आठौँ योजनाको कमाण्डस्तरीय केन्द्रिकृत ऐतिहासिक सफल कारवाहीपछि विकेन्द्रित कारवाही देशब्यापी भइरहेको थियो । त्यसक्रममा पूर्वी कमाण्ड अन्तर्गत चारवटा कम्पनीमा दुई नम्बरले पाँचथरको गापेटार रेड (०५८ माघ १२ ) गते, एक र दुइ नम्बरले काभ्रे भकुण्डेबेसी(२०५८ माघ १२) गते । हाम्रो चार नम्बर कम्पनीले सर्लाही लालबन्दी प्रहरी चौकी आक्रमण ग¥यो । सोहि बमोजिम क्रमशः दुई नम्बर, एक नम्बर र तीन नम्बर उपक्षेत्रीय ब्यूरोको भौगोलिक संगठन थियो ।
गाउँ गाउँबाट पुरै बिस्थापित भइसकेका प्रहरी चौकीहरू भेटाउन गाह्रो थियो हामीले । हाम्रो विकेन्द्रित शक्तिले त्यो भन्दा माथिको हैसियत पनि राख्दैनथ्यो तर एकपछि अर्को उठ्दै सदरमुकाम स्थान्तरण भइरहेको थियो असुरक्षाको कारण देखाउँदै । हाम्रो एतिहासिक सफल मोर्चाको रणनीतिक प्रभावको परिणाम थियो त्यो । आफ्नो पहँुच केवल कतिपय सहर, सदरमुकाम र राजधानी मात्र कायम ग¥यो । त्यसैले हामी आजित बन्दै थियौँ तर घाँटी हेरी हाड निल्नुपर्ने भएकोले उनीहरूले नसोँचेको ठाउँमा आक्रमण गर्ने कार्यनीति अपनायौँ । फेरि देशमा संकटकाल थियो । परम्पराको युद्धशैली अपनाएर गरे जस्तो सहज र सरल थिएन अबको कारवाही । किनकि उसले सुरक्षा संयन्त्र र किल्लाबन्दीमा व्यापक बदली ल्याई मजबुद गराइसकेको थियो । तैपनि लामो अध्ययन र विस्तृत छलफल पछि कमाण्डर तथा नेताहरूले ठोस् ग¥यो हाम्रो निशाना सर्लाही लालबन्दी प्रहरी चौकी ।
त्यो ठाउँ भौगोलिक हिसाबले सामारिक महत्वको थियो । महेन्द्र राजमार्ग जस्तो राज्यको लाइफलाइनमा अवस्थित दुश्मनको क्याम्प माथि विजय प्राप्त गर्नु कम चुनौतीपूर्ण थिएन हामीलाई तर हामी कस्सिएका थियौँ । हामीसँंग विजयभाव थियो । उच्च मनोवल थियो । हामीसँंग जनताको प्रेरणा र उत्साह थियो । जसले हरेक मोर्चाहरूमा विजयको निम्ति अग्रणी भूमिका निर्वाह गर्न प्रेरित गरिरहेको हुन्थ्यो । विगतभन्दा सबै हिसाबले सशक्त थियौँ हामी । आत्मविश्वासले भरिएको हाम्रो कम्पनीका कमाण्डर कमरेडहरू पटक–पटक गरेर रिक्किमा जानुभयो । निकै मेहनतका साथ गरेको रिक्किमा देखिएको संभावना र चुनौती सहित थप छलफल पछि ब्रिफिङ भयो ।
दुश्मनको लागि सामरिक महत्वको त्यस ठाउँमा जुन प्रकारको कडा सुरक्षा व्यबस्था मिलाइएको थियो त्यही हाम्रो लागि प्रशस्त संभावनाहरू थिए पहलकदमी लिनका लागि; बत्तीको फेदमा अँध्यारो भने जस्तै । त्यो संभावनालाई सदुपयोग गर्न कुनैपनि प्रकारको हथकाण्ड अपनाउन पछि पर्नु हुँदैन जड बनेर भन्नेमा स्पष्ट थियौँ । वस्तुस्थितिबारे बताएपछि स्वतः विश्वास जाग्थ्यो पूर्ण विजयको । जुनकुरा महत्वपूर्ण कुरा थियो हाम्रो लागि ।
