गाउँमा रित्ताघरको संख्या बढ्न लाग्यो । गृहत्यागको साइत जुराएर पण्डितले निकै कमाए । बसाईं जानेको लर्कोले बाटाघाटो भरियो । बाटोको चिया खाजा पसल केही समय चम्किए । सबैको मुखमुखबाट निस्कियो, “जान्नेले बेलैमा गाउँ छोड्नु नै राम्रो । उता गए छोराछोरी पढ्छन् । गरिखान पाइन्छ । पैसा कमिन्छ । यहाँ के छ र ?”
गाउँ बस्न मन हुनेहरूलाई पनि साँच्चिकै हो जस्तै लाग्यो ।
“सबै मरेको ठाउँमा मर्नु अरे ! सबै हिँड्छन् तँ चाहिँ किन बस्छस् यो गाउँमा पछौटे छोडुवा भएर ? तेरो सन्तान भोलि संसारकै नालायक भएर निस्के के गर्छस् ? सबैका छोरा हाकिम होलान् । डाक्टर पढ्लान्, पाइलोट भएर पिलिन उडाउलान् तेरो छोरो गैरी खेतमा कोदालो हान्दै होला, हलो जोत्दै होला ? हैत ! तँ पनि हिँड् …।”
हिँड्ने योजना नहुनेहरू पनि बसाईं जाने बन्दोबस्त गर्न थाले । पाकेका बाली त्यत्तिकै छोडे । वस्तुभाउ बस्नेहरूलाई अनभराए । कटेरो मतान भत्काइ राखे । कसैले घरमै आगो लगाएर हिँडे । के के गरेनन् ? भने, “आखिर आफै नबसेपछि अर्काले राज गर्ला, बसेर रासलीला गर्लान् । हगिदेलान् । फोहोर मैला फालिदेलान् ।”
“साला ! यो मुला गाउँमा केही हुँदैन म त अब यही हिउँदमा बसै जान्छु । कोही नभाको सतीले सरापेको यो गाउँमा के बस्नु ?” कुरै कुरामा चियापसलमा एउटाले आफ्नो योजना सार्वजनिक गर्यो ।
चियापसलमा भेला भएकाले गाउँ फिजाए, “लु हरेराम त बसैं जाने अरे ।”
सबैले सुने ।
“हरेराम नै हिँडेपछि के गाउँमा बस्नु म पनि जाने हो बसैं । यो नाथु ठाउँमा के बसिरहनु ?” हरेरामको नजिकको कालुमानले अर्कोदिन चियापसलमा सुनाए ।
यसैगरी कालुमान बसाईं जाने सुनेपछि अरु पनि सँगै जाने निस्किए । गाउँका सबै बसाईं जाने योजना बनाउन लागे ।
“यो ठाउँमा केही हुनेवाला छैन । यो अलच्छिनी ठाउँमा बस्नुभन्दा मधेसमा अलिलि हुनेहरू त जाउन् पनि । आफू त यहिँ ठाउँमा किरा परेर मरिने भो ।” जेथा नहुनेहरूले यसै भने । अनि मलसाँप्रोले छोएपछि माहुरीले घार त्यागेभन्दा पनि सजिलोगरी घर गाउँ छोडेर हिँड्न थाले मान्छेहरू ।
सबैभन्दा बढी दुःखी टारघरे जेठाको छोरा ध्रुव भयो । जब चुनाबका बेला ऊ गाउँ आए । पिखुवाको गहिराइमा बेदना र वियोगको गहिरो घाउ भेट्यो । सिक्तेल खोलाको सुसाइमा अनन्त निराशा र पलायनका क्रन्दन सुन्यो । रित्ता घरमा चिरविराउने भँगेरा, बाँसघारीमा कराउने रुपी, चाँपका रुखमा गीत गाउने हलेसो … । ती सबै आफ्ना पुरानो थातथलोमा रमाउँदा मान्छेको मन किन बहकियो आफ्नै घरमा, आफ्नै आगनमा, आफ्नै टेकेको माटोमा ? उफ् ! ध्रुवले रातभर सोच्यो ।
“हाम्रो गाउँ किन यस्तो भएको होला ?” उसले भेटिएका जति मान्छेलाई सोध्यो, “यो गाउँमा केही हुनेवाला छैन ।” सबैको मुखबाट यहिँ सुन्यो उसले । “किन केही हुँदैन त यहाँ ?” उसले अर्को प्रश्न गर्यो । “के हुन्छ त यहाँ ? सबै मान्छे हिँडिसके ।” जवाफ आयो । “किन हिँडे त मान्छेहरू ?” “यो ठाउँमा केही हुँदैन ।” उत्तर एउटै । जे प्रश्न गरे पनि उत्तर एउटै “यो ठाउँमा केही हुँदैन ।”
