सिकार गर्ने बलवान्, सिकार हुने कमजोर । शक्तिको पूजा हुन्छ जहाँ पनि । त्यसैले शक्तिशाली जहिले पनि माथि, कमजोर सधैँ तल । चर्काे आवाज सुन्छ समाज पनि, मसिनो र कमजोर आवाज कसैको कानमा पुग्दैन । मान्छे स्वार्थप्रेरित छ । स्वार्थको परिपूर्ति बलवान्बाट मात्र हुन्छ, त्यसैले संपूज्य हुन्छ बलवान् ।
सत्यभन्दा अलिपर हुन्छ बलशाली । सत्यको सहारा लिँदा मानिस सधैँ तल परिरहन्छ । सत्यकामी मानिस सत्यको परिधिभन्दा बाहिर जाँदैन । बलको सहारा लिएर अघि बढ्ने मानिस सत्यको सीमामा बाँधिन सक्तैन । उसले सत्यको कमाइ मात्र खाँदैन । सत्यको कमाइले मात्र बलशाली बन्न उसलाई पुग्दैन । सत्यको आडमा बलशाली हुने र सत्यको बैसाखी टेकेर शक्ति आर्जन गर्ने विषयका आधारहरु फरक फरक छन् । तिनका मूलधारहरु फरक छन्, तिनका विकास र संरचनागत पद्धतिहरु फरक छन् र समाजमा स्थापित हुने तिनका पद्धति पनि फरक फरक छन् ।
तिनै बलशाली र ठूलो स्वर हुनेहरुबाट सत्यनिष्ठ तर कमजोर मानिस सधैँ सिकार हुन्छ । सत्यको आयु लामो हुन्छ, गति सुस्त हुन्छ । असत्यको आयु छोटो हुन्छ तर गति तीव्र हुन्छ । यही तीव्रता आजको युगको वास्तविक गति हो र स्वभाव पनि हो । क्षणभरका लागि भए पनि असत्यको गतिले सत्यको गतिलाई पछाडि पारिदिन्छ र विजयी बन्दछ ।
वर्तमान युगसुहाउँदो गति नै असत्यको गति हो । यस गतिमा वर्तमान समाजका अधर्मी, पाखण्डी, भ्रष्टाचारी, अनैतिक र दुष्टप्रवृत्तिका मानिसहरु चलायमान हुन्छन् । उनीहरु दिनलाई भन्दा रातलाई मन पराउँछन्, किनकि त्यस्ता मानिसहरुको स्वैच्छिक कर्म खासगरी रातमै हुन्छ । त्यसैले उनीहरुका लागि रात प्रिय हुन्छ, लाभदायी फलदायी र आनन्ददायी हुन्छ रश्रेयस्कर र प्रेयस्कर र यशस्कर हुन्छ ।
यस्तै खाले व्यक्तिहरुसँग म यदाकदा जोडिने गर्छु र हन्डर खान्छु । म चिन्न सक्तिनँ मानिस, म पस्न सक्तिन मानिसको मनभित्र । म बोलीमा विश्वास गर्छु र नैतिकताशाली आधार बनाउँछु तर म सधैँ फेल खान्छु । सत्यको आडमा चल्नेको एउटै कमजोरी हुन्छ, उसले सबैको बोली सत्य सम्झिन्छ र विश्वास गर्छ । म पनि त्यसै कोटीको हुँ कि जस्तो लाग्छ कहिलेकाहीँ ।
एउटैबाट बारम्बार धोका खाएको भए पो म उसबाट सचेत हुन्थेँ र समदूरीमा बस्थेँ तर म विभिन्न मन भएका, विभिन्न स्वभाव र चरित्र भएका फरक फरक मानिससँग जोडिन पुग्छु र सहयोगी हात बढाउँदा कुकुरले नपाउने दुःख पाउँछु । बैरीहरु जन्माउँछु र यदाकदा आफैलाई जोखिममा पार्छु ।
म आफ्नै मानिसबाट ठगिएँ, आफ्नै नातेदारबाट ठगिएँ, आफ्नै परिवारका मानिसबाट ठगिएँ । कि त मैले तिनीहरुसामू असत्य बोल्नुपथ्र्याे, मन मुटुलाई कठोर बनाउनुपथ्र्याे वा नाता वा मधुर बोलीमाथि कठोर वचन प्रयोग गर्नुपथ्र्याे । त्यसो गर्न नसकेपछि मानिस, मानिसको सिकार बन्नुबाहेक अरु उपाय के हुँदो रहेछ र ? आफूजस्तै अरुलाई ठान्नु र छद्मबोली पहिचान गर्न नसक्नुजस्तो अज्ञानता अरु के रहेछ र ? अनि त्यस्तो मानिस वर्तमान समाजमा कहाँ बाँच्न सक्छ र ? आफ्नो अस्तित्व जोगाउन सक्छ ?
