‘किनारामा उभिएको मान्छे’ कवितासङ्ग्रह शब्दहार क्रियशन काठमाडौंले प्रकाशनमा ल्याएको हो । यो कृतिका रचनाकार कवि प्रथा हुन् । २०७१ साल भदौमा प्रकाशित यस कवितासङ्ग्रहभित्र झण्डै तीन दशकका कविताहरू समेटिएका छन् । सग्रहमा चार दर्जन कविताहरू सङ्कलित रहेका छन् । छोटा र मध्यम गद्य कविताले भरिएको यो सङ्ग्रह स्वच्छन्दतावादी भाव धारामा अभिव्यक्त विचारको पुञ्ज हो । कतै श्रम गर्ने वर्गप्रतिको सहानुभूति कतै आफ्नो युवा सुलभ चेतना र प्रणय भाव त कतै राजनीतिको राप र तापलाई समर्थन गरिरहेको भाव यहाँ अभिव्यक्त भएको छ । कवितासङ्ग्रहभित्र सङ्कलित कविताहरूको भावभूमिलाई नियाल्दा र कविताको समयावधि हेर्दा कता कता विषयमा तालमेल हुन नसकेको हो कि भन्ने अनुभूत हुन्छ ।
सङ्ग्रहभित्रका कविताहरूको सर्वेक्षण गर्दा जीवन र जगत्लाई हेर्ने दृष्टिकोणसहितको कविको प्रस्तुति परिस्कृत रहेको पाइन्छ । अन्तिम अवस्थासम्म देशलाई बचाउने भनेका नै जनताले हो भन्ने भाव ‘भुइँमान्छे र देश’ शीर्षकको कवितामा रहेको छ ।
भ्रम नपरोस् मालिक
यो भुइँको स्वाभिमान बचाउन
हामी देशको पाइतालामुनि शिर थापिदिन्छौं । (भुइँमान्छे र देश, पृ. ८)
अर्थात् देशका निम्ति देशावासीले निर्वाह गर्ने भूमिकामा कहिल्यै गडबडी हुँदैन तथापि आफूलाई मालिक ठान्ने शासक देश बेचिरहेका छन् । ‘मेरी बसुन्धरा’ कवितामा कविले आफ्नो देश बचाउनका लागि छापामार तयार गर्न उद्घोष गरेका छन् र तन्नेरी माक्र्सहरू हुर्काउने दाबी समेत गर्न पुग्छन् ।
ओ मेरो क्रान्ति नायक !
यो माटोको जीवनरस रित्तिएर
खङ्रङ्ग सुकेको जिन्दगीको ब्याडमा
मान्छेको मूल्य जोखन ढक पल्ला बनाउन
के कुनै विचारको आरन हाल्न मिल्दैन ? (मेरो क्रान्ति नायक, पृ. ९)
कविको आह्वान आज पनि मिलिरहेको छ । देश पुनः विचारहिनताबाट गुज्रिरहेको छ । देशले उन्नत विचार नपाएका कारण र विचारलाई निर्णायक स्थितिमा पु¥याउने जननेता नभेटेका कारण यो सबै भएको हो भन्ने उनको दाबीसँग असहमत हुनुपर्ने कुनै कारण देखिँदैन । त्यसैगरी ‘मारङ्मोइको बैस’ कविताले पूर्वी नेपालका आदिवासी र श्रमजीवी जनताको पीडालाई घनिभूत रूपमा उठाएको छ । नारीलाई मनोरञ्जनको वस्तु ठान्नेहरूले श्रमिक महिलालाई जथाभावी गरेको प्रति कविको आक्रोश उचालिएको छ ।
‘बिलौनेको आरन’ कविता शोषण र दमनमा परेका दलितहरूप्रतिको न्यायपूर्ण समावेशिता हो । यस कविताले समाजको जरोसम्मै पुगेर आफ्नो व्यवहारिक पक्षको उत्खनन् गरेको छ । निकै नै रोषपूर्ण भावमा कविको आक्रोश आएको छ ।
अस्ति माईली बजैको ताप्के चुहियो
हिजो आरने सान्दाइले ताप्के टालिदियो
आज ताप्केमा गुदुगुदु खीर पाक्यो
र माईला बाजेले मीठो मानीमानी खाए । (बिलौनेको आरन, पृ. १४)
