चितवनको साहित्यिक गतिविधिमा सदा अग्रपङ्क्तिमा रही शारदा घरदैलोको शृङ्खलालाई शताधिक तुल्याउनमा विशेष भूमिका निर्वाह गर्ने, निरन्तर वामपन्थी विचारधाराको मेलोमा लागे पनि साहित्यिक मेसोसमेत नछोड्ने स्पष्ट र निर्भीक व्यक्तित्वको नाम हो इन्द्र रेग्मी ।
सम्बन्ध र व्यवहारले अग्रज उनको नैबन्धिक कृति हो ‘स्वाहा’ (२०७६) । ‘भर्खरै’ (कवितासङ्ग्रह, २०६८), ‘वैशाखी टेकेर’ (हाइकुसङ्ग्रह, २०६८), ‘बिर्सनै लागेका कुराहरू’ (संस्मरण, २०६८), ‘अनुहारहरूको म्याराथुन’ (लेखसङ्ग्रह, २०७४), ‘समयको शल्यक्रिया’ (लेखसङ्ग्रह, २०७४), ‘बिर्सन सकिएन त’ (संस्मरण, २०७४), ‘जाइफल’ (मुक्तकसङ्ग्रह, २०७६) पछिको यो आठौँ कृति हो ।
यसमा समाविष्ट समग्र निबन्धहरूलाई समेट्ने गरी ‘स्वाहा’ नामकरण गरिएको छ । हाम्रा आदर्श, मूल्य, मान्यता सबै कुरा पोल्यौँ, डढायौँ र खरानी तुल्यायौँ अर्थात् समाप्त पा¥यौँ भन्ने तात्पर्यमा नै ‘स्वाहा’ राखिएको हुनुपर्छ । विशेषतः राजनैतिक आस्था, मूल्य र मान्यता समाप्त हुँदै गएका कुराप्रति यो बढी लक्ष्यित छ । स्थितिबोध एवम् व्यङ्ग्य–चेतनाका दृष्टिले यो उत्कृष्ट र नामकरणका दृष्टिले पनि उपयुक्त शीर्षक हो तर एकपदीय भन्दा बहुपदीय शीर्षक नै राम्रो लाग्ने सन्दर्भमा ‘भयको भूमरी’, ‘आफै मरेको दिन’, ‘जनै युद्ध’ मध्ये कुनै एक राखिएको भए अझ आकर्षक हुन्थ्यो जस्तो लाग्छ किनकि यी काव्यात्मक हुनुका साथै बिम्बात्मक पनि छन् । त्यसो त स्वाहा पनि वैचारिक दृष्टिले समेत सटीक नै लाग्दछ । भइरहेको पनि यही छ, यो यथार्थताको सामयिक ध्वनि पनि हो ।
मजा मानेरै पढेँ । पठनबाटै विमर्श लिपिबद्ध गर्ने पनि प्रेरणा जाग्यो । ‘स्वाहा’ मा एकत्रित इन्द्र रेग्मीका व्यङ्ग्यात्मक निबन्धहरू पढेपछि मनै तरङ्गित र झङ्कृत पार्छन् । अधिकांश समसामयिक विषय र प्रवृत्तिसँगै सम्बन्धित रहेछन् र तिनमा खुलेर संवाद र वहस चलाउनुपर्ने रहेछ । निबन्धमा इमान्दरपूर्वक उठाएका कतिपय सवाल व्यर्थको बवाल मचाउने किसिमका नभई मनन गरी आफै बदलिनु पर्ने, सच्चिनु र सुधारिनु पर्ने प्रकृतिका पनि छन् ।
व्यङ्ग्यकै विषयमा बुनिएका अधिकांश निबन्ध रोचक र घतलाग्दा प्रकृतिका छन् । जस्तै ‘स्वाहा’ भित्रको पाँचौँ निबन्ध “जनै युद्ध”को बारेमा विचार–विमर्श गरौँ । जनै जातीय शुद्धता र पवित्रताको प्रतीक हो जुन ब्राह्मण बटुले उपनयन संस्कारमा धारण गरी द्विजत्व प्राप्त गर्दछन् । यहाँ जनैको विरोधमा युद्ध शब्दको प्रयोग गरिएको छ । वास्तवमा युद्ध नै गर्नुपर्ने जनैवादले समाजमा त्यस्तो थिचोमिचो र आतङ्क मच्चाएको छैन, तापनि युद्ध शब्दको प्रयोग प्रभावोत्पादक दृष्टिले गरिएको हुनसक्छ । यहाँ जनैको यथेष्ट विरोध जनाए पनि लेखक पूर्णतया वहिष्कारको स्थितिमा पुगेका छैनन् । जनै पूर्णतया उपयोगिता विहीन छ भन्ने उनलाई पनि लागेको छैन । जेहोस् संस्कारभित्र रहेका विकारहरूको सामना गर्नु नै उनको प्रयोजन देखिन्छ । उपयोगिताको शास्त्रीय तथा स्पष्ट्याउनतिर नलागेका मात्र हुन् । वास्तवमा त्यसप्रतिको युद्ध हारेकोभन्दा जितेकै मान्नु पर्दछ । यसरी जनै विषयक पुरातनवादी सोच र व्यवहारसँग लेखकले गरेको विरोध समयसापेक्ष अग्रगामी चिन्तनको उपज हो ।