ध्रुवले एउटै निष्कर्ष निकाल्यो, “गाउँप्रतिको गाउँलेको नकारात्मक धारणा नै यो हविगत हुनुको मुख्य कारक हो ।”
ध्रुव चुनावमा राम्ररी खटियो । उसकै पहलमा सँधै जित्दै आएका सांसद हारे । सुदेशले चुनाव जिते ।
सांसद चार महिनापछि दोस्रोपल्ट गाउँ गए । चुनाव जितेलगत्तै आएका थिए उनी अविरजात्रामा सहभागी हुन । थुप्रै बधाई पाए उनले ऊबेला । भारी माल्यार्पण भयो । साह्रै चोटिलो भाषण पनि गरे सांसदले । गडगडाहट ताली पाएर सांसद उत्साहित भएका थिए ।
तर सांसदको दोस्रोपल्टको गाउँ आगमन दुःखद बन्यो । उनको कार्यक्रम अस्वीकार गरे गाउँलेले ।
“अलिकति केही बोल्ने मौका दिनुहोस् ।” सांसदको स्वकीय सचिव ध्रुवले भन्यो । तर गाउँलेले सुनेनन् कुरा । सांसद चढेको गाडीमा ढुङ्गामुढा भयो । बल्लबल्ल ज्यान जोगाएर सांसद फर्किए ।
“यो सांसद पहिलेको जत्तिको पनि रहेन छ । पहिलेको सांसदले त मलाई एक बोरा चामल दिएका थिए ।” एउटाले भन्यो ।
“मलाई त झन उसलाई भेट्नु जाँदा उसको कोट नै दिएको थियो । यो फोन पनि नउठाउने सांसदलाई भोट दिएर गल्ति भयो ।” अर्कोले भन्यो ।
“कत्ति न विकास गर्छु भनेर कुर्लेथ्यो । गाउँमा मुख पनि देखाउन छोड्यो ।” अर्कोले भन्यो ।
“चुनाउका बेला पहिलेको सांसदले दिएको पैसाले सिरोक किनेको थेँ । यसपालि सबैले राम्रो छ भन्यो र यो सांसदलाई भोट दे’को, थुक्क !” अर्कोले भन्यो ।
“पहिलेको सांसद कार्यकर्तामुखी थियो । कार्यकर्तालाई योजना छुट्याएर बजेट बाँड्थ्यो र पो चुनाव जित्थ्यो । यो सांसद त्यस्तो रैनछ । अब यसलाई कसले दिन्छ भोट ।” अर्कोले भन्यो ।
“पहिलेको सांसदले एकैतालमा फोन उठाउँथ्यो । मैले कत्तिजनालाई जागिर लगाएँ उसलाई भनेर । अहिलेको सांसदलाई त्यसो भनो भने त पढौँ, सिप सिकौँ, क्षमता बढाउँ पो भन्छ बा ! अर्को चुनाव त आवस् न । ” अर्कोले भन्यो ।
“अँ ! हो यो सांसद पटक्कै जनतामुखी छैन । म अस्ति पासपोर्ट बनाउँदा उसकोमा गा’को थेँ । तपाईं पढेलेखेको मान्छे विदेश जाने र ? भनेर सोध्यो अनि बोल्दै बोलेन । के के न खाइदिएको जस्तो अनुहार कालो बनायो ।” अर्कोले भन्यो ।
“सबैको पीडा उस्तै हो भाइ हो । अब यस्तो सांसदलाई गाउँमा आउन नदिने । फेरि कसरी चुनाव जित्छ हेरौँ ?” कसैले भन्यो ।
“हो हो, हो हो , हो हो … । यसलाई गाउँ आउन कसले दिँदो र’छ हेरौँ ? जसले उसको सपोर्ट गर्छ तेसैलाई गाउँबाट निकाल्ने ।” कसैले भन्यो ।
“ठिक् ठिक् कुरा सही छ । ताली बजाउ साथी हो ।” एउटाले भन्यो । सबैले हुल्लडबाजमा पररर… तालि बजाए । सबैले सांसदको कुरा काटेर समय विताए । मेला, पधेंरा, चौतारो, चियापसल सबैतिर घण्टौँसम्म सांसदको कुरा काटिन थालियो ।
सांसद फर्किएको केही दिनमा टारघरे जेठाको छोरा ध्रुव गाउँ आयो । गाउँलेले उनलाई खाउँला जस्तै गरेर झपारे । “तँ मुलाङ साँसदको भरौटे गाउँ किन आइस् ? यस्तो स्वार्थी सांसदको दाहिने हात कार्यकर्ता तँलाई पनि हामी गाउँमा राख्दैनौँ । तैँले गर्दा हामीले यो सांसदलाई भोट देको । खोइ के नापो तेरो सांसदले ?”
