“दाजु र भाउजूको फोटो मैले कतै देखेको छैन । लौ आज चाहिँ जसरी भए पनि म खिचेरै छाड्छु ।” चैतको रापिलो घाम फिसरगेट टावरको टाउकोमाथि झुन्डिरहेको थियो सत्यकला बहिनीले यसो भन्दा । “हो त नी बहिनी, साँच्चिकै भाउजू र मेरो फोटो त छैन नै । कुन्नि जीवनको कुन गन्तव्यको हतारमा दौडदा अहिलेसम्म फोटो खिच्न पो भ्याइएन कि ! फुर्सद पो मिलेन कि ! थाहा भएन ।” मेरो मौनतालाई बहिनीले सायद यसरी नै बुझिन् ।
कटुसको झ्याङको सियालमा फोटो खिच्ने पोजिसन लियौँ टिका र मैले ।
“स्माइल !”, मोवाइल फोनको स्क्रिनमा हेर्दै आदेश दिइन् । दुई तीन स्न्याप हानेर तस्बिर हेर्दै बहिनी मुस्कुराइन् । उनको मुस्कानसँग योर्क सहरको ऐतिहासिक पर्खाल मुस्कुरायो । मङकवार र भिक्टोरिया टावरहरू मुस्कुराए । सहरलाई फन्को मारेको त्यो पर्खाल पूरा गरीसक्दा त्यो दिनको वैँश ढलिसकेको थियो । हामी उनको भोलिपल्ट क्याट्रिकमा तय भएको कार्यक्रमको विषयमा छलफल गर्दै घर फक्र्यौँ ।
केही समयको निम्ति बाक्लो कार्यक्रमको क्यालेन्डर बोकेर सेती नदीझैँ हामफाल्दै आएकी थिइन् तीन वर्ष अगाडि सत्यकला राई वेलायत । उनी आउँदा उनी मात्र आएको थिएनन् उनको लाहुरेनी अतीत पनि आएको थियो । केही सम्वेदनाहरू आएका थिए । पल्टनघरका सम्झनाहरू आएका थिए । तर ती सबैलाई ढाक्ने छोप्ने र बिर्साउने भरिलो वर्तमान पनि आएको थियो । जून जस्तो शीतल वर्तमान ! हुन पनि एक कुशल नायक र देशभक्त पति, दुइ सुन्दर छोरीहरू र बाबरी फूलझैँ मगमगाउको नाउसुवास; बस् एउटी संवेदनशील कलाकार त्यसमा पनि महिला र एउटी आमालार्इ अरू चाहियो नै के ?
एक समय मध्यछिमलका कलाकारहरूसँग हिमचिम बाक्लो भएताका सत्यकला राईसँग भेट भएको थियो । एकातिर गीतसङ्गीतको सफलतमा शिखर आरोहण र अर्कोतिर पारिवारीक सम्बन्धमा भोगेको आँधीवेहरी यी दुबैलाई सन्तुलनमा राख्न काँधमा धर्मको तराजु बोकेर हिँडेकी चेली थलिदै र तङ्ग्रिदै गर्दा बेलाबेलामा माइती भएर उनको सुक्केरा सुनेको थिएँ । उनी कहिले आफ्नै ओठको मुस्कानमा हराउँथिन्, कहिले आफ्नै भिजेका आँखाहरूमा सुस्ताउँथिन् । उनको आइडी कार्डले गीत गल्लीगल्लीमा बज्दै गर्दा उनी त्यही गल्लीको एक अज्ञात गन्तब्यको यात्रु भएर हिँडिरहेकी थिइन् । अन्य ठाउँको उस्तो याद भएन । एकपल्ट दाजु सम्भु राईको स्टुडियोमा भएको भेटले भने डाम छोडेको छ ।
