राजनीतिक कोपभाजनको सिकार भएर म यस्तो दुर्गम ठाउँमा सरुवा भएँ कि के भनूँ ! त्यहाँको हावापानी र परिश्रमी मान्छेबाहेक सबथोक मन नपर्ने । बाह्र महिना हात पाखुरा चलाउँदासमेत छ महिना खान धौधौ पर्ने भिरालो र ढुङ्गेनी पङ्खर बारी । सिँचाइको अभावमा लगाइएका बालीनाली सुकेनास लागेको शिशुजस्ता देखिन्थे । जिन्दगी जिउन सारै कष्टकर र उदास उदास अनुहारहरू कहिले यता त कहिले उता दौडिरहेका भेटिन्थे । साँझ परेपछि रक्सीले टिल्ल भएर आउने अधिकांश लोग्नेले स्वास्नी कुट्थे र बहादुरी देखाउँथे । अनि कम कुटाइ भेट्ने महिलाहरू आफूलाई भाग्यमानी ठान्दथे । म यो नौलो परिवेशमा रमाएको थिएँ कि हराएको थिएँ आफैलाई राम्रोसँग थाहा थिएन ।
०००
त्यस गाउँमा मैले केही साथीहरू बनाइसकेको थिएँ । तीमध्ये भोला पनि एक थियो । उसको बारेमा बुझ्दै जाँदा धेरै कुराहरू थाहा हुँदै गयो । मान्छे सारै रमाइलो र हक्कीको थियो । उसका दशौँ असल गुणलाई त्यही एउटा रक्सी पिउने बानीले खर्लप्पै छोपिदिएको थियो औंसीको रातमा जून छोपिए जसरी । त्यही कारणले रहेछ स्वास्नीले चटक्क छोडेर माइतीघर गएकी ।
मेरै अनुरोधमा उसले आफूहरूको कसरी सम्बन्धमा चिसोपन आयो र गौरी कसरी माइत गई भनेर पश्चातापले भरिएको मुहारमुद्रा बनाएर भावुक भई बताएको थियो ।
“म नआउञ्जेल नखाई कुरेर बस्थी । तर म राती कतिबेला घर फर्किन्थेँ कुनै टुङ्गो थिएन । मलाई देख्नेबित्तिकै ऊ खाना तताएर पस्किन्थी । तैपनि म अकारण निँहु खोज्थेँ । गाली गर्थेँ र धेरैजसो त पिट्थेँ । खानाको थाल लात्ताले हानेर बेहाल बनाइदिन्थेँ । र, ऊ धरधरी रुदैँ भोकै सुत्थी । म पनि बेहोस भएर त्यत्तिकै बेठेगान सुतिदिन्थेँ जुत्ता नै नखोलीकन । तर पछि होश खुल्दा विस्तारामा आरामले सुतिरहेको हुन्थेँ । उसको सहनशीलता मैले उबेला बुझिनँ र अहिले पछुताउँदै छु ।”
“अनि त्यसपछि के भयो त ?” मेरो चासो ।
एकपटक ख्वाक्क खोक्यो । लामो सास तान्यो र आँखा रसिला पार्दै कनेर भन्न थाल्यो, “त्यसपछि जे नहुनु थियो त्यही भइदियो । मेरो अत्याचारले सीमा नाघ्यो । म उसलाई हुने नहुने आरोप लगाउन थालेँ । सहेरै बसेकी थिई । जब मैले नशाको तालमा सजिलैसँग उसको पतिव्रत धर्ममाथि नै धावा बोलेँ तब उसले मसँग जिन्दगी नकट्ने ठहर गरिछ । र, उसले अब तिम्रो मुख हेर्दिनँ भनेर बिहानै मलाई त्यागेर हिँडी । सायद अझै फर्काउन आउँछ कि भनेर पर कुइनेटोबाट फर्कीफर्की हेर्दै थिई । तर म पापी अहँ गइनँ ।”
“अनि उसलाई लिन गएनौँ त भोला ?”
“के गर्नु सर ! दुई चार दिन त त्यो जाँठी गए जान्छे त, खुट्टा भए जुत्ता त कति कति जस्तो लाग्यो तर मेरो त दाहिने हातै भाँच्चिएजस्तो भइगो’ नि । आज आउँछे छैन, भोलि आउली कि भनेर बाटो हेर्यो आउँदिन ! मेरा त आँखै टट्टाए । हार खा’र एकदिन त लिन गएँ ।”
“अनि आइन् कि आइनन् त ?”
“यहाँ सुन्नु न, भन्दैछु । पहिला कस्तो मान मनितो गर्ने सासूससुरा त्यो पालि त वास्तै गर्दैनन् बा ! नमस्कार गरेँ, बस्नु नभने पनि बसेँ । खाना खान थालेपछि चाहिँ तीनै जनाले भन्नू नभन्नु भने है अनि । खाँदाखाँदै छोडेर हिँडिदिउँजस्तो लागेकोथ्यो तर हिँडिनँ । सुनिरहेँ ।”
“सह्यालु पो रहेछौ त है ?”
