काठमाडौं, १६ माघ ।
आज देशैभरि सहिदहरुप्रति सम्मान व्यक्त गर्दै सहिद दिवस मनाइँदै छ ।
प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म सहिद सप्ताहको रुपमा सहिद दिवस मनाइन्छ । सहिद सप्ताहको अन्तिम दिन भने विशेष रुपमा सहिद दिवस मनाउने गरिन्छ। सहिद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठको सम्झनामा सहिद दिवस मनाइएको हो ।
निरङ्कुश जहानियाँ राणा शासनविरूद्ध नेपाल प्रजापरिषद् स्थापना गरी षडयन्त्र गरेको अभयोगमा विस १९९७ सालमा शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ र दशरथ चन्दलाई मृत्युदण्ड दिएको थियो ।
शुक्रराज शास्त्रीलाई विस १९९७ माघ १० गते टेकुस्थित पचलीमा र सहिद धर्मभक्त माथेमालाई सिफलमा झुन्ड्याएर मारिएको थियो भने गङ्गालाल श्रेष्ठ र दशरथ चन्दलाई क्रमश माघ १३ र माघ १५ गते शोभाभगवतीमा गोली हानी मारिएको थियो।
विसं २०१२ देखि प्रत्येक वर्ष माघ १६ गते सहिद दिवस मनाइँदै आइएको छ। यो दिन देशैभरि विभिन्न कार्यक्रम गरी देश र जनताको स्वतन्त्रता र मुक्तिका लागि ज्यानको बलिदान दिने सम्पूर्ण सहिदहरुप्रति सम्मान गर्ने गरिन्छ ।
माघ १६ गते काठमाडौं महानगरपालिकाको संयोजनमा प्रभातफेरी गर्ने, सहिदको सालिकमा माल्यार्पण गर्ने गरिन्छ । उक्त कार्यक्रममा संवैधानिक निकायका प्रमुख तथा मन्त्रीलगायत नेपाल सरकारका उच्च पदस्थ कर्मचारीको उपस्थिति रहन्छ ।
गणतन्त्र प्राप्त भैसक्दा पनि नेपाल सरकारले विसं १९९७ मा प्रजातन्त्रका लागि प्राण आहुति दिने चार सहिद शुक्रराज शास्त्री, माथेमा, श्रेष्ठ र चन्दलाई मात्र महान् सहिद भन्दै सहिद दिवश मनाउने गरेको छ तर गणतन्त्र प्राप्तिका लागि भएको १० वर्षे जनयुद्ध र मदेश आन्दोलनमा ज्यान गुमाउने हजारौँ सहिदलाई भने औपचारिक रूपमा सम्झना गरेको पाइदैन । सम्झने मात्र हैन जुन युद्धको भर र बलमा गणतन्त्र प्राप्त भयो त्यो युद्धलाई अपमान गर्ने र सहिदलाई भागबन्डा गरी सम्मान गर्ने परिपाटी कायम छ । सहिदलाई सम्मान गर्ने नाममा राजा त्रिभुवनलाई सम्मान र सलाम गर्ने तर राजतन्त्रविरोधी आन्दोलन र युद्धका सहिदलाई अपमान गर्ने परिपाटी कहिलेदेखि बदलिने होला ?