जनै धारण गर्दा पुरातनवादी भइने र जनै वहिष्कार गर्दा क्रान्तिकारी भइने होइन । जनैवादले कसैको प्रगतिशील सोच र व्यवहारमा तगारो जनाएको पनि छैन । जनैधारीले हलो जोत्नु हुन्न, हाँस–कुखुरा पाल्न हुन्न भन्ने विषयमा व्यवहारमैं विद्रोह भइरहेका छन् । भोलिभोलि लुगा सिउने, कपाल–दाह्री खौरने र जुत्ता बनाउने जस्ता काम जनैधारीबाटै भएछन् भने पनि अन्यथा मान्नुपर्दैन । जहाँसम्म जातिलाई नै अछुत मानेर र कुनै पशुपक्षीलाई आदिलाई अश्पृश्य ठानेर छोइछिटो गर्दै जनै नै फेर्नुपर्ने धारणा हो त्यसमा समयसापेक्ष परिमार्जित हुनुपर्ने कुरालाई इन्कार गर्न सकिन्न अन्यथा जनैले नै शिष्ट, सभ्य, सुसंस्कृत र मर्यादिन हुने प्रवृत्तिलाई नै जनाउँछ ।
कतै संस्मरणात्मक शैलीमा, कतै स्वेरकल्पनामा र कतै तर्क तथा विचारको विनिमयको व्यङ्ग्य–चेतनामा लेखिएका निबन्धहरूमध्ये चरणदास, भयको भुमरी, जनैयुद्ध, आफै मरेको दिन, टौवा हेर्ने कुरा, स्वाहा, संसार बदल्ने धुनमा, अपेक्षाकृत उच्चस्तरका व्यङ्ग्यात्मक निबन्ध हुन् । इन्द्र रेग्मीले मुक्तक, कविता, लेख आदि जेजे लेखे पनि तीभन्दा अलग यिनै निबन्धले उनलाई नेपाली साहित्यको परम्परामा म पनि एक वासना हुँ र अस्तित्वमा म पनि छ भन्दै अब्बल रूपमा आफैलाई दाखिल गरेका छन् । पृष्ठभूमिका रूपमा अन्य विधाको पनि महत्त्व होला तर महत्त्वपूर्ण पहिचान यिनैले स्थापित गर्छन् भन्ने देखाउँछन् । अन्य समयको गर्भमा तत्काल विलुप्त पनि हुन सक्छन् तर यिनले आफ्नो अस्तित्व र पहिचान खोज्नेछन् भन्ने लाग्छ ।
राजनैतिक क्षेत्रमा लामो समयसम्म त्याग र सङ्घर्ष गरेर पनि पछुतो मान्ने कारणहरू हुन सक्लान् तर निबन्धका यी स्वरूपहरूले ती सबै दुःखदर्द बिर्साइदेलान् भन्ने पनि लाग्छ । नामले इन्द्र भए पनि व्यवहारमा उनी इन्द्रझैँ छैनन् । इन्द्रको मूल स्वभाव नै छलकपट र शक्तिआर्जन को हो । यथार्थमा उनी सत्य हरिश्चन्द्रझैँ छन् जो प्रकृति विरुद्ध जाँदैनन्, छलकपट मन पराउँदैनन् र कहिल्यै ढाँटको खेती गर्दैनन् । यही कारणले पनि होला उनी राजनीतिबाट किनारा लाग्दै गएका छन् र साहित्यिक माहौलतर्फ तानिदै गएका छन् ।
आवश्यकताका कुरा हुन् कि बेथितिका कुरा हुन्, स्वाहाका कुरा हुन् कि धन्दाका कुरा, पिर पर्ने कुरा हुन् कि टौवा हेर्ने ढाँटका कुरा, कथनी–करणी एकै नभएका र पेटमैँ बन्चरो हान्न पछि नपरी ईच्छा शक्तिकै आधारमा लेखिने साहित्यिक लेखनका कुरा विषयविज्ञमा नभई प्रमुख अतिथि बनेर गरिने बोक्रे कुरा सबै सबै कुरामा व्यङ्ग्य विचारको पाइनले निबन्धहरूलाई तिख्खर र निख्खर तुल्याएका छन् ।
