हाइकमानको अति गोप्य बैठक चल्दै थियो ।
अध्यक्षले कुरा राख्नु भयोऽ, ” हामीलाई राम्रोसँग थाहा छ । वहाँले गरेको कृयाकलाप मानवता बिरोधी तथा गैरकानुनी हो । यसबाट पार्टीको सामाजिक प्रतिष्ठा समाप्त हुन्छ तर के गर्ने ? वहाँ हाम्रो ठूलो महान् जिम्मेवार नेता हो । प्रहरीको फन्दा तथा न्यायालयको डण्डाबाट जसरी पनि वहाँलाई बचाउनु पर्छ । यसमा साथीहरूको के विचार छ ? राख्दा हुन्छ ।
उपाध्यक्षले आफ्नो कुरा राख्नु भयो, ” यो अति गम्भीर विषय हो । यसलाई सामान्य ठान्नुहुन्न । यस्तो कुरामा गुटबन्दी नगरेको राम्रो, नत्र हेर्नुहोला र लहरो तान्दा पहरो तानिन बेर छैन । किनभने विगतमा हामी सबैले आफु सत्तामा रहदा चरम भ्रष्टाचार गरेकै हो । कस्ता कस्ता कुकर्महरु सत्ता र शक्तिको दबाब र प्रभावमा मिलाएकै हो ।
अन्तमा महासचिवले कुरा राख्दै भन्नुभयो, “अध्यक्ष र उपाध्यक्ष महोदयको कुरासँग म शतप्रतिशत सहमत छु । हामी यतिन्जेल यसकारण साधु छौँ कि हामीलाई अहिलेसम्म प्रहरी अथवा अख्तियारले समातेको छैन तर हामीलाई थाहा छ यो देश डुबाउने हामी नै हौँ । हामी आफ्नो व्यक्तिगत स्वार्थका लागि समाजलाई बर्बाद गर्दै छौँ । हामीहरु धन कुबेर बन्न राष्ट्रलाई कंगाल बनाउँदै छौँ । हाम्रो असली पहिचान समाज सेवी होइन बरु हामी भ्रष्टाचारी र गद्दार हौँ । त्यसैले हडताल गरेर होस् वा साम , दाम , दण्ड , भेद , लोभ , मोहको पञ्च नीतिले होस् वहाँलाई कानुनी फन्दाबाट निकाल्नै पर्छ ।
(रगन्ज)