उखुका कथा लेखिए
किसानका ब्यथा लेखिए
उखुकै कविता रचिए
पढ्नेले वाह भन्यो
सुन्नेले मार्मिक भन्यो
तर,
उखुहरू कवितामै मिठा भए
किसान कथामै हराए ।
आज उखु बेचेर
सहर पसेका किसान
भोलि आँसु बेचेर घर फर्किन्छ
थाहा हुँदाहुँदै पनि
न्यायमूर्तिले नसुन्ने भए
नदेख्ने भए
हुन पनि मूर्ति न हुन्
सजाइएका परे ।
धेरैले बुझे गीत बुझे
कथा बुझे
नबुझ्नेहरू त मात्र
सुगरका रोगी परे
नुनिलो आँसुका
स्वाद लिने भए
न्यायका मूर्ति भए
उखुको दुश्मन भए ।
भोलि यहीँ उखुकै कविताले
कसैले राष्ट्रिय पुरस्कार पाए भने
भो न्यायका मूर्ति हो
बधाई कसैले नदिए ।
(धादिङ)