हाम्रो समाज आजसम्म पनि कानुको खिलापमा हिँडिरहेको छ । समाजभित्रको यस्तो विभेद हामी टुलुटुलु सहेर र हेरेर किन बसिरहेका छौँ ? प्रश्नको उत्तर अनुन्तरित नै छ व्यावहारिक रूपमा मनोविज्ञानले एकाकार बनाउन र विज्ञानलाई भित्र्याउन नसक्दा अझ कति भेदभावको क्रसरमा फुट्नु पर्ने हो लाखौँ दलित । यो समस्या वर्गीय समस्या हो भन्ने भाव समेत कविले उठाएका छन् ।
आज देश विविध खालका प्राकृतिक विपत्तिमा डुबिरहेको छ । एकातिर निम्न वर्गका मानिसलाई यसले प्रत्यक्ष असर पु¥याएको छ भने उच्च वर्ग र शासक वर्ग यसलाई नयाँ आयस्रोतमा बदलिरहेको छ ।
म उठ्छु अब
यो पहिरोको ओछ्यानबाट
र जुवामा नारिएका बुधरामहरू फुकाउँछु
हो म ब्यूँझन्छु अब
र त्यो मान्छे खोज्न जान्छु
जसले मेरो घरको उज्यालो बेचिरहेको छ । (पहिरोको ओछ्यानबाट, पृ. १७)
कविले यस कवितामा पनि वर्गीय मुद्दालाई नै उठाएका छन् । कविको नजरमा समाजभित्रका वर्गीय समस्या हल गर्नका लागि निम्नवर्ग अर्थात् शोषित जाग्नु पर्छ र जगाउनु पर्दछ । सायद त्यसै मर्नु मर्नु केही परिवर्तन गरेर मर्नुमा कल्याण छ कविको दूरदृष्टि र परिपक्व वर्गप्रेम झल्किएको छ ।
आऊ अभियन्ताहरू हो
यो हिउँको बस्तीमा सल्काऔँ
आगो आफ्नो नहुनेहरूको
देश आफ्नो नहुँदो रहेछ, फुर्लिमा (फुर्लिमा कान्छी, पृ. २३)
‘जसको शक्ति उसको भक्ति’ भन्ने उक्तिअनुसार शक्तिशालीहरू नै शासक बन्ने भएकाले अब अन्यायी राज्यका विरुद्धमा आगो नझोसी समानता र समृद्धिको जग बस्दैन त्यस्तालाई राज्यले गन्दैन पनि । निहत्या हुनु भनेको चुपचाप सहनु हो । कविताले अझसम्म पनि जङ्गबहादुरको स्तुति गाउनेहरूको कहिल्यै परिवर्तनको पाटो खोल्न नसक्ने भाव ओकलेको छ । जीवनको रङ बदल्न पहिचान गुमाएकाहरूको एकता अपरिहार्य छ ।
याद राख नायबीहरू हो
भोक – खाली पेट हो,
भोक – आफ्नो रङ हो
भोक – आत्मसम्मान हो
भोक – मूल्यबोध हो
र भोक – भुइँको माया हो । (भोक, पृ. २६)
भोकले नै क्रान्तिको जन्म दिन्छ र भोक निवारण गर्दछ । भोकालाई दबाउनु र बेवास्ता गर्नु भनेको भोकाहरूलाई जिस्क्याउनु पो हो त । कवि यस कवितामा यो भाव बोल्दछन् । ‘नियत’ कवितामा कवि सम्झौतापरस्त राजनीतिको सुन्दर वर्णन काव्यवाणीमार्फत् गर्न पुगेका छन् । कविले प्राप्त हुन लागेका अधिकारहरू पनि लोप हुने अवस्थामा पुगेकोतर्फ उदासीनता समेत व्यक्त गरेका छन् ।
यो छुत देशले
युद्ध नहार्दा–नहार्दै पनि हारिदियो
किनकि, उसलाई बिष्टहरू जिताउनुथ्यो । (नियत, पृ. ३३)
‘मेरो असली नाम’ शीर्षकको कविताले पनि पुनः जनता हारिरहेको र शासक रूपी तानाशाहको चेतना कल्याणकारी राज्यको कल्पनामा नभई जन दमनमै उतारिएको तर्फ ध्यान दिएको छ ।
ओ बादशाह !