हामी मरिनका माझी बस्तीहरू महादेवस्थान बरलाका घर आँगनमा सेल्टर सर्दै हिँडिरहेका थियौँ त्यतिखेर । एउटै ठाउँमा लामो सेल्टर लिएर बस्ने कुरा युद्धविज्ञानको हिसाबले उपयुक्त थिएन पनि । बिस्तारै छिमेकी जिल्ला मकवानपुर सर्लाहीबाट केही स्क्वायडका साथीहरू सहित जिल्ला नेताहरू पनि जम्मा भइरहेका थिए । त्यही क्रममा लगभग प्रायः सबैको जमघट पछि ज्यामिरे अम्बासमा अन्तिम तयारीमा जुट्यौँ । जिल्लाका कमरेडहरू हाम्रो भरणपोषणमा लागि मरिनखोलाको धान कुटाउँदै राँगाहरू खोजेर ल्याई व्यबस्थापनमा व्यस्त रहन्थे र हामीले उपलब्ध गराएका प्राविधिक सामाग्रीको लिस्ट अनुसार चुटपुटीया, सलाई, स्टारलाइन डट्पेन, पलास्टिक, सकेट, निप्पल, कुकरजस्ता सामाग्रीहरू उपलब्ध गराउँथे । हामीसंँग भएको जिलेटिन र टीएनटीलाई हालेर सावधानीपुर्वक हाम्रो युद्ध सामाग्रीहरू तयार गथ्र्यौं हामी । थाकको थाक बनाउथ्यौँ । दुश्मनको पोष्ट ध्वस्त गर्ने दम्भ देखिन्थ्यो त्यसको । जुन थाक बनाउथ्यौँ त्यसले भनिरहेजस्तो लाग्थ्यो हामी शत्रु मित्र चिन्दैनौँ केवल हाम्रो विष्फोट हुने र धमाका दिने काम हो । चेतना भया ।
जनयुद्धको सातौँ बर्षगाँठ मनाउने गरि तय गरिएको योजना थियो । योजना अन्तिम तयारीसँंगै ग्रुपहरू विभाजन भयो । हामी विभिन्न समुह–समुहमा विभाजित भयौँ एसल्ट, रिजर्भ र स्टप (ब्लकिङ) ग्रुपको रुपमा । जस अनुसार एक नम्बर एसल्टमा कमरेड संग्राम– पश्चिम तर्फ, दुई नम्बरमा कमरेड विनोद–पूर्वतर्फ, तीन नम्बरमा कमरेड नरेश– पूर्व दक्षिण तर्फ रहनेगरी एसाल्ट छुट्याइएको थियो । योजना अनुसार ०५८ फाल्गुन ४ गते रातको ठीक दश तीस बजे फायर खोल्ने भन्ने थियो । त्यसको लागि दशबजे भित्रमा घेरा हालिसक्ने समय निर्धारण गरिएको थियो । महेन्द्र राजमार्ग दक्षिणमा रहेको उक्त चौकीको पश्चिम रोडको उत्तरतर्फ रहेको वाणिज्य बैंक कब्जा गर्न एक सेक्सन फौज सहित सिन्धुली जिल्ला सदस्य कमरेड जेबीलाई जिम्मा दिइएको थियो ।
लडाइँको संरचना अनुसार शक्ति विन्यासपछि सोही अनुसार उठबस र हिँडाइ गर्नेगरी निर्देशित गरिएको थियो सम्पूर्ण फौजलाई । नक्शा अध्ययन गराएर योजनाको स–बिस्तार व्याख्यापछि सामुहिक निर्णय र व्यक्तिगत जिम्मेवारीको ठोस् निर्देशन गर्नुभयो कमाण्डर कमरेड प्रमोदले । कमिसार तथा जिल्ला नेताहरू कमरेड बिशाल र कमरेड रमेश(रुद्र पाख्रीन, मकवानपुर)ले यसको राजनीतिक महत्व र यसले राष्ट्रिय राजनीतिमा पार्ने प्रभाव साथै सम्पूर्ण कमरेडहरूले खेल्नुपर्ने भूमिकाबारे प्रकाश पार्दै आफ्नो भनाइहरू राख्नुभयो र विजयको अग्रिम शुभकामना दिनुभयो । उच्च मनोवलका साथ हामीलाई निर्देशित गरिरहँदा हामी हतारिरहेका थियौँ युद्धमोर्चामा हाम फाल्न । हामी उत्साहित र प्रफुल्लित थियौँ । एउटा आत्मविश्वासको कञ्चन हिमाल उभिएको थियो विजय नियाल्दै । हाम्रो बीचमा डिबि, प्रजुना लगाएतका कलाकार मित्रहरूले गीतहरू गाउनु भयो ।
हिउँ सयलमा हावा सरर…… ,
………………………………
‘महाभारत ल्हाला गाङ्नुन् गाङ,
अफाना अख्ला खि तेन नाङ’
…………………………..
