नेपाली साहित्यको आख्यान विधामा उचाइ नापिसकेका काथाकार इस्मालीको पछिल्लो कथा सङ्ग्रह हो श्रीको खोजी ।
२०७३ जेठमा प्रकाशित भई बजारमा आएको यस सङ्ग्रहमा जम्मा २१ वटा कथा रचनाहरू समावेश छन् । धेरैजसो कथाहरू राजनीतिक विषयवस्तुमा केन्द्रित छन् भने २०७२ वैशाख १२ गतेको भुँइचालो र त्यसपछिका परकम्पले दिएको पीडा एवं मान्छेमा बिउँझाइदिएको मगन्ते प्रवृत्तिप्रति घोचिलो प्रस्तुति पनि पाइन्छ । यसैगरी राजनीतिक वृत्तले आन्दोलनका लागि जनता चाहियो सडकमा उता¥यो, काम सकिएपछि ठाँडो, ठान्ने स्वार्थी चिन्तन पारखीहरूमाथि गम्भीर प्रहार गर्न पनि कथाकार खप्पिस देखिएका छन् ।
यस श्रीको खोजीभित्रका कथाहरूमा राजनीतिक पात्रलाई सचेत–सजग गराउने प्रयास स्वरूप पौराणिक पात्रहरूलाई विम्ब बनाइएको पाइन्छ । पुस्तक प्रकाशकहरूको आनीबानी, विभिन्न वादहरूको वकालत गर्ने स्रष्टा, स्वघोषित राष्ट्रसेवक हुँ भन्नेहरूको चरित्रजस्ता विविध विषयका कथाहरूले संग्रहलाई गहकिलो बनाएका छन् ।
कथाकारले प्राज्ञिक वृत्तमा भेटिने विसंगतिहरू औल्याउन पनि छाडेका छैनन् । काम नगरी माम खाने खन्चुवा र झुटो आश्वासन दिएर आफ्ना लागि निमुखा जनतालाई आन्दोलनमा होम्ने आश्वासन दाताहरूदेखि सतर्क रहन जनता स्वयंलाई आग्रह गर्छन् ।
उनी सामाजिक, सांस्कृतिक, आर्थिक रूपान्तरणका लागि क्रियाशील भइरहने पनि जनता आपैm हो भन्ने निष्कर्ष दिँदै यसका लागि सचेत हुन जोडदार आह्वान गरिरहने स्रष्टा भएकाले कथाहरू मार्मिक छन् । औसतमा नौ पेज लामा कथाहरू सामयिक समाजका ज्वलन्त घटनाविवरण जीवन्त बनाएर सर्वसाधारण जनमुखी स्वर सुसेल्न सफल छन् ।
नेपालमा लामो समय सङ्क्रमण काल रह्यो । सङ्क्रमणकाल त्यसमाथि भुइँचालो । जनताको कथा–व्यथा अभाव, अपुग भइरहने, जीवन सधैँ घाइते । खानदान र खानदानीले ओगटेको राष्ट्रभण्डारमा जनताका छोरा पुगे अब छेउटुडामा बसेका गरिब परिवारको चुलो पनि नियमित बल्छ भन्ने आस पलायो तर के हुन्थ्यो ? हिजो आन्दोलन थियो, आज सङ्क्रमण छ, भोलि सङ्क्रमण सकिएपछि जनताको पालो आउने र चुलो बाल्ने रे ! अहिलेको सङ्क्रमण समय भनेको टाठाबाठा र अगुवाका लागि मात्र । निहु पारेर जिउ पाल्ने पारखीहरूको पो हात परेछ राष्ट्रभण्डार त । जनता भन्ने जातै करबलले अन्तिममा सम्झिइने बबुरो हुँदोरहेछ । अरू र अघिपछिका के कुरा गरौँ भु्इँचालाको पीडा खपेका भोकानाङ्गालाई भनेर किटान गरी बाहिरबाट आएको राहत पनि व्यवस्थित गरे आपूmले भाग लिन सुहाउँदैन भनेर वितरण विधिमै गोलमटोल शैली अपनाइने रहेछ, त्यसले पनि त आसेपासेका मात्र खल्ती भर्दोरहेछ । लोभीपापी प्रवृत्ति त यसरी नै बाँचिरहने भो नि सङ्क्रमण कालको बैसाखी टेकेर । यस्तै चिन्ताले स्रष्टा इस्मालीलाई घचघच्याइरहेको अनुभूति दिन्छन् कथाले ।