सांसदको रिस ध्रुवलाई पोख्न थाले गाउँले । ध्रुव बहुत गम्भीर देखियो । गाउँले अझै पालैपालो उसमाथि रिस पोखिरहे । अन्तमा सबैका अगाडि हात जोडेर ध्रुवले भन्यो, “माफ गर्नुहोस् सम्पूर्ण गाउँलेहरू ! हो मैले भनेकै हो तपाईंहरूलाई कि यो सांसद अरुभन्दा भिन्दै छ । जनताप्रेमी देशभक्त छ । सोँच र सपना भएको छ भनेर । मैले भनेको सबैले मान्नु भयो । उसले जित्यो पनि । तर खासमा ऊ त्यस्तो मान्छे होइन रहेछ । त्यही भएर मैले उसको साथ छोडिसकेँ । उसलाई छोडेर म तपाईंहरूको साथमा आएको छु । जे गर्नुपर्छ म गर्छु तपाईंहरूको लागि ।” ध्रुवले भन्यो ।
ध्रुवसँगको रिस त मरेको थिएन तर खराव सांसदको साथ छोडेँ भनेको कुराले भने गाउँले खुशी भए । “अब हामी त्यो सांसदको कुरा गर्न छोडेर आफ्नो काम गरौँ । तपाईंहरू कोही पनि बसाईं नहिड्नुहोस् । हामी मिलेर यो गाउँलाई स्वर्गजस्तै राम्रो बनाउन सकिन्छ । मैले यो गाउँमा केही राम्रो हुने संकेत पाएको छु ।” ध्रुवले सबै गाउँलेलाई भन्यो ।
“तेरो कुरा सुनेर हामीले आफ्नो अन्नदाता नेतालाई गुमायौँ। अब हामीलाई उसले कहिले पत्याउने होइन । तेरो नेताको ताल त्यस्तो । अब हाम्रो संरक्षण कसले गर्छ ? नेता नभाको गाउँमा के बस्नु ? हामी अब तेरो कुरा पत्याउँदैनौँ ।” एकजना गाउँलेले मुख फोरे । प्रायजसोले मुन्टो हल्लाएर समर्थन जनाए ।
“भरै सपनामा विचार गर्नु होला, सुत्ने बेलामा सोचेर सुत्नु होला । हाम्रो गाउँमा अवश्य केही राम्रो हुनेवाला छ । लक्ष्मीले बास गर्नेवाला छ । हामी सबै सुखी र सम्पन्न हुने दिन नजिकै छ ।” ध्रुवले नम्र भएर भन्यो ।
“तँ को होस् र यस्ता कुरा थाहा पाइस् ? पढेलेखेको भएर पनि कसैको छोरा तँ जस्तो नविग्रिउन् …। तैंले गर्दा आज गाउँ सुनशान भइसको । सबै बसैं हिँडिसके ।” पूर्णेकाजीले मुखै फोरे । ध्रुव केही बोलेन ।
रातको समयमा भोलि बसाईं जानेहरू झोलितुम्बा कस्दै थिए मध्यरातसम्म । जाँडखानेहरूले होहल्ला गर्न थाले । ठूलाठूला स्वरमा कराएर बाझेको आवाज आउन थाल्यो । कोही घरमा श्रीमति कुट्न थाले । रुवाबासी र नानीहरूको कोलाहल सुनिन थाल्यो । कुकुरहरू भुक्न थाले । गाउँको यो रातको नियमित क्रिया थियो । त्यो रात पनि दोहोरियो । यहि समय मध्यरातमा पीपल चौतारामा एकदमै कर्णप्रीय गीत गुञ्जियो ।
बसाईं हिँड्नेको ताँतीले
बस्नेको मन रुवाउँछ
लाखौँको लागि स्वर्ग छ यो ठाउँ
अल्छेहरूलाई त नर्क छ
आफ्नै घर आगन स्वर्गीय लाग्छ खरानी कसले घस्दछ ?
उज्यालो दिन धर्तीमै छोडी अँध्यारो नर्क को पस्दछ ?
पूर्वी क्षितिजमा घामको पहिलो किरण आउन खोज्दैछ
मुटुलाई मान्छे बन्धकी राखी कृतिम हाँसो रोज्दैछ
बसाईं हिँड्नेको …..