“पढेलेखेको लाहुरे फरक हुन्छन् भन्ठानेको थिएँ, गलत रहेछु ।” यसो भनेकी थिइन् । उपदेशको नाउमा बोल्दा के पुगेन या के धेर भयो पत्तो पाइनँ तर त्यसताका म अलेलि बाठो पनि पल्टिन्थेँ क्यार ! या भनौँ ढङ्ग पुग्दैनथ्यो । त्यसपछि लगभग मेरो भारी पुगेर लत्रिएको थिएँ । उनको स्वरका गीतहरू गाउँ गाउँ सहर सहर र चोक चोक गुन्जिन थालिसकेका थिए । प्रशिद्धी दिन दोगुना र रात चौगुना हुँदै शिखारोन्मुख थियो । त्यसो त कला साहित्यका मोर्चामा रहेका दयलीहरू पार्वती, आभा, सरला, भिसन्, रोसन् धिरज, राजेश, श्रवण, वसन्त, पारस, टिका, तुलसी, हरि, नागेन्द्र आदि सृजना र कलाको पहिचानमा कोही शिखरमा थिए त कोही शिखरको यात्रामा थिए । कुन्नि कुन साइनोले म त्यो हुलमा घुस्रिएको थिएँ । लेखनमा सिकारु र गीत सङगीतमा विल्कुल कोरा । फुर्किदै गीत पनि गाइयो । अचेल ती गीतहरू अतीत सम्झनलाई बाहेक कतै काममा आएनन् । बेला वखत विनोद दाइले वि एफ वि एसमा बजाउनुहुन्छ । त्यसबेला गीतको सुमधुरता र सङगीतभन्दा पनि हाम्रो सम्वन्ध बजिरहेको पाउँछु ।
सर्जकहरूको जत्थालाई छोडेर पल्टन फर्केपछि सम्पर्क पाललिदै जान्छ । सम्बन्धहरू बसले छोडेको यात्रुझैँ टाढा हराउँदै जान्छन् । तर केहीसँग निरन्तर रहन्छ । एक दिन एउटा खबर वेग मार्दै आएर मेरो फेसबुकको झ्यालमा बस्छ । “दाजु, म यु के आउँदै छु है” सन्चो विसन्चो सोधनीको अन्त्यमा बहिनीको यो खबरले मलाई अत्यन्त खुसी लाग्छ । केही समयको खबर आदान प्रदान पश्चात वेलायतमा हुने उनको कार्यक्रमको तालिका पाउँछु । विभिन्न ठाउँमा हुने उनको एकल साँझहरूको तिथिमितिहरूको लर्कोनै हुन्छ । तथापि मलाई मनमा कता कता अप्ठ्यारो लाग्छ । बहिनीलाई कोसेली स्वरुप एउटा कार्यक्रमको आयोजना गर्न पाए हुन्थ्यो जस्तो लाग्छ । तर उनलाई म केही भन्दिनँ । यस्ता साँस्कृतिक कार्यक्रमहरूको आयोजना गर्नको निम्ति चाहिने योज्ञताको प्रमाणपत्र मैले फ्याकिदिएको केही साल भैसकेको हुन्छ । उहीले एक समय थियो खानु सुत्नु नै मेरा साथीभाइ थिए । भान्छामा कहिले अन्योल हुन्थिन् टिका कतै विचमै चामल थप्नु पर्ने त होइन ! झर्किन्थिन् कहिले । तर केही वर्ष यता वौद्धक कसरत गर्ने बहानामा एकपछि अर्को गर्दै साथिहरूसँग सम्पर्क पातलिदै गयो । अझ त्यसमाथि जीवनको अर्थ खोज्न आफूतिरै फर्केपछि वाह्यदृष्टिमा क्रमशः बैराग्य छाउन थाल्यो । कहिलेकाँही अध्ययनको सिलसिला बाहेक महिनौँसम्म पनि सोसियल कलहरू आउदैन थिए र यसलाई मैले अवसरको रुपमा प्रयोग गर्दै आएको थिएँ ।