राहत कथा यिनै र यस्तै यथार्थ घटना समेटिएको यथार्थवादी कथा हो । अरूतिरबाट भित्रिएको र स्वदेशी जनताबाटै जम्मा भएको राहतमा राल काढेर आफै मोटाउन र जनताको दुर्दशा देखाएर मागिरहने मगन्ते चिन्तनले पालिराखेका बेथितिहरू उधिनेर नमिल्काई जनताको चुलो बल्दैन अनि जनता आफै सुरक्षित र सचेत भएर खबरदारी नगरे लोभीपापी स्वभावले पालेको मगन्ते संस्कृति मेटिँदैन पनि भन्ने निक्र्यौल गरेको छ राहत कथाले ।
राजनीतिमा आएको बेथितिको बाढीले मान्छे–मान्छेबााट संवेदना र विवेक बगाएको वर्तमान यथार्थमा आधारित कथा हो तीन सय चौरानब्बे । हिजो थाल–ओेछ्यान सँगै प्रयोग गर्दै आएर आज पदमा पुुगेकाहरूले आपूm सम्पन्न भएपछि मान्छे चिन्दैनन्, चिनिहाले बोल्दैनन् । बोलिहाले साथ सहयोगको प्र्रसङ्ग उक्किने डरले छोेटो कुराकानी गरेर भागिहाल्छन् । गाउँघरका सोझा जनतासँग क्रान्तिका कुरा गरेर भ्रान्ति सिर्जना गरेको भेद खुल्छ कि भन्ने त्रासले लुकी–लुकी हिँड्ने भुइँफुुट्टाहरू पर्खालभैmँ ढोकामा उभिएर छेक्छन् भेट्नुपर्ने मान्छेसम्म पुग्नै दिँदैनन् भेट्न आएको गाउँलेलाई । यस्तै राजनीतिक रत्यौलीमा रतिएका पाखडीहरूको नाङ्गो नाचलाई मसिनोसित केलाइएको चोटिलो कथा हो तीनसय चौरानब्बे ।
विवेकको बौचो बोकेर समाज सपार्ने र राष्ट्र उठाउने गर्छौं भन्ने बौद्धिकहरूको वैयक्तिक स्वार्थले सिङ्गै विश्वविद्यालय प्रदूषित गरेको सोझो चित्र उतार्रिएको कथा हो बढुवा । विश्वविद्यालय जस्तो प्राज्ञिक थलो संस्था अनुकूल ऐन नियमबाट चल्नुपर्ने तर व्यक्ति हेरेर वर्षैपिच्छे नियम–कानुन फेरिने जस्तो घृणित र तृच्छ प्रवृत्तिको कार्यशैलीले धेरैलाई स्वाभिमान साथ बाँच्न नदिएको व्यावहारिक यथार्थ र प्राध्यापकहरूको मनोदशा चित्रण गरेर प्रस्तुत कथा रचिएको छ । डाङडुङ शैलीबाट बढुवा हुने योग्यता न सोग्यता, उल्टै प्राज्ञिकको खिल्ली उडाउने ! हजुरिया प्रवृत्तिले गाँजेको विश्वविद्यालयीय बेथितिको पर्दाफास गर्ने छोटो आयामको चोटिलो कथा कृति हो बढुवा ।