‘एस एल आर र मेशिनगनले हामी झुक्दैनौँ
देशको लागि मर्छौं तर पछि हट्दैनौँ’ ।
जस्ता जुझारु युद्धगीतहरू सुनाए हाम्रो बीच । हतियार, गोली र ग्रिनेड माइनहरू वितरण भइसकेकोले तत्तत् कमरेडहरूले जिम्मा लिइसकेका थिए । हाम्रो कारवाही मिति नजिएकोले हामी हाम्रो बाटो छोट्याउन अघि बढ्दै गयौँ चुरेका साना ढुङ्गाले भरिएका खहरे खोला र जङ्गलको बाटो हँुदै सर्लाहीतिर । कस्तो रमाइलो लाग्ने गरी बज्थ्यो त्यो चुरेका साना ढुङ्गाहरूमा हाम्रा पाइला पर्दा । त्यसमाथि गन्तव्यतिर लम्केका सयौँ पाइलहरू टेक्दा । सायद खुट्टाका गोल्डस्टार जुत्तासँंग प्रतिजवाफ गरिरहेका थिए उनीहरू ।
अँधेरी रात, यात्रा ढुङ्गैढुङ्गा भएको बाटो र पाखाभित्ता हुँदै एक–अर्काको छायाँको सहारामा बढिरहेको थिए पदचापहरू । हामीलाई दुश्मनको पोष्ट नजिक पुगेझैँ विस्तारै हिँड्न बाध्य पारेको थियो निस्पट्ट रातले । यस्तै कठिन यात्राको बीच चुरेका पहाड नाघ्दै सर्लाहीको तोरीबारीमा अन्तिम सेल्टर लियौँ । जनयुद्धका महत्वपुर्ण सेल्टरहरू थियो त्यो गरीब निमुखा बस्तीका घरहरू । भोर्लाको पत्ता र थाकलका गुन्द्रि अनि फिर्फिरेका पाटहरू बेचेर जिविकोपार्जन गर्ने त्यहाँका तामाङनी आमा दिदीहरू र छाक टार्न बाध्यताले सखुवाका फ्यान्टा बेच्ने बा दाजुहरू क्रान्तिकारी योद्धाहरूका बा–आमाहरू थिए । मन भएर पनि धन नहँुदा हामीलाई के ख्वाऊ ? कसरी सुताऊ ? चिन्ता गर्थे उनीहरू । झन् त्यो मनोदशाजस्तै भयो सयौँ छोराछोरीहरू एकैपटक आफ्नो घर गोठ भरिने गरि आएपछि । हामी पनि त्यस्तो अबुझ थिएनौँ । भएको नदिँदा हाम्रो मन नबुझ्ने हो तर नभएरै दिन नसकेको जायज चिन्ता र छट्पट्टी नै हामीप्रतिको अगाध प्रेम थियो भन्ने बुझ्थ्यौँ । हामी प्रफुल्लित मनले सम्झाउँथ्यौँ ती सोझा घरवालाहरूलाई । साँच्चै हाम्रो रात अप्ठ्यारोसँंग बित्यो त्यो कठ्याङ्ग्रिदो जाडोसँंग जुद्धाजुद्धै । बरु रातभरि ड्युटी नै राम्रो थियो जबकि एउटा जिम्मेवारीमा रहँन पाउँदा । निन्द्रा र आराम सञ्चय गर्न कोशीश भने भई नै रहन्थ्यो ।
बिहानीको सूर्य हतार गरिरहेझैँ लाग्थ्यो हामीलाई हेर्न । थकित अनुहारमा चम्केको विजयको आत्मविश्वास चम्केको देखेर सायद अनौठो मान्दै । त्यो स्थिर सूर्य मेरो पृथ्वीले घुमिरहँदा हामीबाट छुट्टिएर बेलाबेला रात छोडेर हाम्रो ताँई नापेकोझंैँ गरेर मुस्कानको ज्योति धरतीभरि छर्दै हामीलाई स्वागत गरिरहेझैँ लाग्थ्यो । अनि यस्तो लाग्थ्यो उसको चमकदार प्रकाश रातभरि चिसोले कठ्याङग्रिएको ज्यानमा लागेको सर्दी भगाउन ऊ हतार हतार त्यसो गरिरहेको छ, हाम्रो विजयको आत्मविश्वासमा सफलता प्रदान गर्न ।
