बाल कविता, गीत, लेख, नियात्रा र निबन्धहरूमा दख्खल हुँदै आएर अनुभव र अनुभूतिमा खेल्न राम्ररी कविल भई आफैले प्रत्यक्ष देखे, भोगेर वा आत्मसात् गरेर इच्छाको अन्तप्र्रेरणाले मानिस के–कसरी हेरिन्छ र के–कस्तो किनारा प्राप्त गर्दछ भन्ने विचार वीजलाई काल्पनिक आख्यानमा बुनिएको सामाजिक यथार्थवादी उपन्यास हो यो ईप्सान्त ।
‘ईप्सान्त’ले रहको वह मेटाउने हरसम्भव प्रयास गरेको छ । रहका गद्य र पद्यका लगभग एक दर्जन कृति पछिको कृति हो यो– ‘ईप्सान्त’ (२०७५) । यो डायस्पेरी साहित्यको नयाँ उपलब्धि हो । यो ईप्साको मृगतृष्णामा भड्किन खोज्नेहरूलाई गम्भीर चेतावनी पनि हो । ईप्साको अर्थ हो, इच्छा र अन्तको अर्थ हो समाप्ति । ईप्सा एक मानवीय मूल प्रवृत्ति हो, यसले सही दिशा लिन सकेन भने भड्खोलामा पर्ने वा जीवन नै जोखिममा पर्ने सम्भावना हुन्छ । ‘ईप्सान्त’ भित्रका मूलपात्रहरूमा ईप्साको कसरी अन्त हुन पुगेको छ, त्यसैका कारुणिक दृश्यचित्रहरू यसम प्रतिबिम्बित छन् ।
सम्पत्तिको भोक मानिसमा यति तीव्र हुन्छ । आफ्नो इच्छापूर्तिका निम्ति अवैधानिक बाटो अपनाउन पनि ऊ तत्पर रहन्छ । नेपालभित्र चलिरहेको राजनैतिक प्रपञ्च र युवाहरूको बेकारी समस्याले त्यसतर्फ धकेलिरहेको छ । हर कसैमा त्यस्तो अभीप्सा हुँदैन, जसमा हुन्छ तिनले त्यसको दुष्परिणाम पनि भोग्नुपर्दछ । जीवनमा सोचे र चिताएजस्तो एकनाशको गति कुनै कुरा प्राप्त हुँदैन । जेजे सपना देखिन्छन् र योजना बन्दछन् ती सबै नियतिले भत्काइदिन सक्छन् । सुखको उज्यालो खोज्दाखोज्दै दुःखैदुःखको भुमरीमा पनि पर्न सकिन्छ । यही राजनैतिक र सामाजिक विकृतिको अवस्तुवादी सोच र उत्कट आकाङ्क्षाको जीवनदर्शनमा आधारित रहेर यो उपन्यासको विषयवस्तु बुनिएको छ ।
अवैधानिक बाटो हरकसैका निम्ति हितकर हुँदैन । त्यो सोचेभन्दा घातक र भयावह पनि हुनसक्छ । त्यसतर्फ अग्रसर हुनु खोज्नु नै मूर्खता हो तर अतिशय तिर्खाले मानिस मूर्ख बन्न पनि विवश हुँदा रहेछन् । अवैधानिक बाटो अपनाउँदा हुने नारकीय यातनाको आभाससम्म ‘ईप्सान्त’ का अनाम नायकहरूले पाएका थिएनन् । आफ्नै सपना र आकाङ्क्षाले नकारात्मक पाटोका सम्भावनाको आँकलन नै उनीहरूले गरेनन् । जीवनको एक गलत निर्णयले जीवन नै कति खँगारिन पुग्छ, त्यसको पहिल्यै भनक र मेसोसम्म पाएनन् आफ्नै अन्तइच्छाले अन्धो तुल्याइदियो । केही पढे, लेखेका र देशविदेश बुझिसकेका भए पनि भोगको अधिक तृष्णाले विवेकको बिर्को थुनिन पुग्यो । सूचना र सङ्केतहरूको विश्लेषणसम्म गर्न सकेनन् । जब मृगतृष्णाको महायात्रामा अघिअघि बढ्दै गए तब एकपछि एक हण्डर ठक्करहरू आइपर्दै गए । बीच बाटैमा तिनलाई पश्चात्तापले पोल्न थाल्यो तथापि तृष्णा मरेन । वितृष्णा र विद्रोह जागृत भएन । अवैधानिक बाटोका नाका÷नाकामा रहेका अनेक चक्रव्यूहहरूमा फसिसकेपछि मात्र तिनको होस ठेगानमा आएको थियो तर फर्किंदा आफ्नै लगानी डुब्यो । गन्तव्यसम्म पुग्न पाए केही त हुन्थ्यो कि भन्ने झिनो आसा भने मरेको थिएन । आसैआसले मानिस आपूm फस्ने पासो आफै निम्त्याउँछ भनेझैँ फस्नै अघि बढिरहेका थिए । आपूmभित्रका तृष्णाहरूलाई लत्याएर बिचैमा पनि तिनले विद्रोह गर्न सकेनन् । अतिशय गुम्सिएर वा उकुस मुकुसमा परेर पनि धनप्रतिको वितृष्णा पैदा हुन सकेन । यथार्थमा यो सामाजिक अवस्थाले निम्त्याएको परिणाम थियो ।