“त्यस्तो भइदे’को भ’त मलाई छोडेर के जाँदि हो र सर ! पहिला मैले भनेको थेँ, अहिले पालाको पैचो फेरे भनेर मन बुझा’र बसेँ नि । फेरि त्यो दिनचाँहि रक्सी नखाइ गा’को भा हुने र’छ । सासूसुराले त ल है गौरी के गर्छेस्; ज्वाइँ लिन आउनु भा’छ भनेर गए नि जाओस् जस्तो गरेका थे । तर ऊ बम्किन थाली हाली नि ! यस्तो जँड्याहासँग त मरे नि जान्न भनेर । अनि म भिजेको बिरालोझैँ लुरुलुरु एक्लै घर फर्किएँ ।”
“अनि फेरिफेरि पनि गयौ कि; त्यत्ति एकचोटि हो ?”
“रक्सी नछोडी लिन नआउनू भनेकी थिई । भोलिदेखि खान्न भन्दाभन्दै यो काट्टो पनि कहिल्यै छोड्न सकिएन । अनि त जानलाई खुट्टा उचाल्न पनि सकिनँ ।”
त्यसरी गौरीलाई लिन जाँदा रित्तै फर्केको भोला घरखेत, हाटबजार र मेलापात एक्लै गर्न विवश थियो । शनिबारको दिन, नुनतेल सकिएकोले साँघुटार बजारमा हाट भर्न झरेको रहेछ । म पनि झरेको थिएँ । झ्याप्प भेट भयो । उसले निकै मोलमोलाइ गरेर किनमेल सक्यो र भट्टीमा छिरेर एक बोतल लोकल रक्सी बिना सितन रित्यायो । अलिबेरपछि अझै थप्यो ।
म उसका क्रियाकलापहरू नियालिरहेको थिएँ । एकैछिनमा बाजागाजाका साथ एक हुल मान्छे अघि लागे । उसले झोला बोक्यो र लुसुक्क भीडमा छिर्यो । पाँच मिनेटजति अगाडि बढेपछि सबै रोकिए । त्यहाँ भव्य भोज चलिरहेको रहेछ । कोही खाने खाइरहेका थिए भने कोही नाच्न गाउनमा व्यस्त थिए । ऊ पनि अरुझैँ लाइनमा बस्यो र पालो कुरेर प्लेटभरि पुलाउ, काउलीको तरकारी, खसीको झोलवाला र कुखुराको फ्राइ मासु राख्यो । अब प्लेटमा थप केही चीज अट्ने ठाउँ थिएन । स्वाद लिइलिइ खायो चम्चाले । र, डकार्यो । त्यसपछि अरुले झैँ सानो प्लेटमा दही लियो । खायो । न्यापकिन पेपरले हातमुख पुछ्दै यताउता टहल्यो । लाग्थ्यो यस्तो परिकार उसले अहिलेसम्म एकैसाथ कहिल्यै खाने अवसर पाएको थिएन ।
यसकै हाराहारी स्वाद भएको खाना कहिलेकाहीँ गौरीले बनाउँथिन् र आफ्नै हातले खुवाउँथिन् । माया मिसिएको खानाको स्वाद आफ्नो ठाउँमा थियो र त्योभन्दा भन्दा स्वादिष्ट उनका कोमल हात लाग्थ्यो । उसले आज पनि सदाझैँ गौरीलाई सम्झ्यो र सम्झ्यो ती दिनहरू । जुन दिनहरू दुई ज्यान एकजस्तै थिए र थिए एकअर्काको पीरमर्का बुझ्ने मनहरू । त्यो बेलाको कुरा; जुनबेला ऊ रक्सी खान त के गन्ध पनि मन पराउदैनथ्यो । मातेको मान्छे देख्दा रिस उठ्थ्यो र एक्लै पनि बर्बराउथ्यो “जँड्याहाहरू…….”
