भारतमा नेपाली चलचित्र निर्माणको इतिहास केलाउने हो भने हामी आजभन्दा सात दशक पहिले डी.बी.परियारद्वारा निर्देशित भनेर जानिएको चलचित्र ‘हरिश्चन्द्र’मा पुग्नुपर्छ । भारतमा निर्मित यो फिचर फिल्म भारतीय नेपाली फिल्मको क्षेत्रमा मात्र होइन अपितु समुचित नेपाली जगतमा निर्मित पहिलो फिल्म थियो । यो फिल्म निर्माण भएको समयमा नेपालमा नै पनि कुनै नेपाली चलचित्र निर्माण हुन सकेको थिएन ।
यसैले नेपाली भाषाको चलचित्र निर्माणको प्रारम्भ नेपालबाहिरबाटै अर्थात भारतबाटै भएको हो भन्ने कुरा यहाँ छर्लङ्ग छ । वि. सं. २००७ साल असोज २२ गते छायाङ्कन प्रारम्भ भई वि. सं. २००८ भदौ ३० गते पहिलो पटक प्रदर्शन भएको नेपाली भाषाको चलचित्र ‘हरिश्चन्द्र’लाई नै नेपाली चलचित्रको प्रारम्भ बिन्दु मान्नुपर्छ । यसरी भारत र नेपालमा नेपाली चलचित्रको आधारशीला राख्ने पहिलो व्यक्ति नै डी.बी.परियार थिए, जसको योगदान नेपाली चलचित्र जगतको विकासक्रममा एक सिङ्गो अध्याय हो । ‘हरिश्चन्द्र’को निर्देशन कसले गरेका थिए भन्ने कुरामा जुन विवाद छ, त्यो पनि धेरैलाई थाहा छैन । यो सत्यताको गाँठो फुकाल्ने यस लेखको उद्देश्य होइन। पछि अर्को लेखमा यसबारे मन्थन गरिनेछ । कथा, पटकथा, संवाद र गीत लेखनमा परियारको हात रहेको अध्ययनबाट थाहा लाग्छ ।
यहाँ एउटा चौपट्टै अन्योलपूर्ण कुराको गाँठो पनि फुकाउन आवश्यक देखिन्छ । त्यो के भने नेपाली चलचित्रबारे लेखिएका कतिपय पुस्तक तथा पत्र-पत्रिका आदिमा प्रथम नेपाली चलचित्रको नाम कसैले ‘सत्य हरिश्चन्द्र‘ त कसैले ‘राजा हरिश्चन्द्र‘ भनी बारम्बार उल्लेख गर्दै आएको देखिन्छ तर डी.बी.परियारद्वारा निर्देशित पहिलो नेपाली चलचित्रको नाम वास्तवमा ‘हरिश्चन्द्र‘ हो । चलचित्रको नाम ‘हरिश्चन्द्र’ शब्दको अघि न कुनै शब्द जोड़िएको छ न पछि नै ।
थाहा लागे अनुसार,‘हरिश्चन्द्र’को सुटिङ सन् १९४९ देखि १९५० सम्म कलकत्ता र यसको छेउछाउका अञ्चलहरूमा भएको थियो । यसका मुख्य कलाकारहरू- प्रेम नजिर, कान्ता, शीलादेवी, बलबहादुर परियार, दिलुसिंह क्षेत्री, डीबी परियार, तीलक शंकर, सागरदत्त कोइराला, रोजमेरी आदि थिए ।
नेपालमा नै निर्मित चलचित्रको पहिलोपटक प्रदर्शन चाहिँ विक्रम संवत २०२२ सालको असोजमा ‘आमा’ चलचित्रबाट भएको देखिन्छ । तर यो चलचित्रको निर्माण पनि भारतीय नेपाली चलचित्र निर्देशक हीरासिंह खत्रीको सहयोगले नै सम्भव भएको देखिन्छ । विसं २०२२ मा नेपालका तात्कालीन राजा महेन्द्रले आफ्नो भक्तिगाथालाई चलचित्रमा उतार्न खत्रीलाई नेपाल निम्त्याएका थिए भन्ने कुरा अध्ययनबाट थाहा लाग्छ । त्यसभन्दा पहिलेनै बनेको चलचित्र ‘माइतीघर‘ भने ‘आमा‘पछि अर्थात विक्रम संवत २०२३ को अन्तमा मात्र प्रदर्शन हुन सक्यो । धेरैले ‘आमा’ लाई पहिलो नेपाली चलचित्र हो भन्ने गरेको पनि देखिन्छ तर यो भन्नु चाहिँ ‘हरिश्चन्द्र’लाई ठाडै उपेक्षा गर्नु हो । यस हिसाबले पनि नेपाली चलचित्रको इतिहास सात दशक लामो भइसकेको कुरा स्पष्ट छ ।