मेरो त्यो अन्तिम सेल्टरको बस्ती सूर्यलाई बिदाइ गर्न आत्तुर गर्दै साँझलाई पर्खिरहेको थियो । केवल हाम्रो अनुकुलताको लागि अर्थात् सिंगो धर्तिमा सदा उज्यालो छर्नको लागि थालेको यो महाअभियानमा दुश्मनको चौकी ध्वस्त गर्न हामी एकसुर हाम्रो मनहरू आफ्नो भूमिकालाई सशक्त बनाउन र भूमिकामा कमी हुन नदिन आत्ममन्थन गरिरहँदा हामीले भोगेका दुःखमा सहानभुतिका नाममा बिचरा जस्तो अभिव्यक्ति प्रति घृणा जाग्थ्यो । बरु गर्व लाग्थ्यो आफूले त्यस्तो पनि पचाउन सकेकोमा ।
हाम्रो यो अन्तिम सेल्टर भएकोले कारवाहीको निम्ति गर्नुपर्ने सम्पूर्ण तयारी र निर्देशनको कार्य पनि भयो । उज्यालोमा नै खाना खाई झम्के साँझमै जम्मा भयौँ । कमाण्डरको अन्तिम आदेश भयो ‘ल कमरेडहरू हामीले पञ्चानब्बे प्रतिशत मोर्चा जितिसक्यौँ । अब पाँच प्रतिशत जित्न बाँकी छ । हामी पुरै जितेर फर्कने छाँै । सबै कमरेडहरूले व्यक्तिगत जिम्मेवारी पुरा गर्नुहोला । यसमा तपाईहरू पछि नपर्नु होला ।
हामी बसबाट चढेर जाने छौँ माईथानबाट र तल पन्ध्र मिनेट माथि झर्ने छौँ । त्यो हाम्रो फर्मिङ पोइन्ट हुनेछ । दश तीस बजे फायर खोल्ने छ । पूर्व ब्लकिङ र पश्चिम ब्लकिङ, बैंकमा र एसाल्टहरू निर्धारित ठाऊँहरूबाट अगाडी बढ्नेछ । मोर्चा सफलपछि हामी पुनः छोडिएको बस चढेर मरिन खोला नै आउने छौँ ।
हामी यसपटक नयाँशैलीमा दुस्मनकोमा उपस्थिती जनाउँदै थियौँ । पुरानो शैलीले हामीलाई निकै पछि पारिसकेको थियो । त्यसो त रोलकालमा कमान्डरले निर्देशनात्मक भनाइ राखिरहँदा कसैले सुने कि भनेर मन सजग हुन खोजिरहेको थियो ।
त्यो आदेशसँंगै टोलीहरू अघि बढ्यो । अन्तिम निर्देशन भए बमोजिम हामी स्कूलबाट बस चढेर गयौँ । नयाँ अनुभूत गर्दै थियौँ, हामीलाई जुनकुरा आवश्यक थियो । बसलाई सृजनशीलतामा खतरा मोलेर भएपनि सदुपयोग गरेका थियौँ । बस कच्चि बाटोमा घच्याक्क घच्याक्क गर्दै हेडलाइटको प्रकाश पर परसम्म फाल्दै घ्यार्रघ्यार्र आवाज निकाल्दै अघि बढ्यो । बीस पच्चीस मिनेट गुडेपछि बस रोकियो । अटेसमटेस् खाँदिएको हाम्रो फौज ओर्लियो गाडीको हेडलाइट मारेर दुबै गाडीबाट । हामी लाग्यौँ आ–आफ्नो आर्कतिर ।
हाम्रो टोली ब्लकिङमा परेको थियो । फिल्म हल आसपास् सुरिएर बस्यौँ हामी । ट्रक बस लगायतका गाडीहरू टाडा टाडा प्रकाश फाल्दै दौैडिरहेका थिए आफ्नै सुरमा बेलाबेला हर्न बजाउँदै । रोडमा केही मान्छेको आवतजावत पनि देखिन्थ्यो अनि बिजुली बत्तीहरू पनि झलमल । हामीले हतार गरेनौँ रोडमा निस्कनलाई । उखुबारी छेल पार्दै बसिरह्यौँ । मोर्चा उद्घाटनको फयरिङ हुने समय नजिकिँदै जाँदा अब त…. भने जस्तो भइरहेको थियो । प्रत्येक सेकेन्डको पलमा त्यहाँको स्थिति पुरै परिवर्तन हुँदै थियो ।
