फणिन्द्रले राजधानीमा घर किनेको बर्ष दिन भएको थियो । केही कोठा भाडा लगाएको थियो । बाँकी कोठामा उनीहरू बस्थे । दुईटी छोरी र तिनीहरू दुई दम्पती थिए । झण्डै पन्द्र हजार रुपैया भाडा उठ्थ्यो । फणिन्द्र मान्छे बेच्ने काम गर्दथ्यो । मौका पर्दा एक महिनामा निकै मान्छे बिक्रीमा चढ्थे । उसको बैंकको खातामा अङ्क थपिन्थ्यो ।
फणिन्द्रका चार दाजुभाइ थिए । कान्छो भाइ खतरनाक रोगले पीडित भएको थियो । उनिहरूको मुल घर पूर्वी नेपालको कुनै गाउँमा थियो । बाबु स्वर्गवास भएका थिए । आमा जीवित थिइन । सदरमुकामबाट नजिकै थियो तिनीहरूको घर । बूढी आमा एक्लै पकाई बनाई खाएर वस्तथिन् । बुहारीहरू चारवटी भएपनि उनी एक्लै वस्दथिन् । बुहारीसँग मिल्न नसक्नु पनि उनको एक विशेषता नै थियो ।
फणिन्द्रको कान्छो भाइको खतरनाक रोगको कारण हालसालै मृत्यु भएको थियो । उपचार गर्न घर आएको फणिन्द्र मलामी र डाली बोक्नेमा दरियो ।
त्यही बेला मुलुक ‘लक डाउन’ मा प्रवेश गरेको थियो ।
कोरोना भाइरसका कारण मुलुक निस्सासिएको थियो । आवत जावत पुरै बन्द, मानिस घरमै थुनिएका थिए । एक प्रकारका बन्दी । चोकचोकमा र सडकमा प्रहरीहरू हातमा लौरो लिएर हिँडदै गरेका देखिन्थे ।
देशभरका गरीब, श्रमिक र रोजगार नपाएका निमूखा व्यक्तिलाई थोरै ओप्सानी हाल्ने नाम मात्रको भए पनि अल्पकालीन राहत वितरण गरिदैनथ्यो । सरकारको ढिलासुस्ती र स्वार्थी कामले जनता दिक्क थिए । राहत वितरणमा पक्षपात भएको देखेर जनता आक्रोशित थिए । कर्मचारीको नियत असल थिएन । गाउँबाट केही टाढा राहतमा वितरण गरिने चामलका पोका छरपस्ट थिए ।
ट्रकले ल्याएर चामलको बोरा झारिदिएको थियो ।
म घरमा झोक्राएर बसेको थिएँ । ढाड दुखेर शरीर अररो भएको थियो । घर अगाडि सडकमा फणिन्द्रलाई देखेँ । उ काँधमा चामलको बोरा बोकेर आउँदै रहेछ । उसका लामा फडका थिए । उ लामो बाटो काधमा बोरा हालेर दौडेकोले असिनपसिन भएको थियो । सडकमा लामा पाइला गरेर हिँडदै गर्दा मैले उसलाई रोकेर भनेँ, ‘फणिन्द्र भाइ के लिएर आयौ त ?’