दोहोरिरह्यो गीत । सबै गाउँलेले सुने । यति राति पीपल चौतारोमा को आएर यति मिठो गीत गायो भन्ने खुलदुली भयो सबैलाई । सल्लाह गरेर एकहुल गए पीपल चौतारोमा । तर त्यहाँ गीत मात्रै बजिरह्यो । कोही मान्छे थिएन । कुनै माइक्रोफोन पनि जडान भएको थिएन । सबै छक्क परे ।
विहानै प्रभाखरकी श्रीमतिले पँधेरामा सुनाई, “हैन लु ध्रुवले भनेको कुरा त सही रहेछ । थारियो भनेर काटिखानेलाई बेच्न ठिक पारेको हाम्रो भैँसी आज रातिदेखि कमलाएछ । ध्रुवले त हिजो भन्दैथ्यो यो गाउँमा केही राम्रो हुने संकेत पाएको छु भनेर ।”
पँधेराबाट गाउँ भरि हल्ला चल्यो । यहिँ कुरा प्रभाखरकी श्रीमतिले भेटेका बेला ध्रुवलाई पनि सुनाइन् । “हो त नि भाउजू ! हाम्रो गाउँ चाँडै स्वर्ग जस्तो बन्दैछ । यसका लागि हामीले काम गर्नुपर्छ । घर सरसफाई गर्नुपर्छ । घर झगडा गर्नु हुँदैन ।” ध्रुवले भन्यो । गाउँभरि हल्ला चल्यो । बाहिर बाहिर ध्रुवको कुरा काटे । तर भित्रभित्र सबैले आआफ्नो घर सफा सुग्घर गर्न थाले ।
“तीन महिनादेखि बेखवर भएको छोराको फोन आयो आज राति । हिजो घर अगाडि सुन्तालाको रुखमा काग कराको थ्यो । होइन मलाई पनि कस्तो खुशी लागेको छ । साँच्चै राम्रो हुन्छ होला हगि ?” पँधेरामै सीतादेवीले भनेकी थिई ।
“होइन ध्रुवेले भनेको कुरा सही हो कि के हो ? आज राति सपनामा मैले गाग्रीमा पानी भरेर घरभित्र हुलेको देखेँ ।” सुन्दरमानले चिया पसलमा भन्यो ।
“मलाई पनि कस्तो कस्तो चंगा महशुस भइरहेको छ ।” छत्रबहादुरले पनि सही थाप्यो । चिया पसलका अरु रन्थनिए । यतै राम्रो भइहाले किन बसाईं जाने र ? बसाईं जान ठिक परेकाहरूको मनमा पनि पर्यो ।
“लु हाम्रो गाउँमा अब केही हुन्छ होला ।” सबै भन्न थाले ।
“होइन हौ हाम्रो गाउँमा के के हुन थालो हौ ? कस्तो राम्रो गीत थ्यो हौ मत रुन मन लागेर ।” मतानघर माइलाले भन्यो ।
चिया पसलमा रातिको चर्चा चुलियो, “कसले गीत गायो पीपल चौतारामा ? यो ध्रुवेकै ताल हुनुपर्छ ।” गंगारामले भने ।
“जो होचो उसैको मुखमा घोचो चाहिँ नगर है गाँठे ! ध्रुव त आज राति हाम्रोमा छ । मेरो शम्भुसँगै बसेको हो । विहान ऊ कोठैमा छ ।” सूर्यधनले भने ।
त्यत्तिनै बेला शम्भुसँग ध्रुव पनि चिया पसलमा आइपुग्यो । ध्रुवको अगाडि सबै तैंचुप् मैंचुप भए ।
“सबैजनालाई बोलाएर छलफल गरुँला भन्दै थिएँ । सबै यतै भेटिनु भयो । अब हामीले हाम्रो गाउँको भविष्यको बारेमा केही गुरु योजना बनाउनु पर्छ । त्यसको बारेमा छलफल गरौँसबै बसेर ।” ध्रुवले चियाको घुट्की लिँदै मुख खोल्यो ।
“के को गुरु योजना बनाउँछस् ? तेरो आफ्नै योजना छैन । पढेलेखेको भएर खै के गर्न सकिस् तैंले ? तेरो ताल सिकेर हाम्रा छोराबेटा पनि विग्रेलान् भन्ने डर भैसको ।” तुलप्रसादले भने ।
“तोइ ता गाम मासानघाट जास्तो सुनशान भाइसाको के को योजना बानाउँछ ? आफूता हिन्छा याहीँ साल ।” आसेङले थपे ।