यो बेग्लै कुरा थियो ।
जसरी उसको जिन्दगीको एउटा पयो घोराए परेको थियो; ठीक त्यसैगरी उसका हरेक घटनाहरू अस्वभाविक र बेमेल लाग्थे मलाई । रक्सी पिउन शुरुआत गर्दाको कहानी पनि अचम्मैको थियो उसको । साथीहरू जाँडरक्सी र चुरोट बिँडीका अम्मली भएपनि उसलाई यस्ता कुलतप्रति बहुत् घृणा थियो ।
बिहे पछाडि तिनै दाँवलीहरूले रक्सी खाएर सम्भोग गरे शीघ्र स्खलन नहुने र श्रीमतीलाई सन्तुष्टि दिन सकिन्छ भनेर खुवाउन मरिहत्ते गरे तर उसले मानेन । यद्यपि उसको मनमा यस्तो कुरा खेलिरह्यो ‘रक्सी खाएर सम्भोग गरे……।’ यसले उसलाई पछ्याइरह्यो । छोड्दै छोडेन । दिनभरि गौरी, गौरीका अङ्ग विन्यास , उनीसँग बिताएका पलहरू सम्झ्यो । कहिले रात पर्ला र खानपिन छिट्छिटो सकेर सँगै सुत्न पाइएला ! दिमागमा यही मात्रै कुरा खेलाइरह्यो । र, राती हतारमा काम सक्यो ।
श्रीमतीको गुनासो आयो “तपाईं त के के न गरौँला झैँ झम्टिनुहुन्छ तर दुई मिनेट पनि अडिन सक्नुहुन्न ।” उसलाई यो असह्य भयो । आफैलाई नामर्द सम्झ्यो र साथीहरूको सल्लाह अनुसार रक्सी नखाई आएकोमा पटकपटक धिकार्यो । अनि अर्कोतिर फर्केर सुत्यो तर राम्रोसँग निदाएन । र, भोलिपल्टदेखि रक्सी नखाइ घर फर्कनै छोड्यो ।
०००
उसले सोच्यो, यो कुनै ठूलाबडाकै काजभोज हुनुपर्छ । जो पायो त्यहीले यत्रो धुमधामका साथ काँ यसरी खर्च गर्न सक्छ र ! जे होस् वर्षौदेखिको भोक आजै मेटिएझैँ लाग्यो उसलाई । पेट छाम्यो, पुटुक्क उक्सिएको थियो । सबैतिरबाट विचार गरिल्यायो र अन्तिममा भोजको आयोजकलाई हृदयबाटै धन्यवाद दियो । हिँड्ने बेला उसलाई एउटा अर्को सोच आयो; जुन मनासिब नै थियो । धक फुकाएर मनैदेखि भोजको आयोजना गर्ने र यसको केन्द्रीय आकर्षण जो धेरै मान्छेहरूको भीडको बीचमा भएजस्तो ठानेर ऊ त्यतै लाग्यो । मिष्ठान्न परिकारले जिब्रो लठ्याइदिने, निशुल्करूपमा मनले मागेको भरपेट खान दिने मनकारी धर्मात्मा सज्जनवृन्दको दर्शन नगरी जानू त शोभनीय हुँदैन भन्ने ठान्यो उसले । भीड छिचोल्दै उसले सकेसम्म घाँटी तन्क्याएर सबैले हेरेतिर हेर्यो । सोफामा बिराजमान युगल जोडी जो मुस्कुराउँदै मान्यजनबाट आशिर्वाद ग्रहण गर्दै थिए ।
उसलाई आफूले टेकेको धर्ती भासिएझैँ लाग्यो । एकैछिनमा टाउको घुमाएर चक्कर लाग्यो र भाउन्न छुटेर आयो । सपनामा समेत हत्तपत्त नदेखिने खालको दुर्लभ दृश्य जुन आफ्नै आँखा अगाडि घटिरहेको थियो र ऊ सशरीर त्यहीँनेर ठिङ्ग उभिएको थियो । उसलाई समय र स्थानको ख्याल हरायो । आफूले आफैंलाई बिर्सियो ।
हो, त्यहाँ गौरी नव दुलहीको स्थानमा सगर्व बिराजमान थिइन् जो केही वर्ष अगाडिसम्म भोलाको हप्कीदप्की सहेरै श्रीमतीको भूमिका निभाइरहेकी थिइन् । त्यतिमात्र कहाँ हो र ? एकैछिन अघिसम्मन् गौरी र उनीसँग बिताएका पल र उनले बनाएको खानाको स्वाद सम्झिरहेको थियो ऊ ।
त्यसपछि भीडबाट फुत्त बाहिर निस्कियो र उकालो लाग्यो । म पनि उसैको पछिपछि लागेँ । ऊ त एक्लै फतफताइरहेको थियो, “साला आज स्वास्नीको बिहे खाइयो ! …..”
गफ गर्दै हिँड्दा बाटो कटनी पनि सजिलोसँग हुने र उभित्र गुम्सिएर रहेका भावनाहरू पनि सुन्न पाइने लोभमा मैले बोलाएँ ।
“ए भोला तिमी पनि यहाँ ! ल सँगै जाम् ।”
एकछिन त छक्क पर्यो अनि फिस्स हाँस्यो ।
त्यो हाँसोमा पीडाको मात्रा धेर थियो कि आफैप्रतिको व्यङ्ग्य धेरै थियो; मैले ठम्याउन सकिनँ । अनि कुरा शुरु गर्यो । “सर आज त मैले स्वास्नीको बिहे खाएँ नि !…….”
(ओखलढुङ्गा)