‘ठिक आठ बजे ठ्याक्कै आइपुग्नु पर्छ ।’ मैले उसको अनुहारमा आँखा गाडेर भनेँ । उसले हुन्छ भन्दै टाउको हल्लायो ।
‘सक्छौ नि ! मैले फेरि सोधेँ ।’
‘सक्छु ।’ त्यो केटाले अनुहार अझ उज्यालो बनाउँदै भन्यो ।
अहिले त छ बजे बन्द हुन्छ पसल तर गर्मीमा सात साढेसात बजेसम्म बस्नुपर्छ ।
हुन्छ, नम्र स्वरमा भन्यो उसले । हप्तामा एक दिन छु्ट्टी हुन्छ । त्यो बाहेक नआएका दिनको तलब काटिन्छ ।
मङ्गोलियन अनुहारको त्यो केटाले कपाल कन्याउँदै हुन्छ, भन्यो ।
‘विदेश जाने सुरमा छौ कि छैनौ ? केही महिनामै विदेश जाने हो भने पनि….।’ म स्पष्ट हुन चाहेँ ।
‘छैन, छैन ।’ हतारमा जवाफ दियो उसले ।
मानौँ उसलाई जसरी पनि, जुनसुकै सर्तमा काम गर्नु छ । यो काम नै उसको लक्ष हो जस्तै गरेर सबै प्रश्नहरूको हो जवाफ ‘हुन्छ’ ‘हस्’ को सङ्केतमा दिँदै थियो ऊ । कसरी समयमा आइपुग्छौ, को जवाफमा ।
हाम्रो गाउँबाट यहाँ काम गर्न आउने धेरै छन् । सबै साइकलमा आउँछन्, म पनि उनीहरूसँगै आउँछु र जान्छु पनि ।
‘नाम के हो ?’ यो मेरो अन्तिम प्रश्न थियो ।
‘सुरज’ उसले जवाफ दियो ।
‘सुरज….? अँ सुरज निरौला ।’ उसले भन्यो ।
‘भोलिदेखि आउनु । ठिक आठ बजे आइपुग्नु ।’ मैले भनेँ ।
उसले भन्यो, ‘हुन्छ ।’
ऊ गयो । भोलिदेखि सहयोगी हुने छ भनेर म पनि ढुक्क भएँ । मैले मनमनै साथीलाई ‘धन्यवाद’ भनेँ । धेरै दिनदेखि एउटा स्टाफको खोजी थियो । साथीको गाउँको यो केटो साथीले पठाइदिएकोमा । तर खुसी भइहाल्नुपर्ने बेला चाहिँ होइन अहिले नै । दुई चार दिनमै निस्केका पनि थिए । कतिले कामको भाका टिप्न नसकेर विदा गर्नुपरेको थियो । कोही एक दुई महिनामा विदेश गएका थिए । आमा बाको एक्लो छोरो, बूढी हजुरआमाका काखमा लुटपुटिँदै खाएको मान्छे, काममा ध्यान देला वा नदेला ?
यही सोच्दै पसल बन्द गरेर घर आएँ ।
भोलि ठिक समयमा आयो । दिनभरिको उसको काम हेर्दा कान्छी आमाको एक्लो छोरो घुक्र्याएर खाँदै बसेको केटोजस्तो लागेन । मेहेनती र कामप्रति इमानदार लाग्यो, पहिलो दिनमा नै ।
दिन, हप्ता, महिना बितेर गए, पसलमा पत्रपत्रिका आउँथे, विस्तारै ती पत्रपत्रिकाहरू पढ्न थाल्योे ऊ पनि । अलिक पछि त मैले भन्दा धेरै उसले खोज्न र जतन गर्न थाल्यो पत्रिकाहरू । मलाई खुसी लाग्यो उसको यो बानीले । वर्ष बितेर गयो गुनासो वा गाली गर्ने ठाउँ राखेन उसले ।
सधैँजसो घर जाने बेलामा केही किन्थ्यो ऊ । के किन्छ थाहा थिएन । एक दिन सोधेँ ‘के किनेर बोक्छौ, दिनै तिमी ?’
