राज्यसत्तामा पुगेको अनुदार शासक जस्तै एउटा कवि पनि हुनसक्दो रहेछ - साच्चै निरङ्कुश ! स्वतन्त्रताको बारेमा गजबको कविता लेखिरहेको छ भन्दैमा सोच्नु गलत हुँदोरहेछ स्वतन्त्रताकै पहरेदार - उसलाई स्वतन्त्रताको बारेमा लेखिएको उसको कविता त आफैंमा हात्तीको देखाउने दातजस्तै रहेछ ! ऊ आफैं हुँदोरहेछ भित्रभित्रै स्वतन्त्रताको सबैभन्दा खतरनाक दुश्मन ! सुन्न र देख्न त धेरै टाढाको कुरा सोच्नै समेत नसक्दो रहेछ उसले आफुले भन्दा उत्कृष्ट कविता अरु कसैले पनि लेख्न सक्छ भन्ने तीतो तर सत्य कुरा ! " राज्य नै म हु , म नै राज्य हु ! " जपेर लुइ चौधौँको नाम निरङ्कुश हुँदै गए जस्तै अनुदार शासक "कवि भनेकै म मात्रै हु, म भनेकै कवि मात्रै हु ! " सोच्दो रहेछ सदैव एउटा अनुदार निरङ्कुश कविले र सम्झिदै हात्ती आफुलाई देख्दोरहेछ अरुलाई भुसुनो ! लगाएर बलियो गजबार भित्रबाट बसेर आफू नितान्त एक्लै बन्द गरिदिएर सधैंकालागि नयाँ सम्भावनाको फराकिलो ढोका लेखिबस्दो रहेछ "जे आउँछ मज्जाले पचाउछ" भनेझैँ हजमोला शैलीमा पचाउने कविता ! आफ्नो एकलौटी साम्राज्य फैलाएजस्तै अँध्यारोले फैलाउन चाहदो रहेछ आफ्नै एकल प्रभुत्व र खेलाएझैँ बिरालोले मुसा खेलाइरहन खोज्दोरहेछ सदैव आफूले मात्रै एकलौटी रूपमा प्रिय कवितालाई ! केन्द्रभित्र बसेर केन्द्रभित्रकै बारेमा बोलिरहने र लेखिरहने केन्द्रीय कविलाई निकै गनाउदो रहेछ परिधिबाहिर रहेर परिधिबाहिरकै बारेमा लेखिएको परिधिय कविता ! जननिर्वाचित सरकारनै निरङ्कुश हुँदै गएजस्तै हाम्रै माझमा खाइखेली, हुर्की बढेर हाम्रै स्वतन्त्रताको बारेमा कविता लेखेरै स्थापित भएको एउटा कविले बनाउदो रहेछ आफैंलाई निरङ्कुश लेखेर अग्रगामी विचारको कविता बोकेर हिँड्दो रहेछ सदैव साघुरो मन र मस्तिष्कभित्र अटाइनसक्ने संकुचित मानसिकताले ग्रसित प्रतिगामी विचारको निकै गह्रुङ्गो भारी ! त्यही प्रतिगामी विचारको गह्रुङ्गो भारीले किचिएर थिचिएपछि सानो दिमाग भएको ठूलो टाउकोले धान्नै नसक्दो रहेछ फराकिलो सोचाइ देख्नै नसक्दो रहेछ आफुलाई बाहेक स्वीकार गर्नै नसक्दो रहेछ अरु कसैको अस्तित्व ! निरङ्कुश शासकले हालीमुहाली गरेजस्तै देखाएर परम्परागत हुकुमी अहङ्कार आजीवन चलाउन खोज्दो रहेछ हैकम प्रिय कवितामाथि बनाएर एकाधिकार सम्पूर्ण बिम्ब, प्रतीक र मिथकहरुलाई सम्झिदो रहेछ आफ्नै बाउको बिर्ता र त प्रयोग नगर्नु भनेर हुकुम दिदोरहेछ झुक्किएर पनि अरु कसैले आफुले प्रयोग गरेका कुनै पनि बिम्ब, प्रतीक र मिथकहरुलाई र कहिल्यै नलेख्नु भन्दो रहेछ आफुले भन्दा उत्कृष्ट कविता ! दन्काएर बाहिर चाहिँ विद्रोहको आगो ओकल्ने विद्रोही कविता भित्रभित्रै निरङ्कुश तानाशाहीकै हिमायती हुनुमै बडो गर्व गर्दोरहेछ सामन्ती संस्कारले सुसज्जित भएर महासामन्ती सोच बोकेको ... लम्पटदास ठालु कविले ! आफ्नै निरङ्कुश असीमित इच्छा र आकाङ्क्षाको बिना लगामको घोडादौडमा बुज्रुक अनुभवको लगाम लगाउन खोजिरहने विवेकशील हिम्मतलाई थिलथिलो तुल्याएर अलिकति बाँकी रहेको नाम मात्रैको अदबलाई सिध्याइदिएर सधैंसधैंका लागि चलाउन खोज्दो रहेछ सदैव आफ्नै नाङ्गो भडैती राज ! लेखेर फुलको बारेमा निकै सुन्दर कोमल कविता बोकेर हिँड्दो रहेछ सदैव कुरुप तीखो काढे प्रवृत्ति लगाउदो रहेछ सदैव कुदृष्टि तरुनी सिर्जनाको कलिलो बैशालु जोवनलाई निरन्तर र घोच्दोरहेछ मौका छोपेर कुमारी वैशालु यौवनको अस्तित्वलाई रयाल काढेरै बस्दोरहेछ दूधको साक्षी बिरालो भएर ! निमोठेर जवर्जस्ती सीमित इच्छा र आकाङ्क्षाको कलिलो घाँटी मारेर अकालमै बीभत्स रूपमा नयाँ कविका रहरिला सपनाहरूलाई रमाउदो रहेछ सदैव साच्चै निरङ्कुश लम्पटदास कवि ! कुनै बहुराष्ट्रिय कम्पनीले बनाएझैँ आफ्नो उत्पादनको ट्रेडमार्क र लिएझैँ सामान या नामको सर्वाधिकार आधुनिक निरंकुश कविले सोंच्दोरहेछ कविताको शीर्षक, बिम्ब, प्रतीक, भाव, शब्द र मिथकहरुलाई आफ्नै निजी पेवा ! सहृदयी सिर्जनशील प्रिय पाठक ! के रामायणमा रामको कथा छ भन्दैमा अब कसैले रामका कथा लेख्दै नलेख्नु ? महाभारतमा कृष्णको कथा लेखिसकियो भन्दैमा खाडीबाट काठको बाकसमा कैद भई फर्किरहेको कृष्णबहादुर नेपालीको कथा मैले लेख्दै नलेखौ ... ? (करादीखोला, स्याङ्जा)