डेढ वर्षअघि एउटा यात्रामा जाँदा कवि विमल निभा र गायक आभासबीच नारायणगोपालबारे पक्ष–विपक्षमा भएको बहस रोचक थियो । बसभित्र अघिल्लो सिटमा बसेका आभास भन्दै थिए– ‘नारायणगोपाल राजनीतिभन्दा बाहिर थिए ।’ विमल निभाले पछिबाट प्रतिवाद गर्दै भनेका थिए– ‘सूर्यबहादुर थापालाई चुनाब जिताऊँ भन्ने गीत गाउँदै धनकुटा घुम्ने नारायणगोपाल कसरी राजनीतिभन्दा बाहिर थिए ?’
त्यो संवाद मलाई एउटा ऐतिहासिक र दुर्लभ वार्तालापजस्तो लागेको थियो, जसमा दसी–प्रमाणहरू मागामाग समेत गरिएको थियो । इतिहासमा एउटा लोकप्रियता र ख्याती कमाएर गइसकेको प्रतिभाको बारम्बार उत्खनन् र पुनर्मूल्यांकन हुन्छ भन्ने त्यो सानो उदाहरण थियो । नेपाली भाषाको आधुनिक गायनमा स्वनामधन्य भइसकेका नारायणगोपालबारे हरेक वर्ष पत्रपत्रिका र रेडियो–टेलिभिजनमा चर्चा गर्ने परम्परा छ । तर, ती सबै चर्चा ‘उनी ठूला गायक हुन्, म त्यही ठूलो गायकको प्रशंसक हुँ’ भन्ने पारामा चलिरहेका हुन्छन् । पुराना स्रष्टाहरू आफ्नो संगत–संस्मरण सुनाउँछन् । नयाँ छिमलका पत्रकार, लेखक वा संगीतकर्मी नारायणगोपालको व्यक्तित्वमा देवमूर्तिमा अबिर थपेझैँ बेढंगसँग रङ थप्छन् । जसले गर्दा नारायणगोपालको परिचय आजभोलि फूल, अक्षता र अबिर कट्कटिएको पशुपतिको शिवलिंगजस्तो भएको छ, जसमा आस्थावान् व्यक्ति पुग्नासाथ स्तःस्फूर्त शिर झुकाइहाल्छ, हात जोरिहाल्छ वा अलिकति अबिर थपिहाल्छ । तर, नारायणगोपालले गाएका गीतहरूले फैलाएको विचार वा त्यसको सामाजिक–सांस्कृतिक आधारबारे ऐतिहासिक मूल्यांकन गर्ने समीक्षक भने उज्यालामा कतै देखिन्न । यो नेपाली संगीत–समीक्षाको विडम्बना हो ।
नारायणगोपालले प्रत्यक्ष–अप्रत्यक्ष राजनीति गरे–गरेनन्, त्यो बेग्लै कुरा हो । उनी देखिने गरी कुनै राजनीतिक मञ्चको दायाँबायाँ वा पक्ष–विपक्षमा उभिए–उभिएनन्, यो पनि कम महत्वको विषय हुनसक्छ । तर, उनले चयन गरेका शब्द र धुनले कस्तो भाव वा विचार सम्प्रेषण गथ्र्यो, त्यो नै आफैमा एउटा पक्षधरता हो । कुनै पनि कलाकार वा रचनाकारले सिर्जना गरेको कलाकृतिको अन्तर्वस्तु र सम्प्रेष्य सन्देशले नै उसको राजनीतिक पक्षधरता किटान गरिदिन्छ । एकथरी मान्छे गीत–संगीत, सिनेमा र नाटकलाई मनोरन्जनको साधन मात्रै हो भनेर त्यसलाई गैरराजनीतिक र समाज–निरपेक्ष विधाका रूपमा पेश गर्छन् । के कुनै पनि गीत, सिनेमा वा नाटकले सबैलाई उत्तिकै र उस्तै मनोरन्जन दिन्छ ? मानौँ, संगीत मनोरन्जनको मात्रै विधा हो । तर, कुनै खास संगीतले कसलाई मनोरन्जन दिन्छ त ? कस–कसलाई आनन्दित पार्छ ? नारायणगोपालले गाएका गीतबाट सबैभन्दा धेरै मनोरन्जन कसले लियो होला ? यो नै उनको पक्षधरता हो । गायनयात्राको