आमा ! आमा !! भन्दै दौडिँदै आयो ऊ
छपक्क मेरो छातीमा आफूलाई टसायो
भावविभोर भएँ म, मेरा आँखा रसाए
अनि सदाझैँ मेरा मायाका छापहरू
उसको मुहारभरि बरसाएँ ।
पाखुरी साना उसका समाई
नियाली हेरेँ उसलाई रमाई
अचम्म ! यो के अचम्म !!
आज अर्कै देखेँ उसलाई ।
त्यो सुलुत्त परेको नाक, ती चम्किला आँखा
बुझिनसक्ने उसका अनेकौँ भाका
त्यो सुनौलो केश, त्यो मीठो मुस्कानभित्र
देखेँ त्यहाँ विस्मृत हुनै लागेको मुहारको चित्र ।
सुमसुम्याउँदै निक्कै माया गरेको हो
उसको बाबाले मलाई
आत्मा चाहिँ छुन नसकेकै रहेछ
अब विश्वास भयो मलाई ।
अनौठो प्रकृति, अनौठो लीला रहेछ
कसरी मेरो वाल्यकालको प्रेमीसित अनुहार मिल्न गएछ ?
बर्सौं पश्चात भर्खर नै हो, भेट्न पुगे संजोगले उसलाई
झस्केको थियो ऊ पनि, देखेर मेरो छोरोलाई
माया ! माया !! भनी बोलाउँछ अचेल ऊ मलाई
छपक्क मेरो छातीमा आफूलाई टँसाई ।
(काठमाडौं)