“हाम्रो पजेरो !” बुवाले हालै किनेको पजेरो भित्रबाट चियाउँदै हरिले सान झार्यो, “देखिस् मेरो डेडीको औकात !”
हरि सान झार्दै थियो गाडी कुदिहाल्यो । मनहरिले केही भनेन । झोला बोकेर शिर निहुराउँदै आफू पढ्ने सरकारी स्कुलतिर लुरुलुरु लाग्यो।
दुबैका बाबु एकै गाउँका हुन् । दुबै मध्यम वर्गका । लोकसेवासँगै पास गरे । सँगै जागिर खान थाले । धेरै भएको छैन दुबैका बाबु सरुवा भएर सँगै काठमाडौं आएको । एकै टोलमा बस्छन् यहाँ पनि ।
अर्को दिन आइफोन देखाउँदै हरिले सान देखायो, “डेडीले किन्दिस्या मलाई । कति पर्छ थाछ !”
नसुनेझैँ गरी मनहरि लुसुक्क कोठातिर गैहाल्यो । हरिलाई देख्नु हुन्न मनहरीको शिर लत्रिहाल्छ । मनमनै भन्छ, “यो मुलासँग किन भेट हुँदो हो !”
जम्काभेट भयो अर्को दिन । हरिले धाक देखाइहाल्यो, “आठ आनामा बनेको साढे चार तले घर किनिस्यो नि हाम्रो डेडीले । थोत्रो बाइकमा अफिस जाने, दुईटा कोठा भाडामा वस्ने तेरो बाउ जस्तो हो र मेरो डेडी !”
मनहरि पानीमा डुबेको मुसोजस्तो देखियो । लुसुक्क ऊ आफ्नो बाटो लागिहाल्यो ।
शनिबार टोलको चौरमा खेल्दै थियो मनहरी साथीहरूसँग । हरि टुप्लुक्क आइपुग्यो । आफ्नो बानी काईं नजानी । हरिले फेरि सान देखाउन थाल्यो, “हामी त अमेरिका घुम्न जाँदै छौँ नि ! युरोप छिरेर आउने भनिस्या छ डेडीले !”
केटाहरू वाल्ल परेर हरिलाई घेरे । मनहरिको कुममा हातले थप्थपाउँदै हरिले सान देखायो, “चिनेछस् मेरो डेडीको औकात् !”
“चिन्छु चिन्छु !” हमेसा नबोल्ने मनहरिले आज भने जवाफ फर्कायो, “भ्रष्टाचार मुद्दामा पुलिसले लगेर थुनेको तेरै डेडीलाई त हो….अझ भ्रष्टाचारीको अनुहार भनेर पत्रिकाले छापेको येमानको फोटो पनि तेरै डेडीको त हो, फुर्ती झार्छस् !”
हरिको शिर एकाएक लत्रियो । उप्रान्त कहिल्यै ठाडो भएन उसको शिर । मनहरिले भने त्यसदिनदेखि कहिल्यै शिर निहुँराउनु परेन ।