड जितेको छ। रुसमा आयोजित फेस्टप्रो फिल्म फेस्टिभलमा यस सर्ट फिल्मले बेस्ट सर्ट फिल्मको अवार्ड जितेको हो।
रुसकै ‘द फाइनल स्ट्याण्ड’ले बेस्ट फिचर फिल्म, चिलीको ‘द ब्वाय एण्ड द माउण्टेन’ले बेस्ट एनिमेटेड फिल्म, जर्मनीको ‘टेल्स अफ लाइट’ले बेस्ट चिल्ड्रेन्स फिल्मको अवार्ड जुनुको जुत्ता उत्कृष्ट सर्ट फिल्म घोषित भएको थियो ।
‘जुनुको जुत्ता’ जुत्ता चप्पल उल्टो लगाउने सानी नानीको कथा हो। आफ्ना वरिपरीका आमा, शिक्षक लगायत ठूलाठालूले भन्ने गरेका कथित ‘सुल्टो’ नलगाउँदा पाएको नमीठो गालीपछि उनले जुत्ता उल्टो नलगाउन गरेको उपायको खोजी फिल्ममा प्रस्तुत छ।
‘जुनुको जुत्ता’ले गत मार्चमा अमेरिकाको वामकिड्स फिल्म फेस्टिभलमा पनि बेस्ट लाइभ एक्सन सर्ट फिल्मको अवार्ड पाएको थियो। त्यस्तै अप्रिलमा बुसान इन्टरनेसनल सर्ट फिल्म फेस्टिभल अन्तर्गत कोरियाको सिनेमा घरमा प्रदर्शन भएको थियो।
‘जुनुको जुत्ता’को अन्तर्राष्ट्रिय यात्राका क्रममा इटालीको फिल्म फेस्टिभल ‘कोर्टी अ पोन्टी’, सिंगारपुरको दशौं ‘सिंगापुर इन्टरनेशनल चिल्ड्रेन्स फिल्म फेस्टिभल’मा छनौट भइ यसै मे महिनामा प्रतिस्पर्धात्मक प्रदर्शन हुँदैछ।
लगत्तै आउँदो जुनको पहिलो साता जर्मनीको अर्को प्रतिष्ठित फिल्म फेस्टिभल ‘सर्ट फिल्म फेस्टिभल–हमबर्ग’को मो एण्ड फ्रिस सेक्सन अन्तर्गत पनि प्रतिष्पर्धा गर्दैछ। यस फिल्मले गत वर्ष जर्मनीकै ६६ औं इन्टरनेशनल सर्ट फिल्म फेस्टिभल–ओवरहोउसेनमा अवार्ड प्राप्त गरेको थियो।
‘जुनुको जुत्ता’ केदार श्रेष्ठले निर्देशन गरेका हुन् ।
विभु पौडेल र सुशान्त श्रेष्ठ प्रोड्युसर रहेको फिल्मको सरुन मानन्धर सिनेमाटोग्राफर हुन् । विप्लपराज पोखरेलको सम्पादन, किशोर आचार्यको साउन्ड डिजाइन, रिकेन महर्जनको संगीत रहेको फिल्मको कार्यकारी निर्माता मधुसुदन रिमाल, सन्तोषी श्रेष्ठ र बद्री श्रेष्ठ हुन् ।