यद्धपि शुरुआतदेखि अहिलेसम्मनै कतिपय नेपाली चलचित्र निर्माणमा भारत र नेपाल दुवै देशका चलचित्र कर्मीहरुका सहकार्य र योगदान रहेको देखिन्छ । तर पनि नेपाली साहित्यमा नेपाल र भारतमा भएका गतिविधिहरूलाई बेग्लाबेग्लै प्रकारले अध्ययन र निर्क्यौल गरिए सरह नेपाली चलचित्र निर्माणको फाँटमा पनि दुई देशमा भएका गतिविधिहरूलाई छुट्टाछुट्टै खण्डमा राखेर चर्चा गर्नुपर्ने आवश्यक्ता देखिन्छ । यसैले यहाँ नेपाली चलचित्र निर्माणको क्षेत्रमा भारतमा भएका गतिविधिबारे संक्षिप्तमा मन्थन गरिनेछ ।
भारतमा निर्माण भए तापनि ‘हरिश्चन्द्र’को प्रथम प्रदर्शन चाहिँ नेपालमा नै भएको थियो। यसरी सर्वप्रथम काठमाडौंमा प्रदर्शन भएपछि यो फिल्म वि.सं.२००८ सालको मंगसिर महिनामा दार्जिलिङ खरसाङ् र कालिम्पोङमा प्रदर्शित भएको थियो । दार्जीलिङ्ग र खरसाङमा अपार सफलता पाएपछि ‘हरिश्चन्द्र’ को प्रदर्शन आसामको राजधानी सिलाङ र कालिम्पोङमा भएको थियो।
कलकत्तामा बनेको यो चलचित्रमा भाषा नेपाली भए तापनि हिन्दी चलचित्रबाट अधिक प्रभावित थियो । ‘हरिश्चन्द्र‘मा हिन्दी लवज र उच्चारणको प्रचूरता र अति नाटकीयता हावी हुनु स्वाभाविक थियो । नेपालमा नै पनि त्यसताका हिन्दी चलचित्र हेर्न पल्किसकेका नेपाली दर्शकहरुले ‘हरिश्चन्द्र‘लाई निकै रुचाएका थिए।
यसरी भारतमा नेपाली चलचित्रको घरेटी स्थापित भएपछि विक्रम संवत २०१३ को अन्तमा चलचित्र ‘माईतीघर’तयार भएर प्रदर्शित हुन पुग्यो । सुमनाञ्जली फिल्म प्रा. ली. को ब्यानरमा निर्मित यो चलचित्रमा नायक र नायिकाको रुपमा सी.पी. लोहनी र हिन्दी सिनेमा जगतकी सुप्रसिद्ध नायिका माला सिन्हाले अभिनय गरेका छन् । हिन्दी सिने जगतकै प्रख्यात र उच्चकोटीका संगीतकार जयदेवले यस फिल्मलाई आफ्नो सङ्गीत कलाले सङ्गीतमय बनाएका छन् भने प्रार्श्व गायक गायिकाको रुपमा लता मंगेशकर, आशा भोंसले, उषा मंगेशकर, प्रेमध्वज प्रधान, नारायण गोपाल, सी.पी.लोहनी र अरुणा लामाको योगदान पुग्न गएको छ । गीतहरुमा म.बी.बी.शाहको शब्द रचना पनि यसमा पर्न गएको छ । यस दृष्टिकोणले हेर्दा यस फिल्म भारतबाट बनेको भए तापनि यसमा नेपालका कलाकारहरुका पनि धेरै नै सहकार्य रहेको स्पष्ट छ । बी.एस. थापाको निर्देशनमा निर्मित यो चलचित्र नै नेपाली पहिलो पूर्ण फिचर फिल्म थियो।
भारतमा यसरी नेपाली चलचित्रको घुम्तीहरु निर्मित हुँदै गएपछि सत्तरको दशकको अन्तमा निर्मित ‘परालको आगो’ निकै चर्चित रह्यो । गुरुप्रसाद मैनालीका कथामा आधारित यो चलचित्रका निर्देशक हुन् प्रताप सुब्बा । शान्ति ठटालले यसमा संगीत दिएपछि उनी चलचित्रमा संगीत दिने पहिलो नेपाली महिला संगीतकार बन्न पुगिन् । त्यसपछि केही वर्षको अन्तरालमा प्रताप सुब्बाकै निर्देशनमा अर्को चलचित्र ‘बाँच्न चाहनेहरु’ देखा पऱ्यो । नेपाली चलचित्र निर्माणको इतिहासमा श्री प्रताप सुब्बाको योगदान पनि स्वर्ण अक्षरले लेखिनु पर्छ । श्री उगेन छोपेलको निर्देशनमा १९८७ मा