अँध्यारोले छोप्यो पुरै बस्ती । निर्धारित समयमा फायर खुल्यो । हामी दौडिएर गाडीहरू रोक्न थाल्यौँ । भीषण आक्रमण भइरहेको थियो । दोहोरो हानाहान चलिरहेकै थियो । तैपनि बेसुर दौडिन खोज्ने गाडीहरू रोक्न नमाने पनि रो¥यौँ हामीले । एउटा गाडीको चाबी लिई कमरेड संकल्प(अर्जुन कार्की)ले कमाण्डरको आदेशमा रोडमा गाडी तेस्र्याए । त्यसपछि त्यसैको छेल पारेर दुश्मनको संभावित उपस्थितिको तिखो देखभाल गर्दै बस्यौँ । रनर मार्फत् हामीलाई खबर आइरह्यो । पासवर्ड प्रयोग गर्दै कुदिरहेका थिए उनीहरू । हामीले हाम्रो आर्कको अवस्थाबारे पनि जानकारी पठाइरह्यौँ । हामीलाई चौकी कब्जा र हतियार कब्जा जस्ता खुशीको खबरसँंगै केही दुखःद खबर पनि आयो । कमरेड संग्रामको आर्कमा बमले कमरेड संग्राम लगायत कमरेड शुसिल कमरेड निराजन घाइते भएको र कमरेड कायमको शरीर टुक्रा टुुक्रा छुट्टिएको छ भन्ने विक्षिप्त खबर पायौँ । यसैबीच लगभग फायरिङ बन्द भएपछि पासवर्ड प्रयोग गर्दै हामी पनि चौकी भएतिर गयौँ । त्यतिखेर सम्म विभिन्न प्रकारका सयौँ गाडीहरूका लाम बनिसकेका थिए महेन्द्र राजमार्गमा । होहल्ला मच्चिएको थियो ‘दुश्मन घेरा तोडेर भाग्यो .. । बंैकको सेफ नै फोर्न सकिएन चाबी पनि भेटिएन… । बोकेर लैजाऊ गाडीमा …। फोडौँ बमले…।
यस्तै हल्ला बीच यता टेम्पो खोज्ने, उता फोड्ने कोशीश भइरह्यो । तर निरर्थक प्रयास भयो त्यो । हामी त्यसलाई त्यहीँ छाडेर रिट्रिटको आदेश पालना गरी फक्यौँ । कारवाही स्थलमा हामीलाई लिन बसहरू पनि आइसकेका थिए । हाम्रो घाइते कमरेडहरूको उपचार पनि त्यहीँ भइरहेको थियो तर छतविक्षत थिए सबै घाइतेहरू । कमरेड शुसिलको गहँुगोरो अनुहार रगतले लत्पतिएको थियो । कपडा हिलोमा डुबेको उस्तै रगतका पाल्साहरू जमेको थियो । त्यान्द्रो छालाको भरमा अडिएको थियो खुट्टा औपचारिकतामा राखिदिएजस्तो । कटन र व्यान्डेज अर्थहीन भइरहेको थियो । श्रावनमा फुटेको मूलजस्तै चोटबाट बहिरहेथ्यो रक्तश्राव । तर मेरो प्रिय असल मित्र बोल्न कोशिश गर्दा गर्दै शिथिल बन्दै गयो । त्यो हँसिलो अनुहार मिलनसार स्वभाव र हार्दिकताको सुशील व्यवहार गर्ने कमरेड शुसिल हाम्रो आँखा अगाडी मुख वायर हिरिक्क हिरिक्क गर्दै हामीबाट सदाका लागि बिदा हुँदा कहाँ थाम्न सकियो । भक्कानिएर