चानचुन तीन दशकभरि उनले झण्डै डेढ–दुई सय गीत गाए । साथी नगेन्द्र थापामार्फत् उनका दाजु सूर्यबहादुर थापाको प्रधानमन्त्रीकालमा राष्ट्रिय नाचघरको महाप्रबन्धक भए, सञ्चार मन्त्रालयका सल्लाहकार भए । रेडियो नेपालबाट पुरस्कृत भए । गोरखा दक्षिण बाहु, त्रिशक्ति पट्टजस्ता राजकीय सम्मान हात पारे । तैपनि उनका गीतको सामाजिकता वा विश्वदृष्टि उनको भौतिक संलग्नताबाट कम निर्देशित भएको पाइन्छ ।
अन्स्र्ट फिशर संगीतलाई श्रम, कामवासना पूर्ति वा युद्धका निम्ति उद्दीपनको रूपमा काम गर्ने विधा भन्छन् । उनका अनुसार संगीत संवेदनालाई स्तब्ध पार्ने, उत्तेजित गर्ने, मानिसलाई सम्मोहित गरेर सक्रिय वा निस्क्रिय बनाउने साधन हो । यसरी हेर्ने हो भने नारायणगोपालका गीतले कसलाई स्तब्ध पार्छ ? उनका गीतले कुन कोटीका मान्छेलाई सम्मोहित गरिरहेको छ ? त्यसबाट थाहा पाउन सकिन्छ, नारायणगोपाल कसका गायक हुन् । नारायणगोपालको प्रवद्र्धन अहिले पनि उनीहरूले नै गर्छन्, जसको भावना उनका गीतमा प्रतिबिम्बत हुन्छ । काँठमा बिहान तीन बजे उठेर तरकारी बेच्न निस्कने किसान–महिलाहरूले नारायणगोपालका गीत गुन्गुनाउँदैनन् । खेतबारीमा रातदिन हस्याङफस्याङ दगुरिरहने ग्रामीण किसानको गलामा नारायणगोपालले उच्चारण गरेका शब्दहरू खेल्दैनन् । रात्रीबसमा पूर्व–पश्चिम गर्ने ड्राइभर–खलासीको संगीत–चेतनामा नारायणगोपालका गीतले मनोरन्जनको काम गर्दैनन् । नेपालको आदिवासी जनजाति वा गैर–नेपालीभाषी समुदायको लोकचेतनामा नारायणगोपालीय वियोगान्त आत्मीय लाग्दैन । ऊबेला गोरखा–पल्टनमा र अहिले अरब–खाडीमा रगत–पसिना बगाइरहेका नेपालीको विवशता नारायणगोपालका स्वरमा छैन । ‘तिमीले छाडेर गयौ, म रोइबसेको छु’ मूलभाव वरिपरि गाइएका उनका अधिकांश चर्चित निराशामुखी गीत त्यस्तै परिस्थिति बेहोरेका श्रोतालाई सबैभन्दा बढी प्रिय लाग्नु स्वाभाविकै हो । काठमाडौँ मूल सहरमा जन्मेर उच्चशिक्षा हासिल गरेका र देश–विदेशको ज्ञानमा पहुँच भएका उनले जे–जस्ता शब्दचयन गरे, त्यसमा उनी जन्मे–हुर्केको सामाजिक आधार र उनको विश्वदृष्टिले काम गरेको छ ।
नारायणगोपाल बाँच्दा जति चर्चित र लोकप्रिय थिए, सेखपछि पनि उनको प्रवृत्तिगत प्रभाव त्यत्तिकै जीवितै देखिन्छ । यो कुनै नवीन तथ्य होइन । बरु जिज्ञासाको विषय हो– उनका गीत किन लोकप्रिय भए ? उनी कहाँ–कहाँ लोकप्रिय छन् ? यसका लागि उनीद्वारा स्वरबद्ध गीतको अन्तर्वस्तुलाई तत्कालीन समाज र ऐतिहासिक सांस्कृतिक चेतनासँग तुलना गरेर अध्ययन गर्नु आवश्यक हुन्छ । भनिन्छ– कुनैपनि कलाकृति एउटा सामाजिक दुनियाँमा जिउँदो रहन्छ । कलाकृतिहरूको उत्पादन वा अस्तित्वको निश्चित सामाजिक सन्दर्भ हुन्छ । बिना सामाजिक आधारको कुनै लोकप्रियता हुँदैन । नारायणगोपालको समयमा नेपाली समाजले पञ्चायती चरित्रको संस्कार र सांस्कृतिक अनुशासनको अभ्यास गरिरहेको थियो । राजगाथा वा राष्ट्रवादी चेतना प्रवद्र्धन गरिरहेको राज्यभित्र नारायणगोपालका प्रेमगीतको लोकप्रियता बढेको तथ्यले पञ्चायतभित्र एउटा युवा पुस्तामा पुँजीवादी स्वच्छन्दता, निजत्व र ऐकान्तिक चेतना विकास भइरहेको पुष्टि गर्छ । अहिले पनि उनका गीत यस्तै विचार राख्ने श्रोताहरूबीच बढी रुचाइन्छन् ।
त्यसो त नेपाली समाजमा व्यक्तिलाई देवत्वकरण र मिथकीकरण गर्ने परम्परा छ । आफ्नो उद्देश्यअनुसार मिथक निर्माणको काम कहिले राज्यले गर्छ, कहिले इतिहासकार र समालोचकका नामबाट हुन्छ । फलानाको आनीबानी यस्तो थियो वा ढिस्कानाको क्षमता उस्तो थियो भनेर हुँदा–नहुँदा फुँदा जोड्नुलाई नै नेपालमा अनुसन्धान भन्ने गरिन्छ । दुई सयवर्ष पुराना भानुभक्त र उनको रामायणलाई देश–विदेशमा ‘लोकप्रिय’ थियो भनेर अहिले प्रचार गरिएजस्तै कतिपयले नारायणगोपालको पनि अनैतिहासिक महिमामण्डन गरेको पाइन्छ । उनी त्यस्तो समयमा नेपाली संगीतमा उदाएका थिए, जतिबेला पञ्चायती व्यवस्था जन्म्यो र हुक्र्यो । सांस्कृतिक चिन्तनका हिसाबले नेपाली राज्यले सामन्तवादी संस्कृति र विचारलाई प्रवद्र्धन गरेको बेलामा उनले पुँजीवादी चिन्तनमा आधारित प्रेमगीतलाई आफ्नो करियरको मुख्य ‘ट्रेन्ड’का रूपमा चयन गरेको देखिन्छ । अहिलेजस्तो जिल्ला–जिल्लामा एफएम रेडियो, सहर–सहरमा टेलिभिजन स्टेसन, चोकचोकमा रेकर्डिङ स्टुडियो, हातहातमा युट्युब च्यानल त्यतिबेला थिएनन् । रेडियो नेपालको एकद्वारबाट र बजारमा बिक्ने थोरै क्यासेटहरूबाट गायकहरू स्थापित हुनुपर्ने जमाना थियो । कुनै गीत लोकप्रिय हुनुमा श्रोताको मनोविज्ञान वा चेतना र सामाजिक संरचना वा साधनको पनि उत्तिकै हात हुन्छ । नारायणगोपालका गीत एकै दिनमा दर्जन पटक रेडियो नेपालमा नदोहोरिएको भए, उनी यति लोकप्रिय हुन्थे कि हुन्थेनन् ? त्यो सजिलै भन्न सकिन्न ।
त्यो त्यही बेला थियो, जतिबेला पश्चिममा बब मार्लेले ‘बफेलो सोल्जर्स’ रेकर्ड गराएर संगीतको दुनियाँमा प्रतिरोधी चेतना फैलाएर श्रोतामन जितिरहेका थिए । यता नारायणगोपाल भने (विमल निभाका अनुसार) नगेन्द्र थापाका दाजु सूर्यबहादुर थापालाई पञ्चायती चुनाब जिताउन हारमोनियममा हावा र गलामा स्वर भर्दै थिए । सन् साठीको दशक वरपर नेपालभित्र नारायणगोपालको गायन उकालिँदै गर्दा नजिकैको छिमेकी भारतमा इप्टाको प्रतिरोधी सांस्कृतिक अभियान चलिरहेको थियो । बब डिलन र बब मार्लेका सामाजिक–राजनीतिक चेतनाका गीतहरूको प्रभावमा युरोप–अमेरिका तातिरहेको थियो । नेपालभित्रै