उनीहरू
देशबाट गाउँ आए
(गाउँमा राजधानीलाई देश भनिन्छ)
यता गाउँ रुङ्ने
डाँडाको घाम जूनबाट
एक थप्को आशिष् थापे
केहि थान सेल्फी खिचे
कोही कुवा पँधेरा
कोही खेतवारी घुम्दै
डिलिट हुनै लागेको झल्को मेटे
र दशैँ नसकिदै
लुसुक्क देश नै फर्किए ।
अचेल
गाउँसम्मै पुग्छ कच्ची रोड
बडो कथा छ यो रोडको पनि
गाविसले पालो मिलाएर दिएको अनुदानले केही
बिदेशमा श्रम बेच्नेले पठाइदिएको सहयोगले केही
गाउँलेको सचुवा थैली ⁄ आमा समुहको वचत
नपुगमा ऋण काढेर समेत
खनेको हो बाटो ।
पहिलेजस्तै पैदल हिँड्नु परे के आउँथे
रोड खुलेपछि
सपरिवार रमाउँदै
कोही भाडामा
कोही निजीमा
कोही रिजर्भ गरेर
कोही लिफ्ट मागेर
उनीहरू आए
र गाउँमा दशैँ आयो ।
उनीहरू आए
हो, उनीहरू आउँछन्
र पो चाड भन्ने थाहा हुन्छ गाउँमा
उता देशमा भने
सास्ती खेपेर जीवन धान्नेको लागि होस् कि
मस्ती लुटेर समय काट्नेको लागि होस्
चाड एउटा छुट्टै मजा !
तर यता
जोत्न छोडेको गोरु
थाक्न लागेको भैँसी, जे भए पनि
गोठदेखि घर, घरदेखि गोठ
सिरु फुलेको वारी
गोहो हरा’को वन, जे भए पनि
मेलोदेखि घर, घरदेखि मेलो
एकै थप्को भोक
वा एकै झप्को निन्द्रा न हो गाउँ
के मजा के नमजा ।
कोही दशैँ पेश्की
कोही अतिरिक्त बोनस
कोही नाफाको हिस्सा
कोही वचतको किस्ता लिएर
उनीहरू आए
र गाउँमा दशैँ आयो ।
हरिनाथले चिराचिरा परेको खुट्टामा
कति दिन टिक्ने हो
उनीहरुले ल्याइदिएको सेन्थेटिक जुत्ता
एक टुक्से तीनपाने
एकै स्वाँठ पार्ने मुखलाइ
कति दिन थेग्ने हो
उनीहरूले ल्याइदिएको शिलबन्दी रम ।
उनीहरू गाउँमै थिए, र पो मच्चिन्थ्यो
घुर्विसे डाँडामा रोटेपिङ
उनीहरूगाउँमै थिए, र पो घन्किन्थ्यो
कर्कुसे मेलामा जुहारी ।
कसैले सुनाए
तला थपेको⁄गाडी जोडेको
कम्पनी दर्ता गरेको, यस्तैयस्तै कुरा
कसैले सुनाए
छोरी अस्ट्रेलिया पढ्दै गरेको⁄छोरा अमेरिका पठाएको
बूढीले मास्टर डिग्री सकाएको, यस्तैयस्तै कुरा
कसैले सुनाए
गीतको एलवम निकालेको⁄कविताको किताव छपाएको
फिलिममा खेल्न थालेको, यस्तैयस्तै कुरा ।
आच्या ! टुसुक्क बसेर
एक खिली सुर्ती तान्ने
वा दिल खोलेर
एक खित्का हाँसो हान्ने
फुर्सद छैन गाउँमा
र पनि सधै उही⁄उस्तै, यस्तैयस्तै कुरा ।
जे होस्
उनीहरू आए र पढ्नै नपाएर
बाउकै हलोको सियोमा
हराउदै गएका हत्तुरामहरू भेटे
कोही पढेर पनि
गाउँको माया मार्न नसकी
मति बिग्रेका मत्थुरामहरू भेटे ।
उनीहरू आउँदा
दशैँ मात्र ल्याउछ
किन देश ल्याउन सक्दैन
सपना त उही हो क्यार मान्छेको
कता रहने अधुरा कता हुने पूरा ।
उनीहरू आउँछन्, आउदैछन्
फर्कदा हातमा लगाइ दिन
अलिकति घिउ र मह
अलिकति सिकुटी र तीनपाने
खाएर कि नखाएर
जोहो गर्छ गाउँ, उनीहरूकै मायामा ।
नाथे ! कर्कला पानी न हो जीन्दगी
आघौँसम्म रहने हो कि होइन
यो दशैँको सम्झना
थाम थामेर बसेको
धाम रहुन्जेलको लागि त हो
छोडी गएको गाउँको बाटो
नत्र त उनीहरू
देशले दिएको यती लामो छुट्टीमा
कि जम्छन् घरैभित्र
मस्त म्यारिजको खालमा
कि निस्कन्छन् बाहिर
अन्त कतै सुदूर टुरमा ।
(खोटाङ)