अवैधानिक बाटो जलमार्ग र स्थलमार्ग हुँदै महिनौँ लाग्ने देखिँदा बाटोघाटो भूगोल र समयको तारतम्य जे–जसरी प्रस्तुत गरेका छन्, त्यसको पनि कहीँकतैबाट स्रोत लिएको पक्कै हुनुपर्छ तर त्यो आत्मकथ्य र भूमिकाबाट पनि खुल्दैन । लेखकले त्यसलाई कल्पनासम्म भन्न भ्याएका छन् । कल्पना नै भए पनि यथार्थमा त्यो तारतम्य मिलेको छ वा छैन त्यो बाटो विज्ञले मात्र बुझ्ने कुरा हो । जेहोस् लेखकको त्यो अद्भुत कल्पना हो । त्यसले हरकुनै पाठकलाई द्रवित तुल्याउँछ । यसबाट एक दुःखान्त उपन्यासमा भय र सन्त्रासको स्थिति सिर्जना गरेर त्यसको समुचित कारुणिक पृष्ठभूमि बनाउँदै अघि बढ्नुपर्छ भन्ने जुन दुःखान्त विषयको औपन्यासिक सिद्धान्त छ, त्यसको राम्ररी निर्वाह भएको मान्नुपर्दछ ।
विश्वकै महाशक्तिको देश हो– अमेरिका । त्यसले नै विश्वलाई एकच्छत्र घुमाएको छ । बेकारी समस्या भोगिरहेको युवावर्गको दृष्टिमा त्यो सपनाको देश हो । त्यहाँको डलरको आकर्षणबाट सब तानिएका छन् । त्यहाँका रहनसहन केकस्ता छन् भन्ने सन्दर्भहरूले त्यहाँको संस्कृतिलाई दर्साएका छन् । स्वतन्त्रताको देश मानिएको अमेरिकामा कहीँ कसैको टिप्पणी नगर्ने, जातभात, गाउँठाउँ, कामधाम केही नसोध्ने, कहिले पास्नी, कहिले जन्मदिन पारी जमघटको आयोजना गरेर रमाइलो गरिरहने त्यहाँको चालचलन र प्रवृत्ति रहेछ । अमेरिकनहरू असत्य र बनावटी कुरा पटक्कै मन पराउँदैनन् । हरकुनै कामको सम्मान गर्छन् । काम नगर्ने अल्छी र ठगलाई राम्रै मान्दैनन् भन्ने पनि थाहा हुन्छ ।
अवैध पथमा लाग्नु कुकृत्य हो, त्यसमा अशान्ति वा वैचनी छ । एकपछि अर्का जटिल समस्याले पछ्याइरहन्छन् । वैधमित वैधता र अवैधभित्र अवैधताका लहरा झाङ्गिएका हुन्छन् । अवैध पथमा चलेपछि अवैध धन्दा गर्नेहरूबाटै लुटिने र ठगिने सम्भावना हुन्छ । सुखसन्तोषको कुरा त निकै टाढा हुन्छ । यही विचारको धागोमा एकपछि अर्का घटनाहरू उनिदै गएका छन् । जसले यो उद्देश्य राखेर तृष्णाको वीजारोपण ग¥यो ऊ त्यति थिएन तर जो चतुर थियो । सर्वप्रथम ऊ नै बाटामा सिद्धियो ।
कुलेन्द्र नै त हो दुईजनालाई साथमा लिएर अवैध विधिद्वारा पनि आफ्ना इच्छाको पूर्ति गर्न खोज्ने अगुवा पात्र । तर चतुर रमेश पनि त्यसैमा बहकियो । सङ्कतले पनि तीनै जनालाई त्यस दिशातर्फ जान अभिप्रेरित गरेको छ । तीन त्रिकट महाविकेट भनेझैँ प्रारम्भमैँ अशुभताका लक्षणहरू देखिन थालेका छन् । किन्तु अवैध मार्गमा ज्यान समेत जोखिममा पर्न सक्ने सम्भावनाको सोचसमेत उनीहरूको मस्तिष्कमा घुसेन । अवैध तृष्णाको चक्करमा एकको त ज्यानै गुम्यो बाँकी दुई पनि ग्रीनकार्डको चक्करमा एकको त ज्यानै गुम्यो बाँकी दुई पनि ग्रीनकार्डको चक्करमा हात लाग्यो सुन्नाको स्थितिमा पुग्दछन् । धिक्कार छ तिनको इच्छा र कर्मलाई ।