फिल्म ‘साईनो’ देखा पऱ्यो। त्यसपछि यस दिशामा निकै सक्रियता देखा पर्दै गए । त्यसपछि निर्माण हुँदै गएका चलचित्रहरुमा प्रकाश कोविदका कथामा आधारित चलचित्र ‘अर्को जन्म’, र इन्द्रबहादुर राईका कथामा आधारित चलचित्र ‘जार’लाई लिन सकिन्छ । त्यसपछि आजसम्म भारतका विभिन्न भागहरुबाट निर्मित भएका चलचित्रहरुमा, ‘मशाल’, ‘मृग तृष्णा’, ‘बदलिंदो आकाश’, ‘तुवाँलो’, ‘किन मायामा’‘बितेका पल’ आदिलाई लिन सकिन्छ। फिल्म ‘तुवाँलो’का निर्देशक किरण ठकुरी हुन्, जो एक सिद्धहस्त रंगकर्मी पनि हुन् । २०१४ मा नै रिलिज भएको फिल्म ‘बितेका पल’को निर्देशक हुन् सुरज सुब्बा र निर्माता हुन् राजेश घतानी । विस्तारै दार्जीलिङ्गभित्रैबाट पनि फिचर फिल्म निर्माणको दिशामा नयाँ-नयाँ प्रतिभाहरु देखा पर्दै गएको देखिन्छ ।
मिरिक उपत्यकाबाट निक्की नावाङ गोलेको निर्देशनमा फिल्म‘थाहा नपाई’ २०१४ को सेप्टेम्बर महिनामा रिलिज हुन पुग्यो । खर्सान महकुमाबाट पनि फुर्वा छिरिङ लामाबाट एक लघु फिल्म ‘एक ढाकर जीवन’ निर्माण भएको देखिन्छ । यो लघु फिल्मलाई स्वीडेनमा आयोजित गोथेन्बर्ग स्वतन्त्र चलचित्र महोत्सवमा शान्ति पुरस्कारले सम्मानित गरिएको थियो भन्ने थाहा लागेको छ । यो फिल्म प्रतिष्ठित कथाकार गुप्त प्रधानको कथा ‘मान्छे मान्छेको बस्तीभित्र’मा आधारित छ । अर्कोतिर सिक्किमबाट प्रशान्त रसाईलीको निर्देशनमा देखा परेको चलचित्र ‘कथा’ लाई पनि यहाँ भुल्न सकिंदैन । सिक्किमबाटै चुनिलाल घिमिरेको निर्देशनमा ‘किन मायामा’ नामले चलचित्र तयार भएको देखिन्छ, जसमा इण्डियन आईडलका विजेता प्रशान्त तामाङ मुख्य भूमिमा छन् । यस अतिरिक्त केही भिडियो फिल्महरु पनि भारतका नेपालीहरुबाट निर्मित भएको देखिन्छ ।
यस क्रममा भाष्कर प्रधानको निर्देशनमा निर्मित ‘उजेली’ र भिम ढुंगेलको फिल्म ‘प्रयाश्चित’ पर्न आउँछन् । दार्जीलिङ्गमा विगत ८० को दशकदेखि स्थितिले रङ्क कर्मी र फिल्म निर्माणमा सच्येष्ट सर्जकहरूका लागि वातावरण सकारात्मक नरहेकोले भनेजस्तो सृजनाहरू हुन पाएनन् भन्ने कुरामा दुईमत हुन नसक्ला । वातावरण सकारात्मक रहिदिएको भए ठूलो पर्दामा देखाउन सकिने अति राम्रा राम्रा फिल्महरू आज हामीले देख्न सक्ने थियौं । यसो हुँदा हुँदै पनि डी.बी.परियार र श्री प्रताप सुब्बाले देखाएका मार्गहरू अनुशरण गर्दै नयाँ नयाँ युवाहरू आज कतिपय राम्रा राम्रा फिचरफिल्म, टेलिफिल्म, वृत्तचित्र तथा लघु फिल्महरू निर्माणमा सक्रिय रहेको गतिविधि पनि हामी देखिरहेका छौं ।
सरदर रुपमा हेर्दा यी सबै गतिविधिहरुले के देखाउँछ भने—कैयौं अप्ठ्याराहरु हुँदाहुँदै पनि, सुलभ प्राविधिक सुविधा र बजार व्यवस्था नहुँदा नहुँदै पनि, नयाँनयाँ प्रतिभाहरु यस दिशामा सक्रिय भएर यस क्षेत्रमा पनि आफ्नो प्रतिभा र योगदान लगाइरहेका छन् । भोलि आउने पीढिसम्ममा अवश्य भारतीय नेपाली चलचित्र संख्या र गुणस्तरीयताको फाँटमा माथी उठ्दै जानेछ भनि यहाँ विश्वास गर्न सकिन्छ ।
(दिल्ली, भारत)