उ बेला जमाना नै अर्को थियो, हात्तीछाप चप्पलमा ती नेता गाउँ आउथे, भूमिगत शैलीमा पर्चा छरेर जनता जनार्दनलाई सचेतना फैलाउँथे । क्रान्ति र भ्रान्तिको अनेकन कथाले गाउँलेको रगत उमालेर आजै देश र जनताको मुक्तिको लागि मुठ्ठी कसेर अगाडि बढौँ भनेको अझै याद छ ।
कुनै बेला ती नेता निकै भलाद्मी थिए । गाउँमा मकै छर्न लाग्दा दिनभर उनले खेतमा डल्ला फोरेर बेलुका हाम्रै घरमा सुतेका थिए । दिनभर कोदो ठटाएर बेलुका ढिँडो र गुन्द्रुक खाएर मेरै बिस्तारामा सुतेर क्रान्तिका कथा सुनाउँथे उनले । उनका क्रान्तिका कुरा, लडाइँका कुरा, बर्गसंघर्षका कुरा सुन्दा मेरो पुरै रगत तातेर आउँथ्यो । उनैसँग क्रान्तिमा होमिन मन पथ्र्यो पनि तर आमा बाबाको डरले उनीसँगै म हिँड्न सकिनँ ।
उमेरमा नै हलक्क बढेको मलाई ठूला चप्पल र ठूला साईजका कपडा आबश्यकता पथ्र्यो नै । तर ती नेता आउँदा उनका चुँडिएका चप्पल मसँग साटेर नयाँ चप्पल लगाएर जान्थे । मलाई लाग्थ्यो, बजारको मुख नदेख्ने ती नेताले देशको मुक्तिको लागि मेरो चप्पल लगाएर नै त गए ।
एक दिन बाबाले मलाई नयाँ कोट किनेर ल्याइदिनु भएको थियो । जाडोको बेला एक जना आफन्तको बिहेमा जानको लागि उक्त कोट किनिएको थियो । म नयाँ कोट पाएर निकै प्रफुल्लित थिएँ । केही समय पश्चात ती नेता हाम्रो घरमा सेल्टरको लागि फेरि आए । उन्का च्यातीएको ज्याकेट देखेर मैले उनलाई मेरो कोट दिन खोज्दा उनले भनेको उत्तर यस्तो थियो, हेर यो कोट साभ्रान्त र हुनेखानेले लाउने हो । हामीजस्ता सर्बहारालाई कोटको त्यत्ति महत्व हुन्न । कपडा त लाज ढाक्नको लागि मात्र हो । लाज ढाकिए त पुगिहाल्यो । न्यानो भए त पुगिहाल्यो नि ।
वाह ! क्या गजब सोच ! मैले उनलाई मनमनै स्यालुट पनि गरेँ । उनी त्यही फाटेको ज्याकेट लगाएर नै गाउँमा भएको एक कोण सभामा सरिक भए । उन्का दमदार भाषण सुनेर मानिसहरूले तालीको बर्षा गरे । सबैको मुखले भनेको थियो, वाह ! नेता हुनु त यस्तो सादगी, सरल र इमान्दार र कर्तब्यनिष्ठ हुनु । हाम्रो घरमा आउने त्यो मानिस निकै उच्च कोटीको रहेछ भनेर म झनै गदगद भएँ ।
त्यसदिन देखि मेरो बाल मस्तिष्कमा कोट प्रतीको बितृष्णा जागेर आयो । साँच्चै यो कोट त धनीले पो लगाउने रहेछ । मैले त्यो दिन थन्क्याएको कोट आजसम्म लगाएको छैन । तिनै नेताले सिकाएको सादगी पनको आदर्श बोकेर मेरो बाल्यकाल बित्यो । समयले कोल्टे फेर्यो । देशमा ठूला क्रान्ति भयो । ब्यबस्था परिवर्तन भयो । राज्य सत्तामा परिवर्तन आयो । उनको भूमिगत जीवन समाप्त भयो । खुल्ला राजनीतिमा उनको पदार्पण भयो ।
अस्ति बजारमा हिँडिरहेको थिएँ । त्यहाँ सहिद चोकमा कोणसभा हुँदैरहेछ । मन्चमा लहरै मानिसहरू कुर्चिमा बिराजमान थिए । मैले तिनै कुर्चिका मानिसहरूको अनुहार निहालेर हेरेँ । ती मध्ये तिनै हाम्रो घरमा आउने मानिस थिए । तर परिस्थिती फरक थियो, कोट उनको भुट्ट परेको शरीरमा सजिएको थियो ।
वाह ! मानिसको सोच सापेक्षित हुने रहेछ । कोण सभादेखि कोटसभासम्म उनको हैसियत बनेछ । तर उनले भाषण गर्दा आज पनि यसो भने, ‘आदरणीय जनसमुदाय सादगी जीवनलाई अनुशरण गरौँ, अझै जनताको मुक्ति आएको छैन । त्यसैले हामीले यो कोणसभाको आयोजना गरेका हौँ ।’
खै म भने मन्चमा बस्ने सबैको कपडा नियाल्न थालेँ । कुनै एक जना मानिस थिएन जस्ले कोट नलगाएको होस् । मैले बाकसमा थन्केको पुरानो कोट सम्झेँ अनि त्यो मन्चमा अधिकांश अनुहार हेरेँ । जुन अनुहार धेरै बर्ष अगाडि मेरो गाउँमा कोणसभामा थिए र आज तिनै अनुहार कोटसभामा थिए । म अवाक् हुँँदै पुरानो थन्केको कोट र आदर्शका कुरा सम्झेर घरतर्फ लागेँ ।
तारेमाम् !
(लमजुङ)