चिनेनौँ मलाई
म तिम्रो पाइतालामुनिको भुइँ हुँ
उहिल्यै गुभाजुले न्वारानमा जुराइदिएको
मेरो असली नामचाहिँ देश हो । (मेरो असली नाम, पृ. ४१)
जनता कहिल्यै हार्दैनन् भन्नुको तात्पर्य जनता प्रयत्न गरिरहन्छन् सम्पन्न बन्नका लागि । तथापि शासक जनताको त्यो चाहना मार्न खोज्छ अनि खोज्छ जनदमन गरी आफ्नो सत्ता टिकाउन । आज पनि उत्तिकै रूपमा जागेको पहिचान र सिमाङ्कनको विवाद हक अधिकारको लडाई हो । कवि भन्छन्,
यो देशको मानचित्र तिमी भेट्दैनौँ भने
जरुरी छैन पारुहाङलाई
“श्रीमान् गम्भीर नेपाली” लोरी गाइरहन । (भूमध्ये रेखामा कित्ताकाट, पृ. ४७)
यो राष्ट्रिय गान पनि कि त स्तुति गान बन्यो कि त आदर्शवादी नारा । यसलाई पीडामा परेकाले पनि घोक्न के जरुरी छ र ? त्यो त सत्ताका भरौटेहरूलाई यो चाहिन्छ त । हो यही भाव ‘भूमध्ये रेखामा कित्ताकाट’ भन्ने कविताले बोलेको छ । ‘जीवनको रङ्’ कवितामा कविले विद्रोहात्मक चेतनालाई प्राथमिकता दिएका छन् । सधैं दमित भएर बस्नु नहुने विचार यहाँ मुखरित भएको छ ।
अब म हिँड्छु
मेमेदुङ छेम्बाको तरबार बोकेर
र कबड्डी खेल्छु मातेको बन्दुकसित ।
म ल्याउँछु अब
त्यो सेतो फूल टिपेर
र सिउरिदिन्छु तिम्रो चूल्ठोमा
आखिरी यो मन त तिम्रै हो म्हेन्दोमाया (जीवनको रङ, पृ ५३)
कविताले स्वच्छन्दतावादी भावलाई भित्री अन्तरमा विद्रोही चेतनाको स्वरूप दिएका छन् । कवि जातजाति बिचको सौहार्द प्रेमको चाहना राख्दछन् । ‘किनारामा उभिएको मान्छे’ कवितासङ्ग्रहभित्रको शीर्ष कविता हो । यस कविताले जे–जे भएको छ यो विश्व र सिङ्गो समाजमा त्यो हेरि बस्ने मान्छे बन्नु परेकोमा आक्रोश व्यक्त गरेको छ ।
जति सक्छौ कुल्च मेरो छातीमा
धित मरुन्जेल उडाऊ– यो आदिवासी धूलो
अब म उठ्ने बेला भएको छ
तिम्रो भरोसाको स्तम्भ ढलेपछि
सायद मैले नै यो भुइँको
अर्को नामाङ्कन गर्नुपर्ने हुन सक्छ । (किनारामा उभिएको मान्छे, पृ. ६०)
कविको समानता चेत र भेदभावप्रतिको आक्रोशका कारण आकर्षणको केन्द्रबिन्दु बनेको छ यो कविता । कवि विद्रोह पनि अत्यन्त कलात्मक र बुझ्न सकिने हिसाबले बोल्न पुगेका छन् ।