हो, म कष्टसाध्य जीवन बाँचिरहेको छु यस वेला । मेरो जीवन स्थिर भइरहन सकेको छैन । मलाई कहिले भूकम्पले हल्लाउँछ, कहिले हुरी बतासले लडाउँछ । कहिले छिमेकीले तर्साउँछ, कहिले डढेलोले सल्काउँछ । म यिनै भुमरीबीचबाट उठ्न खोज्छु तर लडखडाएर पल्टन्छु । यदि खुट्टा बलियो बनाएर उठ्न खोजेँ भने मलाई घेरेर बसेका यिनै बैरीहरुले अंकुश लगाएर खुट्टा बटारिदिन्छन् र लडाइदिन्छन् ।
आमापछिको मामा होइन म कसरी भनूँ ? आमापछिकी दिदी र दिदीसँग जोडिएका भिनाजु आफ्नै होइनन् म कसरी भनूँ ? आफ्नै श्रीमतीसँग जोडिएको सहोदर भाइलाई मैले आफ्नो नाताबाट पर कसरी सारूँ ? काममा काम र साथमा साथ दिएको साथीलाई म किन विश्वास नगरूँ ? आफ्नै दाजुसमानको व्यक्तिलाई सङ्कट पर्दा म परपरै कसरी भागूँ ? तिम्रो काम बनाइदिन्छु तर बाटो फुकुवाका लागि अग्रिम अर्थभुक्तानी आवश्यक प¥योभन्दा कसरी दिन्नँ भनूँ ? आफ्नै सद्भावका कारण अथाह अर्थ आर्जन गर्न सफल व्यक्तिले पनि गुन नसम्झेर कैची काट्छ भन्ने कुरामा कसरी विश्वास गरूँ ? आफूले दिएको द्रव्यलाई उल्टै मैले लिनुपर्ने द्रव्य भनेर अत्तो थाप्ने असत्ती पनि दुनियाँमा हुन्छन् भनेर म कसरी कल्पना गरूँ ?
यस्तै यस्तै व्यक्तिहरुको अचानोमा परेको छु म र सम्झँदै छु, मानिसले एक दिन मर्नुपर्छ भन्ने कुरा किन भुल्छ ? अग्रजहरु काल कवलित भएजस्तै मेरो पालो पनि एक दिन आउँछ र मैले सबैथोक छाडेर भष्मीभूत हुनुपर्छ भन्ने कुरा किन बिर्सन्छ ? सधैँ भाग्दै हिँडेर हुँदैन । एक न एक दिन खोजकर्तासँग अन्त कुनै भेट नभए पनि घाटमा त अवश्य भेट हुन्छ भन्ने चेतना मानिसबाट कसरी हराएर जान्छ ?