आयो मन । मुटु निचोरियो । गला अबरुद्ध भयो । नयनमा आँशुको छाल छछल्कियो । मुखमा लसादार ¥याल जमेर कलेटी निस्कन थाले । मेरो कमरेड स्थिर हामीलाई हेरिरहँदा लक्ष्य प्राप्तिको यो महान् बाटोमा अविचलित लम्कन निर्देशित गरिरहेझैँ लाग्थ्यो । सम्हाल्न नसकेको मन थाम्न नसकेको आँशु म लुकाउन सकिरहेको थिएन । अझ मलाई चिच्याएर रुँदै चित्त बुझ्mाउन दबाव दिएर छड्कीरहेको थियो मन । मैले त्यसो गर्न स्वभनीय पक्कै हँुदैन भनेँ मनमनै । तसर्थ क्रान्तिको यथार्थतालाई स्वीकार्दै अनायश आँशु बहाउँदै पग्लिएका मेरा अँश्रुग्रन्थिहरू सम्हाल्दै हिँडिरह्यौँ । म देखिरहेको थिएँ कमरेड शुसिलको नजिकै कमरेड निराजन स्थिर लडिरहेको थिए । टाउकोको आधा भागै थिएन । त्यो भयानक दृष्य जहाँ चोट त्यही प्रहार भने जस्तै भइरहेको थियो ।
त्यो भयानक दृष्य फेरिपनि मेरो स्मृतिमा आयो जीवन्त बनेर । त्यो कालो मोती कमरेड कायम(छोटेलाल कुशुवाह—पत्थरहटी—१, मैनिटोल, बारा) । मधेशका एक होनाढहार सपूत जसको अनुहारमा मैले कहिले पनि डर पढेको थिएन । यस्तो गर्नुपर्छ । उस्तो गर्नुपर्छ भनेर सुझाइरहन्थे मलाई । कहिल्यै पनि मधेसी क्षेत्रीय संकीर्णता नभेटिएको त्यो मधेसको छोरा चञ्चले स्वभावका अत्यन्तै जुझारु योद्धा जसलाई सिर्फ विजय, न्याय, मुक्ति र समानताको लागि अर्थात् शोषक सामन्ती राज्यसत्ता ध्वस्त पार्न चाहन्थ्यो । तर आज आफै ध्वस्त भएछ भौतिक रुपमा । हाम्रो शोषित पीडित जनताको हृदय हृदयमा बास गरेको कालो मोती थियो ऊ । मलाई पूरै भरोसा लाग्थ्यो । एउटा अभिभावकत्वको हिसाबले मैले निकै सुन्दर भविष्य र सपना सजाएको थिएँ यो बर्ग मुक्तिको यात्राको लागि । तर त्यही मेरो प्रिय मान्छे जम्मा गर्न साध्य नै नहुने गरी टुक्रा–टुक्रा भएको खबरले त्यो भन्दा धेरै टुक्रा भएको थियो मेरो मन । पीडामा छाती पिटि पिटि रोउझैँ मन हतोत्साहित बनिरहेको थियो । मेरो मन जोडदार माग गरिरहेको थियो जतिसुकै क्षत–विक्षत भएपनि मेरो कमरेडको शव यहाँ हुनुपर्छ जसरी पनि । तर हामी निकै लामो बाटो फर्किसकेका थियौँ । काँही न काँही कमजोरी पनि भयो कि ? केही न केही अपुग भयो कि ? बारम्बार यी प्रश्नहरू मेरो मानसपटलमा निरुत्तर भएर उब्जिरह्यो । मेरो ह्याऊ पनि भएन त्यो भावुक क्षणमा ओकल्न । केवल आत्मसमीक्षा गरेर उत्तरको आशावादी मनहरू सुरक्षित राख्दै यो हामी माथिको उपेक्षित व्यबहार हो भने सहन गर्न नसक्ने र प्रतिवाद गर्ने संकल्प गरेँ । नत्र मेरो प्यारो कमरेड, मेरो कालो मोतीको न सास न लाश किन उपस्थित थिएन ?
