कस्तो अनौठो–अनौठो
नाचिरहन्छ दृश्य
चञ्चल नयनमा
अपत्यारिलो, अस्वभाविक
आँखा पनि एउटा लयमा
खोज्दोरहेछ दृश्य
ऊ पाउँछ क्रमभङ्ग यथार्थ
बनाउँछ आदर्श चित्र
कोर्छ छातीभरि देशको
अनेक–अनेक अमूर्त चित्र ।
ऊ संविधान खोज्छ
ऊ संविधान अनुसार खोज्छ
ऊ इमान्दार सहजकर्ता
अनि खोज्छ ऊ
अलिकता इमान्दार अभियन्ता
बदलामा
ऊ
अर्थात्
एउटा नागरिक
खस्छ छाँगाबाट
उसलाई लागेको सार्वभौम
उसको मनले सोचेको स्वतन्त्रता
खै ! कता छ ?
एकाएक आउँछ दृश्यपटमा
उही र उस्तै
बाहुबली शासक
अनि
तिनै शासकका
भाइ भारदारहरु
छि:
फेरि घिन लाग्छ हेर्न दृश्य ।
खोज्छ खै ! कहाँ छ
एउटा इमान्दार साधक
उसलाई चाहिएको छैन
तुकबन्दी दोहोरी
उसलाई त केवल
मान्छेको मन जित्ने
एउटा इमान्दार
साँच्चै कर्मशील
बिचौलियाको गुण नभएको
दम्भ र अहङ्कार नदेखाउने
सहजकर्ता चाहिएको छ ।
दृश्यपट अझ
स्पष्ट छैन
अझै यताउति
के के हो के के ?
नाचेको नाच्यै
कस्तो न कस्तो
घुर्मैलो रङ्
सात सालभन्दा अगाडिको
छत्तीस साल आसपासको
बाउन्नपछि बैसठ्ठीसम्मको
अलिकता चिनिने
धेरै नचिनिने
तथापि
विवेक बन्दकहरुको
मलामी बाहेक
केही अभियन्ता
केही स्वप्नदर्शी
अनि
केही राता झण्डा
र रातो रगत
नसा नसामा बहेका मान्छेको चित्र
जो प्रत्येक सचेत
आँखामा खोजिरहेछ ।
(चितवन)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।