“ठिकै हो मैले त पढेर केही गर्न सकिन । तर अब भोलिका भाइ बहिनीहरूले पनि मैले जस्तो पीडा भोग्नु नपरोस् भन्ने चाहाना छ मेरो । मैले आफूले पढे अनुसारको काम केही पनि पाइनँ । पढाइ र कामको सम्बन्ध जोडियोस् भन्ने लाग्छ । अब गाउँको कुरा जहाँसम्म आसेङ काकाले भन्नुभयो त्यो हाम्रै मति र बुद्धिले यस्तो भएको हो । गाउँमा मान्छे हिँडिसके । गाउँ सुनशान भयो भन्ने कुरामा म सहमत छु । तर आफू पनि गाउँलाई छोडेर हिँड्न म चाहिँ सक्दिनँ । यो हाम्रो थातथलो हो । हामीले धर्तीमा पहिलो पाइला टेकेको ठाउँ हो । यो ठाउँलाई यत्तिकै छोडेर हिँड्नु भनेको आफ्ना बाआमा रोगी र बूढा भए भनेर उनीहरूलाई जंगलमा लगेर बेवारिश छोडिदिनुजस्तै अधर्म हो ।” ध्रुवले नविसाइ भनिरह्यो । अरु पनि चुपचाप सुनिरहे ।
भोलिपल्ट विहानको समय सबैजना पीपल चौतारामा भेला भए । महिला पुरुष सबै आउनुपर्ने उर्दी थियो । ध्रुवले बोलाएको थियो यो भेला । शम्भु थियो ध्रुवको सहयोगी । सर्वप्रथम परिचय कार्यक्रम भयो । सबै गाउँमा परिचित नै थिए तर फेरि सबैले नौलो तरिकाले परिचय दिए । परिचयमा जीवनमा आफूले पुरा गर्न नसकेको जीवनको उद्येश्य, अहिलेसम्म पुरा हुन नसकेको धोको बताउनु पर्ने भयो । लाज धक मान्दै भए पनि सबैले आफ्ना कुरा खोले । जुन विषय सन्दर्भसँग जोडिए पनि सबैको उद्येश्य र पुरा हुन नसकेको धोको धन, सम्पत्ति, मान, सम्मान र जीवनका खुशीसँग जोडिएका थिए । छलफल गाउँको विषयमा सुरु भयो । समूह छलफल राखियो । पाँचवटा समूह बनाए ध्रुव र शम्भुले ।
१. तपाईंलाई कस्तो गाउँ मन पर्छ ? २. गाउँको असल समाजका विशेषता के के हुन् ? ३. मान्छे किन बसाईं हिँडे ? ४. बसाईं सराइ रोक्न ककसले के के गर्न सकिन्छ ? ५. हाम्रो गाउँमा के के विकास गर्नु आवश्यक छ ?
छलफल दिनैभरि भयो । खाजा नास्ताको व्यवस्था ध्रुवले गरे । ध्रुवले सबै आएका कुरालाई लिपिबद्ध गर्यो र सबै माझ छलफल गर्यो । गाउँको योजनाको प्राथमिकीकरण गर्न लगाएर सूचि तयार गर्यो । छलफल सकिएपछि कसैकसैले भने, “के के न गर्छ भनेको त दिनभरि वेपत्ताका बकमफुसे गफ गरेर राखो । उसको पो काम छैन र ? ” फेरि ध्रुवको कुरा काटियो ।
धु्रव भोलिपल्टदेखि बाँझिएको टारी खेतको झाडी फाँड्न थाल्यो । बनमाराले पुरै जेलेको खेतमा बाघ लुक्ला जस्तो झोडी भैसकेको थियो । बाआमा बुढा भए । ध्रुवका जेठा दाई अरब बसेको दस वर्ष भयो । धु्रव पनि पढ्न गाउँबाट काठमाडौँ गएपछि बाँझिएको थियो त्यो मानामुरी फल्ने आफ्नै पानीको मूल भएको टारी खेत । फेरि पूर्णेकाजीको भनाइलाई सबैले समर्थन गरे, “पूर्णेकाजीले त भन्दैथ्यो ध्रुवे त साँच्चिकै विग्रे छ । बौलाएछ कि के हो ? विचरा टारघरे बूढाले त्यत्रो खर्च गरेर पढाए खोलै खोला गयो । पढेको के काम भो र ? बाँझिएको खेत पो फाँड्न थालेछ ।”
“त्यै त राम्रो देश जान नसके पनि अरबसरब गा’को भा पढेको खर्च त उक्सिन्थ्यो । काहीँको नेताको पछि लागि हिँडो । कता हो गाउँ समाजको परिवर्तनको गफ चुट्थ्यो । अहिले मरिच चाउरिए जसरी …मा मुख लाएर खेत खन्दै छ ।” ध्रुवको कुरा काट्नेहरूले भने ।
हप्तादिनपछि फेरि ध्रुवले गाउँलेलाई पीपल चौतारामा बोलायो । सबैले पत्याएनन् । आएनन् सबै, केही आए । ध्रुवले सुनायो, “हाम्रो गाउँमा तपाईंहरूले भने अनुसारकै चाँडै खानेपानी र कुलोको योजना चल्दैछ । त्यसको लागि सबैको सहमति चाहिन्छ । यो कुरा गाउँभरि सुनाउनु र भोलि फेरि सबैलाई यहिँ चौतारोमा आउनु भन्नु ।” ध्रुवले खवर पठायो ।