उही घच्याक घुच्चुक ताल र घ्यार्र—घ्यार्र गाडीको आवाजसँंगै दुश्मणबाट कब्जा गरेको चरथान राइफल र एकथान पिस्तोल बोक्दै गन्तव्य छोटाइरह्यौँ त्यो यात्राको । दुस्मन घेरा तोडी भागेकोले त्यतिमै चित्त बुझाउनु परेको थियो हामीले । कस्तो असह्य हुन्छ जब प्रिय कमरेडहरूलाई भौतिक रुपमा सदाका लागि बिदा गर्नु पर्दा ? त्यो असीम पीडा परिवारजनको कोही सदस्य गुमाउनु पर्दाको भन्दा पीडादायिक हँुदोरहेछ । सायद हाम्रो बर्गप्रेमको उत्कर्षको अभिव्यक्ति थियो त्यो ।
मरिनखोलाको बगरमा पुगेपछि कमरेड शुसिल (हरि नेपाली– डाँडीगुराँस, सिन्धुली)को शवलाई निकाल्यौँ । सबै ओल्र्यौं गाडीबाट । अब त रगत पनि चुहुन छोडीसकेको थियो स्थिर शरीरबाट । नजवाफ भई हामीले जे गर्छ त्यही सहर्ष स्वीकार्दै आफूलाई तिमीहरू नै हो मेरो अधुरा सपना साकार पार्ने भन्दै समर्पित गरे जस्तो लाग्थ्यो मलाई । हामीले सलाम चढायौँ सम्मानको र सपना साकार पर्ने संकल्पको । आदरणीय कमरेडहरूले पार्टीको रातो झण्डा पनि ओडाउनु भयो । उनीहरूलाई विदाई गरिरहँदा पनि सकिएन उनीहरुको स्वभाव, शैली र व्यबहारमा मिसिएको वर्गप्रेम । जसले पानी पानी बनाएको हाम्रो मन आँशु बनेर पोखिरहे । रुवाइको आवाज बनेर फुटिरहे अवरुद्ध गला तोड्दै । जब म मेरो प्रियजनको शव दफनाउने खाल्डो हेर्थेँ तब मेरो मातृभूमि रोइरहेको पाउथेँ । उफ् ! मरिन बगर नदी र चुरेको जङ्गल । जता जता आँखा डुलाउथेँ मेरा कमरेडहरू त्यतै होला जस्तो लाग्थ्यो मलाई । कतै बास बसेको होला वा सेल्टर सर्दै होला जस्तो लागिरहन्थ्यो ।
मोर्चामा जाँदै गर्दा मजाक गर्दै आफूले बोकेका औजारहरू भोली आफैलाई पुर्न खाल्डो खन्नु पर्ने हुनसक्छ भनेका तरेलीहरू मेरो नजरमा झल्झल्ती आइरह्यो, त्यो हाँसीरहेको अनुहार …….। म रुँदारुदै थाकेको बालक जस्तै टोलाउँथेँ बेलाबेला एकसुरमा र आफूलाई बास्तविक परिवेशमा उभ्याउँथेँ फेरि ।
त्यो सचेत मृत्यु स्वीकार्दै बलिदानको कोटा चुक्ता गर्ने सपूतहरू साँच्चै यो देशका गहना हुन् । नेपाल आमाको सर्वोत्तम सन्तान हुन् । वर्गसघर्षको भट्टिबाट जन्मिएका स्पातिला सन्तान । यो परिवर्तनको मुक्तिसंग्राममा उनीहरूको योगदान र बलिदान अमिट रुपमा स्वर्णीम अक्षरले लेखिए र युग युग बाँचे उनीहरू; हाम्रो सपना भएर, हाम्रो उदेश्य बनेर र लक्ष्य बनेर । साँच्चै चित्त नबुझ्ने मृत्यु मरे उनीहरुले, जसले दुनियाँ बदल्न चाहेको थियो । ति महान् र होनाहार योद्धाहरूको बिछोड हाम्रो लागि अत्यन्तै दःुखदायी, पीडादायी बन्यो । जसलाई हामीले अब पाउने छैनौँ साथमा । त्यो अभाव खट्कीरहने निश्चित छ । केवल हामी उनीहरूका सपना साकार पार्ने साक्षीको रुपमा हिँडिरहेकाहरू केवल उनीहरूका सर्वोत्तम् गुणहरूलाई अनुुशरण गर्दै सम्मान गर्ने कोशिश गरिरहन सक्थ्यौँ । यस अर्थमा कम महँगो भएन हामीलाई हाम्रो प्रिय कमरेडहरू सँगको बिछोड ।
