अनुहारका रेखाहरूले
बिथोलिदिन्छन् सुख सरोवरलाई
भत्काइदिन्छन् हर्षोल्लासको महललाई
सुरसासरी मुखबाएर
निलिदिन्छन् जीवनका कैयौँ यामहरूलाई
भाग्यरेखाहरूले
भनिन्छ असमानताको अलोकतान्त्रिक संसार खडा गर्छन्
केही नभए पनि यिनले
पथिकलाई मार्गबाट विचलित गराई
अवश्य रुमल्याउँछन् ।
समानान्तर रेखाहरू
कहिलै भेटिँदैनन्
कोही भन्छन् यी अनन्तमा भेटिन्छन्
अनन्त अर्थात् जसको अन्त नै छैन
ओहो यस्तो बिन्दुमा भेटिने कल्पना
जुनकहिलै भेटिन्न ।
प्रतिच्छेदित रेखाहरू
एकले अर्कालाई काटेर निस्कन्छन्
निर्ममतापूर्वक ।
यद्यपि कोण भने दिन्छन्
यो कोणको शीर्षविन्दु ती दुवैको साझाविन्दु अवश्य हो
तर त्यही निर्मम विन्दुबाहेक त्यहाँ अरू थोक साझा केहीहुँदैन ।
वक्ररेखाहरू
स्वयम्मै अलमलमा परेका छन्
कता जाने कुनै ठेगानै छैन
ई.सी.जी. को ग्राफजस्ता ।
सोच्दछु
यी रेखाहरू नकोरे के हुने ?
के जरुरी छ र समतललाई रेखाहरूद्वारा खण्डित पार्नु ?
ज्यामितिले भन्छ समतल स्वयम् रेखाहरूको समुह हो ।
भन्दछन् रेखाले देश बनाउँछ
तर म सोच्दछु
रेखाले देश कहाँ बनाउँछ
बरु रेखाले देश छुट्याउँछ,
रेखाले घर छुट्याउँछ,
रेखाले मनहरूमध्य सूक्ष्म पर्खाल खडा गर्छ
रेखाले सीमा निर्धारण अवश्य गर्छ
जुन निर्धारण पश्चात्
तिमी तिमी हुन्छौ
म म हुन्छु
हामी हुन सक्तैनौँ ।
म सोच्दछु
यी भूगोलका वक्र रेखाहरू नकोरे के हुने ?
आश्चर्य लाग्छ
एउटा जाबो रेखाले देश बनाएको भ्रम प्रबल पार्न सक्छ
देश छुट्ट्याउन सक्छ
देश टुक्र्याउन सक्छ
मानवता टुक्र्याउन सक्छ
विश्वयुद्धको मूल कारण बन्न सक्छ ।
कति धारिला छन् यी भूगोलका रेखाहरू
विश्व मानचित्रलाई रेटेका छन्
चोक्ट्याएका छन्
छिनालेका छन्
असंख्य चिराहरूमा चिरेका छन्
क्षतविक्षत तुल्याएका छन्
रुग्ण तुल्याएका छन्
मानवहृदयलाई
बाँझो पारेका छन्
मानिसदेखि मानिसलाई
सर्वाधिक त्रसित पारेका छन्
मानिसलाई मानिसको
महान् शत्रुको रूपमा स्थापित गरेका छन्
मानवीय भावनाको
खडेरी पारेका छन् ।
म मान्दिनँ यी भूगोलका रेखाहरूलाई
जसले मानवताको भाषा बुझ्दैनन्
रेखा भनेका पनि बिन्दुहरूकै समुह त हुन्
बिन्दुले अनेकलाई होइन
केवल एकलाई संकेत गर्छ
त्यही एक भनेको मूल एकता हो
त्यही एक भनेको मानवताको बिन्दु हो ।
बिन्दु भनेको म हुँ
मसँग हृदय छ
बिन्दु भनेको तिमीहौ
तिमीभित्र हृदय छ
त्यो हृदय
जसले प्राणीमात्रका लागि माया संगाल्न सक्छ
त्यो हृदय
जसले सधै सोध्ने गर्छ
आखिर यी रेखाहरू किन कोरिन्छन् ?
(कैलाली)