सम्पूर्ण तरकारीहरू मिलेर सभाको आयोजना गरे ।
कार्यक्रमलाई भव्य र आकर्षक बनाउन चारैतिरबाट स्कुस र तितेकरेलाका झालहरू बेरियो । छिप्पिएको तामाहरू मिलेर मञ्च बनाए । सभास्थललाई आकर्षक देखाउन सीमी, बोडी र घिरौंलालाई तोरण र ध्वजा पताकाको रूपमा सजाइयो । कोइरालो र सिप्लीगानले शितल छहारी दिने टेण्टको काम गरे । मेवाको बोटलाई स्वागतद्वारको रूपमा राखियो । गेटको दायाँ र बाँया सलगमलाई कलश बनाई रायो र चम्सुरको सागलाई समेत सजाएर राखियो । निउरो नुगेर सबैलाई प्रणाम गरिरह्यो । केही कमी कमजोरी त्रुटी नहोस् भनेर मुला र गाँजर मञ्चको दाँया र बाँया चनाखो भई जमेर बसे ।
सभा सञ्चालन गर्ने जिम्मेवारी चर्को स्वरका धनी उद्घोषक खुर्सानीलाई दिइयो । फर्सि महोदयद्वारा सभापतिको आसन ग्रहण भयो । तोरीको फूलको पुष्पगुच्छा दिँदै फूलगोभीलाई प्रमुख अतिथिको रूपमा स्वागत गरियो । आफ्नो अपमान भएको ठानी बन्दागोभी रिसले चुर भई गुडुल्किीएर बस्यो । कुरीलो र जलुका त्यसै झोंक्राएर बसे । यदि पानी परिहाल्यो भने सबलाई छाता ओढाउँछु भनी च्याउ तयारीका साथ बसिरह्यो ।
धनीयाको जराद्वारा ब्रोकाउलीको पातमा सम्मानपत्र लेखियो । कर्कलाको पातलाई दोसल्ला बनाई विशिष्ट तरकारीको रूपमा परवरलाई सम्मान गरियो । लसुन, अदुवा र पुदिना मिलेर चटक देखाए । पिँडालु, तरुल र सखरखण्डले नृत्य प्रस्तुत गरे । सभामा केही असहमत राख्ने चिचिण्डो बाहिर त्यसै हल्ली बस्यो । कुभिण्डो र लौका अर्काको छानामाथि बसेर विरोध गरे । तटस्थ रही गिठाले यी सब हेरिरह्यो । टमाटर किचिएर फाँडो बन्ला भन्ने डरले आलु र प्याजले आफ्नो साथमा सुरक्षित राख्दै उनीहरूले प्रत्येक तरकारीसँग भेटघाट गरेर सबको सहयोग र समर्थन जुटाए ।
सहभागीहरूको तर्फबाट भाण्टालाई बोल्न दिइयो । जनप्रतिनिधि रामतोरियाले आश्वासनयुक्त चिप्लो कुरामात्र गरिरह्यो । काभ्रोको अचार, केराउ कोसाको तरकारी र पाकेको कटहर खाजाको रूपमा ख्वाइयो । अन्तमा सभा विसर्जन गर्दै फर्सिले भने, “तरकारीको मूल्य वृद्धि गर्न पाइँदैन । प्रत्येक जनताको भान्सा–भान्सामा तरकारी पुग्न पाउनै पर्छ । हामीलाई कृत्रिम मलको सट्टा कम्पोस्ट मल दिनुपर्छ । औषधि छर्केर हामीलाई हर्लक्कै बढाई मानिसहरूको जीवन, स्वास्थ्य सुरक्षामाथि खेलवाड गर्न पाइँदैन । हाम्रो माग पूरा हुनै पर्दछ । भव्य, सभ्य र दिव्य रूपमा हामी तरकारीहरूको सभा सफल पारिदिनुभएकोमा सबैलाई धन्यवाद । तरकारी एकता जिन्दावाद ।’’