यस श्रीको खोजी कथा संग्रहमा यस्तै चोटिला र घोचिला कथाहरू छन् । इस्लामी सरल भाषामा गम्भीर प्रस्तुति दिने पाका कथा कलाशिल्पी हुन् । यिनले सर्वराधारण जनताले भोगेका कथा व्याथाहरूखोजेर असल परिणामका लागि लेख्ने गरेको पाइन्छ । यिनका कथा सामाजिक यथार्थलाई सहज ग्रहण गरी थोरै पात्र अनि आवश्यक संवादलाई अनुकूल परिवेशमा अड्याएर लेखकीय सक्रियतामा प्रकट हुन्छन् ।
कविज्यू हेर, तिम्रो गडफादर कति क्रान्तिकारी छ, (पेज–३१) । हेर भाइ, तिमीले भन्या कुरो नजाती होइन तर कुरो के भने मान्छे बाध्यताले तीनसय चौरानब्बे बन्यो होला, (पेज–२९) । नेताकहाँ धायो, र अस्थायी टहरा बनाउनका लागि दिएको आफ्नो भागको पन्ध्र हजार रुपैयाँ ल्यायो । छोराहरूको भाग पाउन मन्जुरी नामा लिएर दौडधुप गर्दै थियो, (पेज–१९)…। इस्माली जनभावना छुन सक्ने कथा शिल्पी हुन् । यिनले दैनिक जीवनमा भोगेका घटनावस्तुको लागि विवेक, अनुभव र व्यवहार जोडेर कथा लेख्ने भएकाले पाठकहरू आफ्नै कथा पो लेखिएको रहेछ भन्ने विश्वासमा पुग्छन् यिनका कथा पढ्दा ।
नेपाली साहित्यको आख्यान विधामा गतिलो योगदान गर्न सफल स्रष्टा हुन् इस्माली । तीन दशकभन्दा अघिदेखि निरन्तर सक्रिय लेखन गरिरहेका इस्मालीका माछो भ्यागुतो (२०५२), घाम घामजस्तो छैन (२०५८) काट जर्किन डी (२०६४) इस्मालीका प्रतिनिधि कथा (२०६७) र प्रस्तुत श्रीको खोजी (२०७३) समेत पाँचवटा कथा सङ्ग्रह र सेतो आतङ्क (२०३९) र जिरो माइल (२०५६) गरी दुइटा उपन्यास कृतिहरू प्रकाशित भई पाठकप्रिय बनेका छन् ।
यिनले बाल साहित्यमा पनि कथा र उपन्यास लेखेका छन् । यी आख्यान विधा केन्द्री स्रष्टाका बाल तथा प्रौढ कृतिहरू सामाजिक चेतना बिउँझाउने उदाहरणीय मानिन्छन् । अन्य स्रष्टाहरूको जस्तो फरकफरक विधामा स्वाद चाख्ने रुचि र प्राविधिक प्रवृत्ति यिनमा देखिँदैन । समाजबाट विषय टिप्नु, सीमित पात्र चयन गर्नु, सुहाउँदो परिवेश समेट्नु, राजनैतिक कथ्यमा जोडदिनु, सान्दर्भिक संवाद गराउनु इस्मालीको कथा शिल्प हो भने बेथितिहरूमाथि प्रहार गर्नु, न्यायिक र गतिशील समाजको वकालत गर्नु, सामाजिक, सांस्कृतिक रूपान्तरणको आवश्यकता औँल्याई उपयोगी सूचना सम्प्रेषण गर्नु, परिष्कृत भाषा प्रयोग गर्नु, मानवीय संवेदनाको सम्मान गर्नु, वैचारिक प्रधानताले महत्त्व पाउनु प्रवृत्तिगत वैशिष्ट्य हुन् ।
यसर्थ न्यायिक समाज निर्माण हेतु इस्मालीका कथा पौष्टिक खुराक हुन् भन्ने तथ्य पुष्टिन्छ । इस्मालीका कथा कृतिको यिनै र यस्तै उज्यालो दृष्टिकोण राखी अध्ययन विश्लेषण हुनु वाञ्छनीय हुन्छ भन्ने ठम्याइ छ पङ्क्तिकारको । ‘अस्तु’