योजना भनेपछि मरिमेट्ने गाउँले पछि परिएला कि भनेझैं गरी भेला भए । बजेट बचाएर खान पल्केकाहरू ध्रुवको पाउ मोल्न थाले । ध्रुवले फेरि भन्यो, “यो पहिलेको जस्तो बजेट होइन । यसमा आफूले धेरै खट्नुपर्छ । खानेपानी योजनाको लागि पाइप पाउनु हुन्छ । गिट्टी बालुवा तपाईहरू आफैं खोज्नुपर्छ र काममा निःशुल्क खट्नुपर्छ । सिंचाइको लागि आवश्यक सर सामग्री पाउनु हुन्छ तर काम आफै गर्नुपर्छ ।”
सबैले ओँठ लेप्य्राए । खासखुस गर्न लागे ।
“बजेट कति हो ? कहाँबाट आएको हो ? यहाँ त बहुत शंका पो देखियो त ?” एकजना उठेर भनिहाल्यो ।
“तपाईं हाम्रो माथिको सर्तमा सहमत भएपछि मात्रै बजेट दिने भनिएको छ ।” ध्रुवले भन्यो ।
“होइन होइन खान पल्केकाहरूलाई त शंका लागि हाल्छ नि ! मलाई चाहीँ यो कुरो खुव मन पर्यो । बरु सबैले बोलुम् न कस्तो लाग्यो ? भनेर ।” मधुकरले भने ।
अघि बोल्ने मान्छे मधुकरपट्टि जंगिए । एकछिन भनाभन भयो ।
“तिमेरको रमिता हेर्न आको होइन हामी । मन परे गर्न सके सकिन्छ भन नसके सकिँदैन । पानी पनि खाँदैनौँ, सिंचाइ पनि गर्दैनौँ । म चाहिँ घरमा धारा ल्याउँछु । खेतमा कुलो ल्याउँछु । सर्त अनुसार काम गर्न तयार छु । मुलाहरू गलबाजी गरिबस्छ …।” युवा शिवशंकर कड्किए ।
दुवै अति आवश्यक थियो । उनीहरूले नै पहिलो आवश्यकताको सूचिमा राखेका थिए । अन्ततः सबै राजी भए । सर्त सहितको खानेपानी योजना र सिंचाइको योजना चलाउन ।
“कुलो निर्माण भइ सकेपछि सबैले आआफ्नो खेतबारी बाँझो राख्न नपाउने सर्त छ ।” ध्रुवले अन्तिम सर्त राख्यो ।
“काम गर्ने मान्छे पाइँदैन । खेतालाको पैसा भन्दा उत्पादन कम हुन्छ । कसरी बाली लाउनु र ? म त बरु कुलो पनि लेउँदिन ।” कुलमानले भने ।
“एउटाले गर्दा सबैको भाग्यमा ग्रहण लाउन पाइँदैन ।” अर्कोजनाले प्रतिकार गर्यो ।
अन्ततः सबैले यो सर्त स्वीकार गरे । सबै गाउँले काममा खटिए । सोधे ध्रुवलाई, “हैन यस्तो राम्रो योजना कसले दियो हामीलाई ?”
“मैले भनेको थिएँ नि हाम्रो गाउँमा केही राम्रो हुनेवाला छ । त्यही हो । भगवानले तँ चिता म पु¥याउँछु भन्छन् रे । अझै हेर्दै जानुस् के के हुँदै जान्छ ?” ध्रुवले भन्यो ।
ध्रुव आफ्नो काममा पनि खटिरह्यो । उनले खेतका झ्यासम्यास डढायो र पुरानो कुलो सखारेर सित्तेल खोलाबाट पानी ल्याएर भिजायो । खेतको मुहार नै बदलियो । खेत खनी जोती गरेर ध्रुवले खेतमा आलु रोप्यो । केही गरामा काउली र रायो साग रोप्यो । कुरा काट्नेहरू काटिरहे ध्रुव काम गरिरह्यो । उसको खेतमा नियमित खनजोत र गोडमेलमा खेताला खटिइरहे ।
रोपेको एक महिना पछि ध्रुवको रायो साग लहलह भएर आयो । उसले स्थानीय बजारमा बेच्न लग्यो । नविकेका सागको गुन्द्रुक बनाएर सदरमुकाममा बेच्यो । गाउँमा हल्ला चल्यो, “ध्रुवले साग मात्रै चालिस हजारको बेच्यो । काउली पचास हजारको बेच्यो ।”।
अरु चार महिनापछि फेरि हल्ला चल्यो, “ध्रुवले अढाइ लाखको त आलु मात्रै बेच्यो रे ।”
सबै छक्क परे ।
“उसको त खेतमा पानीको मूल छ । सिंचाइ गर्ने कुलो छ र पो गर्यो त । हाम्रो जति गरे नि हुँदैन ।” फेरि कुरा काट्ने निस्किए ।
