दाजुभाइले बडो दुःख गरेर घरको जिम्मेवारी संयुक्त रूपमा लिए । पहिलेको मन मुटाव, तेरोमेरो भावना सबै रछ्यानमा पुरेर समृद्घिको छानोले घर सिँगार्ने प्रण गरे । आफ्नो वयोवृद्घ पिताहरूको सद्बुद्घि पलाएको देखेर सन्ततीहरू खुसी भए ।
सम्वृद्घितिर उनीहरूको पाइला अघि बढ्दै थियो । एकाएक शक्तिदेवीले तिनका हिँडिरहेको पाइलालाई दौडाउने प्रस्ताव पठाइन् । शक्तिदेवीले चाहेमा असम्भब केही थिएन, यस कुरामा सारा संसार विश्वस्त थियो । त्यस्ती शक्तिदेवीको प्रस्ताव पाएर दाजुभाइ हौसिए । प्रस्तावको सर्त मान्दै गए । अन्त्यमा त्यो प्रस्तावलाई छिमेकीले सदर गर्नुपर्ने र आफ्नै घरपरिवारले अनुमोदन गर्नुपर्ने स्थिति आयो । दुवै दाजुभाइले छिमेकीलाई गुहारे । छिमेकी शक्तिदेवी प्रति सशङ्कित भएर बाहिर एउटा भित्र अर्को कुरा गरेर उनीहरूलाई सर्त नमान्न सुझाए । यता घरपरिवारले पनि अनेक सङ्का गरेर नमिल्दो सर्त सच्याएर मात्रै अघि बढ्न अनुरोध गरे । उता शक्तिदेवीले छिटो गर्नलाई घचघच्याइरहिन् ।
दाजुभाइ धर्मसङ्कटमा परे । केही सीप नलागेर घरको नेतृत्व कसले गर्ने भनेर आपसमा झगडा गर्न थाले । त्यो झगडालाई नाटकको संज्ञा दिँदै, शक्तिदेवीले घरपरिवारबाट अनुमोदन गराउन भित्रभित्रै दवाव दिइरहिन् । शक्तिदेवीको कुरा मानौँ, छिमेकी रिसाउने, घर पनि भाँडिने, कुरा नमानौँ, सर्वनास हुने डर । अन्तिम उपाय स्वरूप दाजुभाइले घर फुटाएर अंशबण्डा गर्ने निर्णय गरे ।
त्यो आश्चर्यजनक निर्णय कार्यान्वयन हुनासाथ एउटा पूर्व अर्को पश्चिमतिर फर्किएर एकअर्कालाई सत्तोसराप गर्न थाले । मालपोत कार्यालयलाई भने आधिकारिक दावी नपाउँदा घर कसरी भाग लगाउने भनेर समस्या परेको थियो । यस्तैमा छिमेकी लगायत शक्तिदेवीले अर्काको घरभित्रको कुरा भनेर चासो नभएको नाटक गरे । घरपरिवार भने आफ्ना वयोवृद्घ बाहरूले फेरि मति बिगारेको भनेर वेखुसी भए ।
(सिमलटार काठमाडौँ)