‘आमैलाई जिलेवी खुब मन पर्छ त्यही किनेको ।’ उसले जवाफ दियो ।
अब मैले बुझेँ, हजुर आमाको निम्ति माया बोक्छ उसले दिनहुँ । कुनै दिन स्याउ, कुनै दिन आँप, लिची, सुन्तला, जिलेवी…. ।
दुई आमाको एउटै छोरो हो ऊ । बस्दै जाँदा थाहा पाएँ मैले । जेठी आमापट्टि पाँच छोरी छन् । सबैलाई माया गर्छ बराबरी । दुवै आमालाई सम्मान गर्छ बराबरी । हजुरआमालाई असाध्य माया गर्छ । नाति आउने बाटो हेरेर बस्छिन् असी नाघेकी हजुरआमा । उसको पारिवारिक मेलमिलाप र माया गराइ औधी मन प¥यो मलाई । उसलाई र उसको व्यवहारलाई हेर्दा लाग्छ उसको केवल माया गर्न जानेको छ । कसैका विरुद्ध घृणा बोलेको सुनिन मैले कहिल्यै पनि ।
बिहानको मेरो खाना लिन घर जान्थ्यो । खानामा के छ के छैन हेथ्र्यो सायद । अचार छैन भने अचार बनाएर ल्याउँथ्यो । कहिले पापड पोलेर ल्याइदिन्थ्यो । कहिले प्याजका चाना काटेर ल्याइदिन्थ्यो । उसको यो कार्यले मेरो मन जित्दै गयो उसले ।
दिउँसो पन्द्र, बीस मिनेट पसलमै सुत्थेँ । म सुतेका बेला मेरा लुगा यता उता भए भने तौलिया ओेडाई दिन्थ्यो र मेरो इज्जत बचाई दिन्थ्यो । उसकोे यस्ता स–साना कार्यले हर्षित हुन्थेँ म । एक दिन बाहिर कतै जान निस्किएँ । विस्तारै पसल उसका भरमा छोडेर हिँड्न थालेकी थिएँ म । त्यसो त सधैँ व्याग नबोकी निस्किएँ उसले कराएर भन्यो–‘बाङ्गो हिँड्नु होला है आमा !
उसको यस्तो सटारो पनि मन परो मलाई । त्यसैले हाँस्दै बाटो लागेँ ।
कान्छो छोराले जर्मन सेफर कुकुर ल्याएको थियो । मेरो खाना लिन जाँदा त्यो कुकुरको पनि हेरविचार गरेको हुन्थ्यो उसले । कुकुर विरालासँग पनि उत्तिकै प्रेम थियो उसलाई । मान्छेलाई जति नै माया गथ्र्यो पशुपन्छीलाई पनि । बोटबिरुवाप्रतिको लगाव पनि उत्ति नै थियो । म कहिलेकाहीँ ‘बिराले’ भन्थेँ उसलाई ।
यसरी झण्डै ६।७ वर्ष मेरो छोरो सरह बनेर मसँग बसेपछि अचानक एक दिन विदेश जान्छु भन्यो । सोचेँ, मान्छेको स्वभाव हो, अघि अघि र अझै अघि बढ्दै जानु । उसलाई पनि अलिक धेरै पैसा कमाउन मन लाग्यो होला । ऊसँग आमाका सपनाहरू थिए । बहिनी, दिदीहरूको रहर पनि ऊ सँगै जोडिएका छन् । बा बितेर गएका कारण जिम्मेवारी उसैको काँधमा चढेर बसेको छ । सबै कुरा सोचेर विदा दिनुअघि केही कुरा सम्झाउनु जरुरी पनि ठानिन मैले । बुढी हजुरआमाको अभावमै बाँच्ने तर नाति उनकै अगाडि राख्ने प्रयास सफल भएन । आम नेपाली युवाहरूसँग ऊ पनि हानियो मलेसियातिर ।