पनि राजनीतिक–सांस्कृतिक चेतना भएका (प्रविधि, आधुनिक सीप र कलामा अभ्यस्त हुने मौका नपाएका) कलाकारहरूको समूहले राल्फालगायतका स्वच्छन्द शैलीका अभियान चलाइरहेका थिए । पञ्चायतकै उत्तरार्धतिर लोकसंगीतलाई मूलआधार बनाएर विभिन्न प्रगतिशील समूह गाउँगाउँमा गीत लिएर गइरहेकै थियो । ‘बफेलो सोल्जर’ भन्दै अमेरिकी साम्राज्यवादविरुद्ध गायनमा कुर्लिरहेको पश्चिमी दुनियाँ र पञ्चायती शासनविरुद्ध ‘गाउँ गाउँबाट उठ’ भन्दै गाइरहेको रूपान्तरणकारी देशी–अभियानबाट नारायणगोपाल बेखबर थिए भन्नु उनको अध्ययनशील र सचेत व्यक्तित्वमाथि अन्याय गर्नु हो । त्यसबाट प्रभावित नदेखिनु नै उनको पक्षधरताका कारण जन्मेको अरुचि थियो ।
नारायणगोपालको समयमा पनि समाज विभक्त थियो । एकातिर सामाजिक–ऐतिहासिक विषयमा जनगीतिनाटक ‘सिम्मा’ लेख्दै र त्यसैमा संगीत भर्दै थिए रायन । अर्कोतिर राजभक्ति दर्शाउन ‘मालती मंगले’ लेख्दै थिए माधव घिमिरे र संगीत भर्दै थिए अम्बर गुरुङ । एकातिर ‘वीरेन्द्र जिन्दावाद’ वा ‘चौतारीमा राजा भेटियो’ भावधारामा लेख्ने गीतकारहरू थिए, अर्कोतिर ‘गैँतीबेल्चा उचालेर’ वा ‘फोकल्यान्डको टापुबाट’जस्ता मजदुर र उत्पीडित वर्गका गीत गाउँदै हिँड्ने अभियन्ताहरू थिए । नेपाली समाजको यही पञ्चायतकालीन समय–सन्दर्भको छ्यानब्यान गरे मात्रै नारायणगोपालका गीतको वस्तुपरक मूल्याङ्कन हुन सक्छ । नारायणगोपालकै नक्कलजस्ता लाग्ने आजभोलिका ‘तिमीले छाडी गयौ, म दुःखीआत्मा एक्लो भएँ’ मार्काका गीतको सामाजिक आधार पहिल्याउन पनि उनका गीतप्रति ऐतिहासिक र समीक्षात्मक पुनर्दृष्टि पु¥याउनु आवश्यक छ ।
कम्युनिस्ट नेता पुष्पलालले एउटा लेखमा नारायणगोपालका गीत उधृत गर्दै ‘रक्सीबाजहरूलाई उत्तेजित पार्ने, युवावर्गको चेतनालाई कुण्ठित पार्ने, भ्रष्ट’ गीतहरू भनेका थिए । साँच्चै, नारायणगोपालले चयन गरेको धुन र शब्दहरूको सामाजिक वा ऐतिहासिक आधार के हो ? ती पुष्पलालले भनेजस्तै युवावर्गको चेतनालाई कुण्ठित पार्ने भ्रष्ट गीत हुन् या आम रूपमा भनिनेजस्तै सदावहार गीत ? तिनमा अन्तरनिहित विश्वदृष्टि कुन हो ? त्यसले कसलाई आनन्दित पार्छ र कसलाई पटक्कै छुँदैन ? यी प्रश्नहरूले एकपटक फेरि नारायणगोपालका गीतहरूको सर्वेक्षण, उत्खनन् र विश्लेषणको माग गर्छन् । सांस्कृतिक चिन्तक एडोर्नोले भनेका छन्– ‘सौन्दर्यको सम्मोहक क्षमता त्यहीँ जिउँदो रहन्छ, जहाँ अस्वीकारको सामथ्र्य सबैभन्दा बलियो हुन्छ ।’ नारायणगोपालप्रति सबैभन्दा बढी सम्मोहन देखाउने समीक्षक–बौद्धिकहरू नै सबैभन्दा पहिले अनुसन्धेय प्रश्नहरूका आधारमा अध्ययनमा जानु आवश्यक छ ।
(साभार – अन्नपूर्ण पोष्ट ‘फुर्सद’, ५ डिसेम्बर, २०१५, शनिबार)