योर्क म जहाँ जागिर गर्दै थिएँ त्यहाँ चिनजानका केही मानिसहरू थिए । तर परेको बेला मुख फोर्नेगरी नजिक भएका थिएनन् । उसै त म साथीको मामलामा केही संवेदनशील र चुजी मान्छे । क्यान्टीनमा खाना खान, सिनेमा हेर्न, भट्टी धाउन, हाँस्न मात्र साथ दिने साथी होइनन् भन्थेँ । त्यसैले योर्कका अनटेस्टेड चिनारुहरुलाई केही भन्न मन लागेन । भाइ भरत लिम्बू र विमला बहिनीसँग साहित्यिक साइनोमा नजिक थियौँ । तर उनीहरूले त्यसवेला विषेश कामले सहयोग गर्न सकेनन् । केही साल अघि क्याट्रिक भन्ने ठाउँमा जागिर गरेताका केही मानिसहरूसँग घनिष्टता थियो । रमेश भाइ, नन्द दाइ, अनिला भाउजू, राम मल्ल दाइ जो जति टाढा भए पनि नजिक रहनुहुन्छ । उहाँहरूसँग कुरा राखेँ । वस्, कुरा राख्न मात्र त पथ्र्यो । मैले बहिनीलाई एउटा मिति मागेँ । उनी नेपाल फर्कन केही दिन अगाडि कार्यक्रमको तय भयो ।
इङल्यैन्डको दक्षिण भेगमा कार्यक्रहरूको मैझारो भएपछि म उनलाई लिन स्विन्डन् गएँ । भोला विक्रम भाइको घरमा पुग्दा बहिनी तयार भएर बसेकी थिइन् । म पुगेपछि उनले सम्पूर्ण परिवारलाई उनको गीत मीठो गरी धन्यबाद दिइन् हृदयबाट । यसमा उनको औपचारिकता छँदै थिएन । मनबाट दिएकी थिइन धन्यबाद । उनको यो विशुद्ध नेपाली त्यसमाथि रइनी पाराले हाम्रो भेट प्रत्येक दिन भएझैँ लाग्यो । करिब दश पन्द्र वर्ष अगाडि पनि उनी यस्तै थिइन् । हामी स्विन्डनबाट योर्क तर्फ प्रस्थान गर्दा दिन ढल्किसकेको थियो । गाडीभित्र गफ गनुपर्ने शीर्षकहरु खचाखच थिए । उनले आफ्नो सङगीत यात्रा, अध्ययन, अध्यापन, केही लाहुरेनी जीवन, सङघर्ष, सफलता, साथीसङ्गी र वर्तमानको कुरा गरिन् । मैले जागीर, अध्ययन, अध्यात्म, चिन्तन र दर्शनको को कुरा गरेँ । उनी झोलाबाट कलम र नोटबुक लिएर मैले भनेका कुराहरू ध्यानले सुन्दै केही नोट पनि गर्न थालिन्, मानौँ मैले उनको जीवनको सबैभन्दा ठूलो प्रश्नको समाधान बोलिरहेको छु । हाम्रा कुराहरूको शीर्षक तलमाथि र वरपर हुँदै गर्दा सोधिन्, “दाजु जागीर त लामै गर्नुभयो…..निकै माथि पुग्नुभयो होला नी ?”
“हैन बहिनी, प्रमोशन त खै कता पो छोडिपठाएँ, हो कि मलाई उसले पो छोड्यो पत्तै पाइनँ । सार्जन्टमा नै पो अल्मलिएँ ।”
“छ्या, हैन होला है दाजु, कस्तोकस्तो मान्छे त अफिसर हुन्छ भन्छन् !” बहिनीको यो अविश्वासमा म प्रतिको कत्रो सदासयता र मेरो क्षमतामा कत्रो भरोसा पनि ! उनलाई यकिन भएपछि केही नमिठो मानिन् । उसबेला म विद्यावारिधीको जाँचको तैयारीमा थिएँ । उतातिर कुरा लगेर आफैँ चित्त बुझाइन, “अफिसर नभएर के भो त अब डाक्टर हुनुहुन्छ नि” । जाँच कस्तो हुने हो भन्ने मनमा पीर पनि थियो । उनले यसो भन्दा एउटी चेलीको आशीर्वाद सम्झेर केही वेर सित्तल भयो ।