त्यसपछि मसँग उसको सम्पर्क भएन । फेसबुमा कहिलेकाहीँ सन्चोविसन्च सोध्थ्यो । बिरालाका फोटाहरू हाल्थ्यो । चौहत्तर सालको एक दिन म्यासेज लेख्यो, कति बस्नु विदेशमा अब फर्कन्छु आमा ! यही दशैंमा आउँछु अनि विवाह पनि गर्छु र देशमै केही गरेर बस्छु ।
‘राम्रो सोचेछौँ, आमा पनि रोगी हुनुभयो, हजुरआमा पनि धेरै बूढी भइसक्नु भयो । अब सहारा देऊ आएर ।’ यसरी फेसबुकमा दुई महिना मात्र भएको थियो ।
ऊ बसेको झण्डै दुई वर्षमा छोराको विवाह गरेँ मैले । आफ्नै दाजुको विवाहमा झैँ काम ग¥यो उसले । एक वर्षपछि नाति जन्मियो । नाति भिजन र उसको दोस्ती देखेर सबै छक्क पर्थे । पसलमै कोक्रो राखेर हुर्कायौ गम्छाले पिठ्यूँमा बाँधेर हिन्थ्यो कहिले–कहिले, दुई खुट्टा हत्केलामा राखेर उभ्याउँथ्यो । खाना खान जाँदा साइकलमा पछाडि राखेर सँगै लैजान्थ्यो । भिजन सुरज काका, सुरज काका भनेर खोजिरहन्थ्यो भने सुरज भिजन भिजन गरिरहन्थ्यो । सराबरी जुठो खान्थे । मुखभित्रको निकालेर खान्थ्यो सुरज । खाँदै गरेको कुरा ख्वाउँथ्यो भिजनलाई । मेरा साथीहरू भन्ने गर्थे, आफ्ना छोरालाई कसो गर्दो हो यसले । नजिकबाट बुझ्नेले मात्र सुरजलाई स्टाफ भनेर चिन्दथे । अलि परकाले त मेरै छोरो भन्ठान्दथे । म पनि छोरो हो, भन्थेँ सोध्नेहरूलाई । उसका र मेरा आँखा लगायत धेरै कुरा मिल्छन् भन्थे मानिसहरू ।
अँ कान्छाको विवाहमा कुकुर उसैलाई दिएर पठाएँ मैले । ठुलो दारको कुकुर, दैनिक मासु भात ख्वाउनु पर्ने उसले पाल्न सकेन र गोपाल बस्नेतलाई दिएछ । तर यता कान्छाले फेरि उस्तै अर्को कुकुर ल्याइहाल्यो । हामी सबै हिँड्ने नपालौँ भन्दा मान्दै मानेन । नयाँ कुकुरले पनि सुरजको स्याहार भेट्यो ।
एक दिन अचानक अत्तालिँदै आएर सन्जुले भनी– ‘सुरजको एक्सिडेण्ट भएछ ।’
कहाँ, कसरी ? म पनि आत्तिएँ । मलेसियामै, पौडी खेल्न गएको रे स्वीमिङ पुलमा । माथिबाट हाम फाल्दा टाउकामा चोट लागेर हस्पिटलमा छ रे ! मैले सोचे सामान्य चोट होला ! निको भएर आउँछ ।
ऊ आफै त एउटा चिल्लो टलक्क टल्कने पहेँलो रङ्गको बाकसमा बन्द भएर आयो । साथमा आमाका सपनाहरू सिसाझैँ झ¥याप्पझुरूप्प भएर आयो । दिदीबहिनीका रहरहरू धुजा धुजा भएर फाटेर आयो । ९२ वर्षकी हजुरआमाका गालाका चाउरिहरूमा बग्न प्रसस्त आँसु भएरआयो ऊ । गाउँ घरका इष्टमित्र र हामी सबैको मुटुमा गाँठो बनेर आयो भक्कानो बनेर आयो ऊ ।