सहयोग गरेको बदला, विनम्रता प्रकट गरेको बदला, विनयशीलता देखाएको बदला त्यसैलाई कमजोरी ठानी उसैले मलाई धम्क्यायो — के मलाई त्यति कमजोर ठान्यौ ? सापटी लगेको पैसा फिर्ता देऊ भन्दा अर्काे एक जनाले उल्टै मलाई चौबाटोमा कठालो समाई व्यइज्यती गर्ने धम्की दियो । यसैगरी एकपछि अर्काले मेरो कमजोरीको फाइदा उठाइरहे । अर्काे एक जनाले मलाई परिबन्दमा पारेर पैसा लिई पच्चीस वर्षसम्म दौडायो र मसँग लिएको पैसाले जग्गा किनबेच गरी शतांश पैसा दिएर उम्क्यो । अर्काे परममित्र भनी कहलिएको मानिसले भोलि भोलि भनी दिएको मितिले बीस वर्ष नाघ्दा पनि देखापरेको छैन । अर्काे छ एउटा नातापाता भित्रैको । उसले आफू उभिन सक्ने हुनका लागि यावत् सहयोग माग्यो र उभिन सक्ने भयो । उभिइसकेपछि शान सौगात देखाउनेमा लागेको छ तर पैसा फिर्ता गर्ने कुरा गर्दैन । बर्खा आउँछ जान्छ, तर उसलाई भने बाइस वर्षसम्म पनि बर्खाले रोकिराखेको छ ।
मैले प्राप्त गरेको मान–सम्मानलाई निस्तेज गर्न र मेरो उत्साह र जाँगरलाई कमजोर पार्न आफ्नै रक्तसम्बन्धी नाता त नभनूँ सम्बन्धले स्थापित पारेका नातेदारसमेत लागे । उनीहरुले मेरो स्वाभिमान झुकाउन खोजे । मेरो स्वाभिमानलाई अभिमान भन्दै गोटी बनाउन नसकेकोमा बदनाम गर्ने दुष्प्रयास पनि गरे । तर म झुकिनँ, बरु भाँचिएँ, टुक्रिएँ र एक्लै भएपनि उभिने अभ्यास गरेँ ।
आरोपहरुबाट आहत भएर गलेको भए म ढलेर उठ्नै सक्ने थिइनँ । उनान्सय गुणलाई ढाकेर एक अङ्कलाई उनान्सयमा परिणत गर्दा पनि मैले हिम्मत हारिनँ । विषालु अरिङ्गालहरु म वरिपरि भन्किँदा पनि मैले झिँगा तुल्याएर भगाउन सफल भएँ । तर बेइमानबाटकरतुत रोकिएन । नदेख्ने गरी पछाडिबाट हान्ने प्रयास भयो । तैपनि मैले सहनशीलताको सिद्धान्त अपनाएँ र जोगिएँ ।
बिर्सनै नसकिने दिन भने मेरा लागि नयाँ वर्षको दोस्रो मास भयो, जहाँ जोर अङ्कको संयोग थियो । त्यस दिन एउटी नारीकायामा भूत सवार भएको थियो । उसको थुतुनो छुराभन्दा धारिलो थियो । बोलीसँगै उसका चार हातखुट्टा पनि नाचेका थिए । यस अर्थ कि उसको वाहन एउटा बोको थियो । बोकोमाथि सवार भएर उसको मुखबाट कर्ण कटुवचनहरु बर्सिरहेका थिए, जुन वचनहरु सभ्य मानिसका लागि पाच्य थिएनन् । बलशाली वाहनको आडमा बल अरु थपिएकै कारण भूतसवार नारीगर्जनले उचाइ प्राप्त गरिरहेको थियो । त्यसै वेला बोको बुरुक्क उफ्रियो र खुट्टाले गालैमा हिर्कायो । घाउ त लागेन तर झननन झन्क्यो गालो धेरै बेरसम्म । त्यो हनाइ मेरा लागि अभूतपूर्व थियो, कल्पनातीत थियो र बिर्सिनसक्नु त छँदै थियो ।
