अन्धकार कुनामा अविदित कालदेखि शून्य मन लिएर शून्यतामै अल्झिरहेको म अजीव भ्रुणलाई स्वाट्ट जन्माइयो हाँसो दिवसको दिन र भनियो आज हाँसो दिवस हो ओठ कानसम्म पुग्ने गरेर संसारले सुन्ने गरेर हास्ँनु पर्छ हा हा हा ! अलमल्लमा परेँ र सोधेँ भावशून्य मन लिएर कसरी हाँस्ने ? तब निकालियो मलाई मेरै देशको गाईजात्रा देखाउन । जात्राको स्वागत द्वारमा देखियो मान्छेझैँ स्वरुपमा भुँडी ढाडिएको एक जोडी उपियाँ बडो उदारभावमा रक्तदान गरिरहेथ्यो हातमा सन्चार बोकेर केही थान बुख्याचाहरु नियाल्दै थिए यो परिदृश्य आफ्नै सन्तानले पिएपछि थोपा थोपा रगत शरिरको निलो हुँदै कोमामा हिँडेकी आमालाई देखेर कम्ता हाँसिन म हा हा हा ! टेबलमुनिबाट डराउदै सुटुक्क खल्तीमा लुसुक्क पसेका हात्ती र गैँडाहरु गोधुलीपछि सर्बशक्तिमान बनेर गल्ली र भट्टीहरुमा काँचका रिकापीहरुबाट गर्जिँदा बचाऊ ! बचाऊ ! भन्दै दुलो पसेको डरछेरुवा सत्यलाई देखेर कम्ता हाँसो छुटेन ! हा हा हा ! बिलासी भोकको फुस्रो ओठमा रातो लाली पोतेर आफ्नै ओठको लाली बेच्न हिँडेको त्यो यौबनभित्र डरले काँपिरहेको अस्मिता पनि हेर्न लायककै थियो हा हा हा ! हटिया, सडक र डबलीहरुमा देखाइने गाईजात्रा बाइसे चौबिसे राज्यहरुमा छिरेर मुखौटोले मुख छोपेर लहडीरहेका राजा महाराजाका भिरिङ्गीहरुलाई नाङ्गै देखेपछि चिच्याएर भन्न मन लाग्यो कुरी कुरी ! टोकिए ओठहरु लाजले निस्कियो अट्टहासमा हा हा हा ! यो सब देखेपछि आफैँलाई छाम्न मन लाग्यो मन रिस र आक्रोशको ज्वालाले खाक भैसकेको रहेछ हत्तपत्त ओढेर मुस्कानको बर्को बडो कामुक हुँदै छाइहाल्यो तन्नेरी आँखाहरुमा । छि: आफ्नै नाङ्गोभुतुङ्गो मन देखेर फेरि झुक्यो शिर टोकिए ओठहरु उभिएर दर्पण अगाडि आफैलाई हेर्दै खुब हासेँ म हा हा हा ! अजिब मान्छे म ! अजिबकै हाँसो हाँसेछु ओठ कानसम्म पुगेनन् आवाज के कस्तो निस्कियो थाहा भएन यति थाहा पाएँ जात्रा नसकिँदै दाँतहरुको अबिछिन्न हमलामा ओठहरु खसेछन् रगतका धारा र मासुका चोक्टा बनेर । आफ्नै रगतले मातेर एक सराबीझैँ लडिरहेछ मेरो अस्तित्व जात्रा बनेर सडकमा म अब अरु हाँस्न सक्दिनँ जात्रेहरु हो बिन्ती ! बन्द गर देखाउन यी ठट्यौला हर्कतहरु । (गोर्खा/हाल : न्युजिल्यान्ड)