कठै ! आमा भर्खरै क्यान्सर रोगलाई पछार्न सफल भएकी थिइन् । छोराको काललाई निमोठ्न सकिनन् । दिनैपिच्छे आँगनमा मुढा ओछ्याएर नातिको प्रतिक्षामा बस्ने हजुरआमाको छातीमा कति धुजा परेको होलान् भनेर अन्दाज गर्नेको छाती चर्किन्छ । दिदी बहिनीहरूको घात उस्तै । यो सबै दृश्य हेर्न सकिन मैले । परपरै, परपरै बसेर घर फर्किएँ । रातैभरि निदाउन सकिनँ । मर्ने त मरेर गयो, बाँच्नेका आँखामा आँसु भरेर गयो । आफन्तको छातीमा असाध्य पीडा छरेर गयो । आमा, हजुरआमाका निम्ति पट्यार लाग्दा, भविष्य निर्माण गरेर गयो ।
हजुरआमाको प्रतीक्षा त सकियो । आमाका सपना पनि चुर्लुम्म डुबे, महासागरमा । दिदी बहिनीको तिहार आँसुमा डुब्ने भए । रातैभरि यसरी नै सोचिरहे र चित्र बनेर आइरह्यो मसँग बस्दाको त्यो समय ।
ऊ मलेसियाबाट बन्द बाकसमा आयो र आउँदा थुप्रै कथाहरू लिएर आयो । सुन्दर भविष्य निर्माण गर्न गएको अनि थुप्रै थुप्रै नेपाली युवाहरूको जीवन कथा ऊ सँगै आए ।
कथा नम्बर एक–मलेसियामा गएका युवाहरू गलफ्रेण्ड बनाउँछन् र त्यही केटीका घरमा नेपालमा घरज्वाइँ बसेजस्तै बस्छन् । आम्दानी हुन्जेलसम्म माया गर्छन् अनि अब यो हामीलाई काम दिँदैन भन्ने बुझेपछि मारिदिन्छन् ।
कथा नम्बर दुई– धेरैजसो केटीकै विषयमा ज्यान गुमाउँछन् नेपाली केटाहरूले । मलेसिया र इण्डोनेसियाका करभिटा र पानीट्याङ्की जस्तै छ र त्यही ठाउँमा धेरै नेपाली केटाहरू काम गर्दछन् । इण्डोनेसियाबाट हरर केटाहरू आउँछन् र केटीहरू विषयमा झगडा गर्छन््, कुट्छन्, काट्छन् र पारि तर्छन् ।
कथा नम्बर तीन– त्यहाँका लोग्नेहरूले नै पैसा कमाउ स्वास्नीहरूलाई सहयोग गर्दछन् । केही सयम (जबसम्म आम्दानी हुन्छ) स्वास्नी नेपाली केटाहरूसँग बस्छन् । जब नेपाली काम सकेर देश फर्कन खोज्छन् अनि मारिन्छन् ।
कथा नम्बर चार– फर्कने बेलामा धेरै पैसा दिनुपर्ने भयो र अब यो फर्केर आउँदैन भन्ने हुन्छ । कम्पनीकै मानिसहरूले मारिदिन्छन् ।
कथा नम्बर पाँच– त्यहाँ नेपाली केटाहरू जे जे भएर मरे पनि साथीहरू बोल्दैनन् । उनीहरूले यो दुर्घटना नै हो भन्छन् । यदि सत्य कुरा ओकले भने उनीहरूको ज्यान पनि जान्छ । त्यहाँकोे कानुन फितलो छ, नेपाली छोराहरूका निम्ति । सायद नेपालकै जस्तो होला सानालाई कानुन अपराधी ठूला मानिस परे सम्मान ।
सत्यको कति नजिकिन्छन् यी कथाहरू मलाई थाहा छैन तर उसको मृत्युले सबै कथाहरू सत्य होलान् । यिनै कथाहरूमध्येकोे एउटा कथाको पात्र बन्यो ऊ ।
(झापा)