यसैगरी ममाथि अरु पनि क्रुर प्रहारहरु भए ।कसैले ममाथि मिथ्या आरोप लगाए । सोच्दै नसोचेको कुरामा तैँले जानीजानी गरेको हो भनी दोषारोपण गरे । मैले प्राप्त गरेको मान–सम्मान असह्य भएर पनि वक्रदृष्टि प्रक्षेपण गरे । कसैले भने मनले सरापेर मुखले औपचारिकता पूरा गरे । यी सबैलाई मैले सहनशीलताको सिद्धान्त प्रयोग गरेर व्यवस्थापन गरेँ । यसै गर्नु नै मैले आफ्नो बुद्धिमानी ठानेँ ।
जीवनका यी आरोह अवरोहहरुमा उभ्याएर मैले कुनै वेला आफैलाई मूल्याङ्कन गर्छु— के ममाथि साढेसातीको छायाँ परेकै हो त ? राम्रो गर्दा नराम्रो परिणाम निस्कने, राम्रो सोच्दा नराम्रो गरेको आरोप लाग्ने, इत्यादि कुराहरु ग्रहदशा कै परिणाम हुन् त ! नत्र एउटा शान्त र सुस्थिर मानिसले ‘तैँले जानाजान यसो गरिस्’ किन भन्थ्यो ? कल्पना गर्न नसकिने मानिसले मेरो नियतमाथि शङ्का किन गथ्र्याे ? मुसाले गरेको बदमासीमा भ्यागुता बनेर चोट किन खानुपथ्र्याे ? साधु बस्नुपर्ने चौतारामा चोरलाई बसालेर साधुलाई सजाय किन दिन्थ्यो ?
मेरो राशिमाथि त ज्योतिषीहरुले निकै ठूलो आशा जगाएका थिए— ‘शनिदेव मकरराशिमा विराजमान भएपछि तिमी शक्तिशाली हुन्छौ, तिमी बलशाली हुन्छौ, समाजका अगाडि तिमी सम्मानित व्यक्तिका रुपमा गणना गरिन्छौ । तिम्रो तेज बढ्छ, तिम्रो ओज बढ्छ र जीवनमा सर्वाधिक सिद्धि प्राप्त हुन्छ ।’ तर किन यति चाँडै ज्योतिषवाणीहरु विफल हुँदै छन् र मेरो जीवनको उल्लास र उमङ्ग खुम्चिएर जाँदै छ ?
जिन्दगीका अनेक अवसादहरुबीच मानिस बाँचिरहेको छ । मानिसका आआफ्नै परिकल्पना र चाहना छन् । तिनलाई पूर्ति गर्न मानिसले सकिरहेको छैन र दुःखी छ । मानवजातिको खुशीका लागि आध्यात्म र भौतिक विज्ञानले निरन्तर काम गरिरहेको हुन्छ । यसलाई बुझ्न मानिस सक्षम नभएकै कारण मानिस दुःखी भएको हो । यसै असन्तुष्टिका कारण मानिस चिन्तित छ र कुकृत्य गर्न अग्रसर छ । यस मानव समूहबाट म पनि अलग हुन सकेको छैन र यसै अवसादको सिकार म पनि भएको छु ।
आजको युग, एकलकाटे युग हो ।मानिस समूहमा होइन, एक्लो भएर बाँच्न बाध्य छ । यसै भएर मानिस एक्लिँदै गएको छ । परिवार, नातागोता, साथीभाइ, छरछिमेक र प्रेमी–प्रेमीका बीचबाट मानिस एकोहोरिदै र समाजबाट टाढिँदै गएको छ । मन बहलाउनका लागि अहिले मानिसलाई मोबाइलको सहारा छ । ऊ त्यसैमा व्यस्त छ र मस्त छ । ऊ मोबाइलमै हाँस्छ, मोबाइलमै रुन्छ र विरक्त लाग्यो भने आत्महत्या गर्न पनि बेर लगाउँदैन । यस्तै पिरलोबाट समाज मुक्त हुन नसकेको कारण म पनि दुःखी भएको छु कि !
