यो सङ्कट भन्ने जन्तु पनि अचम्मैको तन्तु रहेछ । जस्तै सानो सङ्कट कपासको त्यान्द्रो मडारिएर आउँदाझैँ सङ्कट को लुँडो भनौँ कि त्यान्द्रो भनौँ ! यो त लुँडिन सुरू गरेको लुँडिदा लुँडिदै एउटा गुजुल्टो लुँडिएर मुस्लो बनी कुदिरह्यो । झन नेपालाँ त यसको कमी कहिल्यै भएन, रहँदैन पनि होला । नेपालाँ लोकतन्त्रसँगै मौलाएको सङ्कट झण्डै बौलाको ! हुनता नेपालाँ मात्रै के भनौ संसारैभरि लरीबरी यसको सयरपयरबिनाको कल्पकल्पको आदिदेखि सृष्टि र पृथ्वीको अन्तसम्म जन्त जाने जन्तीको लहरजस्तै गुजुल्टिएर उडिरह्यो..। झन नेपालाँ त अजिङ्गर बनी रहिरह्यो । बाहिरको सङ्कट पनि आफ्नै मुखाँ जुका बनी टाँस्सिरह्यो, गाँस्सिरह्यो !
जब जब पृथ्वीमा सङ्कट को रुपले वंकटरूपी बबण्डरलाई भयंकर भयमा परिणत गराउँथ्यो, शंकरदेखि बिष्णु अवतारले दफ्तर बनाउँथे। खै अहिले त सुन्न पाएकै छैन कुन बिष्णु हुन ? कुन कृष्ण ? कुन शंकर, तर सङ्कट झन बढ्डो छ । हत्या हिंसाको त चरम उत्कर्षबाट गरम गंणले धरमको सङ्कट नपर्या कहाँ हो र ? जनता जनार्जनले भगवानलाई भाकल गरेर पनि यो सङ्कट मोचन गर्न नपुकार्या र नगुहार्या पनि कहाँ हो र ? खै सुन्दैनन् पनि र आउँदैनन् पनि ? यो सङ्कट मोचन गर्न । के खँचाले धाँउछन् र ?
यो सङ्कट पनि कसैले बोलाओस्, नबोलाओस् ह्वारहावारी आइरहन्छ । अब हेर्नुस् न संस्कृतिको सङ्कट , रीतिथितिको सङ्कट, राजनीतिको सङ्कट, राष्ट्रिय सङ्कट, अन्तरराष्ट्रिय सङ्कट, भाषाको सङ्कट, आर्थिक सङ्कट, धार्मिक सङ्कट, पर्यावरणको सङ्कट, धर्मको सङ्कट, कर्मको सङ्कट, मेलमिलापको सङ्कट, युवा शक्तिको सङ्कट, देशलाई निकास दिने नेताको सङ्कट, आदि इत्यादि । कति सङ्कट कानाम लिउँ सङ्कट त यहाँ ओल्टो फर्के सङ्कट कोल्टो फर्के सङ्कट, कर्के हेरे सङ्कट छडके हेरे सङ्कट । घरभित्र सङ्कट, घरबाहिर सङ्कट, छिमेकाँ सङ्कट, टोलाँ सङ्कट, खोलाँ सङ्कट, झोलाँ सङ्कट, जिल्लाँ सङ्कट, देशाँ सङ्कट, बिदेशाँ सङ्कट । राजनीतियाँ त झन् कत्रो भागबण्डाको सङ्कट, भाग लगाए पनि सङ्कट नलगाए त झन ठूलो र भाँचिने, नासिने, विग्रिने, भत्किने सङ्कट ! यो लाजै नभएको सङ्कट, यो लाज पचाएकोसङ्कट, यो भात पचाएको भाते सङ्कट, यो कसैको नभएको नकचरे सङ्कटलाई कंकट खुवाऊन संकटा मोचन गर्नुपर्ला जस्तो छ ।
यो सङ्कट पनि सबैका आफ्नैखाले सङ्कट बढदै गएर भाले हुन्छन् । बाले भन्थे “यस्को यस वर्ष संकटा बडा छ” त्यसैले मेरा संकटा कडा छ । त्यस्तै यहाँहरुको पनि आ -आफ्नै खालको होला । यहाँहरूको सङ्कटले पनि कङ्कट ख्वाइरहेको होला । धन्ना नमान्नुस् सबैका घराँधरो हालेर बस्ने चिज हो एउटा टर्यो आर्को आइमिल्छ । पहिला नेपालाँ राणा शासनको सङ्कट राजा र प्रजालाई थियो । २००७ सालपछी राजाका सङ्कट पार्टी र पार्टीका सङ्कट राजालाई सर्यो ।
हुन त म कुनै राजनीतिज्ञ अथवा नेता भनौँ या नेतागिरी गरेर हिँड्ने मानिस त हैन ! तै पनि किन हो किन यो राजनीतिको महान् यज्ञाँहोमादि गरेको प्रसादले म पनि विमुख हुन सकिनँ र यो महान् कर्मको फल चाख्ने प्रेरणाले स्वादे जिब्रो अल्छी तिघ्रो भन्छन् नि हो त्यस्तैत्यस्तै चाहिँ हुँ । किनकि यसको कर्मलाई धर्म मान्दै यसको प्रेरणाबाट संप्रेरित भएर, सधैं सधैं ओतप्रोत भै रहने चाहिँ हुँ । राजनीति राज+निती यी दुई अक्षरको प्रकृति प्रत्यय मिलेर बनेको शब्द हो । राज्याँ जनतालाई शान्ति, सुरक्षा र सुशासन ल्याई चलाउने नीति हो तर यस्को सङ्कट ले शान्ति, सुशासन,विकास र निकासले उल्टो बाटो समातेर सुल्टो बाटोको सङ्कट पर्यो । राजा भन्ने शब्द त संसदबाटै अपदस्त गरी सङ्कटमोचनको प्रसाद बाँडियो ।
फेरी त्यो संकटा शिराँ वीर बनेर जो जो आए उनीहरुको नीतिले जनता र जनता जनार्जनका इच्छा आकांक्षा र भावनालाई अपदस्थ मात्रै गरिएन कि अप्रासंगिक समेत बनाइयो । बनाइरहेकै छन र बनाइरहने छन पनि । जसरी सङ्कट आदिकालदेखि अन्त कालसम्म एकछत्र छाइरहेको छ त्यसरीनै सङ्कट पनि पत्रै-पत्रा रूपाँ जनता जनार्जनको भागाँ यत्रतत्र तंत्रमन्त्र तन्किरहेको छ, भन्किरहेको छ । तै पनि जनता जनार्जन कुर्सीको सिक्काँफिक्का भएपनि टिका चाहिँ लगाइरहन्छन्, लगाइरहनु पर्छ र लगाइ दिन्छन् पनि । जनतालाई किन जनार्जन भनिन्छ भने यो शब्द राजनीतिले लम्पट बनाएर लपेटिरहन्छ चाहे राजनीतिका खेलाडीले जनता जनार्जनलाई अस्प्रिश्य नै किन नमानुन् । यो कुरो चाहिँ सङ्कटले र सङ्कट पालकले नै जानुन् ।
(क्यालिफोर्निया)