त्यसपछि हामी मरिन खोला माझी बस्तीहरूमा गयौँ । बिहानको समाचार सुन्दा एकथान सटगन र एकजना आतंककारीको शव सहित थुप्रै सकेट र कुकर बमहरू बरामद गरेको समाचार फुकिरहेको थियो । हामीलाई झन् दुःखित तुल्यायो जब कमरेड कायमको शव भन्ने थाहा भयो । मेरा अनुत्तरित प्रश्नहरू कसैलाई इङ्गित गरेर तेर्सिरहेको थियो । तर म सिधै औँल्याउन सक्ने ठउँमा थिएन । यस्तो त हुने गर्छ युद्धमा तर गलत नजिर बस्नु हुदैन भन्नेमा सचेत थिएँ । हतियार खोजी गर्दा कमरेड सरोजले बिरामी यताउता गर्दा गर्दै हतियार छोडिएको पनि थाहा भयो । त्यही भेटेछ दुस्मनले ।
समीक्षा भयो हाम्रो मुङग्रेखोलमा । मकावनपुर र सर्लाहीका कमरेडहरू पनि थिए । हामीले देखे भोगे र अनुभूतिका कुराहरू राख्यौँ । कमरेडहरूका असावधानीमा विष्फोटको कारण त्यो भयानक घटना घटेका हुनसक्ने आशङ्काहरूले रडाको मच्चियो । यदि कसैको लापर्वाहीबाट यत्रो क्षति व्यहोर्दा पनि उसप्रति कुनै कदम नउठाउनु नातावाद र कृपावादको पराकाष्ठ रुपमात्र हुँदैनथ्यो । वर्गसंघर्षप्रति नै गद्धार, बेइमानी र घात हुन्थ्यो । म अलिकता भ्रमित भएर वा तथ्य नभएर कुण्ठित थिएँ । तसर्थ सबैकुरा इतिहासमा रहस्यको गर्भभित्र छोड्दै शान्त रहेँ । तर मभित्र कहिले शान्त नहुने गरी यी अनुत्तरित प्रश्नहरू उब्जिरहेका थिए ।
मलाई सहायक ठाउँमा सेटिङ्ग गर्नु, कमरेड कायमको सहादत, उनको छोडिएको शव सबै सबै कुरालाई मैले नजरअन्दाज गर्न सकिँदैनथ्यो । मेरो कमान्डमा आएका सबैजसोकोे गुनासो पनि त्यही प्रकारको थियो । दालमा कुछ काला है भने झैँ लाग्ने गरी कुचक्र घुमिरहेकोले हामी चुप बस्न सक्ने अवस्थामाा पनि थिएनौँ । हिजो बकितम्लाई जसरी टारिएको थियो हाम्रो लिखितम्लाई उसले टार्न सक्ने छैन भन्ने लागेर पुस्ता पुस्ताको लागि यो लिखितम् गर्न विवश छु आज । पीडितको बयान पेश गरेको छु इतिहासलाई साक्षी राखेर ।
यसको बीचबाट पनि समीक्षाको सारमा मोर्चा सफल भएको निष्कर्ष भयो । सबैप्रति आभार र धन्यवाद प्रकट ग¥यो । यस कारवाहीमा प्रयोग भएको नवीनतम् सृजनशीलताले प्राप्त सफलता महत्वपूर्ण शिक्षा भएको छ जनयुद्धको सैन्य इतिहासमा । दुश्मनको सामरिक महत्वको ठउँमा गम्भीर चुनौतीहरूलाई चिर्दै सफलता प्राप्त गर्न भूमिका खेल्ने सबैलाई धन्यवाद दिँदै पुनः एकपटक महान् सहिदहरूको सम्झनामा श्रद्धाञ्जली कार्यक्रम गरी संकल्पकृत मुठ्ठीहरू कस्दै क्षितिजको आभा भेट्न लम्किरह्यौँ निरन्तर निरन्तर ।
(मकवानपुर)