उपन्यासको अन्तमा उपन्यासकारका धारणाको प्रतिनिधित्व गर्दै गणेशदत्त भन्छन्, “वैभवशालिताको ईप्सान्तले बढाएको महाŒवाकाङ्क्षा, आवेग र अवस्तुवादी सोचले सपना, चाहना र जीवनलाई नै वरवाद गरिदिन्छ (ईप्सान्त, २०७५ ः पृ. २९५) । यही विचार बीजमा उपन्यासको स्वरूप निर्मित भएको पाइन्छ ।
अनुसन्धानको क्रममा अमेरिका पुगेका गणेशदत्तबाट देशको स्थितिबारे चिन्ता प्रकट गरिएको छ । देश विकृति र विसङ्कतिले जकडिएको स्थिति प्रकट गर्दै हाम्रो विवेकशीलता, स्वाभिमान, बौद्धिकता सबैप्रति धिक्कार जनाएका छन् उपन्यासका मुखपात्र गणेशदत्त । यस क्रममा देशभित्रै ठूलाठूला राष्ट्रिय महत्वका उद्योगहरू बन्द हुनुमा नेतृत्व नै जिम्मेवार रहेको स्पष्ट पार्दै सामयिक बिडम्बनाको गहिरो चित्र प्रस्तुत गरेका छन् । नीतिहरूको मूलनीति राजनीति नै भ्रष्ट भएपछि विकृतिविसङ्कतिहरू स्वतः मौलाउँछन् भन्ने धारणाहरू पनि ससन्दर्भ प्रस्तुत गरिएका छन् ।
वास्तविक जीवनको काल्पनिक कथा नै उपन्यास हो । सारमा भन्दा बेकारी समस्याबाट उब्जिएको दुःखान्त उपन्यास हो ‘ईप्सान्त’ । यो विचारमूलक सामाजिक यथार्थवादी उपन्यास हो । यसमा भौगोलिक वास्तविकता र काल्पनिक घटनाको समन्वय छ । विचारलाई औपन्यासिक साँचोमा ढालेर जेजस्ता घटनाहरू यात्रा विवरणमा प्रस्तुत गरिएका छन् । ती सबैले दुःखान्तको सङ्केत गर्दै मूल विचारलाई स्पष्ट्याइरहेका छन् । लेखक स्रष्टा मात्र नभई द्रष्टा व्यक्तित्वका रूपमा पनि देखिन्छन् । यसका निम्ति उनले आफ्नोमुख पात्र गणेशदत्तलाई उभ्याएका छन् । यी सबै लेखकले आपूmले देखेभोगेको र अध्ययन अनुभव गरेका विचारलाई उनै प्रतिनिधि पात्र मार्फत् प्रकट गरेका छन् । यसबाट विचारवादी उपन्यास निर्मित गर्न लेखक अपेक्षाकृत सफल हुन पुगेका छन् । आशा, आशङ्गा, भय, सन्त्रास आदि संवेदनात्मक भावना जागृत गर्ने उपन्यास नै सफल उपन्यास हो भनिन्छ । यस दृष्टिले उपन्यास अब्बल दर्जाको बन्न पुगेको छ ।
निष्कर्ष ः ‘ईप्सान्त’ विचारमूलक समाजिक, यथार्थवादी उपन्यास हो । यसमा भौगोलिक वास्तविकता र काल्पनिक घटनाको समन्वय छ । विचारलाई औपन्यासिक साँचोमा ढालेर जेजस्ता घटनाहरू यात्रा विवरणमा प्रस्तुत भएका छन्, ती सबै मूल विचारलाई स्पष्ट्याउन दुःखान्तको सङ्गेत गर्दै अगाडि बढेका छन् । लेखक स्रष्टामात्र नभई द्रष्टा व्यक्तित्व पनि देखिन्छन् । यी सबै लेखकले देखे, भोगेर अध्ययन अनुभव समेत गरेका विचारहरू आफ्ना प्रतिनिधि पात्र गणेशदत्त मार्फत् प्रकट गरेका छन् । यी सबै तथ्यले विचारवादी उपन्यास निर्मित गर्नमा लेखक सफल हुन पुगेका छन् ।
(चितवन)