अरू के नै हुन्छ होला र तिमी जान्छौ भने ? यत्ति त हो- कहिलेकाहीँ आँखाबाट खसिजाने आँसुले सम्झाइरहने छन् हाम्रा कसमहरू यत्ति त हो, तिम्रा यादका गन्तव्य पछ्याइरहनेछन् मेरा प्रेमिल भावनाका बटुवाहरूले तिमीलाई सधै माया गर्ने मुटुमा फेरि अलिकति माया बढ्नेछ बरु ! के नै हुन्छ र तिमी जान्छौ भने ? मात्र छुट्ला तिम्रा अलिकति स्पर्शहरु बदलिएलान् तिम्रा अलिकति बाटोहरु तर छुट्ने छैन तिम्रो स्पर्शले दिएको पहिलो महसुस बदलिने छैनन् ती बाटोहरुमा हाम्रा पाइतलाका डोबहरुले बनाएको बिश्वासको गन्तव्य के नै हुन्छ र तिमी जान्छौ भने ? बस यत्ति त हो - एकान्तले अलिकति सताउला पर्खाइको बिश्वासले अलिकति बिझाउला सम्बन्धहरुको मुटुले अलिकति धड्काउला यादहरुको के नै हुन्छ र तिमी जान्छौ भने ? यी आँखाले सधै तिम्रो आगमनको झंकार खोजी नै रहने छ सायद हामीले सँगै पुज्ने मन्दिरको भगवानले पनि म जस्तै, तिमी आउने बाटो हेरिरहेको हुनेछ सुन न प्रिय ! के नै हुन्छ र तिमी जान्छौ भने ? बस यत्ति त हो- मेरो मृत्युले अलिकति ज्यादा प्रेम गरिदेला मलाई बाँकी त भन्नु केही छैन तिमीलाई ! (इटहरी)