उसले हास्दै भन्यो, ‘राहत चामल वितरण गरिदै रहेछ, लिएर आएको ।’
म झसङ्ग भएँ । मलाई रीस पनि उठ्यो । हाँसो पनि । उसलाई बाटोमै रोकेर भनेँ, ‘तिमी त भाइ हुनेखाने मान्छेमा गनिन्छौ नि ! कस्तो यो एक बोरा चामलमा ¥याल चुहाएको त ! निमूखा जनताको भाग खोस्न खोजेको या खोसेको । एक जना गरीबले यो चामल पाएको भए आफ्ना बालबच्चालाई ख्वाउने थियो । तिमीले दरिद्रपना देखायौ ।’
‘धत के भनेको तपाईंले, सरकारले बाडेको राहत त सबै जनाले खान पाउनु पर्छ नि । हामी सबै सरकारका जनता होइनौ ?’ फणिन्द्रले जवाफ फर्कायो रौसीएर ।
उसले फेरि हाँस्तै भन्यो, ‘वाइडबडीमा कसले भ्रष्टचार गरेको छ ? चिनबाट कोरोना भाइरसको दवाइ या अन्य परीक्षणका उपकरण ल्याउदा रकम हिनामिना गर्ने को हो ? मित्र राष्ट्रले सहायता दिएको सामानको बिल बनाएर राज्यकोषबाट रकम झिकेर खाने अर्थ मन्त्रालयका कर्मचारी र मन्त्रीलाई कसले कारवाही गर्ने ? मैले थोरै चामलको बोरा ल्याउँदा तपाईंको टाउँको दुखेर आयो । दाइ तपाईंले अब यस्तो लाज हुने कुरा न दोहो¥याउनु है ।’
यति भनेर उ बाटो लाग्यो । म वाल्ल परेँ । केही बोल्न मन लागेन । बाँडिएको राहतसँग उसले वाइडवडी र अन्य उपकरणसँग जोड्यो । मान्छेलाई उदाहरण दिन सजिलो हुने ।
फणिन्द्रका तर्क सुनेपछि मलाई कस्तोकस्तो नमिठो लागो । मानिस तर्क गर्दछन् कि कुतर्क ? मलाई ठूलो स्वरले कराउन मन लाग्छ । पदमा पुगेर भ्रष्टाचार गर्नु र संकटको समयमा निमूखा जनताको मुखमा आएको राहत अन्न एकजना सम्पन्न व्यक्तिले खोसिदिनु के उचित हो त ? अर्काको गल्ती औल्याउँदा आफू चोखो हुनु ठिक हुन्छ नि ? आफू चोखो भइयो त ?
म फणिन्द्रको पछिपछि गएँ । यति थोरै चामलमा किन लोभिएको त भनेर पुन प्रश्न गरेँ । उ घोरियो । बोल्न अकमकियो । लाज मानेजस्तो ग¥यो । उसले घरमा ल्याएर बोरा पछारो । एकजना छिमेकी एकल महिला त्यहीँ आइपुगिन् । उनका एक छोरा र एक छोरी थिए । कलिलै उमेरमा पुरुष गुमाएकी थिइन् तिनले । काममा जान नपाएर चुल्होमा आगो बाल्न कठिन परेको थियो । आँगनमा उभिएर फणिन्द्रलाई सोधिन्, आज राहत बाडिएको थियो र ! मैले त थाहै पाइनँ ।’
नाम टिपाइदिएको छु । छिटै जाऊ पाउँछ्यौ । फणिन्द्रले सूचना दियो ।
‘टोल समितिको सदस्यलाई नाम त टिपाएकी थिएँ । राहत बाँडिने दिन आज भने बोलाएनन् । जानकारी नै भएन ।’ फणिन्द्रको घरमा चामलको बोरा लडाएको देखेर उनि राहतको पोको माग्न वितरण स्थल तर्फ हतारिदै दौडिइन्।
उनी पुग्दा त्यहाँ मान्छे पातलिएका थिए । नगरसभा सदस्य र दुई जना छिमेकी गाउँले थिए । बिचरी जुठीलाई के थाहा राहतका निम्ती आएको चामल बाडिसकियो भनेर । उसले अतालिँदै सोधी, ‘खोइ त मेरो भाग चामल ? गाउँमा ऐचोपैँचोबाट छोराछोरी पालेकी छु ।’
राहत वितरण गरेका ठाउँमा उभिएका व्यक्तिहरू केही बोलेनन् । मात्र जुठीलाई हेरिरहे । जुठीका आँखामा आँशु टप्किएका थिए । निकै समयपछि एक जना व्यक्तिले भन्यो, ‘नाउँ त लेखिएको थियो । ढिलो आउनु भयो, अर्कैले उम्कायो । दाउँ छोपेर लग्यो । अर्कोपल्टको राहत वितरणमा दिने व्यवस्था मिलाउँला । दुःख नमान ।
जुठी उभिएकै ठाउँमा पुर्लुक्क लडी । अरुले रमिता हेरे । दिनको चार बज्दै थियो । बैशाखको महिना गर्मी हपक्क थियो । जुठीलाई कसैले उठाउने प्रयत्न गरेन । यतिखेर उनको निधारमा पसिना टप्किएका थिए ।