मानिस जन्मदादेखि नै ऐश्वर्यशाली बन्ने र अमृतै अमृतको कुवामा डुब्ने परिकल्पना गरेको हुन्छ । जब उसलाई चाहेको प्राप्त हुँदैन, तब ऊ बिच्छिप्त बन्छ र जीवनबाट नै मुक्तिको बाटो खोज्छ या उग्र भएर निस्कन्छ । तर मानिस नचाहेर पनि बाँच्नुपर्छ । सहनै नसके पनि सहनशीलताको खोजीमा लाग्नुपर्छ । बाँच्नु पनि मानिसको बाध्यता हुनजान्छ । यस्तै तनाव र इच्छाप्रतिकूल अवस्था पनि मानिस बाँच्छ । यस्तै बाध्यात्मक परिस्थिति बीचको जीवन भएर पनि त मैले सामाजिक संरचना बीच सिकार भएर बाँच्ने बाध्यता बन्यो होला !
कुनै वेला भने म सोच्छु मानिसले यो ग¥यो, ऊ ग¥यो भन्नु र समाजमा यो भयो, ऊ भयो भनी असन्तुष्टि प्रकट गर्नु मेरै कमजोरीका कारण त हुन् । म समर्थ हुन्थेँ भने ती सबै सामाजिक विकृति र विसङ्गतिहरुको पहिचान गर्न सक्थेँ र मानिसका स्वभाव चिन्न सक्थेँ । फलतः ती असङ्गत पक्षको म नजिकै पर्दिनथेँ । यसकारण आफू सिकार हुनुको पछाडि अरुलाई दोष दिनु मेरै अज्ञानता र मूर्खता हो भन्ने निष्कर्षमा पुगेको छु म यस वेला !
म ठिक भए पो अरु पनि ठिक हुन्छ । मेरो दृष्टि ठिक भए पो दृश्य ठिक हुन्छ । मेरो सोच सकारात्मक भए पो अरुको सोचमा सकारात्मक प्रभाव पर्छ । मैले लगाएको बिरुवाको राम्रो संरक्षण भए पो त्यो पौधा राम्रोसँग हुर्किन्छ र फल दिन्छ । मैले वायुको शुद्धीकरणमाथि ध्यान दिए पो वायुले मेरो स्वास्थ्य ठिक पार्छ । मैले खाने पानीको शुद्धताको संरक्षण भए पो मेरो स्वास्थ्यको संरक्षण हुन्छ । यी कमजोरी माथि मेरो ध्यान गएकै छैन । अनि मैले अरुलाई दोष किन दिनू ?
भनिन्छ नि, ‘जीवो जीवस्य जीवनम्’ अर्थात् जीव नै जीवको जिउने आधारश्रोत हो । मैले पनि जानेर वा नजानेर कसैको सिकार गरे हुँला ! र, त्यसैको बदला अरुबाट म सिकार भए हुँला ! यति पनि होइन भने पूर्वजन्म र परजन्ममा विश्वास गर्ने हाम्रो सनातन समाजमा मैले पूर्वजन्मको कसैको सिकार गरेको हुँला र त त्यसैको बदला यस जन्ममा अरुको सिकार हुन बाध्य भएँ हुँला ! यस सत्यलाई पनि त मैले स्वीकार्नुपर्छ ।
निष्कर्ष यही हो, जसरी भए पनि म अहिले सिकार भएको छु । त्यसमा पनि सबैभन्दा बढी सिकार भएको छु, पत्याउनै नसकिएको, कल्पनै गर्न नसकिएको, ज्यादै नजिकको सम्बन्ध राख्ने सिकारीबाट, जुन मेरो मन–मस्तिष्कबाट हट्न सकेको छैन ! सायद जीवन भर हट्ने छैन ।
(गुल्मी)