त्यतिन्जेलमा उसले दुईवटा माछा पोखरीमा माछा भराइ सकेको थियो । सयभन्दा बढी बाख्रा बनाइ सकेको थियो । केही महिनापछि फेरि हल्ला चल्यो, “ध्रुवले डेढलाखको बाख्रा बेच्यो । तीस हजारको माछा बेच्यो ।”
उसले एकवर्ष पनि नपुग्दै सरकारी शिक्षकले वर्षभरिमा पाउने तलबभन्दा बढी पैसाको कारोबार गरेको सुनियो ।
अरुले पनि ध्रुवको सिको गर्न थाले । पहिले ध्रुवलाई विग्रेको भन्नेहरू आफ्ना बराला छोरालाई काम सिकाइदिन भन्न थाले । ध्रुवले आफू रातदिन खटेर गाउँलेलाई पनि सघाउन थाल्यो । कसैको जग्गा बाँझो रहेन । अन्नबाली, फलफूल र तरकारीमय भए । आफ्नै घरमा राम्रो आम्दानी गर्न थालेपछि बल्ल गाउँलेले बसाईं हिड्ने कुरा गर्न छोडे । व्यवस्थित सडक योजना सकियो । सिक्तेल खोला सामुदायिक हाइड्रो चलायो र गाउँ झिलिमिली बनायो । नियमित सरसफाइ अभियान चलायो । काम भएपछि मान्छेलाई रक्सी खाने र झगडा गर्ने समय पनि कम हुने रहेछ । दिनभरि काममा खटेपछि राति हल्ला गर्नेहरू कम हुँदै गए । “हाम्रो गाउँ निकै सुध्रियो ।” सबैले खुशी व्यक्त गर्न थाले ।
सामाजिक कोष खडा भए । जसले गाउँलेको शिक्षा र स्वास्थ्यमा राम्रै लगानी गर्न थालियो । गाउँमा एउटा सामुदायिक हस्पिटल बन्यो । बाह्रैकाल डाक्टर राखियो । स्कुललाई बालमैत्री बनाइयो । पढेलेखेकाहरूले स्वतः स्फूर्तः स्कुलमा योगदान दिए । अभिभावकहरू यति सचेत भए कि गाउँपालिकालाई जीवनमुखी शिक्षाको पाठ्यक्रम बनाउन दबाद दिन थाले । त्यही कोष परिचालन गरेर गाउँमा जग्गा विहीनहरूलाई व्यवसाय गर्ने मौका दिइयो । सित्तेल खोला र राउते खोलामा दिउँसो माछा मार्ने केटाकेटी भेटिन छोडे । स्कुल जाने समयमा ग्याटिस बोकेर चरा खेद्न जाने केटाकेटी भेटिन छोडे ।
कामैकामले यस्तो सामाजिक नीति नियमहरू बनिए । सबै नियम र अनुशासनमा बाँधिन थाले । गाउँलाई मसानघाट भन्नेहरू गाउँलाई स्वर्ग भन्न थाले । बसाईं सरेर गाउँ त्याग्नेहरू फेरि गाउँ फर्कन थाले । मान्छेहरू आफैं चकित भए, “आखिर यो सब कसरी भयो ?”
“ध्रुव हाम्रो भगवान हो । यसपालिको चुनावमा हामी उसैलाई नेता बनाउनु पर्छ ।” गाउँका मान्छेहरू भन्न थाले ।
एकाएक देशमा डिंगो रोगको महामारी फैलियो । एकदिन ध्रुवले फेरि पीपल चौतारामा सबैलाई बोलायो र घरको आवश्यक्ता अनुसार झुल वितरण गर्यो । झुल न्युनतम शुल्कमा बाँडियो र उठेको रकमबाट कसैलाई डिंगो भइहाले त्यहीं कोषबाट उपचार खर्च गर्ने भन्ने सर्त भयो । गाउँमा यस्ता सामुदायिक कार्य नौला थिएनन् । सामुहिक काम गर्ने बानीको विकास भइ सकेको थियो । सबैले ध्रुवको भनाइ माने । नभन्दै गाउँमा दुईजनालाई डिंगो भयो । गाउँलेको तरकारी बेच्न धरान गएका बेला ध्रुवलाई डिंगो लागेको थियो ।
ध्रुवलाई डिंगो भएको सुनेर सारा गाउँ दुःखी भयो । उसको ख्याल गर्ने एउटा टिम नै बनाए गाउँलेले । साथमा अर्का विरामीलाई पनि राखियो । घरका मान्छेले केही गर्नै परेन । स्थानीय डाक्टरको निगरानीमा उसलाई प्रशस्तै पौष्टिक आहारा खुवाइयो । एक महिनापछि ती दुवै जस्ताको तस्तै तङिरए ।
