आमाले दुई जीउको खबर सुनाउँदै गर्दा
मख्ख पर्दै आमालाई चुमेको थियो
रिङ्गटा नै लाग्नेगरी फन्फनि घुमेको थियो
घर छेउको लालुपाते
आमाको गालामा टपक्कै टासिएको थियो
तिमी फुरुङ्ग थियौ, तिम्रो मन दङ्ग थियो
जब डाक्टरले गर्भको कुरा सुनाए
तिम्रो दङ्ग मन एकाएक भङ्ग भयो
छोराक आशमा दङ्ग त्यो मन
एकाएक भङ्ग भयो ।
बा, यदि तिमीले इच्छा देखाएको भए
म पनि यतिबेला रङ्गीन संसारमा हुन्थेँ होला है
तोते बाेलीमा तिमीलाइ
बाब्बा भनेर बोलाउँथेँ होला है।
नाई म जन्मन चाहान्छु भन्दै
हातखुट्टा फाल्दै चिच्याउँदै गर्दा
पेटमा लागेको लात्तीको इशारा
सायद आमाले त बुझिन्
यदि तिमीले पनि बुझेको भए
बा, यतिबेला म पनि भाइले जस्तै
तिम्रो हात समाउँदै स्कुल जान्थे होला है ।
मेरा अंग मेसिनले चुडाउँदै गर्दा
आमाको मन पनि चुडिएको थियो
तर पनि तिम्रो छोराको प्यास मेटाउन
मुटु निचोरेर रुँदैरुँदै
मुटुको टुक्रा फ्याँकिदिइन् आमाले ।
बा, आमाका ती अश्रुधारा आँसु बुझेको भए
अहिले घरज्वाइँ भई छोरा ससुराली जाँदा
तिम्रा कुँजिएका खुट्टा, म मिचिदिन्थे होला है
यो बुढ्यौलीमा दुखेको त्यो मन सम्हाल्न
बा, तिम्रो सामु म हुन्थे होला है।
(जेबियर इन्टरनेशनल कलेज)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।