पन्ध्रवटै निबन्धमा केके छन् र के–कसरी निबन्धको बिँडो धानेका छन् भन्नेतिर लाग्दा कथ्यको लामो शृङ्खलाले लेखेको आयतन निकै बढ्ने हुँदा सारमा के–कस्ता भन्नेतिरै लाग्नु मनासिव हुने हुनाले लेखकनलाई त्यसतर्फै केन्द्रित गर्न खोजिएको छ । प्रत्येक निबन्धले के प्रस्तुत गरेको छ भन्नका निम्ति त आलोचक पूर्णप्रसाद आधिकारीको भूमिकाले नै दर्साइसकेको छ । साहित्यमा लाग्छौँ र व्यङ्ग्यविनोदका भावना र विचार प्रकट गर्न चाहन्छौँ भने यस्तै–यस्तै भन्न र लेख्न सक भन्नका निम्ति यी उत्तम नमुना बनेर प्रस्तुत भएका छन् ।
सम्बन्धित विषयमा नाना तरङ्ग झिकेर गफ गर्न सक्ने गफाडी नभई निबन्ध लेखिँदैन । यसमा विषयको गहिरो उहापोह पर्दैन । गफ भन्ने बित्तिकै दुई वा दुईभन्दा बढी आत्मीय मित्रहरूबिच हुने रसिक कुराकानी भनेर बुझ्नुपर्छ । प्रसङ्गहरूमा बहकिने र बरालिने भावधारासहित विनोदी प्रकृतिका घोचपेचका तड्का भए भने रसिकता बढ्छ, त्यस्ता विषयगत कथ्यको रसिकता उत्पन्न गर्न इन्द्र रेग्मी माहिर नै लाग्दछन् । यो उनको स्वभावले नै दिएको विधा हो ।
स्रष्टाले आफ्नो स्वभावअनुसारको विधाा पक्रियो भने त्यसमा लेखक सफल हुन बेर लाग्दैन । पाण्डित्यमयताभन्दा वैयक्तिक अनुभूतिले ओतप्रोत भएका भावयोजना, वस्तुपरकताभन्दा वैयक्तिक अभिव्यक्तिको आत्मीयता, शैलीगत सरलता, सरसता र रोचकता, स्वच्छता, स्वाभाविकता र निष्कपटता, गम्भीर समन्वित शैलीभन्दा सरल, समन्वित सम्प्रेयता र मर्मस्पर्शिता आदि सिर्जनात्मक निबन्ध स्वरूप लेखनका मान्यता हुन् । यिनै मान्यताका कसीमा पनि इन्द्र रेग्मीका निबन्धहरू अपेक्षाकृत खरा उत्रिएका प्रतीत हुन्छन् ।
अब इन्द्र रेग्मीले कविता, मुक्तक र लेख लेख्नतिरभन्दा यस्तै निबन्ध लेखनमा मनलाई एकाग्र पारेर व्यङ्ग्यात्मक निबन्ध लेखनको क्षितिज बिस्तार गर्नुपर्छ भन्ने लाग्छ । यसमा पनि केही अधिक ब्याख्या–विस्तारका पाण्डित्याइँ नघुसेका होइनन् तर व्यङ्ग्य–विद्रोहका सटीक छनकले निबन्धको रौनकता वृद्धि गरेका छन् । नेपाली हास्यव्यङ्ग्यका शिखर व्यक्तित्व केरवराज पिँडाली, भैरव अर्याल, रामकुमार पाण्डेका रचनाको अध्ययनको पृष्ठभूमिमा तिनैको शैलीको प्रभाव आत्मसात गरेर आफ्नैपन र प्रवृत्ति मुखरित गर्ने इन्द्र रेग्मीका रचना सरल, सम्प्रेष्य भाषाशैलीमा झ्वाम्मै प्रभावित पार्ने कोटिका देखिन्छन् ।
निबन्धले बढीभन्दा बढी सूचना र ज्ञान दिन्छ भन्नेमा होइन, जुनले बढीभन्दा बढी मिठासपूर्ण भाषाशैलीमा अनुभव र सन्देश मुखरित ग¥यो त्यही उच्चकोटिको रचना मान्न सकिन्छ । यस दृष्टिले इन्द्र रेग्मी उत्तम श्रेणीमा उत्तीर्ण भएका देखिन्छन् ।
जीवनभर राजनीतिमा लागे पनि कहिल्यै खाले हुने अवसर नपाए च्याँखे हुनेहरू माझ उनले जे देखे, भोगे र अनुभव गरे त्यसलाई पनि इमान्दारितापूर्वक राखेका छन् । आपूm फसेर पनि अरू नफसून्, आपूmले हण्डर–ठक्कर पाए पनि अरूले नपाऊन् भनी सत्यप्रति निष्ठा राखी यथार्थ उद्घाटन गरिएका उनका उदात्त भावना निकै उल्लेख्य छन् । हाम्रै संस्कारभित्र जमेर रहेका विकारहरू दर्साउनु उनका विशेषता हुन् ।
(चितवन)