करिब १२० किलोमिटर प्रतिघन्टाको वेगमा गुडेको गाडीसँगै बहिनी र मेरो आयुले पनि वेग मारेको पत्तै नपाई करिब पाँच घन्टामा योर्क आइपुग्यौँ । अचेल प्रत्येक सेकेन्ड चिहानको नजिक पुगेको आभास हुन्छ मलाई । बहिनीसँग पनि जीवन जगतको विषयमा गरेका कुराहरू यस्तैयस्तै हुन्छन् । जब मानिस मरिन्छ भन्ने आभास हुन्छ अनि ऊ प्रत्येक पल मानिस भएर बाँच्न चाहान्छ । रीस, राग, इस्र्या, द्वेस, अहङकार, लोभ, मोह सब आफैँ हराउँछन् । जीवनको विद्यार्थी भए यता सबैलाई म जस्तै देख्न थालेको छु ।
केही वर्ष अगाडिसम्म सुँगुर घोपेर मार्दा सँगुर रोएको, कराएको र चिच्याएको आवाज अहिले जोडजोडले सुन्न थालेको छु । उतिबेला मसँगैको साथीसँग गफलडाउदै त्यसो गर्थेँ । मानौँ मैले सुँगुरको आवाज सुनेकै छैन । खोरमा बास बसेको भाले पूजा गर्न बारीमा लैजाँदा त्यो भाले कति भरोसाका साथ मेरो काखमा निदाउथ्यो । ज्यान लिन लागेको हो भनेर पत्याओस् उसले कसरी ? जबकी म उसको मालिक हूँ त्यसवेलासम्म । त्यो सम्झदा लाग्छ म राक्षसको अवतार थिएँ । सत्यकला बहिनी सङगीत सहित्यको कुरा भन्दा यस्तै कुराहरू चाख मानेर सुन्थिन् । उनको सरल स्वभाव चारपाटे इटाझैँ जहाँ जसरी राखेपनि टक्रक्क मिल्ने । दिउसो गीतको अभ्यास गर्नु, गफ गर्दै भान्छामा टिकालाई सघाउनु, साँझ मसँग ध्यानमा बस्नु आदि दैनिकी रह्यो । थोरै दिनको बसाइमा नै हाम्रो परिवारको प्यारो र अभिन्न सदश्य बनिन् । त्यसो त उनी सबैको उत्तिकै प्यारी हुन् । बसाइको क्रममा वरिवरिका उहाँका फ्यानहरूको फर्माइसमा घुमफिर गर्न पनि गइन् । सरल हुनु जस्तो कठिन काम जो कोहीको बसमा कहाँ छ र बावै !
कार्यक्रमको समय नजिक आउँदा मनमा केही पीर थियो, कहीँ दर्शकहरू थोरै भएर उनलाई नमिठो लाग्ने पो हो कि ! तर त्यसो भएन, सयौँमा त थिएनन नै तर जति थिए सब उहाँका कट्टर प्रशंसक थिए । सबको हृदयमा उनी थिइन् । उनले गाउँदा मानौँ दर्शकहरू स्वयंले गाइरहेका छन् । स्थानीय कलाकार अनिला राईले केही जोसिला गीतहरूबाट दर्शकलाई तताइदिएपछि बाल्ने काम सत्यकला राईको भयो । आइ डि कार्ड बाँड्दै स्टेजमा प्रबेश गरेपछि इन्टरनेटमा भेट्ने कसम खाँदै र ढडिया थाप्दै हिमाल पारिको भोटबाट पूर्व धरान निस्कदासम्म एक दर्जन वढी गीत गाइसक्दा पनि दर्सकहरुको धित मरेको थिएन । समयले आधारात ताक्न खोजेकोले कार्यक्रमको विट मारेर विदा भयौँ । भोलिपल्ट उनलाई छोड्न टिका र म योर्कको ट्रेनस्टेशन गयौँ । केही बेरमा वाजझैँ हानिएर आएको ट्रेनले उनलाई टिपेर लन्डनतिर हुइकियो । टिका र हर्कीएको कुखराझैँ चुपचाप घर फक्यौँ ।
केही दिन बैठकमा उनको रिहर्सलको आवाज गुन्जिरहे । साँझ ध्यान बस्ने कोठामा उनी छेउमा बसेझैँ लागिरह्यो । केही दिनपछि फोनमा भनिन्, “ध्यान गर्दा त मिस गर्नुभयो होला नि दाजु ?”
(बेलायत)