सङ्ग्रहभित्रका कविताहरूमा ‘विचारको लालटिन’ बालेर कवि आफ्नो देशको अस्तित्व र देशभित्र आफ्नो अस्तित्व खोज्न प्रत्येक नेपालीलाई आह्वान गर्न पुग्दछन् । कविले आफ्नो चेतनाको क्षितिजलाई पूर्वी नेपाल र नेपालभित्र मात्र सीमित गरेका छैनन् उनले त विश्वस्तरमा भए गरेका अनेकौं खालका ज्यादति थुपारिएका युद्धजन्य पीडाप्रति समेत असहमति जनाएका छन् । युद्ध त देश बदल्न र जनताको जीवनस्तर उकास्नका लागि हुनुपर्नेमा उनको भनाइ केन्द्रित रहेको छ ।
कवि प्रंथालाई कविताका आधारमा मूल्याङ्कन गर्ने वा कवि प्रथाको आधारमा कवितालाई मूल्याङ्कन जे गरे पनि एउटा प्रतिभा सम्पन्न कविका रूपमा कवितालाई नै बोल्न लगाउन सकिन्छ । कवि आधुनिक भन्दा प्राचीन, केन्द्रीय भन्दा स्थानीय र आम भन्दा अलि बौद्धिक विषयमा रमाएका छन् । सौन्दर्य शास्त्रीय छुट्टै शीर्षकका व्याख्या विश्लेषण गर्न उचित हुने उनका कविताभित्रको स्वरसन्धान हेर्दा कवि सामान्य विषयलाई विशिष्ट र विशिष्ट विषयलाई सरल दुवै ढङ्गले व्याख्या गर्दै काव्यिक रूप दिन सक्षम देखिन्छन् ।
यस ‘किनारामा उभिएको मान्छे’ कवितासङ्ग्रह एकोहोरो मात्र होइन धेरैचोटि नै पढ्दा पनि खड्कने एउटै कुरा के छ भने ६० का दशकको कविता एउटै पनि नपर्नु र निकै पछिल्ला विकसित घटना जस्ता लाग्ने विषयमा लेखिएका कविताहरू पनि निकै अगाडिको मितिमा रचित हुनु जस्ता पक्षले कविको उमेर, शिक्षा, संलग्नतातर्फ घोरिन बाध्य तुल्याउँछ ।
चिनेजानेको व्यक्तिको कोणबाट हेर्दा उनको प्रतिभा एकैचोटि कविताको आधारमा मात्र मापन गर्न सकिएला वा नसकिएला ? त्यो आगामी दिनले देखाउने छ । कविता वाचन र कविताको बनोट र बुनोटको स्तर हेर्दा बिम्व र प्रतीकलाई राम्ररी खेलाएर समाजलाई केलाउन सक्ने क्षमता राख्ने कवि हुन् भन्न सोचिरहनै पर्दैन । पटक पटक दोहोरिरहने भुइँ मान्छेको कथा र आरन, ठूल्कान्छी आदिको प्रसङ्गले कविताको कथ्य स्रोतमा नवीनता जरुरी देखिन्छ । शिल्प शैलीलाई निकै ध्यान दिइएको कविता भएर पनि अर्थिन भने कठिन भएकाले केही शब्दहरूले शब्द आडम्बरको भूमिका पो खेले कि त्यतातर्फ पनि सोच्नु उपयुक्त नै हुने देखिन्छ ।
समग्रमा कविताको पारखीका लागि विचारसहितको स्वच्छन्दतावादी प्रगतिवादी चेत भरिएका कविताहरूको मालाको रूपमा ‘किनारामा उभिएको मान्छे’ भए पनि केन्द्रमा खेलिएको भूमिका अनुरूपकै वैचारिक स्तर कायम राख्न कविताहरू सक्षम छ । कविले भनेजस्तै कविताले बोलेका कुरा नै कविको मूल्याङ्कनको कमी हुने भएकाले कवि प्रथा एउटै कवितासङ्ग्रहभित्रबाट सफलताको यात्रा तय गर्दैछन् ।