‘हाम्लाइ स्वर्गको द्वार खोलिदिने देवता । मेरो छुनुमुनु ।’
आमा भाइलाई खेलाउँदै भन्नुहुन्थ्यो ।
म बाबाको अनुहार पुलुक्क हेरेर सोध्थेँ, ‘किन बाबा ! हामी छोरीसँग स्वर्गको चाबी नहुने हो र द्वार खोल्नलाई ।’
बाबा केही बोल्नु हुन्थेन । आमालाई र मलाई पालैपालो हेर्नुहुन्थ्यो।
हुन पनि पुत्रेष्टी यज्ञ, हरिवंश पुराण लगाएपछि हामी छ बहिनी पछिको भाइ थियो ऊ । सबैले माया गरेर पुल्पुल्याएर हुर्केको थियो । हामी सबैको माया उसैमथि खनिएको थियो । भुइँमा पाइला नटेकी काखै काखमा ठूलो भएको थियो भाइ ।
पिताजीको देहान्त नहुन्जेल माइती आउजाउ राम्रै चलेको थियो । पोहोर दशैँमा जाँदा आमा र भाइको भान्छा अलग देखेपछि भनाभन परेको थियो मेरो । त्यसपछि आमालाई फोन गरेर हालखबर सोध्नुबाहेक माइती आउजाउ ठप्पै बनेको थियो ।
‘दशैँमा त आउलिस् नि साइँली !’ अस्ति फोन गर्दा आमाले टिठ लाग्दो स्वरमा सोध्नु भएको थियो ।
‘के आउनु आमा ! त्यो कुलङ्गारको थुतुनो हेर्नै मन लागेको छैन मलाई त । पोहोर पनि कति नरमाइलो बनाइदियो ।’ मैले चित्त दुखाउँदै भने।
आमाले रुन्चे आवाजमा भन्नुभयो, ‘म कहाँ गाममा छु र साइँली ! अहिले त तेरै नजिक बृद्धाश्रममा पो छु त । पुत्रले खोलिदिने स्वर्गको ढोका भनेको यहि त रहेछ नि १ू
(लमजुङ)