पार्कको योजना अधुरो थियो । तीन महिनाभित्र जसरी पनि सक्नुपर्ने भनेर ध्रुव गाउँका युवासँग रातदिन नभनी खट्न थाले । स्थानीयहरूको सक्रियतामा रक गार्डेन, सुनाखरी स्टल, गुराँस स्टल लगायत अन्य स्थानीय फूलहरूको सजावट भयो । पानी पोखरी, पोखरीमा अविरल पानीको फोहोरा । बाँस र काठका मुडाबाट बनेका खरको छानो भएका सुन्दर कटेजहरू निर्माण भए । झ्याउ र बुट्यानहरूको सजावटले पार्क साह्रै मनोहर देखियो । केटाकेटीको लागि छुट्टै फन पार्क निर्माण गरियो । व्यवस्थापन समिति बनाएर आम्दानी समुदायको नाममा जम्मा हुनेगरी पार्कलाई सञ्चालनमा ल्याइयो । पार्कप्रति सबैले अपनत्व महसुश गरे । दिनको एकपटक फूर्सद भएकाबेला सुस्ताउन सबै पुग्थे त्यहाँ । सञ्चालनको केही दिनमै पार्कले राम्रो आम्दानी गर्न थाल्यो ।
मौरी पालन सम्बन्धी थप ज्ञान लिन र आरु, नासपाती, चेरीको विरुवा लिन भनेर कीर्तिपुर गएको ध्रुव भनेको समयमा फर्केनन् । गाउँलेले फोन गरे फोन उठेन । शम्भुलाई मेसेज गरे । ध्रुवले म अलि विजी छु छिट्टै फर्कन्छु भने ।
केही दिन बाटो हेरे तर ध्रुव आएनन् । फेरि फोन गरे प्रायः गाउँलेले । फोन उठेन । फेरि मेसेज आयो, “म चाँडै आउँछु ।” ध्रुवले यसरी फोन नउठाइ मेसेज मात्रै गरेपछि गाउँलेमा अलि खुलदुली भयो । शम्भु र निराजन ध्रुवलाई खोज्न काठमाडौं हिँडे । काठमाडौं पुगेपछि थाहा भयो, “ध्रुव त सिकिस्त विरामी भएर हस्पिटलमा रहेछन् ।”
शम्भु र निराजन आत्तिएर गाउँमा फोन गरे । अति मानसिक र शारीरिक श्रमले ध्रुव थाकेका थिए । रगत बोमिट भएको भनेर डाक्टर भन्दै थिए । गाउँमा सारा गाउँलेले एउटै शंका गरे, “ध्रुवलाई कोरोना भाइरसले भेट्यो कि ?” “त्यस्तो होइन मुटु र फोक्सो दुवैले काम गर्न छोडेको छ ।” एकजना डाक्टरले कुरा खोले ।
औषधी र उपचार नलाग्ने भएपछि डाक्टरले ध्रुवलाई डिस्चार्ज दिने भए । ध्रुवले अन्तिम समयमा गाउँ जाने इच्छा व्यक्त गरे ।
“पीपल चौतारा पुग्न मन छ । फेरि सबै गाउँलेलाई त्यहीँ भेट्ने मन छ ।” ध्रुवले भने ।
हेलिकोप्टर चार्टर गरियो । ध्रुवलाई पीपल चौतारोमा ओरालियो । आँखामा आँशु र हृदयमा बेदना बोकेर गाउँले ओइरिए ध्रुवलाई हेर्न ।
“माइक !” ध्रुवले सुस्तरी भन्यो । कसैले बाइक स्टार्ट गर्यो । छिनभरमा माइक जडान गरियो । ध्रुव बोल्यो, “यो गाउँमा नाटकीय पारामा जे परिवर्तन भयो त्यसको सम्पूर्ण परिकल्पनाकार हाम्रो सांसद सुदेश हुनुहुन्छ । मैले त उहाँले अराउनु भएको काम मात्रै गरेको हुँ । उहाँ जुन समय तपाईंहरूसँग सम्पर्कमा आउनु भएन त्यो समयमा उहाँ गाउँको गुरु योजनाका बारेमा चिन्तनरत हुनुहुन्थ्यो । संसदमा नीति निर्माणमा पनि उत्ति नै खटिरहनु भएको थियो ।
हाम्रा नेताहरूको सोंच, सपना र कार्य प्रणाली जनतामुखी, राष्ट्रमुखी हुन सकेमात्रै हामीले सुख पाउँछौँ । हाम्रो गाउँमा सबै आधारभूत कुरा भइसक्यो अब आफ्नो लगाउने लुगा आफै बनाउने अभियान चलाउनु होला । म…मरे..र जा..जानु…नु त स…स… सबैले प… छ..।” ध्रुवले अन्तिम वाक्य बोले । पीपल चौतारामा रुवावासी मच्चियो ।
केही समयमा पीपल चौतारालाई फन्को मार्दै सानो हेलिकोप्टर ल्याण्ड भयो । सांसद सुदेश फूलको माला लिएर ध्रुवको लास भएतिर अघि बढे । पाँच वर्ष अघि सांसदलाई ढुङ्गा हान्नेहरू ध्रुवको निधनको वियोग र सांसदसँगको मिलनको खुशीमा पहराबाट हानिएर आएका दुईखोला संगममा छल्किने पानीसरी छछल्किए ।
(भोजपुर)